दलितप्रति शैक्षिक विभेद

-  |   रमेश विश्वकर्मा

दलितप्रति शैक्षिक विभेद

सभ्यता मानव समाजको जग हो । सभ्यताको विकासमा चेतना र शिक्षाको महत्वपूर्ण भूमिका रहेको हुन्छ । चेतना, सभ्यता वा शिक्षाले समाज र सामाजिक जीवन जिउने कला सिकाउँछ ।

मानवीय विचार र चिन्तन उसले प्राप्त गर्ने शिक्षाको गुणमा भर पर्दछ । त्यसैले सभ्यता र शिक्षा एक सिक्काका दुई पाटा जस्तै हुन् । मानव विकासका विभिन्न सभ्यताहरु छन् । जसमध्ये स्वर्णिम सभ्यता सिन्धु सभ्यता पनि एक हो । सभ्यताको विकाससँगै सिन्धु सभ्यता हिन्दु सभ्यतामा र हिन्दु सभ्यता हिन्दुधर्ममा परिणत भयो । तत्पश्चात हिन्दु सामाजिक संरचना पनि तिनै चिन्तनमा रुपान्तरित र विकास भएको पाइन्छ । सभ्यताकोे विकासमा तत्कालीन चेतना र शिक्षाको अवस्थामा भर पर्दछ र पनि हिन्दु सभ्यता विकासमा शिक्षाका आफ्नै विधि, प्रणालीका साथै आफ्नै विशेषता छन । जब मानव जातिबीच विश्वास हराउँछ अनि सभ्यता धार्मिक आस्थामा परिणत हुन्छ । जब विश्वास हराउँछ एकअर्कामा अविश्वास र शङ्का उत्पन्न हुँदै सङ्घर्षमा परिणत हुन्छ । अनि एकअर्काप्रतिको विभेद र उत्पीडनको जन्म हुन्छ । एसियाली समाजको विकास धार्मिक संरचनामा निर्माण भएको तथ्य यहाँको समाजको चिन्तन र शैक्षिक प्रणालीलाई अध्यायन गर्दा प्रष्ट हुन्छ । धार्मिक ग्रन्थ पल्टाउने हो भने सत्य, द्वापर, त्रेता र कली युग मानव समाज विकासका मुख्य खण्ड मानिएको पाइन्छ । यी समयको विभाजन सामाजिक चेतना र वैैदिक शिक्षाको आधारमा विभाजन गएिको छ । प्राचीन समयमा शिक्षा प्राप्तिका विभिन्न माध्यमहरु रहेको देखिन्छ । प्राचीन युगमा देउता स्वयम् नै शिक्षा दिन पृथ्वीलोकमा आएको कुरा धर्मका मर्महरु हुनसक्छन् । तपश्वी ऋषिमुनिहरुबाट प्राप्त शिक्षा, गुरुकुलबाट प्राप्त हुने शिक्षाको बारेमा उल्लेख गरेको पाइन्छ । यसले के प्रष्ट पार्छ भने मानव जातिको विकाससँगै शिक्षा मानव जातिसँग यो वा त्यो रुपले जोडिएको पाइन्छ । त्यसो भए के प्राचीन कालमा पनि शिक्षामा विभेद थियो त ? भन्ने सावलमा ऐतिहासिक धर्म ग्रन्थहरु नै आधार बन्छन् । रामायणको एक काण्डमा उल्लेख भएअनुसार रामले शूद्रकै कारण तपश्वी समेक ऋषिको हत्या गरेको कथन होस् वा महाभारतमा निसाद राजा हिरण्ड धनु र माता सुलेखाका पुत्र एकलव्यलाई महर्षि ऋषि द्रोणाचार्यले ब्राह्मण वा क्षत्री नभएकै कारण धनुष विद्या आर्जनबाट वञ्चित गराएका उदाहरणलाई मानव जातिको विकास र शिक्षाको विकाससँगै प्राचीन सभ्यतामा पनि समाजमा रहेका कमजोरहरु मानवमाथि धार्मिक, शैक्षिक र सामाजिक विभेद र उत्पीडन थियो भन्ने प्रष्ट बुझ्न सकिन्छ । विभेदले भरिएको धार्मिक नेपाली समाजमा शिक्षाको विकास यसरी भएको पाइन्छ ः

शैक्षिक प्रणालीमा दलितमाथिको विभेद
नेपालको शिक्षाको सन्दर्भमा परम्परागत हिन्दु वैदिक शिक्षाको इतिहास लामो रहेको पाइन्छ । सभ्यताको विकास क्रमसँगै बौद्ध धर्म वा दर्शनको प्रारम्भ भएपछि, गुम्वा विहारहरुमा बौद्ध धर्मदर्शनमा आधारित शिक्षा र गुरुकुल प्रणालीमा हिन्दु वैदिक शिक्षाको आर्जन गर्ने प्रचलन रहेको देखिन्छ । यस्ता वैदिक किसिमका धार्मिक शिक्षालयहरुमा तत्कालीन शूद्र वा दलितलाई शिक्षा प्राप्त गर्ने अवसरबाट वञ्चित गरेको थियो भन्ने कुरा बौद्ध शिक्षाका अभियान्ताले चण्डाल युवतीको हातको पानी खाएको कुराले शिक्षामा विभेद थियो भन्ने प्रष्ट पाइन्छ । तत्कालीन समाजमा धर्म ग्रन्थका श्लोकहरु सुनेकै कारण शूद्र वा अछूतहरुले अमानवीय शारीरिक यातना दिइन्थ्यो भन्ने किंवदन्ति हुन् वा धर्मका श्लोक उच्चारण गरेकै कारण सिङ्गो परिवार र पुस्तालाई मृत्यु दण्ड दिने ग्रैह्रसामाजिक संरचनाले तत्कालीन समाजमा शूद्र जातिहरु शिक्षाको अधिकारबाट विमुख थिए नै हिन्दु सभ्यताको विकाससँगै समाजको तल्लो वर्गका समुदायलाई धार्मिक क्रियाकलाप र शिक्षा प्राप्त गर्ने अवसरबाट वञ्चित मात्र होइन संरचनागत उत्पीडन नै निर्माण गरेर सुनियोजित तरिकाले दलित समुदायलाई विभेद र उत्पीडनमा पारेको देखिन्छ । निकृष्ट मानव जगतकै उत्पीडनको त्यो समाजमा विभेदयुक्त चिन्तनबाट सञ्चालित राज्यले आर्थिक राजनीतिक विभेद र उत्पीडनमा अहिलेको दलित र तत्कालीन शूद्र समुदायलाई पारेको थियो भन्ने सहजै पत्तालगाउन सकिन्छ । यस्ता किसिमका तथ्यबाट दलित समुदाय मानव जातिकै ऐतिहासिक उत्पीडित समुदाय हो । यो उत्पीडन मानव समाजमा नसुहाउने व्यावहार थियो । धार्मिक स्वाँठहरुले धर्मका नाममा सभ्यताको वदनाम गरेको पाइन्छ । यस्तो किसिमको अमानवीय ऐतिहासिक उत्पीडन भोगेको सिङ्गो समुदाय समाज विकाससँगै कहिले दासको समाजमा अस्तित्वमा रहेको पाइन्छ त, कहिले सामाजिक श्रमिकको रुपमा, कहिले सामाजिक अछूतका रुपमा अस्तित्वमा देखिन्छ भने कहिले सामाजिक शिल्पीका रुपमा समाजमा अस्तित्वमा रहेको पाइन्छ । तर आधुनिक मानव समाजमा सिङ्गो दलित समुदाय आधुनिक सामाजिक दासको रुपमा अस्तित्वमा रहेको छ । सायद मानव जातिको विकासको उत्कर्ष र सामाजिक चिन्तनको भरपुर विकास भएको आधुनिक मानव समाजमा दलितप्रति राज्य र समाजले गर्ने उत्पीडनले सिङ्गो मानव जगतलाई लज्जबोध गराएको मात्र छैन । मानव जातिको कुरुपता नेपाली समाजमा रहिरहेको छ । यी सबै परिणामहरु समाजले दलित समुदाय माथि गरेको शैक्षिक विभेद र उत्पीडनको उपज हो ।

परम्परागत हिन्दुहरुको संस्कृत र बौद्ध शिक्षाको प्रचलन रहिरहेको बेला वि.सं. १९१० मा दरबार स्कुलको स्थापनासँगै नेपालमा शैक्षिक विकास र अङ्ग्रेजी शिक्षा प्रणालीको सुरुवात भएको पाइन्छ भने उच्च शिक्षाको औपचारिक सुरुवात भने वि.सं. १९७५ मा त्रिचन्द्र कलेजको स्थापनाबाट भएको शैक्षिक इतिहास छ । शासक र शासन सत्तामा प्रत्यक्ष र अप्रत्यक्ष्य रुपमा जोडिएको सीमित शासकबाहेक तत्कालीन राज्यले आम जनतालाई शैक्षिक अवसरबाट वञ्चित गरेको पाइन्छ तर पनि विभिन्न किसिमका उत्पीडन र विभेदको प्रत्यक्ष पीडा नेपालको दलित समुदायले युग युग खेपिरहेको छ । वर्तमानमा पनि सिङ्गो मानव जातिलाई तर्साइरहेको छ । वि.स २००७ भन्दा पहिले शिक्षाको पहुँच ज्यादै सीमित व्यक्ति तथा समुदायमा भएकाले आम जनता त्यसमा पनि सिङ्गो दलित समुदाय शिक्षाको अवसरबाट वञ्चित रहेको पाइन्छ । यस तथ्यलाई तत्कालीन समयमा (वि.सं. २००७) नेपालको शैक्षिक तथ्याङ्क २ प्रतिशत रहेकाले पनि प्रमाणित गर्दछ । शिक्षा क्षेत्रको रोचक पक्ष त के छ भने वि.सं. २००७ भन्दा अगाडि नेपालमा राज्यको मान्यता प्राप्त शैक्षिक सस्थाहरु नै थिएन भने अर्कोतिर शिक्षामा राज्यको चासो र लगानी शून्य रहेको थियो । ताकि बाहिरी विश्वमा शिक्षाको प्रभाव धेरै अगाडि पुगिसकेको थियो । तत्कालीन राजनीतिक परिवर्तनपछि शिक्षालाई राज्यले दायित्वका रुपमा स्वीकार त गर्यो शिक्षा राज्यको हिस्सा त बन्यो । तर नेपाली समाज र देशको यर्थाथमा आधारित शैक्षिक प्रणाली र शिक्षा नीतिको विकास गर्न सकेको देखिँदैन । जेहोस् प्रजातन्त्रको स्थापनासँगै समाजमा शैक्षिक विकासको जग बसाल्न वि.सं. २०११ मा नेपाल राष्ट्रिय शिक्षा योजना आयोगद्वारा एकजना विदेशी शैक्षिक सल्लाहकार ह्यूग बी उडको सहयोगमा राष्ट्रिय शिक्षा प्रणालीको आधार तयार गरेर सबै जनतालाई शैक्षिक पहुँचमा ल्याउने वातावरण तयार गरेको पाइन्छ । राष्ट्रिय शिक्षाले न्यूनतम ३ वटा उद्देश्यहरु समेट्नैपर्छ । पहिलो राष्ट्रिय हित, दोस्रो समाज र राष्ट्रप्रतिको उत्तरदायित्व, तेस्रो व्याक्तिको क्षमता विकास, अहिले नेपालको शैक्षिक नीति प्रणालीमा यी तीनवटै पक्ष कमजोर सुसुप्तताको अवस्थामा छ । यसै शिक्षा नीतिका कारण देशको उत्पादन र रचनात्मक व्यावसायको विकास हुन सकेको छैन । जसको परिणाम अहिले देशको अर्थतन्त्र विप्रेषणमा चलिरहेको छ । हाम्रो समाजमा रहेको श्रम र परम्परागत सीपका स्रोतहरु खाडीमा अमानवीय व्यावहार भोगिरहेका हामी देखिरहेका छौँ । देशको शैक्षिक नीति र प्रणाली कमजोर भएकै कारण विदेशी विश्वविद्यालयबाट प्रमाणपत्रधारीलाई विज्ञता देख्ने राजनीतिक चिन्तनको विकास भएको छ । प्रयोगात्मक शिक्षालाई राज्यले महत्व नदिएकै कारण देशमा सञ्चालित उद्योग धन्दा, कलकारखाना र समाजमा विद्यमान परम्परागत पेसाहरु दिन प्रतिदिन हराउँदै गएका छन् । यसको प्रत्यक्ष प्रभाव नेपालको सन्दर्भमा सामाजिक उत्पीडित र विभेदमा परेको सीमान्तकृत समुदाय र श्रमजीवी दलित समुदायमा परेको देखिन्छ । प्राकृतिक स्रोत र साधनमा पहुँच नभएका यी समुदायहरु आफूसँग भएको सीप र क्षमताको राज्यले उचित मूल्याङ्कन र आधुनिकीकरण नगरिदिँदा सिङ्गो श्रमजीवी समुदाय भावी पुस्ताको चिन्तामा छ । राजनीतिक परिवर्तनसँगै राज्यले उत्पीडित दलित समुदायलाई कमसल गुणस्तर र अव्यावहारिक शिक्षामा शैक्षिक अवसर त दियो तर त्यस समुदायको परम्परागत पेसाको विकास र उक्त पेसाप्रति सम्मान र गर्व गर्ने खालको शिक्षा नीति र प्रणालीको विकास गर्न सकेन । विश्वविद्यालयमा सामाजिक मौलिकताको विषयमा अध्यायन हुन सकेन । जसको परिणाम शिक्षा र शिक्षा नीतिले नै दलित समुदायको सीप कला र परम्परागत पेसाप्रति नै विभेद गरेर दोहोरो चरित्र देखाएको छ । शैक्षिक नीति र प्रणालीमा देखिएको यस्तो विभेदलाई राज्यले सच्याउनुपर्ने वर्तमान देशको आवश्यकता हो ।

दलित मुद्दामा विद्यार्थी आन्दोलन र स्ववियुको भूमिका
हामीसँग गौरवपूर्ण इतिहास छ तर उदेक लाग्दो वर्तमान विश्व मानचित्रमा सानो भूगोल भए पनि ठूला ठूला परिवर्तन गर्न सफल भयौँ । विश्व मानव समाजमा नेपाललाई आदर्श भूमिको रुपमा चिनायौँ । हामी विश्वमा उदाहरणीय बन्यौ तर हामीले आफ्नो समाज र आफूभित्रको चिन्तनलाई रुपान्तरण गर्न सकेनौँ । अझ हाम्रो देश समाज आधुनिक मानव संसारमा दलित समुदायमाथि अमानवीय व्यावहार गरेर सामाजिक हैकम जमाएर विश्वमा उत्पीडनको नमुना भूमिको नाममा चिनाएका छौँ ? के यो नेपाली भएकोमा गर्व गर्ने पक्ष हो ? समाजमा रहेको परम्पारगत पेसाको अपमान गर्न हाम्रै शैक्षिक प्रणालीले सिकाएको होइन ? सिङ्गो विद्यार्थी जगतलाई किसान, कृषि र हलोप्रति अपमान यसै शैक्षिक प्रणालीले सिकाएको होइन ? बरु विदेशमा गएर चर्पी सफा गर्ने तर देशको बाँझो जमिनप्रति घृणाको सृजना यसै शैक्षिक प्रणाली र नीतिले निर्माण गरेको होइन ? यी सबैको दोष हामीले भोगेको परम्परा र हामीले पाएको ज्ञानकै परिणाम होइन र ? अब उपयुक्त शैक्षिक नीति र प्रणालीको विकास गरी राष्ट्रिय लाभ प्राप्त गर्ने शैक्षिक प्रणालीमा सुधार ल्याउन सम्बन्धित क्षेत्रले प्रयास गर्ने कि नगर्ने, शिक्षा क्षेत्रमा देखिएका विकृतिहरु हटाउँदै समाज र समाजको आवश्यकताको विकास गर्न स्थापना भएको विद्यार्थी सङ्गठनहरु, शैक्षिक क्षेत्रसँग जोडिएका अन्य क्षेत्रहरुको लापरवाहीकै कारणले सिर्जित यी समस्याप्रति वर्तमान विद्यार्थी आन्दोलन एकाकार हुने कि नहुने । सबै पाटीका विद्यार्थी सङ्गठनहरुका राष्ट्रिय शिक्षा नीति र प्रणालीको सवालमा एकमत हुने कि नहुने ? शैक्षिक क्षेत्रमा देखिएको वर्तमान आवश्यकता यही हो । हाम्रो शैक्षिक प्रणली भ्रष्ट र अव्यावहारिक भएकै कारण अहिले शिक्षा क्षेत्रमा अस्वस्थ राजनीति प्रतिस्पर्धा भइरहेको छ । विद्यार्थीदेखि प्राध्यापक शिक्षा आर्जन गर्ने विश्वविद्यालयमा अवैज्ञानिक तवरले राजनीति गतिविधि सञ्चालित छन् । के यो नेपालको शिक्षा क्षेत्रमा आवश्यक हो ? हो विश्वविद्यालयहरु खुल्ला र स्वतन्त्र हुनुपर्छ । यहाँ सबै क्षेत्रको विकास हुन जरुरी छ । राजनीतिज्ञदेखि श्रमिक जन्माउने काम पनि विश्व विद्यालयहरुकै हो तर अस्वस्थ किसिमको, राज्यप्रति गैह्रजिम्मेवार, समाजप्रति अनुत्तरदायी राजनीतिक गतिविधि न स्ववियुको नाममा विद्यार्थी सङ्गठनहरुले गर्न सुहाउँछ न विश्व विद्यालयको गुरुहरुले । शैक्षिक राजनीति व्यक्ति र सङ्गठनको प्रतिष्ठासँग होइन राज्यको प्रतिष्ठासँग जोड्नुपर्छ । शैक्षिक राजनीति व्यक्तिगत र सङ्गठन स्वार्थका लागि होइन सिङ्गो राष्ट्र र समाजको स्वार्थसँग जोडिनुपर्छ । अन्यथा विद्यार्थीे राजनीति गरेर सहरमा घर जोड्ने, घरखर्च चलाउने, गाडी चढ्ने रहरले सुरु गरेको राजनीतिक यात्राले भावी नेपालको भविष्य कता मोडिएला । विद्यार्थी आन्दोलनले मनन गर्ने बेला आएको छ । यस्तोे चिन्तनमा विकास भएको विद्यार्थी राजनीतिले शैक्षिक भ्रष्टचारलाई बढावाभन्दा अरु केही योगदान दिन सक्दैन । वर्तमान राज्यको आवश्यकताको आधारमा समग्र विद्यार्थीहरुले आफ्नो मतको भरपुर उपयोग गदै विद्यार्थी आन्दोलनलाई मर्यादित र अनुशासित बनाउने आफ्नो दायित्व सम्झनुपर्ने बेला आएको छ । अर्कोतिर नेपाली समाजको क्षमता, सीप, कला, पेसाको संरक्षण गर्दै शैक्षिक नीति र प्रणालीलाई देश विकासको मेरुदण्डको रुपमा विकास गर्ने दयित्व विद्यार्थी आन्दोलन र स्वतन्त्र विद्यार्थी युनियनको दायित्व बन्नुपर्छ, पेसाकै कारण उत्पीडनमा परेको समुदायको पक्षमा राष्ट्रिय शिक्षा नीतिको विकास हुन जरुरी छ । अहिलेको स्ववियु निर्वाचनले समाजको यर्थाततालाई आत्मसाथ गर्न सकोस्, नेपाली शैक्षिक क्षेत्रमा देखिएको शैक्षिक राजनीतिक विकृतिको अन्त्य गर्न सक्ने आधार बन्न सकोस् ।

अन्त्यमा
नागरिकको श्रमको उपयोग र प्रयोग उचित मूल्याङ्कनका साथ राज्यले प्रयोग गर्नै पर्छ । हाम्रो देश बन्नलाई प्रभावकारी र व्यावहारिक शिक्षा नीति र प्रणाली हुनुपर्छ । शिक्षित वर्गले देशका लागि केही सोच्न र गर्न सकोस् । अर्को देश र समाजप्रति जिम्मेवार भएको नागरिकको विकास हुन सकोस् ताकि उसले समाज र भविष्यका लागि केही गर्न सकोस् । हाम्रा विश्व विद्यालयहरु शैक्षिक बेरोजगार उत्पादन गर्ने शैक्षिक उद्योगहरु बन्दै जानुको मुख्य दोषी देशले अवलम्बन गरेको राष्ट्रिय शिक्षा प्रणाली होइन र ? राज्यको परम्परागत पेसा कृषि हुँदा पनि हाम्रो शिक्षाले कृषिलाई आधुनिकरण गर्न नसक्नु नेतृत्व गर्नेहरुको दायित्व हो ? श्रमलाई सम्मान गर्न नसक्ने र समाजमा रहेका परम्परागत पेसाप्रति वितृष्णा जमाउने खालको शिक्षा आर्जन गरेर न देशको उन्नति हुन्छ न जनता राज्य र समाजप्रति उत्तरदायी बन्छ । राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक क्षेत्रमा जबसम्म व्यावहारिक शिक्षा प्रवेश हँुदैन तबसम्म नागरिकको श्रमले सम्मान पाउँदैन, दलित समुदायको परम्परागत पेसाले सम्मान पाउँदैन । विश्वविद्यालय देशको विकासका लागि आवश्यक ऊर्जाशील नागरिक उत्पादन गर्नुपर्नेमा यिनै विश्वविद्यालय देशलाई आवश्यक कुशल राजनीतिक नेतृत्व जन्माउनुपर्नेमा, यिनै विश्वविद्यालयले आधुनिक हलो चलाउने आधुनिक किसान उत्पादन गर्नुपर्नेमा शिक्षित नागरिहरु श्रममा, कृषिमा र परम्परागत पेसालाई अपमान गरे देशको विकास कसरी हुन्छ ? राज्यले विप्रेषणको सहारामा अर्थतन्त्र चलाइरहेको छ । हिजो आफ्नो परम्परागत पेसामा विश्वास गर्ने दलित समुदाय र दलित युवाहरु शैक्षिक नीति र प्रणालीले अपमानित पारेकै कारण परम्परागत पेसा समाजबाट विस्थापित हँुदैछ । देशको शिक्षा नीति र प्रणाली समग्र समाजमा रहेका सम्भावनाहरुको विकास गर्नतिर उद्धत हुुनुपर्छ । नागरिकले पाउने शिक्षामा विभेदको गन्ध देखिने खालको छ भने सङ्गठित विद्याथीहरुले यसका विरुद्ध उठ्नैपर्छ । आर्थिक र राजनीतिक विभेदमा परेको दलित समुदायको परम्परागत पेसालाई मर्यादित गर्दै आधुनिकीकरण गर्नुपर्ने अभियानमा सिंगो शैक्षिक आन्दोलन र सम्बन्धित क्षेत्रको चासो र चिन्ता आओस् । सामाजिक चिन्तन, समाजिक चरित्र र परम्परागत वैद्धिक शिक्षाको निरन्तरताका कारण राज्यले अवलम्बन गरेको शैक्षिक नीति र प्रणालीहरुलाई समाजिक आवश्यकताअनुसार परिवर्तन राज्यले गर्न सक्नुपर्छ । प्रजातान्त्रिक प्रणालीको सौन्दर्यतामा सबै जाति, लिङ्ग, क्षेत्र, वर्ग र संस्कृतिको एकीकृत विकास हुने खालको शिक्षा नीति र प्रणालीको विकास हुनै पर्छ । राज्यले अविलम्बन गर्दै आएको परम्परागत धार्मिक नीतिको आधारमा निर्माण भएका शैक्षिक नीति र प्रणाली सच्याउनैपर्छ र समाजमा श्रम गरेर खाने समुदायमाथि विभेद, अपमान र उत्पीडन सिर्जना गर्ने चरित्र भएको समाजिक चिन्तनलाई फेर्नै पर्छ ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल