आत्मदाहले सामाजिक परिवर्तन असम्भव !

आत्मदाहले सामाजिक परिवर्तन असम्भव !

मुरारी ढुङ्गेल
नेपाली समाजमा अन्तरजातीय विवाहले अझै पनि सहज मान्यता पाएको छैन । त्यसैले हाम्रो समाजमा प्रेममार्फत अन्तरजातीय वैवाहिक सम्बन्ध स्थापित हुन प्रेम जोडीले ठूलै सङ्घर्ष गर्नुपरेको छ । अन्तरजातीय विवाहले पूर्ण रुपमा मान्यता नपाउँदा कोही गाउँ छोडेर पलायन हुने त्यसरी पलायन हुन नसक्नेहरु आत्महत्या गर्नेसम्मका घटना समाजमा घट्ने गरेका छन् । जसको उदाहरणको रुपमा केही समय अघि झापाको बिरिङ्ग खोला किनारको सिसौको रुखमा एउटै हाँगामा एक जोडीले झुन्डिएर आत्मदाह गरेको घटनालाई प्रतिनिधि घटनाको रुपमा लिन सकिन्छ ।

यस्ता प्रकारका घटनाहरु हाम्रो समाजमा प्रशस्तै देख्न र सुन्न पाइन्छ । जसले समाजमा बेचैन सृजना गर्दछ । कोही तल्लो जातको छोरी भएकाले घरमा छिर्न नपाउने त कोही तल्लो जातको केटोसँग बिहे गरेकोले माइती आउन नपाउने जस्ता गतिविधिले प्रेमीहरुमा निरासा पैदा गर्दछ । धेरै समाजले अन्तरजातीय विवाहलाई अझैसम्म बर्जित गर्नुभनेको चेतनाको कमी नै हो । यस्ता प्रकारका घटनाले अझै पनि नेपाली समाजले अन्तरजातीय वैवाहिक सम्बन्धलाई स्वीकार गर्न नसकेको यथार्थता पस्कन्छ ।

सरकारी स्तरबाट बर्सेनि जातीय भेदभाव विरुद्धको अभियानमा लाखौं खर्च हुने गर्छ । नेपालमा जातीय हिंसा तथा जातीय भेदभावविरुद्ध चेतना फैलाउन विभिन्न प्रकारका सामाजिक सङ्घ संस्थाको स्थापना भएका छन् । राज्यले जात–जाति, भाषा–धर्म, लिङ्ग र वर्णको आधारमा कोही नेपाली पनि भेदभावको सिकार हुनुहुन्न । यदि भेदभाव गरिए कानुनले दण्डित गर्नेछ भनी कानुन बनाइएको छ । तर पनि समाजमा विभेदका घटना हुन छोडेका छैनन् । परापूर्वक कालदेखि कथित सानो जात र ठूलो जात भनी समाजलाई विभाजन गरिएको छ । यसरी सामाजिक रुपमा मानिसलाई जात जाति भाषा वर्णको आधारमा भेदभाव गर्नु भनेको कानुनको उपहास र मानिसविरुद्ध मानिसले नै अन्याय गर्नु हो । हाम्रो कुनै पनि धर्मले वर्ण र रङको आधारमा जात जातिको विभाजन भएको स्वीकार गर्दैन ।

धार्मिक ग्रन्थ अनुसार मानिसको काम अथवा व्यवसायअनुसार जाति विभाजन गरिएको स्वीकार गर्दछ । धार्मिक गुरुहरु जातको आधारमा मानिसलाई विभेद गरिनु हुन्न भन्दछन् । धर्मले मानिसले गरेको कर्म अनुसार उसको जाति निर्माण भएको ठान्दछ । सामाजिक व्यवहारलाई सहज तथा अनुकुल बनाउन पहिलेको समाजले मानिसले गर्ने व्यवसायको आधारमा मानिसलाई जातीय विभाजन गरेको हो । न कि यसको उद्देश्य जातीय छुवाछूत निर्माण गर्न हो । तर हाम्रो पुरातन समाजले त्यसलाई आफूखुशी व्याख्या गर्यो र समाजको प्रतिष्ठित मानिएका मानिसहरुले आफू अनुकूलको व्याख्या गर्दै सानोजात–ठूलोजात भनी वर्गीकरण गरे । त्यसको अवशेषको रुपमा अझै पनि जातीय छुवाछूत हाम्रो समाजमा रहेको पाइन्छ । जुन शिक्षित समाजमा भन्दा अशिक्षित समाजमा बढी पाइन्छ ।

हाम्रो समाजका युवाहरुले अङ्गीकार गर्ने प्रेम सम्बन्ध आफैमा बलवान हुनुपर्ने हो । प्रेमको अघोषित सिद्धान्त नै दुई व्यक्तिको सामीप्यता अथवा मिलन अरु कसैको साथ नभए पनि खुशीसँग जिउन सक्ने हुनु हो । प्रेम केवल प्राप्ति मात्र पनि त होइन । प्रेम बिछोडभित्रको निकट्ता पनि हुन सक्नुपर्दछ । प्रेमले दुईबीचको मिलन मात्र होइन । बिछोडभित्रको प्यार बोकेको हुन पनि सक्नुपर्दछ । प्रेमभित्र आत्मदाहको कायरता होइन बहादुरीको जीवन जिउन सक्नुपर्दछ । अन्तरजातीय प्रेमीहरुले समाजका चुनौतीहरुलाई सामना गर्दै समाज रुपान्तरणको उद्देश्यमा अघि बढ्न सक्नुपर्दछ ।

आत्माहत्या कुनै जित होइन त्यो त सबैभन्दा ठूलो पराजय हो । जीवनसँग भागेको मानिन्छ । आत्महत्याले सामाजिक रूपमा व्यक्ति हारेको ठानिने छ । आत्मदाहले केवल आफूले अनुभूति गर्न नसक्ने दया मात्र प्राप्त गर्दछ । आफूले अनुभव गर्न नपाउने दयाको के नै अर्थ रहन्छ र ? साँचो प्रेमले हार स्वीकार गर्दैन । परिस्थिति सहज हुँदा मात्र प्रेम सफल हुनु भनेको प्रेमले पूर्णता पाएको होइन । प्रतिकुल अवस्थालाई पनि स्वीकार गर्न सक्नुपर्छ ।

सामाजिक रुपान्तरण कुनै पनि हारको मानसिकताले प्राप्त गर्न सकिन्न । एक दुई गर्दै सयौँ अनि हजारौंलाई परिवर्तन गराउन सकिन्छ । राज्यले पनि समाजमा भएका विकृति विसङ्गतिलाई परिवर्तन गराउन चेतनामूलक कार्यक्रम ल्याउन सक्नुपर्दछ । अन्यथा समाजमा यस्ता प्रकारका विसङ्गति दोहोरिरहन्छन् । समाजमा गलत प्रकारको परम्पराको नाममा रहेको विकृतिलाई उन्मुलन गर्न सक्नुपर्दछ । समाजले मान्दै आएको धर्मगुरुहरुको माध्यमद्वारा जातीय भेदभावविरुद्धको चेतना फैलाउन प्राथमिकता दिनाले छिटोछरितो र प्रभावकारी उपलब्धि हासिल हुन सक्छ । मानिस जति जति शिक्षित हुन्छ, उति उति यस्ता कुरीति अन्धविश्वास हराउँदै जान्छन् । यसर्थ राज्यले सचेतनाका कार्यक्रमहरु ग्रामीण समाजमा पुर्याउनु पहिलो प्राथमिकता हो ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल