महराको ‘ब्रेकथ्रु’ तयारी

-  |   बासुदेब मिश्र

महराको ‘ब्रेकथ्रु’ तयारी

अक्सर उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा भन्ने गर्छन्– ‘अब सोच्ने तरिका बदलौँ !’ उनको कुरा सुनेर मन्त्रालयका कर्मचारीहरु मुस्कुराउँछन् र हस् हजुर ! को थेगो दोहो¥याउँछन् । मन्त्री महरा पुन : थप्छन् –‘हाम्रो कर्मचारीतन्त्र र काम गर्ने तरिका एउटै फिक्स टनेलमा बसे जस्तो छ , त्यो मानशिकता भत्काऊँ भन्ने हो ।’

सानो छँदै महरा केही फरक सोच्थे रे ! उनकै भाषा सापट लिऊँ न ! ‘सानो छँदा काठमाण्डौं जान्छु भन्दा बुबाका गाली खाइयो,काठमाण्डौं हाम्रो सपना हो र भन्नुभयो, अहिले बुबा हुनुहुन्न, भएको भए म घुमाउँथे’, उनले भावुक हुँदै सु्नाए,‘बुबाको भन्दा मेरो सोच फरक थियो, अहिले मेरोभन्दा छोराहरुको सोच फरक छ ।’

महराको जीवनलाई यसो झाँकेर हे¥यो भने बुझिन्छ, उनी फरक नै सोच्थे । गाउँकै विद्यालयमा पढे । उच्च शिक्षा अध्ययन गर्न पोखरा हानिए । राजधानी पसे । सानै उमेरमा संसद छिरे । अनि व्यवस्था नै परिवर्तनको खातिर दुरुह जस्तो लाग्ने युद्धमा होमिए । शान्ति सम्झौतापछि मुलधारको राजनीतिमा आए ।


महरा तिनै हुन्, जसले सञ्चारमन्त्री हुँदा ‘हात–हातमा मोबाइल, घर–घरमा इन्टरनेट’ नारा ल्याए । उनको नारालाई कमैले पत्याए । उनी संलग्न जनयुद्धकै क्रममा खुम्चिएको संचार क्षेत्रको लागि त्यो नारा अपत्यारिलो नै थियो । तर, उनको नारा मात्र चलेन, देशमा मोवाइल फोनको क्रान्ति नै भयो । अहिले मानिस दुइ वटा मोवाइल बोकेर हिड्न थालिसके ।

‘क्रमभंगता’ उनले रुचाएको शब्द हो सायद । त्यसैले उनी हरेक काममा क्रमभंगता सोच्छन् र कार्यान्वयनमा तम्सन्छन् । पछिल्लो समय उनै महरा उपप्रधान तथा अर्थमन्त्रीको जिम्मेवारीमा छन् । अक्सर कम मुस्कुराउने महरा अर्थमन्त्री बन्दै गर्दा बिहानै पूर्व अर्थमन्त्रीहरुकहाँ पुगे । आफूलाई अर्थतन्त्रको सामान्य ज्ञान भए पनि शैद्धान्तिक ज्ञान नभएको विनयशील उद्घोष गरे अनि सहयोग र सुझावको लागि पूर्व अर्थमन्त्रीहरुसँग अनुरोध गरे । ‘कम्तिमा आफ्नो विवेकले देखेको कुरा गर्नुहोस्,विकासमा ध्यान दिनुहोस्, तपाईँ सफल हुनुहुन्छ ।’–उनीहरुले सुझाए ।

उनै महराले अहिले अर्थ मन्त्रालयको नेतृत्व हाक्दै गर्दा ‘समृद्ध नेपालको लागि दीगो आर्थिक विकास’ नारा सहित नयाँ कार्यक्रम ल्याउने तयारीमा जुटेका छन् । आर्थिक उन्नतिले मात्र देशको कायापलट हुन्छ भन्ने मान्यतामा अडेर उनले तयार पारेको कार्यक्रमले ६.५प्रतिशतको आर्थिक बृद्धिदरको महत्वाकांक्षी लक्ष्य मात्र बोकेको छैन, पूँजीगत खर्च ८० प्रतिशत पु¥याउने लक्ष्य पनि लिएको छ । त्यो लक्ष्य पुरा गर्न उनले नियमित मन्त्रालयमा अपडेट लिइरहेका छन् । सचिवहरुलाइ स्पष्ट निर्देशन पनि छ उनको –‘खर्च नगर्नेको वजेट खोसेर खर्च गर्ने मन्त्रालयलाइ बाँड्नुस । यहीबाट ब्रेकथ्रु हुन्छ ।’

राजनीतिक गतिरोधका कारण पूँजीगत खर्च हुन नसकेको जुग नै भयो । ठूला परियोजनाहरु गफमा सिमित भए । चालु योजनाहरु विभिन्न बहानामा पूरा हुनै सकेनन् । यस्तो अवस्थामा अर्थमन्त्रालयको सारथी बन्दा असफलको ट्याग लाग्ने वा वाहवाहीको प्रशंसा पाइने दुबै सम्भावना रहेको महराले सजिलै बुझे । राजनीतिक गतिरोध अन्त्यको लागि संवाद र सहमतिको दौडाहाबाट फुर्सद निकालेर उनी अर्थतन्त्रका सामान्य समस्याहरुमा घोत्लिए । अहिले उनले तयार पारेको यो कार्यक्रम त्यही घोत्लाईकै उपज हो । आफ्नो यो योजनालाई कार्यििवधी बनाएर लागु गर्ने सोचमा छन् , महरा । काम गर्न नीति फेर्न पर्छ भने फेरौँ तर केही त गरौँ, पुरानो ढंगले काम गरेर हुँदैन ।’–हरेक बैठकमा उनी यही कुरा दोहो¥याउँछन् ।

उनले तयार पारेको योजनाले नछोएको कुनै विषय छैन । भूकम्पछिको पुनर्निर्माणको लागि बजेट परिचालनदेखि रोजगारी सृजनाको लागि कृषिको आधुनिकीकरण, रोजगार बैंकको स्थापना, एक इलाका एक नमूना व्यवसाय,एक परिवार एक रोजगार,एक स्थानीय सरकार एक एकिकृत व्यवसाय, करदाता मैत्री प्रशासन, एक व्यक्ति एक खाता, मेरो श्रम मेरो विप्रेषण मेरो देश निर्माणसम्मका लोकप्रिय नारासहितको उनको कार्ययोजना सुन्दा जति मीठो छ, कार्यान्वयनमा उति नै जटिलता । समयसीमा तोकेर काम गर्ने प्रवृत्ति विकास गरियो भने लक्ष्य हाँसिल गर्न कठिनाई नहुने बुझेका महराले निश्चित योजनाको लागि निश्चित समयसीमा पनि तोकेका छन् । जनातको बैंक खाता र क्यासलेस इकोनोमीको कुरा महराले पछ्याएजस्तो गरेका छन् भने सामाजिक सुरक्षाको लागि अनुदान र तालीमलाई पनि सगैँ अगाडि बढाएका छन् ।

नेपालको अर्थतन्त्रको जटिलता कार्यान्वयन तहमा बढी रहेको छ । खासगरी राष्ट्रिय महत्वका ठूला परियोजनाहरुको निर्माणको कोठे बहस व्यवहारमा उत्रन नसकेको यथार्थता महराले अरुलेभन्दा बढी नै बुझेका छन् । अन्तर मन्त्रालयबीच समन्वयको अभावमा माखेसाङ्लोमा परेका विकास परियोजनालाई कार्यान्वयनमा ल्याउनु जति चुनौतिपूर्ण छ, त्यति नै सहज पनि ।

क्रमभंगता बुझेका महराले यो कटु सत्यलाई पक्कै बुझेका छन् । छोरा पुस्ताको सपनाको के कुरा ? सामान्य नागरिकका सपनाहरु पनि बदलिँदा छन् । राजधानीबासीको मेट्रो रेल, राजधानी–केरुङ रेलमार्ग, पृथ्वीराजमार्गको स्तरोन्नति, फास्ट ट्रयाक, दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलदेखि ठूला जलाशययुक्त विद्युत परियोजनाहरुको निर्माणमा आवश्यक पर्ने पैसाको जोहो गर्ने दायित्व पनि आफ्नै काँधमाथि आएको उनले पक्कै बिर्सने छैनन् । आफ्नै पहलमा तयार पारेको महत्वाकांक्षी परियोजना कार्यान्वयनको दायित्वबाट विमुख हुने अवसर छैन महरालाई । छोटो समयमा वायुपङ्खी बेगले मात्र महत्वकांक्षा पूरा हुन्छन् । उनी फेरि पनि थप्छन्–‘काम गर्ने र सोच्ने शैली बदलौँ, अब छोरा पुस्ताको सोच अनुसार काम गरौँ ।’समयले दिएको दायित्व पूरा गर्ने अवसरलाई महराले कसरी कार्यान्वयन गर्छन्, त्यसको लागि भने कुर्नैपर्ने हुन्छ ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल