किन तर्सिन्छन् भारत र चीन ?

किन तर्सिन्छन् भारत र चीन ?

निमकान्त पाण्डे

संघीय गणतन्त्रको अभ्यासमा अभ्यस्त नेपालको भाग्य र भविष्य अनिश्चित तथा अन्धकारमय देखिन थालेको छ । यसले गर्दा देशभक्त नेपाली जनता भयभीत र आतंकित भइरहेका छन् । राजनीतिक दलहरूको सत्तामुखी चरित्र र दलीय स्वार्थका लागि जोसँग जस्तोसुकै आत्मसमर्पण गर्न पनि पछि नहट्ने नेपाली नेताहरूको संस्कार एवं प्रवृत्तिका कारण हाम्रा दुवै छिमेकी देशहरू भारत र चीन पनि एकअर्कासँग तर्सिने अवस्थामा पुगेका छन् ।

नेपालका नेताहरूले नेपालको भू–अवस्थिति, नेपालको कारण चीन र भारतमाथि उत्पन्न हुने सुरक्षा संवेदनशीलता जस्ता विषयको उपेक्षा गर्दै अवलम्बन गरिएको विदेश नीतिले गर्दा नेपाल शक्तिराष्ट्रहरूको क्रिडास्थल र शक्ति परीक्षण केन्द्र बन्दै गएको देखिन्छ ।

एकातिर भारतले नेपालमा चीन हावी हुन नपाओस् भन्ने सोचका साथ आफ्नो विस्तारवादी नीति बलियो बनाउन खोज्छ नेपालमाथि भने चीनले भारतको गतिविधि नेपालमा बढेको देख्न चाहँदैन । यसरी दुवै देशको चासो नेपालको भूगोलमाथि बढेको देखिन्छ । परन्तु नेपालका नेताहरू नेपालको परराष्ट्र नीतिमा सन्तुलन बनाउन सकिरहेका पाइँदैन ।

चीन र भारत दुवैले नेपाली नेतागणमाथि विश्वास र भरोसा गर्न सकिरहेका छैनन् भन्ने कुरा तमाम घटनाक्रमहरूले पुष्टि गर्दछन् । नेपालका नेताहरू दिल्ली भ्रमण गरिरहँदा दिल्लीका शासकहरूलाई खुशी बनाउन हरेक विषयहरूमा समर्पित हुन खोज्दछन् भने चीन भ्रमणमा पुगेपछि चीनलाई खुशी बनाउने आधार खोज्ने गर्दछन् । यसरी नेताहरूको कमजोरी दुवै छिमेकी देशका शासकहरूले महसुस गरिरहेका छन् । यही कारणले गर्दा दुवै छिमेकी देशहरूको विश्वास प्राप्त गर्न नेपालका कुनै पनि राजनीतिक दलहरू सफल हुन सकिरहेका छैनन् ।

भारतले नेपालमा चीन र पाकिस्तानको प्रभाव बढिरहेको देख्छ । चीन र पाकिस्तान भारतको सुरक्षाका लागि भारतीय शासकहरूले खतरा देख्ने गर्दछन् । यही कारणले गर्दा भारतले नेपालमाथि आफ्नो आधिपत्य जमाउन प्रयत्न गरिरहन्छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले दोस्रोपटक सत्तासीन भएलगत्तै गर्नुभएको भारत भ्रमणका क्रममा भएको २५ बुँदे सम्झौता को १२औं नम्बर बुँदा भारतले आवश्यक ठान्नुको पछाडि उसले नेपालमाथि अधिकार जमाउन खोजेको कुरा बुझ्न कठिन छैन । प्रधानमन्त्री प्रचण्डले भारत र नेपालले अन्तर्राष्ट्रिय जगत्मा साझा एजेण्डा लिएर प्रस्तुत हुने भनी १२ नम्बर बुँदामा सहमति जनाउनुभएको छ । यो सहमतिले नेपाललाई अन्तर्राष्ट्रियजगतमा स्वतन्त्र रूपमा प्रस्तुत हुन बन्देज लगाउने निश्चित छ । नेपालको लागि यो अवस्था अबका दिनहरूमा निकै चुनौतीपूर्ण हुने देखिन्छ ।

अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले अपनाएको विदेश नीति नेपालका लागि सामान्यजस्तो लागे पनि अरु मुलुकहरूजस्तै सामान्य नेपालका लागि छैन भन्ने कुरा बुझ्न सक्नुपर्दछ । कमसेकम नेपालका सत्तासीनहरूले यो विषयलाई बुझ्न नचाहे पनि अन्य राजनीतिक दलहरूले यसलाई नजरअन्दाज गर्नु हुँदैन । डोनाल्ड ट्रम्पले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई यो क्षेत्रको आफ्नो दलाल बनाउन प्रयास गरिरहेका छन् भन्ने कुरा उनले मुस्लिम धर्मविरुद्ध नरेन्द्र मोदीसँग गरिरहेको गठबन्धनले पुष्टि गर्दछ । नरेन्द्र मोदी मुस्लिम धर्मविरुद्धकै माध्यमबाट राजनीतिमा हैसियत विकास गरेका व्यक्ति हुन् । मुस्लिम धर्मविरुद्ध डोनाल्ड ट्रम्प र नरेन्द मोदीको सहयात्रा नेपालका निम्ति ठूलो चुनौती बन्ने निश्चित छ । प्रधानमन्त्री प्रचण्डले नरेन्द्र मोदीसँग गर्नुभएको १२ नम्बर बुँदाको प्रावधानले मोदी र ट्रम्पको घेराबन्दीबाट नेपाललाई बाहिर निस्कन नपाउने हुन सक्दछ । यो अवस्था आइपर्ला भन्ने सम्बन्धमा प्रधानमन्त्री प्रचण्डले सायदै कल्पना गर्नुभएको थियो होल, त्यसमा दस्तखत गर्दा ।

जाति, भाषा, धर्म र सम्प्रदायका आधारमा नेपालमा लाद्न खोजिएको संघीयता र प्रस्तावित संघीयता कायम गर्न भारत, अमेरिका र युरोपेली संघले देखाइरहेको चासोप्रति उत्तरतिरको छिमेकी मुलुक चीन बेखबर हुने कुरा हुँदैन । चीन भ्रमणका क्रममा नेपालका राजनीतिक दलका नेताहरूले संघीयता नेपालको लागि हानिकारक हुनसक्ने सुझाव पटक–पटक पाएका हुन् । चीनको सुझावप्रति नेपालका राजनीतिक दलका नेताहरूले बेवास्ता गरेकै कारण आज नेपाल सबैभन्दा अप्ठ्यारो अवस्थामा पुगिरहेको छ । संघीयतालाई कार्यान्वयन गर्न सक्ने अवस्था देखिएको छैन । तर पनि भारत, अमेरिका र युरोपेली युनियनको चित्त बुझाउनका लागि पनि संघीयताबाट बाहिर निस्कन नेपालले पाउन कठिन छ । संघीय गणतन्त्र नेपाललाई आफ्नो राजनीतिक, आर्थिक र सामरिक नियन्त्रणमा राखेर चीनको स्थायित्व, शान्ति, समृद्धि र अखण्डताविरुद्ध उपयोग गर्ने नीति भारत, अमेरिका र युरोपेली संघले अवलम्बन गरेकाले बेइजिङ शान्त, समृद्ध, अखण्ड र स्वतन्त्र नेपालको पक्षमा खडा हुँदै आएको बुझ्न कठिन छैन । शान्त, समृद्ध, स्वतन्त्र र अखण्ड नेपाल चीनको समेत स्वतन्त्रता, अखण्डता, समृद्धि तथा शान्तिको भरपर्दो किल्ला हुने धरातलीय यथार्थलाई दृष्टिगत गरेर ‘शान्त कूटनीति’ मन पराउने बेइजिङ भारतका पछिल्ला गतिविधिका कारण नेपालप्रति चनाखो बनिरहेको बुझ्न सकिन्छ । नेपालको समस्यामा सहयोगी बन्न तत्पर भइरहने चीनविरुद्ध पनि डोनाल्ड ट्रम्प र नरेन्द्र मोदीको निशाना मिल्ने भएकाले पनि नेपाललाई भारतसँगको अन्तर्राष्ट्रिय सहकार्य निश्चय पनि सहज हुनेछैन ।

नेपालका सबै नेताले चिनियाँ प्रतिनिधि मण्डलसँगको भेटवार्तामा नेपाल एक चीनको पक्षमा रहेको र नेपालमा चीनविरोधी गतिविधि हुन नदिने जवाफ दिने गर्दछन् । तर डोनाल्ड ट्रम्प र नरेन्द्र मोदी सवालमा फरक दृष्टिकोण राख्ने शासकहरू हुन् भन्ने कुरा उनीहरूले आपूmलाई स्पष्ट गरिरहेका छन् । ‘स्वतन्त्र तिब्बत’का लागि आन्दोलनरत तिब्बती धर्मगुरु दलाई लामाले भारत र अमेरिकाको काँधमा सवार भएर नेपाली भूमिबाट स्वतन्त्र तिब्बत आन्दोलन संचालन गरिरहेका, धर्मको आडमा नेपालका गुम्बा र मठहरू दलाई लामा समर्थकहरूका हतियार तथा सेना राख्ने अखाडा भइरहेका र अमेरिका, भारत तथा युरोपेली संघको संयुक्त लगानीमा तराई भूभागलाई एउटै स्वायत्त संघीय प्रदेश बनाएर भारतीय सुरक्षा छाताभित्र राख्ने योजनाअन्तर्गतका क्रियाकलाप यतिबेला उत्कर्षमा पुगेका छन् । व्यवस्थापिका–संसद्लाई कार्यथलो बनाएर नेपाली जनतामा विभाजन ल्याउन उनीहरू सफल भएका छन् । डोनाल्ड ट्रम्पको काँधमा चढेर नरेन्द्र मोदीले यस क्षेत्रमा मच्चाउनसक्ने उत्पातप्रति आजैदेखि सचेत बन्नु जरुरी छ । मोदीले आफ्नै जन्मथलो गुजरात राज्यमा मुख्यमन्त्री रहँदा मच्चाएको आतंक उदाहरणका रूपमा प्रशस्त छ ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल