नेपालीलाई पाठ पढाउँदै राष्ट्रपति ट्रम्प !

नेपालीलाई पाठ पढाउँदै राष्ट्रपति ट्रम्प !

गोपाल बुढाथोकी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालीलाई सोधेका छन्– देश बनाउँछौं कि विदेशमै रमाउँछौ ? ट्रम्पले आप्रवासीहरुलाई अमेरिका पस्न र बस्न कडाई गर्ने घोषणा गरेका थिए । यही घोषणाले उनलाई चुनाव जितायो । राष्ट्रपति पद सम्हालेपछि उनले केही देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाएका छन् । उनको यो निर्णयले विश्वव्यापी हलचल ल्याएको छ । ट्रम्पको यो कदम हरेक नेपालीका लागि प्रश्न पनि हो र त्यो प्रश्न हो– ‘आफ्नो देश बनाउँछांै कि विदेशमै रमाउँछौ ?’

आप्रवासीप्रति कडा अमेरिकी नीतिको पछिल्लो पृष्ठभूमि भने युरोपमा तयार भएको मान्न सकिन्छ । युरोपका विभिन्न मुलुकले आप्रवासीप्रति कडा नीति अपनाउन थाले । बेलायत, जर्मनी, फ्रान्स, डेनमार्क, इटाली, स्पेन, नर्वे, स्वीडेन, बेल्जियमलगायतका देशहरुमा आप्रवासन बन्द गर्नुपर्ने, आफ्नो देशमा सजिलै विदेशी छिर्न दिन नहुने माग उठिरहेको छ । र, यस्ता माग प्रवल बन्दै गइरहेको छ । आप्रवासीप्रति अनुदार दलहरु चुनावमा बलियो हुन थालेका छन् । वेलायतले युरोपियन युनियन त्याग्नुको एउटा कारण आप्रवासीलाई स्वीकार्नुपर्ने बाध्यता पनि हो ।


शीतयुद्धपछि पश्चिमाहरुले एसिया तथा तेस्रो विश्वका मुलुकहरुमा जातीय राजनीतिलाई बढावा दिन लगानी गरे । त्यसको परिणाम नेपाललगायतका देशहरुमा देखिंदैछ । तर, पूर्वमा फैलाइएको जातीय राजनीतिले पश्चिमी मुलुकहरुलाई पनि छाडेन । पश्चिमा मुलुकहरुमा जातिवादी राजनीतिक धारका पार्टीहरु मौलाउन थाले । त्यसो त पश्चिमी मुलुकहरुमा जातिवाद नयाँ होइन । हिटलरको नाजीवादले विश्वलाई एकपटक तहसनहस पारिसकेको हो । अहिले फैलँदो जातिवाद चाहिं नाजीवादको घोडा चढेर आएको होइन । नाजीवाद नश्लीय थियो, अहिले पश्चिमी जगतमा फैलिएको जातिवाद आप्रवासनको घोडा चढेर आएको छ ।

राष्ट्रपति ट्रम्पको प्रश्नको उत्तर हामीले हाम्रो ढंगले खोज्नुपर्छ । अब हामीले पनि भन्नुपर्‍यो–आप्रवासीहरु आफ्नै देश जाउ, यो देश रैथाने नेपालीको हो । र, यसका लागि विगतमा धाँधली गरेर वितरण गरिएका नागरिकता छानविन हुनुपर्छ, थप नागिरकता वितरणमा कडाई गरिनुपर्छ, अंगीकृत नागरिकता निषेध नै गर्न त सकिन्न तर ठूलो छेकबार लगाउनुपर्छ । ट्रम्पले नेपालीलाई सिकाएको पाठ यही हो

पश्चिमाहरुले नेपालमा फैलाएको जातिवाद बेग्लै बहसको विषय हो । तर, राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासन विरुद्ध महाअभियान छेड्नु भने नेपालको हितमा हुनसक्छ । ट्रम्पको अभियानको दूरगामी परिणाम आउने निश्चित छ । विश्व राजनीतिको धूरीका रुपमा रहेको अमेरिकाले विश्वलाई नै प्रभावित पार्ने गरी चालेको कदमले निश्चय पनि विश्वव्यापी प्रभाव पर्छ नै । राष्ट्रपति ट्रम्पको यो अभियानले विश्व राजनीतिलाई विगतमा कहिले नसोचिएको र परिकल्पना नगरिएको बाटोमा पनि लैजान सक्छ । राष्ट्रपति ट्रम्पको कदमबाट विश्वव्यापी रुपमा अतिवादी तथा दक्षिणपन्थी शक्तिहरु प्रेरित हुनसक्छन् । त्यसको प्रभाव नेपालमा पर्छ नै ।

विदेशमै मर्ने योजना

सर्वसाधारण नेपालीले अमेरिका या अन्य सम्पन्न मुलुक ताक्नु अस्वाभाविक होइन । तर, शक्तिशाली पदमा बस्ने, राम्रो जागिर खाने, अवकाश पाएपछि लुसुक्क अमेरिका, बेलायतलगायतका मुलुक गएर बाँकी जीवन बिताउनेको संख्या ठूलो छ । शक्तिशाली र पहुँचवालाहरुका सन्तान, नातागोता र आफन्त पहिले नै ती मुलुकहरुमा सेटल भइसकेका हुन्छन् । नेपालका दर्जनौं पूर्व मन्त्री, सांसद, सचिव, सहसचिवहरु तथा अन्य उच्च पदमा रहेकाहरुलाई खोज्नपरे सामाजिक संजालमा छिर्नुपर्छ । उनीहरुले अमेरिकामा रमझम गरेको फोटो फेसबुकमा टाँगेको देख्न सकिन्छ । एकजना विशिष्ट ‘नागरिक अगुवा’ अमेरिका भासिएको धेरै भयो, नातिनातिनासंगको फोटो फेसबुकमा हालेर बस्छन्, उनले ट्विटरको प्रोफाइल फोटो पनि नातिकै राखेका छन् । उनको ट्विटरले हरेक नेपालीलाई गिज्याइरहे झैं लाग्छ । ट्रम्पले उनलाई स्वदेश फिर्ता पठाइदिए नेपालमा नागरिक आन्दोलन अलि जाग्थ्यो कि ?

उमेरमा श्रम गर्न, पढ्न र जीवन बनाउन अमेरिका या युरोप भासिनेहरुको कुरा बेग्लै हो । तर, देशमा उच्च तहमा बसेर रस चुस्न, फाइदा लिन सकिन्जेल बस्ने अनि अब तत्काल कुनै मौका पाइँदैन भन्ने लागेपछि अमेरिका भासिएका ठूलाबडा कति छन् ? हामीसंग यसको लेखाजोखा छैन तर ट्रम्प यही रफ्तारमा अघि बढे भने त्यस्ता नेपालीको फेहरिस्त पनि ट्रम्पले ननिकाल्लान् भन्न सकिन्न । देश बिग्रियो भने आफ्नो र आफ्ना सन्ततिको भविष्य बिग्रन्छ भन्ने मान्यता नेपालको उच्च वर्गमा हराउँदै गएको छ । देश बिग्रिए बिग्रियोस्, आफू आफ्ना सात पुस्ता सप्रिउँन, देशमा अशान्ति भए होस्, शान्त अमेरिका पुगेर जीवन बिताउँला भन्ने ठूलाबडाको जमात ठूलो छ । यो जमात कति ठूलो र व्यापक छ भने लालबाबु पण्डित सामान्य प्रशासन मन्त्री हुँदाको हल्लाखल्ला सम्झे पुग्छ । उनले डीभी, पीआर भएका कर्मचारीलाई जागिर या विदेश एउटा रोज्नुपर्ने बाध्यात्मक व्यवस्था गराएका थिए । त्यस्तो कानूनी व्यवस्था गर्न नदिन ठूलै अभियान चलाइएको थियो ।

नेपालमै जीवन बिताउँछु भन्ने भावना नभएका, विदेशमा गएर बसोबास गर्ने योजना भएकाहरुले देशका लागि योगदान गर्न सक्दैनन् । जन्म नेपालमा भएपनि मरण अमेरिकामा हुने बन्दोवस्त मिलाउनेहरुबाट देशले के आश गर्ने ? त्यस्ताहरुले देशका लागि के योगदान दिन सक्छन् ? त्यस्ताहरु देशप्रति कसरी इमानदार रहन सक्छन् ? नेपालीले विदेश जानै हँुदैन, विदेशमा बसोबास गर्नै हुँदैन भन्ने होइन । तर, देश बनाउने या बिगार्ने ठाउँमा बसेकाहरुले विदेश ताक्छन् भने चाहिं तिनको देशप्रतिको निष्ठा र इमानमा भने प्रश्न खडा हुन्छ नै ।

भीसा नपाउनेहरु

हरेक नागरिकले आफ्नै देशमा भविष्य खोज्नुपर्छ । स्वदेशमा भविष्य नखोजेर विदेशमा भविष्य खोज्ने हो भने जन्मभूमि चाहिं कसले बनाइदिन्छ ? बाँचे यही देश, मरे पनि यही देश भन्नेहरुले नै हो देश बनाउने । सके गरौंला, नसके विदेश छिरौंला, उतै मरौंला भन्ने जमातबाट देश बन्दैन । हाम्रोमा बाल्यकालदेखि नै विदेश गएर भविष्य बनाउने सपना देख्ने तालिम दिइन्छ । देशमै बसेर भविष्य बनाउँछु भन्ने आत्मविश्वाश दिइँदैन । लाग्छ, यो देशमा अहिले जति मानिस छन् उनीहरु भीसा नपाएर यहाँ छन् । भीसा पाए देश रित्तो हुन्थ्यो होला । नेपालको तीतो यथार्थ यही हो । नेपालको यो तीतो गतिमा डोनाल्ड ट्रम्पको कदमले ब्रेक लगाइदिने आशा पलाएको छ । किनभने अब अमेरिका सुरक्षित गन्तब्य रहेन । अमेरिकामा जीवन बिताउँला भनेर सपना देख्नु जोखिमपूर्ण हुने भो । युरोपेली मुलुकहरुले पनि सन्देश दिइरहेछन्– आफ्नै देश बनाउ, हाम्रो देशमा नआउ । हो, नेपालमा न वर्तमान सुरक्षित छ न भविष्य सुरक्षित छ । तर अब विदेश पनि सुरक्षित रहेन । विकल्पमा आफ्नै देश बनाउनुपर्‍यो, विदेश गएर बसौंला भनेर सपना नदेखे भो ।

नेपाल किन बनेन भनेर धेरै बहस भइसकेको छ । नेपाल बनाउने निकायमा बसेका तथा हैसियतमा रहेकाहरुलाई नेपाल नबने पनि फरक नपर्ने अवस्था छ । किनभने त्यस्ता हैसियतवालहरु धेरैले भविष्यका लागि अमेरिका रोजेका हुन्छन् । अवकाशपछि नेपाल त्याग्छु भनेर योजना बनाएकाहरुले नेपाल बनाउन योगदान नै गरेनन् भन्नु अन्याय हँुदैन ।
राष्ट्रपति ट्रम्पको असर

राष्ट्रपति ट्रम्पको कदमले कति नेपाली स्वदेश फर्किन्छन् भन्ने तपसिलको विषय हो । यो त्यति महत्वपूर्ण विषय पनि होइन । तर, उनको कदमले नेपालमा व्यापक मनोवैज्ञानिक असर पर्न सक्छ । किनभने अब विदेशमा जीवन बिताउँला भनेर योजना बुन्नेहरुको संख्यामा कमी आउन सक्छ । त्यस्ताहरुको आत्मविश्वाशमा खल्बलिनेछ । विकल्पमा विदेश भन्ने भावनालाई विस्थापित गरेर ‘निर्विकल्प स्वदेश’ भन्ने भावना जागृत गराउन सकिने दिन आएको छ । ट्रम्पले आप्रवासीहरुबाट आफ्नो देश सुरक्षित बनाउन खोजे, उनले आफ्नो देशको हितमै काम गरे । उनको कामको सम्मान गरिनुपर्छ । आप्रवासीको ध्यान र चासो आफू बसेको देश हुँदैन, आफ्नो मातृदेश हुन्छ । जस्तो कि अमेरिकामै बसोबास गरिरहेका र उतै जीवन बिताउने बन्दोवस्त मिलाएका नेपाली जमातलाई हेरौं । उनीहरु न अमेरिकाप्रति पूर्ण बफादार छन् न नेपालका लागि योगदान नै गर्न सक्छन् । हो, नेपालका लागि उनीहरु चिन्तित रहन्छन्, नेपालको भलो चिताउँछन् । तर, भलो चिताएर मात्र देश बन्दैन, देश बनाउन त प्रत्यक्ष रुपमा काम नै गर्नुपर्छ ।

अहिले अमेरिकामा बसोबास गरिरहेका नेपालीहरुको मनमस्तिष्कमा डोनाल्ड ट्रम्पको प्रश्नले घोचिरहेको होला–हाम्रो देश कहिले छाड्छौ ? यता नेपालमै बसिरहेका नेपालीहरुका लागि पनि ट्रम्पले अघोषित रुपमा प्रश्न जारी गरेका छन्– आफ्नै देश बनाउँछौं कि विदेशको आश गर्छौं ?

राष्ट्रपति ट्रम्पको प्रश्नको उत्तर हामीले हाम्रो ढंगले खोज्नुपर्छ । अब हामीले पनि भन्नुपर्‍यो–आप्रवासीहरु आफ्नै देश जाउ, यो देश रैथाने नेपालीको हो । र, यसका लागि विगतमा धाँधली गरेर वितरण गरिएका नागरिकता छानविन हुनुपर्छ, थप नागिरकता वितरणमा कडाई गरिनुपर्छ, अंगीकृत नागरिकता निषेध नै गर्न त सकिन्न तर ठूलो छेकबार लगाउनुपर्छ । ट्रम्पले नेपालीलाई सिकाएको पाठ यही हो ।

(बुढाथोकी साँघु साप्ताहिकका सम्पादक हुन्)

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल