सहिदको अभिलेखीकरण कसले गर्ने ?

सहिदको अभिलेखीकरण कसले गर्ने ?

गणेश निरौला

शब्दकोशमा ‘सहिद’ शब्दको अर्थ बताइएको छ – आफ्नो देश, संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रता प्राप्तिका निम्ति बलिदान भएर लोकहितमा लाग्ने अमर व्यक्तित्व । यहाँ बलिदान भन्नाले ‘ज्यान’नै त्याग्नु पर्छ भन्ने छैन । राष्ट्र र जनताको हितका लागि गरिने कुनै पनि त्यागलाई ‘बलिदान’ भन्ने अर्थ दिन सकिन्छ । तर अचेल ‘सहिद’ भन्नाले देशका लागि प्राण नै त्याग गरेका व्यक्ति भन्ने मात्र बुझ्न थालिएको छ । अझै पञ्चायत कालभरि राणाकालमा प्रजातन्त्र प्राप्तिका लागि शहादत प्राप्त गर्नेलाई ‘सहिद’ मान्यौं ।

वि.सं. २०४६ पछि पञ्चायत कालमा प्रजातन्त्रका लागि मर्ने र मारिनेहरुलाई सहिदको अघिल्लो लस्करमा ल्यायौं । अहिले त ‘शहीद’ शब्द नै ‘सहिद’ भएर सहिद बनिसकेको छ । अनि नेकपा माओवादीले चलाएको सशस्त्र विद्रोह (जनयुद्ध?) कालमा मारिएका राज्य र माओवादी दुबैतर्फका अनगिन्ती मृतकहरुलाई आआफ्ना अभिलेखमा सहिद सूचीकृत गरिएको छ । अझ पछिल्लो चरणमा ५ लाख, ८ लाख वा १० लाखमा सहिद किन्न र बेच्न थालिएको छ । पार्टीका सहिद, समुदायका सहिद, जातिका सहिद, भाषाका सहिद । सहिद अब विभक्त भएको छ टुक्राहरुमा । विनिर्माण भएको छ सहिदको । केस्राकेस्रामा हामी सहिदलाई पाउँछौं, सिङ्गो दानामा होइन ।

उता शब्दकोशको अर्थले देश निर्माण भइसकेपछि त्यसको अस्तित्व, स्वतन्त्रता र प्रजातन्त्रका लागि त्याग गर्नेलाई मात्र समेटेको छ । देश निर्माणको महायज्ञमा आफ्नो प्राण आहुती दिने नेपालीहरु छोडिएका छन् । व्यवहारतः अहिले कृष्णसेन इच्छुक, राजन गिरी, सुरज विश्वास, सेतु विक, कप्तान यज्ञबहादुर, नेत्र दाहाल हुँदै शुक्रराज, दशरथ चन्द, धर्मभक्त र गङ्गालालसम्म पुगेर हाम्रा सहिदको सूची सकिन्छ । यस देशको स्वतन्त्रताको रक्षा गर्न लड्ने र मर्ने हजारौं वीर नेपालीको स्मरण कहाँ कसले गरेको छ ?

सन् १७९२ मा उत्तरी सीमापारबाट चीनले हजारौं (सत्तरी हजार?) सेनासहित आक्रमण गरी धुन्चेसम्म आइपुग्दा तिनको प्रतिकार गर्दा मारिएका नेपालीको रगतको खोइ स्मरण ? नुवाकोटको बेत्रावती नदी किनारमा चीनको सेनासँग निर्णायक युद्ध गरी तिनलाई पछाडि हट्न बाध्य तुल्याउने बहादुर देशभक्त कुन–कुन नेपाली सहिद भएका थिए ? छ अभिलेख कसैसँग ? चीनसँग नेपालको मैत्रीपूर्ण सम्बन्ध कायम त चीनमा साम्यवादी शासन स्थापित भएपछि भएको हो । त्यसअघि कहिले तिब्बतसँग त कहिले चीनसँग सीमाक्षेत्रमा युद्ध हुँदै आएको थियो ।

त्यसकारण उत्तरी सीमाबाट बग्ने हिमनदीमा हाम्रा वीर पुर्खाको रगत मिसिएको छ । हिउँका थुप्रामुनि हाम्रा बहादुर सिपाहीको लास चिसिएको छ । तिनको पनि बैंस थियो, घर थियो, परिवार थियो, इच्छा आकांक्षा थियो तर तिनको त्याग विस्मरणको पत्थरमुनि थिचिएको छ । तत्कालीन नायव शासक बहादुर शाहले त काठमाडौंको राष्ट्रिय ढिकुटीे मकवानपुर सारिसकेका थिए तर काठमाडौंबाट २६ माइल टाढा चिनियाँ सेनालाई रोकेर त्यहाँबाट फर्कन बाध्य पा¥यो नेपाली सेनाले । त्यस राष्ट्रिय सङ्कटलाई टार्न मर्ने नेपाली सिपाही को–को थिए ? छ कतै तिनको अभिलेख ? ती कुनै पार्टीलाई सत्तामा पु¥याउने संघर्षमा मारिएका थिएनन् ।

कुनै सिद्धान्त विशेषलाई स्थापित गराउन नेपाली भाइहरुकै गर्दन सेर्ने काममा मारिएका थिएनन् । न त तिनीहरु नसा दिइएर वा मताइएर आफ्नै घरमा आगो झोस्न पठाइएका युवा थिए । ती त राष्ट्रको सार्वभौमसत्ताको संरक्षण र राष्ट्रिय स्वाधीनताको सुरक्षा गर्ने शृङ्खलाबद्ध घटनाका एउटा अविस्मरणीय कडी थिए । ती बहादुर देशभक्त नेपाली बेगर नेपाल हुँदैन, नेपालको इतिहास हुँदैन, नेपाली हुँदैनन्, नेपालीको स्वतन्त्रता हुँदैन । तर कति कृतघ्न छौं हामी । आफ्नो रगतले सीमा कोरेर, आफ्नै लासको आलीले साम्राज्यको भेल थामेर यो सार्वभौम र स्वतन्त्र सुरक्षित मुलुक हामीलाई हस्तान्तरण गर्ने हाम्रा बाजे बराजु को–को थिए ? हामीलाई थाहा छैन । न थाहा पाउने जमर्को नै गरेका छौं ।

यसरी नै सन् १८१४ मा दक्षिणी सीमाबाट साम्राज्यवादी अंग्रेजी शक्तिको करिब ३२००० फौजले आक्रमण ग¥यो । त्यो घाम नअस्ताउने साम्राज्यको उपनिवेशवादी शक्तिको भेल रोक्न नेपालले टिस्टादेखि सतलजसम्म आफ्ना सपुतहरुको रगतको आहुति दिएको थियो । झन्डै दुई वर्षसम्म चलेको यो युद्ध पनि इतिहासको अँध्यारो खाडलमा पुरिनै लागेको छ । किनभने अब इतिहास पढ्नु नपर्ने भएको छ । मुलुक भुइँफुट्टाहरुले भरिन लागेको छ । तिनलाई न इतिहासको हेक्का छ न भविष्यको चिन्ता । तर इतिहास पढ्नेलाई थाहा छ, नालापानीको किल्लामा लड्ने सरदार बलभद्रको वीरताको जयगान छ । सरदार भक्ति थापाको अतुलनीय देशभक्तिपूर्ण बहादुरीको महिमा छ ।

अमरसिंहको स्वाभिमानले फुलेको छाती र राष्ट्रप्रेमले झर्झराएको अनुहारको गौरवगाथा छ तर यतिमै सकिँदैन इतिहास । इतिहासले भन्छ, ‘युद्ध सुरु हुनुभन्दा अगाडि नालापानीको किल्लामा लगभग ६०० व्यक्ति (सिपाही, आइमाई र केटाकेटी) थिए । पानीसमेत खान नपाएपछि अन्त्यमा बलभद्रले किल्ला परित्याग गर्दा उनीसँग ७० जवान सिपाही मात्र बाँकी थिए । खोइ त ५३० जना नेपालीको नामनामेसी ? अंग्रेजीका आधुनिक तोपका गोला किल्लाका पर्खालमा बज्रिँदा त्यहाँ भ्वाङ पथ्र्यो, पर्खाल लड्थ्यो र धुलो उडेर सबै दृश्य छोपिन्थ्यो । जब धुलो बस्थ्यो र दृश्य सफा हुन्थ्यो अनि देखिन्थ्यो नेपाली महिलाहरु किल्लाको पर्खालको आडबाट तल अंग्रेजी फौजतिर ढुंगा हान्दै हुन्थे ।’ यो बखान नेपालीले गरेका होेइनन्, अंग्रेजी लेखकहरुको हो । खोइ त हामीसँग ती वीराङ्गानाको नाम ? ती सहिदको कोटि भित्र पर्छन कि पर्दैनन् ?

देउथलको युद्धमा अंग्रेजी तोपखाना हात पार्न भक्ति थापाले गरेको तेस्रो प्रयासमा उनी ढले तर यतिन्जेलमा सयौं नेपाली त्यहाँ मारिसकेका थिए । भक्ति थापाको यशोगानको विपुल ध्वनिभित्र तिनको चित्कार विलुप्त भएको छ । स्वयम् भक्ति थापालाई पनि सहिद भनेर ठूलो स्वरले बोलाएको पाइँदैन । कुनै समय बेलायतबाहेक सम्पूर्ण युरोपमाथि विजयी फ्रान्सेली सम्राट नेपोलियन महान्लाई भर्खरै पराजित गरी आएको अंग्रेजी सेनाको आक्रमणबाट यो देशको अस्तित्व जोगाउन हजारौं नेपालीले सीमामा रगत बगाएका छन् । खोइ तिनलाई तर्पण पानी ? तिनको मृत्युले बेसहारा बनेका तिनको परिवारका निसहाय बाल, बृद्ध र वनिताको आँसु लाग्छ कि लाग्दैन हामीलाई ? ती सहिद भनिन लायक छैनन ? के तिनको त्यागको मूल्य अहिलेका पाँच लाखे, दश लाखे सहिदको जति छैन ? तिनले चाहिँ आफूभन्दा शक्तिशाली शत्रुलाई रोकेर यो मुलुक जोगाई दिनुपर्ने, अनि हामीले चाहिँ तिनको नाम पनि थाह नपाउँदा हुने ?

अझ म त भन्छु, ‘गोर्खाली सेनाको नेतृत्वमा यो नेपाल निर्माण गर्ने प्रयोजनले गरिएका युद्धमा कति मानिस हताहत भए ? के तिनको बलिदानलाई अवमूल्यन गर्न मिल्छ ? कीर्तिपुरको युद्धमा काजी कालु पाण्डे मारिए र उनको नाम, वीरता, चातुर्य, राजभक्ति, अनुशासनप्रियताबारे इतिहासले बताउँछ । तर उनीसँगै मारिएका करिब छ सय गोर्खालीको नामनिशान कतै पाइँदैन । यसरी नै सतलजपारि काङ्गडाको विषयलाई लिएर पन्जाबी राजा रणजित सिंहका सिख सेनासँग नेपालीहरुको युद्ध हुँदा नेपाली सेनापति नयनसिंह थापा (भीमसेनका भाइ) मात्र होइन सयौं नेपालीले वीरगति पाएका छन् । के तिनको मृत्युको सम्मानसहित उच्चारण भएको कतै पाइन्छ ? आजभन्दा दुई सय वर्ष अगाडि काठमाडौं र काङ्गडाको दूरी अहिलेभन्दा कैयौं गुणा बढी थियो । त्यस अवस्थामा घर परिवारबाट बर्सौ अलग भएर आफ्नो भूमिको लागि सीमामा लड्दै गर्दा छातीमा गोली लागी हाँसीहाँसी मृत्यु स्वीकार गर्ने यस धर्तीका पुत्रहरु किन विस्मरणको पहिरोले पुरिन्छन् ?

अहिले वर्षको एक दिन वा एक हप्ता पार्टीका सहिद, जातिका सहिद, सम्प्रदायका सहिद आदिको करले गरिने औपचारिक सम्झनाका कार्यक्रमहरुले हाम्रो उचाई घटाउँदै लगेको छ । राष्ट्रिय सहिदहरुको सपना काँचै छन् । तिनको बलिदान निष्फल भएको छ । एउटा स्वार्थी र मूर्ख मानिसभित्र लोभ र अहङ्कार थपिदिँदा कस्तो हुन्छ होला उसको स्वभाव र व्यक्तित्व ? हाम्रो अनि हाम्रा नेताको ठिक त्यस्तै रुप र सार छ । यस अवस्थामा २०७३ को सहिद दिवसले हामीलाई के सन्देश देला ? हामी सहिदहरुलाई के प्रत्युत्तर दिउँला ?

भूपी शेरचन भन्छन् :
हामीले खाने प्रत्येक गाँसमा रगत छ सहिदको
हामीले फेर्ने प्रत्येक पलमा छ धड्कन सहिदको
हाम्रो खुसीका प्रत्येक पलमा छ जीवन सहिदको
पाउने थिएनौं खुसी तिनले छाडेर नगए
बन्दैन मुलुक दुई चार सपुत मरेर नगए

यो मुलुकलाई माथि उठाउन नसके पनि तल झार्ने काममा सहयोगी नबनूँ । यही श्रद्धाञ्जली हुने छ हाम्रा सबै सहिदहरुलाई ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल