माओवादी एकता, अहिले कता–कता !

  |   मणि थापा

माओवादी एकता, अहिले कता–कता !
  • मणि थापा

हामी माओवादीहरुले एउटै माओवादी केन्द्र निर्माण गर्यौँ । केन्द्र निर्माणपछि राष्ट्रिय राजनीतिको समीकरणमा परिवर्तन आएको छ । त्यसको जगमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार निर्माण भएको छ ।

यो केन्द्रका लागि सुखद संयोग हो । यो सुखद संयोगलाई सुखद परिणाम दिनसक्नुपर्छ । यो हामी माओवादीका लागि चुनौतीभन्दा पनि अवसर हो । यो अवसरलाई पार्टी र सरकार दुवै मिलेर उत्तर दिनु जरुरी छ । जनता र कार्यकर्ताको आखा भने सरकारतर्फ फर्किरहेको छ । विशेषतः प्रधानमन्त्री प्रचण्डको सक्रियता र ऊर्जा मन्त्रालयको ऊर्जाले सिङ्गो मुलुक र पार्टीलाई उज्यालो दिएको अनुभूति जनता र कार्यकर्ताले गरेका छन् । प्रतिबद्धता र चाहना हुने हो भने गर्न सकिन्छ भन्ने मान्यता स्थापित भएको छ । जनता र कार्यकर्ता अन्य मन्त्रीहरुबाट पनि त्यही अपेक्षा गरेका छन् ।
जहासम्म पार्टी एकताको प्रश्न छ, एकता बलियो हुने प्रक्रियामा छ । तर यससँगसँगै प्रश्नहरु पनि उब्जिएका छन् । पार्टी एकताका प्रतिबद्धताहरु कति पूरा भए ? कति पूरा हुन बाँकी छन् ? पार्टी एकताका आधारहरु माओवादी विचारअनुसार भइरहेको छ वा छैन ? यी कुराहरु विश्लेषण हुन भने बाँकी छ । सायद समग्र विश्लेषण गर्ने समय भइसकेको छैन । हामीले सामान्य चर्चा भने गर्नैपर्छ ।

पार्टी एकतापछि सरकार बन्यो । केही राम्रा कामहरु गर्ने प्रयत्न हँुदैछ । संविधान संशोधन र चुनावको प्रश्नमा सरकार गम्भीर छ । यहाँसम्म ठीकै छ । तर शान्ति प्रक्रियालाई टुङ्ग्याउने सन्दर्भमा कामहरु अघि बढेका छैनन् । यसमा गम्भीर बन्नैपर्छ ।

पार्टी एकताको महत्वलाई बुझाउने, पार्टी एकतालाई वैचारिक, राजनीतिक र सङ्गठनात्मक आन्दोलनको विषय बनाउने, अन्य माओवादी घटकहरु र बामपन्थीहरुसँग छलफल चलाउँदै ध्रुवीकरणको प्रक्रियालाई अझ फराकिलो पार्ने कुरामा भने हामीले आशातित प्रगति गर्न सकेका छैनौँ । पार्टी एकतापछि पनि माओवादी आन्दोलनमा विचार, राजनीति, संस्कृति, जननीति र प्रर्याप्त आशावाद पैदा गर्ने कुरामा हामीले सोचेअनुसार काम गर्न सकेनौँ । देशव्यापी प्रदेशस्तरमा एकता भेला गर्दै एकताको सन्देश दिनुभन्दा ध्रुवीकरण र एकताको विषयवस्तुलाई संस्थागत गर्ने कुरामा हामी चुकेका छौँ । सरकार निर्माण गरिसकेपछि पार्टी एकता र ध्रुवीकरणलाई स्थापित गर्न हामी अझै चुक्यौँ । हामी कम्युनिस्टहरु दुःख सुखका साथी बन्ने, नेता होइन कमरेड बन्ने, एकअर्काका प्रतिस्पर्धी होइन सहयोगी बन्ने, सबैको अस्तित्व स्वीकार गर्ने, सबैको पहिचानलाई आत्मसात गर्ने समाजवादी आदर्श पार्टी एकतापछि स्थापित गर्न अझै सकेका छैनौँ । साथै पार्टी एकता हारहरुको गठबन्धन होइन अनुभवहरुको संकेन्द्रण हो । एकको अर्कोमा विलय होइन रुपान्तर हो भन्ने स्तरको सोच हामीले बनाउन सकेनौँ । आवश्यकताबाट पैदा भएको एकताभन्दा बाध्यताबाट पैदा भएको एकताजस्तो बन्न गइरहेको छ । एकता सङ्घर्ष र रुपान्तरको कोर्स हो । पार्टी एकता रणनीतिक प्रश्न हो । यसलाई कार्यनीतिक कोर्स बनाउने कुरा गलत हुन्छ । यसमा हामी सबै गम्भीर बन्नुपर्ने परिस्थिति बनिरहेको छ ।

पार्टी एकतापछि हामीले चाहेको माक्र्सवादी प्रणाली हो । माक्र्सवादी विज्ञान हो । सही विचार सही प्रणालीबाट लागू हुन्छ । साइकलको चेनले मोटरसाइकल चल्दैन । बगिरहेको पानीले ऊर्जा पैदा गर्दैन । तर यसलाई एउटा प्रणालीमा रुपान्तरण गरेपछि मात्र ऊर्जा पैदा हुन्छ र उज्यालो बल्दछ । विचार खोला हो । सङ्गठन प्रणाली हो । जहाँ जहाँ कम्युनिस्टहरुले वैज्ञानिक प्रणाली निर्माण गर्न ध्यान दिएनन्, उनीहरुले उज्यालो दिन सकेनन् । जहाँ जहाँ प्रणाली बन्यो सानो खोलाबाट पनि ऊर्जा पैदा भयो । हामी माओवादीहरुले जनयुद्धको तयारीमा र जनयुद्धमा जबरजस्त क्रान्तिकारी प्रणाली निर्माण गर्यौँ, तब हामीले सशस्त्र सङ्घर्षको नेतृत्व गर्यौँ । जब हामी तदर्थवादबाट काम चलाउन प्रयत्न गर्यौँ, माक्र्सवादी प्रणालीलाई नजरअन्दाज गर्यौँ, हामी अलमलियौँ । हामी रुमलियौँ । पार्टी जति ठूलो भए पनि, जति स्थापित नेता भए पनि त्यसले जनताले चाहेअनुसारको परिणाम दिन सकेन । आज हामी परिणाम कसरी प्राप्त हुन्छ भन्ने कुरा गर्न डराउने परिस्थिति सिर्जना भएको छ । जहाँ प्रणाली हुँदैन, पार्टी सधैँभरी झगडा मिलाउने ठाउँ, असन्तोष व्यक्त गर्ने प्लेटफर्म, बैठकहरु रचनात्मक होइन ध्वंशात्मक हुन्छन् । हरेक बैठकहरुमा नयाँ झगडाको बीउ रोपिन्छ । अनि गुटहरुको अखडा, हारजितको मानसिकता पैदा हुन्छ । यसले परिणाम निकाल्न सक्दैन । अतः राम्रो परिणाम निकाल्न माक्र्सवादी प्रणालीलाई जबरजस्त लागू गर्नैपर्छ । यो प्रणालीको खोज पार्टी एकताको आधार बनाउनुपर्दथ्यो । त्यहाँ ढिलाइ भइरहेको छ ।

हामीले पार्टी एकता गरेको जनयुद्धको विचारलाई रक्षा र विकास गर्न हो । जनयुद्धको विचारलाई आत्मसाथ नगरी माओवादी नामको पार्टी सुदृढ हुन सक्दैन । हामीले पार्टी एकताको कुरा गरिरहँदा जनयुद्धको विचारलाई केन्द्रमा राखेर दायाँ बायाँ मोडिने कुरा गरेका थियौँ । माओवादी पार्टी जनतासँग रगत र बलिदानसँगै जोडिएको पार्टी हो । यसको विकास पनि रगत र बलिदानको सही मूल्याङ्कन गरेर मात्र हुन सक्दछ भन्ने कुरामा प्रष्ट हुन जरुरी छ । जनतासँगको सम्बन्धलाई सुदृढ गर्ने भनेको जनयुद्धको मूल्याङ्कन, जनताको बलिदानको मूल्याङ्कन गर्नु हो र त्यसलाई परिवर्तनको एजेन्डा बनाउनु हो । नेता कार्यकर्ताले त्यो बलिदान, त्याग र तपस्यालाई आत्मसाथ गर्नु भनेको हो । त्यो सात्मसातीकरणलाई माक्र्सवादी विचार प्रणालीमा ढालेर नयाँ विचारको विकास गर्नु भनेको हो । नयाँ विचारको विकासविना अहिलेका उपलब्धिको रक्षा गर्न सकिँदैन । माक्र्सवाद लागू गर, संशोधनवाद होइन । जनयुद्धको विचारलाई आत्मसात गर । आज हामी यो स्पिरिडमा छौँ कि छैनौँ भन्ने कुरामा पनि प्रश्नचिन्ह उठ्न दिनु हुँदैन ।

हामीले पार्टी एकता ऐतिहासिक आवश्यकता थियो, गर्यौँ । आवश्यकताले जम्बो केन्द्रीय समिति बनाउनुपर्ने थियो, बनायौँ । यसमा हामीले हीनताबोध गर्ने कुनै कारण छैन । तर पार्टी एकतालाई दायाँ वा बायाँ कुनै कोणबाट हामीले नजरअन्दाज गर्यौँ भने त्यो रणनीतिक भूल हुन्छ भन्ने कुरामा सबै नेता कार्यकर्ता आवश्यक चनाखो हुन भने ढिला भइसकेको छ । पार्टी एकताले पनि जनताको आशामा विश्वास थप्न सकेन भने हाम्रो आन्दोलनमा नयाँ समस्या पैदा हुनेछन् । ती नयाँ समस्या समाधान गर्ने उपायहरु पनि सम्भवतः रित्तिँदै जानेछन् । त्यो बेला एकले अर्कोलाई दोष लगाउँदै धारे हात लगाउँदै इतिहासको ब्याज खाएर बस्नुपर्ने बाध्यतामा हामी हुनेछौँ । अब अर्को कुनै एकता वा ध्रुवीकरणले समस्या समाधान गर्ने अवसर पनि हामीलाई बाँकी रहने छैन । त्यसैले पार्टी एकतालाई नेताहरुको एकता, महत्वाकाङ्क्षा पूरा गर्ने साधनका रुपमा व्यवहार गरिनु हुँदैन । पार्टी एकतालाई आन्दोलनको एकता, रुपान्तरणको एकता, जनताको एकता, भावनात्मक एकता, क्रान्तिका बाँकी कार्यभार पूरा गर्ने एकताका रुपमा बुझ्न आवश्यक छ । त्यो बुझाइको स्पिरिडमा कतै स्खलन त आएन भन्ने प्रश्न उठ्न दिनु हुँदैन । यो आजको कार्यनीति हो । सबैले बुझ्न जरुरी छ । हामी माओवादीहरुका लागि धेरै विकल्पहरु बाँकी छैन । पार्टी एकताको सन्दर्भमा मातृका यादव र मैले कमरेड प्रचण्डसँग भनेका थियौँ– “अब माओवादीलाई गल्ती गर्ने छुट छैन ।” यो कुरालाई कमरेड अध्यक्षले रुचाउनुभएको थियो । यस आधारमा हामी भन्न सक्छौँ अब हामी माओवादीलाई गल्ती गर्ने छुट छैन । हामीले राम्रो गर्न सकेनौँ भने पनि केही छैन । गल्ती मात्र गरेनौँ भने पनि माओवादीको भविष्य उज्ज्वल छ ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल