शीतल निवासमा ज्ञानेन्द्रले चाखे गणतन्त्रको काफल

-  |   कुसुम भट्टराई

शीतल निवासमा ज्ञानेन्द्रले चाखे गणतन्त्रको काफल

छोरी निशा कुसुमको विवाहमा राष्ट्रपति विद्या भण्डारीबाट पूर्वराजा ज्ञानेन्द्र शाहलाई शीतल निवासमा हार्दिक आमन्त्रण भयो । पूर्व राजाबाट सहजै निमन्त्रणा स्वीकार भयो । उनले यदि निमन्त्रणा स्वीकार नगरेका भए उनको नियतमाथि बरु प्रश्न उठनसक्थ्यो, किन उनले गणतन्त्र नेपालको राष्ट्रपतिलाई किन उपेक्षा गरे ? कसै कसैले प्रश्न गर्नसक्थे– के राजा फेरि राजतन्त्र फर्काउन चाहन्छन् ? तर ज्ञानेन्द्रबाट राष्ट्रपतिको निम्तो सहर्ष स्वीकार भएको देखिन्छ, जुन गणतन्त्रवादीहरुका लागि गौरवको कुरा हो ।

अचेल राजधानीमा दिनहुँ यस्ता भोज भइरहन्छन् र तिनमा आफन्त, इष्टमित्र र शुभचिन्तकहरुको सहभागिता भइरहन्छ । हुन पनि यो माघको जाडोमा विवाह गर्नेहरुको यहाँ कुनै कमी छैन । अनि हनिमुनका लागि पनि यो उत्तम मौसम मानिन्छ । नवजोडीहरु उमेर पुगेपछि विवाह सङ्गठनको सहारामा न्यानो अँगालोमा बाँधिनु स्वाभाविक मानवीय कर्मकाण्डभित्रै पर्छ । उनीहरुको त्यो प्रणय मिलन अनुष्ठानका क्रममा को–को साक्षी र सहभागी भए, तिनको हिसाब हुँदैन । उनीहरु आउँछन्, आशीर्वाद दिन्छन् र जान्छन् ।

पूर्व राजा ज्ञानेन्द्र विवाह भोजका लागि शीतल निवासमा घुस्नु चाहिँ विशेष घटना हो । मुलुकमा गणतन्त्र स्थापना भइसकेको छ र पूर्व राजा ज्ञानेन्द्र एक सामान्य नागरिकमा परिणत भइसकेका छन् । हामी यतिखेर पुराना द्वन्द्वका कुरा बिर्सिएर राष्ट्रिय एकता र मेलमिलापको चरणमा प्रवेश गरिसकेका छौँ । ज्ञानेन्द्रले सहजै नारायणहिटी दरबार त्यागेका हुन् । उनले परिवर्तनलाई मन नलागे पनि हाँसी हाँसी आत्मसात गरेकै हुन् । एउटा नागरिकमा रुपमा ज्ञानेन्द्र विदेश भ्रमणमा जान पाउँछन् । उनी मन्दिर र मठहरुमा गई पूजाअर्चना गर्न पाउँछन् । अनि कसैले विवाहमा डाकेमा भोज खान जानु पनि स्वाभाविकै हो । त्यसमाथि नेपालकै प्रथम महिला राष्ट्रपतिले डाकेको भोजमा उनको उपस्थिति अस्वाभाविक भने हैन ।

शीतल निवास सबैको हो । निश्चय नै पहिला नारायणहिटी दरबार सबैको थिएन । त्यो कुनैबेला राजा–रानी, राज परिवार र दरबारियाहरुको मात्र थियो । त्यसैगरी शाही कालमा सिंहदरबार पनि सबै नेपालीको थिएन । त्यो शासक वर्गको मात्र थियो । मधेसी, जनजाति, आदिवासी, दलित, उपेक्षित वर्ग कसैको पनि थिएन, सिंहदरबार । त्यसैगरी शीतल निवास पनि शासक वर्गको मात्र थियो । २०५२ देखि २०६३ सम्म चलेको सङ्घर्षको प्रतिफल मुलुकमा जसै गणतन्त्र आयो, नारायणहिटी सबैका लागि खुला भयो । सिंहदरबार पनि सबैका लागि खुला भयो । सोही मेसोमा शीतल निवास पनि अब आम जनताको साझा आस्था, गरिमा र विश्वासको केन्द्र बन्न पुगेको छ । अतः शीतल निवास पौने तीन करोड नेपालीमध्ये एक पूर्वराजा ज्ञानेन्द्रका लागि पनि खुला छ ।

यही त हो लोकतन्त्रको सौन्दर्य । शीतल निवासमा उपस्थित भएर पूर्वराजाले गणतन्त्र नेपाललाई भावनात्मक रुपमै आत्मसात गरेको विश्लेषण गर्न सकिन्छ । गणतन्त्र नेपालका राष्ट्रपतिको निवासमा उनी जानु भनेको गणतन्त्रलाई उनले नैतिक, भौतिक र आत्मिक रुपमै स्वीकारेको ठम्याउन सकिन्छ । यदि उनी मुलुकमा राजतन्त्र फर्काउनुपर्छ भन्ने पक्षमा कायमै भएको भए गणतन्त्र नेपालको त्यो शीर्ष केन्द्र थलोमा जाँदैनथे । किनभने उनको नैतिकताले त्यसो गर्न दिँदैनथ्यो । उनी अझै राजावादी भएको भए शीतल निवासमा जानु लज्जाको विषय हुने थियो । शीतल निवासमा उनको प्रवेश हुनु भनेको उनी पनि अब गणतन्त्रवादी आम नेपालीकै कोटीमा पुगेको प्रमाण हो । उनले शीतल निवासमा गई भोज खानु भनेको ‘गणतन्त्रको काफल’ चाख्नु हो । गणतन्त्रको काफल चाखिसकेपछि गणतन्त्र मान्दिन, राजतन्त्र नै चाहिन्छ भनेर अब उनले नभन्लान् कि ?

गणतन्त्र नेपालका राष्ट्रपतिको निवासमा आयोजित भोजमा पूर्वराजा सरिक भएको घटना बरु राजावादीका लागि गुनासोको विषय हुनसक्छ । राजावादीहरु यदि साँच्चै आफ्नो निष्ठामा अडिग छन् भने यो उनीहरुका लागि हीनताबोधको विषय पनि हो । आफूले मानिआएका ‘राजा’ले नै गणतन्त्र नेपालका राष्ट्रपतिको निम्तो मानिदिएपछि राजावादीहरुको तुजुकको के अर्थ ? राजा नै गणतन्त्रवादी भइदिएपछि अब राजावादीहरुले राजतन्त्र फर्काउन राजा खोज्दै कहाँ जाने ? भन्ने प्रश्न खडा भएको छ ।

कुनै पनि कार्यक्रम अथवा समारोहमा उपस्थितिले विशेष अर्थ राख्छ । भेन्युले पनि खास अर्थ राख्छ । उदाहरणका लागि, मानौं माओवादी–केन्द्रका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ज्ञानेन्द्रका कुनै आफन्तको भोजमा सरिक हुन निर्मल निवासमा गए भने त्यसले के अर्थ देला ? पक्कै पनि त्यो माओवादी कोणबाट आलोचनाको विषय हुनेछ । किनभने जुन राजतन्त्र समाप्तीका लागि प्रचण्डको नेतृत्वमा दस वर्षसम्म सङ्घर्ष भयो, सोही राजतन्त्रका अन्तिम नाइकेको निवासमा प्रचण्ड उपस्थित हुनु भनेको ती तमाम सहिद, घाइते, बेपत्ता र तिनका आफन्तको अपमान हुनेथियो । तर प्रचण्ड त्यसरी निर्मल निवासमा गइदिनु स्वयं राजावादीहरुका लागि भने स्वागतयोग्य विषय हुनेछ । किनभने प्रचण्ड पनि राजातिर ढल्किएको भन्दै राजतन्त्र पुनर्वहालीका लबिङ गर्न उनीहरुलाई सजिलो हुनेथियो ।

शीतल निवासमा ज्ञानेन्द्र भोज खान जानु गणतन्त्रवादीहरुका लागि स्वागतयोग्य घटना हो भने राजावादीहरुका लागि आपत्तिको विषय हो । किनभने राजतन्त्र, हिन्दू राष्ट्र र केन्द्रीकृत शासन फर्काउने उनीहरुको अभियानलाई ज्ञानेन्द्रले शिथिल पारिदिएका छन् । जुन राजाले गणतन्त्र नेपालको संस्थागत शीर्ष केन्द्र थलोमा गएर भोज खान्छ, अब त्यो राजालाई कसरी पुनर्वहाली गर्ने ? जुन राजाले गणतन्त्र नेपालका राष्ट्रपतिलाई भावनात्मक रुपमै आत्मसात गर्छ, अब त्यो राजालाई कसरी पुनर्वहाली गर्ने ? त्यति मात्र हो र ? जुन राजाले गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवका नाति र उनकी नवदुलहीलाई आशीर्वाद दिन्छ, तब ती राजा गणतन्त्रवादी नै भएको मान्नुपर्ने हुन्छ ।

अतः पूर्वराजा नयाँ नेपालको नयाँ परिवेश र परिपाटीप्रति प्रतिबद्ध भएकै मान्नुपर्ने हुन्छ, जुन गणतन्त्रवादीका लागि खुशीको र राजावादीका लागि निराशाको विषय हो । आफ्नो नेतृत्वमा भएको लामो सङ्घर्षको प्रतिफल प्राप्त भएको गणतन्त्रमा पूर्वराजाले राष्ट्रपति निवासमा सरिक हुनु प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका लागि पनि गर्वकै कुरा हो । निश्चय नै, यो पुष्पकमलका लागि गौरवको कुरा हो भने कमल (कमल थापा)का लागि चाहिँ निराशाको विषय हो ।

पूर्व राजालाई भोजहरुमा सरिक हुन छुट छ । मन्दिर धाउन पनि छुट छ । राज्यलाई कर तिरेर आफ्ना व्यवसाय गर्न पनि छुट छ । आम नेपालीलाई संविधानले जे–जे मौलिक अधिकार दिएको छ, ती सबै काम गर्ने छुट उनलाई छ । यसमा कसैले आपत्ति जनाउनु जरुरी छैन । दस वर्षअघि यसैगरी विदेश घुम्ने, मन्दिर धाउने, भोज खान जाने काममा मात्र उनी सीमित भएको भए राजतन्त्र यति चाँडै समाप्त हुने थिएन ।

पूर्वराजालाई पनि गणतन्त्र नेपालको एक आस्थाको केन्द्र अर्थात् शीतल निवासमा प्रवेश गराउन सफल भएकोमा राष्ट्रपति विद्या भण्डारीलाई बधाई तथा हार्दिक धन्यवाद दिनुपर्छ । राष्ट्रपति भण्डारीको यो चातुर्य प्रशंसनीय छ । उनले ज्ञानेन्द्रलाई गणतन्त्रको घेराभित्र ल्याएकै मान्नुपर्ने हुन्छ । पूर्वराजालाई गणतन्त्रको काफल चखाएर राष्ट्रपतिले राजावादीहरुलाई एक्लो पारिदिएकी छन् ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल