बिस्मार्क, पृथ्वीनारायण र नेपाल

बिस्मार्क, पृथ्वीनारायण र नेपाल

गणेशकुमार निरौला

जर्मनी एकीकरण हुनुअघि सानाठूला गरी झण्डै तीन सय राज्यमा विभाजित थियो । १९औं शताब्दीको तेस्रो दशकमा त्यहाँ जोल्बरिन संघ निर्माण भएपछि जर्मनी एकीकरणको परिस्थिति देखा प¥यो । सन् १८६१ मा जर्मनीको सबभन्दा शक्तिशाली राज्य प्रसामा विलियम प्रथम राजा र बिस्मार्क प्रधानमन्त्री बनेपछि एकीकरणको कामले प्राथमिकता र गति पायो । यस अघिको प्रसाको संसदमा उदारवादीहरुको बाहुल्य थियो र उनीहरु सैनिक बलमा एकीकरण गर्नु हुन्न भन्ने पक्षमा थिए ।

यिनको विचार जनचेतना विस्तार गरेर, जनमत सिर्जना गरेर नै जर्मनीको एकीकरण गर्न सकिन्छ भन्ने थियो । त्यसै कारण सैनिक अभियानका लागि भनी बढाइएको बजेट संसदले पारित गरेन । संसद भंग गरियो । फेरि चुनाव भयो । उदारवादीहरुकै संसद बन्यो । बिस्मार्कले संसदलाई निषेध गरेर कर उठाउन थाले । राजाले उनलाई समर्थन दिए । राजा विलियम प्रथम पनि बिस्मार्क जस्तै सैनिक शक्तिमा विश्वास गर्थे । उनीहरुको विचार थियो …… हतियार र युद्धले मात्र जर्मनीको तत्कालीन समस्या समाधान हुन सक्छ, भाषण र मतदानले होइन ।

उनको यस रणनीतिलाई तत्कालीन युरोपमा कार्यान्वयन गर्नु अत्यन्त जटिल कार्य थियो । किनभने जर्मनी भूगोलभित्रका साना राज्यहरु कुनै डेनमार्कको प्रभुत्वमा थिए, कतिमा फ्रान्सको प्रभाव थियो, धेरै जसो साना राज्यमा अष्ट्रियाको प्रभाव र अधिनता थियो । जर्मनीको एकीकरण गर्न प्रसाले युरोपका यी तिनै वटा शक्तिशाली राष्ट्रसँग युद्ध गर्नै प¥थ्यो । युद्धमा विजयी भई जर्मनीको एकीकरण हुने जति सम्भावना थियो, पराजित भई प्रसाकै अस्तित्व मेटिने सम्भावना पनि उत्तिकै थियो । यस्तो अवस्थामा युद्ध गर्न बिस्मार्कले व्गननभि एयष्अिथ अपनाए ।

सर्वप्रथम सन् १८६४ मा अष्ट्रियासँग मित्रता गाँसेर डेनमार्कसँग युद्ध गरी जर्मनभाषी क्षेत्रहरु खोसेर लिए । यसपछि रुससँग मैत्री सम्बन्ध राख्दै सार्डिनिया र फ्रान्ससँग अष्ट्रिया विरुद्ध सन्धि गरे सन् १८६६ मा । अष्ट्रिया र प्रसा बीचको युद्धमा अष्ट्रिया पराजित भई उत्तरी र मध्य जर्मनीमा अष्ट्रियाको प्रभुत्व अन्त्य भयो ।

अब एक्लै पारेर सन् १८७० मा फ्रान्समाथि आक्रमण गरे । युद्ध सुरु भएको २ वर्ष भित्रमा प्रसाले ८३ हजार सेना सहित नेपोलियन तृतीयलाई कैद ग¥यो, पेरिस कब्जा ग¥यो । पछि फ्रान्ससँग सन्धि गरी दक्षिणी जर्मनीमा एकीकरणको कार्य पूरा भयो । बिस्मार्कले समृद्ध, शक्तिशाली र एकीकृत जर्मनी निर्माणको महत्तम कार्य पूरा गरेरै छोडे ।

प्रसाको नेतृत्वमा बिस्मार्कले जर्मनीको एकीकरण गर्नुभन्दा एक सय वर्ष अगाडि नै गोरखाको नेतृत्वमा पृथ्वीनारायण शाहले नेपाल एकीकरणको काम थालेका थिए । उनले पनि बिस्मार्कले जस्तै ‘हतियार र युद्ध’ कै नीति अपनाएका थिए । तत्कालीन नेपालमा जनचेतना, जनमत वा कुनै प्रजातान्त्रिक प्रक्रियाको कल्पना गर्न सकिदैन थियो ।

त्यसकारण पृथ्वीनारायणले नेपाल एकीकरण कार्य थालनी गर्नु अघि हतियारको जोहो, फौजी संगठन र छरछिमेकसँगको सम्बन्ध जस्तो पूर्वाधार निर्माँण गरेका थिए । उनले आफ्ना विश्वासी योद्धाहरुसँग सल्लाह लिँदा सोधेका थिए — दिक्वन्दसेनसित हाक दि आञां नेपाल पनि देषि आञां हान्नाको मनसुवा पनि राषी आञां तिमीहरु क्या भन्छौं ?

उनलाई शंका थियो उनी— नेपाल खाल्डातिर युद्धका लागि हिडेपछि पश्चिमतिरबाट गोर्खामाथि आक्रमण हुन सक्थ्यो । यस्तो स्थितिमा भुइँको उठाउँन खोज्दा पोल्टाको पोखिन जान्थ्यो । दूरदर्शी पृथ्वीले आफ्ना अनुचरहरुसँगको छलफलमा भने — म जसै अर्काको छत्रभङ्ग गर्न त जान्छु मेरो छत्रभङ्ग गर्न अर्को आयो भन्या कसो होला ? उत्तर आयो — बाइसे चौबिसे आयो भन्या चेप्यामा रगतको नदी बहाउँला । यसरी युद्ध गर्नै पर्ने निचोड पृथ्वीनारायण र उनका सहयोगीहरुले निकालेका थिए । तर, पृथ्वीनारायण आफू एकै चोटि दुईटा मोर्चामा युद्ध गर्नसक्ने अवस्थामा थिएनन् । सल्लाह दिने क्रममा उनका मामा उद्योत सेनले भनेका थिए — लमजुन भन्याको गरुड हो गोर्षा भन्याको सरप हो नेपाल भन्याको भ्यागुतो हो अघि गरुडको आषा छलनु तब सरपले भ्यागुतो षान पाउँछ ।

गोर्खाको पश्चिमतिर गोर्खाभन्दा समृद्ध, शक्तिशाली र विशाल राज्यहरु थिए । यी मध्ये पाल्पा पृथ्वीनारायणको मावली राज्य थियो । कास्की, तनहुँ, पर्वत, जाजरकोट आदि राज्यसँग सामान्य सम्बन्ध भए पनि लमजुङ गोर्खाको चीरशत्रु थियो र यो गोर्खाभन्दा शक्तिशाली पनि थियो । माथि लमजुङलाई गरुड र गोर्खालाई सर्प भनिएको छ । यसबाट यी राज्यको हैसियत प्रष्ट हुन्छ । यस्तो अवस्थाम लमजुङलाई आफ्नो पक्षमा नपारी पूर्वतिर युद्ध थाल्नु मूर्खता हुन जान्थ्यो ।

पृथ्वीनारायणले लमजुङे राजा रिपुमर्दनसित चेपे नदीको किनारमा भेटी घाहा बाँधी (सन्धि गरी) पूर्व हान्न जाँदा गोर्खालाई पश्चिमबाट सुरक्षित तुल्याएका थिए । यो उनको कुटनीतिक कौशलको उदाहरण थियो । त्यसो त काठमाडौं उपत्यकाका तीन मल्ल राज्यसँग युद्ध गर्दा पनि उनले यही नीति अख्तियार गरेका थिए । त्यसैकारण भादगाउँको राजकुमारसँग मित लगाएका पृथ्वीनारायण शाहले कान्तिपुरमा आक्रमण गर्दा भादगाउँले सघाएन । पाटनसँग युद्ध गर्नै परेन, बाकी रहेको भादगाउँ एक्लै टिक्न सकेन । सन् १७६९ मा भादगाउँ विजय गरेपछि आधुनिक नेपालको जग बसेको मानिन्छ ।

यसपछि चौदन्डी र विजयपुर राज्यका राजा र मन्त्री (दिवान) हरु बीचको झगडाबाट फाइदा उठाउँदै गोर्खाली फौजले सन् १७७४ सम्ममा ओल्लो र माँझ किराँतसहित चौदन्डी एवम् विजयपुर राज्य विशाल नेपालमा मिलायो । सिक्किमको आक्रमक र असभ्य व्यवहारले दिक्क भएको लिम्बूवान (पल्लो किराँत) पनि आफ्नो स्वायत्तता (किपट व्यवस्था) निरन्तर रहने शर्तमा नेपाल राज्यमा मिल्न आयो । यसरी पश्चिमतिरबाट अविजेय शक्तिका रुपमा नेपाल एकीकरणको नेतृत्व गर्दै आएको गोर्खाली सेनासँग सिक्किम त्रस्त भयो र पहिले कब्जा गरेको इलाम क्षेत्र नेपाललाई बुझाई सन्धि ग¥यो ।

बिस्मार्कले राजा विलियम प्रथमको आडमा जुन अभूतपूर्व कुटनीतिक चातुर्य र रणनीतिक कौशलले जर्मनीको एकीकरण पूर्ण गरेका थिए, पृथ्वीनारायण शाहले एक्लै त्यो शौर्य, चातुर्य र कुशलता देखाएका थिए । बिस्मार्कले जर्मनी एकीकरणको क्रममा तीन ठूला र शक्तिशाली देशहरुसँग युद्ध गरे जस्तै पृथ्वीनारायणले अंग्रेजी फौज, मुसलमान फौज र नेपालभित्रका साना अनेकौं राज्यका फौजसँग युद्ध गर्नुपरेको थियो ।

स्मरणीय छ — धेरै बुज्रुकहरु बाईसे–चौबीसे राज्यमा विभाजित नेपाललाई पृथ्वीनारायण शाहले एकीकरण गरी सिङ्गो नेपाल बनाए भनी गफ छाँट्दछन् । आजकल इतिहास पढ्ने काम अनुत्पादक र वाइयात ठानिन्छ । त्यसकारण अहिलेका शिक्षितहरुलाई थाहा छैन– पृथ्वीनारायण शाहले बाईसे—चौबीसे राज्यहरुमध्ये एउटै पनि विजय गरेका थिएनन् । गोर्खा स्वयम् चौबीसे राज्यभित्र पर्नु अलग कुरा हो । तर उनले त गोर्खापूर्वका तत्कालीन नुवाकोट, मकवानपुर, कीर्तिपुर, कान्तिपुर, पाटन, भादगाऊँ ओल्लो र माँझ किराँतसहित चौदण्डी, लिम्बुवानसहित विजयपुर राज्य विजय गरेका हुन् । उनको पश्चिमी विजय अभियान असफल भयो ।

यस अभियानलाई सफल बनाउन, भोटसँगको खोटो टकको समस्या सुल्झाउन र कान्छा छोरा बहादुर शाहको बिहे गराउने योजना बनाउँदै गर्दा पृथ्वीनारायण शाह नुवाकोटमा बिरामी परे । त्यहीँ देवीघाटमा सन् १७७५ मा यिनको मृत्यु भयो । त्यस बेलासम्म आधुनिक नेपालको आधार तयार भइसकेको थियो । त्यसै आधारमाथि राजमाता राजेन्द्र लक्ष्मी र बहादुर शाहले नेपाल एकीकरणको कार्य अघि बढाए । भीमसेन थापाले पश्चिममा सतलज नदीपारि काङ्गडा पु¥याए नेपाली सेनालाई । तर, घाम नअस्ताउने साम्राज्य, तत्कालीन विश्वको सबभन्दा शक्तिशाली मानिने अंग्रेजहरुले दक्षिणी सीमामा पाँच ठाउँबाट गरेको आक्रमणपछि झण्डै दुई वर्ष युद्ध चल्यो र सन् १८१६ मार्चमा युद्धको अन्त्य भयो ।

नेपालले एक तिहाई भूभाग गुमाएर सुगौलीको सन्धि गर्नु प¥यो । त्यसपछि सन् १८५७ को भारतको सिपाही विद्रोहमा अंग्रेजलाई सहयोग दिएवापत जंगबहादुरले पुरस्कारस्वरुप पाएको बाँके, बर्दिया, कैलाली र कञ्चनपुर नेपाली सीमाभित्र आएपछि वर्तमान नेपालको मानचित्र कायम भएको हो ।

अहिलेको हाम्रो विडम्बना भनेको राष्ट्रनिर्माता बडामहाराज पृथ्वीनारायण शाहसहित यो मुलुक निर्माण गर्ने र जोगाउने हाम्रा पुर्खाहरुलाई गरिएको विस्मरण हो । आफ्नो गौरवपूर्ण इतिहासप्रतिको उपेक्षा हो । आफ्नो इतिहास विस्मरण गर्ने कुनै पनि जातिको भविष्य सुरक्षित रहेको दृष्टान्त कमसेकम यस पृथ्वीमा देखिएको छैन । सबैलाई चेतना भया ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल