जातीय छुवाछूतमा अएको परिवर्तन

-  |   मुरारी ढुङ्गेल

जातीय छुवाछूतमा अएको परिवर्तन

मानिस परिवर्तनका संवाहक हुन् । समाजमा हुने गरेका जातीय, धार्मिक कुरीति, अन्धविश्वास समयक्रमसँगै परिवर्तित, परिमार्जित, सुधारोन्मुख हुँदै जान्छन् ।

मानिसमा हुने चेतना स्तरको विकाससँगै उसले अङ्गीकार गर्ने सामाजिक–परम्परा, धार्मिक–मूल्यमान्यता पनि परिवर्तन हुँदै जाने हुनाले समाज विकासको बाटोमा अघि बढ्छ ।

तर यसको आसय परिवर्तनको प्रक्रियालाई हामीले निश्चित खालको पूर्वघोषणा र पूर्वअनुमान गर्न मिल्ने हुन्छ भन्ने होइन । यो समयक्रम संगै परिवर्तन हुँदै जाने प्रक्रिया हो ।

परिवर्तनलाई न हामीले हाम्रो अनुकुलको गोरेटोमा हिँडाउन सक्छौँ न पूर्वअनुमान गर्न नै सकिन्छ । परिवर्तन समय अनुकुल रहेर समाजको मुख्य आवश्यकताको पहिचान गर्दै समाजलाई नै परिवर्तत गरी अघि बढेको हुन्छ ।

यसले समाज प्रतिकुलको अवस्था नै सिर्जना हुन पाउँदैन । परिवर्तनको नाममा देखिने समाजलाई अपाच्य परिवर्तन दिगो हुन सक्दैन । समाजले आवश्यकता महसुस गरेको परिवर्तन नै दिगो तथा प्रभावकारी हुन्छ ।

नेपाली समाजको प्राचीन अवस्थालाई हेर्ने हो भने नेपाली समाजभित्र जातीय विभेद प्रष्ट रुपमा देखिने गथ्र्यो । उच्च जात र नीच जातको ठूलो खाडल सृजना गरिएको थियो । कथित नीच जात भएकै कारणले समाजमा उसको महत्वलाई स्वीकार गरिँदैन थियो ।

कम महत्व दिने चलन थियो । अझ नीच जातको व्यक्तिलाई समाजले कम महत्वको मानिएका काममा लगाइने गरिन्थ्यो । पारिश्रमिकमा पनि भेदभाव गरिन्थ्यो । भोज भतेरका जूठो भाँडा माझ्न, खेतबारी खनजोत गर्न, भारी बोक्न, दाउरा चिर्न जस्ता काममा कथित तल्लो जातका मानिसलाई प्रयोग गरिन्थ्यो । तल्लो जातको व्यक्तिलाई यतिसम्म हेलाको दृष्टिकोणले हेर्ने गरिन्थ्यो कि आजको युवाले कल्पनासम्म गरेको थिएन ।

कथित तल्लो जातका व्यक्तिले बाटो हिँड्दै गर्दा उपल्लो जातको मानिस त्यही बाटो गरी आए, त्यो तल्लो जातको व्यक्तिले बाटो मुन्तिर झरेर उसलाई बाटो खाली गरिदिनुपथ्र्यो । उच्च जातको मानिस हिँड्ने बेलामा कथित नीच जातको व्यक्ति देखिएमा अशुभ भयो भनेर हेला गरिन्थ्यो । उच्च जातको घरभित्र नीच जातको मानिस पस्न पाउने परिकल्पनासमेत हुन्न थियो । आज त्यो सोचाइबाट समाज थोरै भए पनि परिमार्जित भएको छ । नीच जात भएकै कारणले शिक्षा दीक्षाबाट पनि वञ्चित हुनपथ्र्यो । यस्ता थिए जातीय विभेदका हाम्रा प्राचीन अवस्था तर वर्तमानमा निकै परिवर्तन भएको अनुभव गर्न सकिन्छ ।

परिवर्तन मानिसले चाहेरभन्दा पनि स्वतस्फूर्त समयक्रमसँगै समाजको आवश्यकताअनुसार हुने कुरा हो । परिवर्तन हाम्रो योजना मुताविक हुन सक्दैन । परिवर्तनलाई मानिसमा हुने चेतना स्तरले मार्ग निर्देश गर्दछ । कसैले जबर्जस्त रुपमा लादेर कसैमा परिवर्तन आउँदैन ।

हिजोको समाजभन्दा आजको समाजमा जातीय हिंसामा देखिएको परिवर्तन आकास जमिनको फरक छ । आजकल समाजले केही हदसम्म अन्तरजातीय विवाह, सार्वजनिकस्थल तथा भोजभतेरमा हुने खानपान आदि कुरामा उच्च जात र नीच जातबीचको भेदभाव खासै पाइँदैन ।

हिजोको पानी चल्ने जात मानिएका तल्लो जात र उपल्लो जातबीच आज खासै छुवाछूत भएको देखिँदैन । यसो भनिरहँदा आजको समाजमा जातीय छुवाछूतको अन्त्य भइसक्यो पङ्क्तिकारको त्यो आसय होइन तर समाजमा जातीय छुवाछूत केहीहदसम्म परिमार्जन उन्मुख छ ।

हामी हिजोभन्दा आज समाजमा जातीय हिंसा कम भइरहेको महसुस गर्न र स्पष्ट देख्न सक्छौँ । जातीय छुवाछूतलाई एकैचोटि परिवर्तन गर्छु भनेर हुन्न । यसले झन समाजलाई नकारात्मक दिशातिर लान सक्छ । मानिसमा आउने क्रमिक परिवर्तनले समाजमा जातीय हिंसामा सकारात्मक सुधार आउँछ ।

नेपाली समाजमा भएका राजनीतिक परिवर्तनले जातीय छुवाछूतमा परिवर्तन आएको कुरालाई नकार्न सकिन्न । मानिसले प्राप्त गरेको शिक्षाले उसको चेतना स्तरमा भएको सकारात्मक परिवर्तन नै जातीय छुवाछूत अन्त्यको मूल अस्त्र बन्न सक्छ । वर्तमान समय विश्व भुमण्डलीकरणको समय हो । आधुनिकीकरण उन्मुख हाम्रो युवा जमातले जातीय भेदभाव स्वीकार गर्दैन । आज हरेक मानिस परिवर्तनको पक्षधर छ । यसर्थ पनि उसले अङ्गीकार गर्ने परिवर्तनमा जातीय भेदभाव स्वतः कम हुँदै जान्छ ।

जातीय भेदभावलाई पूर्णरुपमा अन्त्य गर्न हरेक तह–तप्का सरोकारवाला निकाय, राज्य संयत्रको भूमिका आज पनि उत्तिकै महत्वपूर्ण छ । सहरी समाजमा भन्दा ग्रामीण समाजमा जातीय छुवाछूत अहिले पनि केहीहदसम्म देखिन्छ । त्यस्तै अशिक्षित समाजमा जातीय छुवाछूतका शेषहरु जीवित नै छन् ।

तराईका पहाडिया समुदायभन्दा मधेसी समुदायमा जातीय भेदभावको हिंसा तुलनात्मक रुपमा बढी भएको कुरालाई नकार्न सकिँदैन । कारण तीे समुदायमा चेतना स्तर एवं शिक्षाको कमी छ । यसर्थ राज्य स्तरबाट हरेक व्यक्तिमा सकारात्मक सोचका लागि शिक्षित तुल्याउनु अपरिहार्य कदम हो । गरिबीका कारण आज पनि नेपाली जनता शिक्षा लिनबाट वञ्चित भएका छन् । यसकारण राज्य स्तरले बेलैमा यस कुरामा ध्यान पुर्याई शिक्षा क्षेत्रलाई हरेकको पहँुचमा पुर्याउनु पर्दछ । जसले समाजमा देखिएका जातीय भेदभाव स्वतः कम हुँदै निमिट्यान्न हुन सक्छ ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल