मधेस आन्दोलनको १० औं वर्ष र त्यसका उपलब्धि

-  |   अरूणकुमार साह ‘अनिल’

मधेस आन्दोलनको १० औं वर्ष र त्यसका उपलब्धि

दिनको झल्को बिहानीले दिन्छ । कहिलेकाहीँ अप्रत्यासित घटना सङ्केतमा खराब देखिए पनि परिणाममा फलदायी हुन्छन् । त्यसैको परिणाम हुन् मधेस आन्दोलन । जुन कुरा कसैले पनि चिताएका थिएन् । मधेस आन्दोलनको बिजारोपन हुँदै गर्दा त्यसले अर्कै भाव र धारको प्रतिनिधित्व गरिरहेको भान हुन्थ्यो । अर्थात् मुलुकमा सदियौँदेखि उत्पीडनको जाँतोमा पिल्सिँदै आएको मधेसी जनता काला र गोरा (मधेसी पहाडी) बीचको विभेद सतहमा देखिन्थ्यो । त्यो स्वाभाविक र सत्य कुरा थियो । तर, सङ्घर्षले साँचिकै कुनै पनि कुरा असम्भव छैन् भन्ने कुराको प्रमाणित गर्यो ।

२३७ वर्षे निरङ्कुश राजतन्त्रको अन्त्यपछि मुलुकमा छाएको स्वतन्त्रताले जन अपेक्षा सोचे भन्दा फरक थियो । आज मधेस आन्दोलनको १०औं वर्ष वितिसक्दा पनि मधेसी जनताको मुक्ति र स्वतन्त्रताको कुरा फेरि किन उठ्दै छन् ? के मधेसी जनताले सङ्घर्षबाट अवसर नपाएको हो ? त्यसैले एकै पटक अपेक्षित सपना पूरा गर्न कसैले सक्दैन । १० वर्षसम्म माओवादी पार्टी हिंसाको राजनीति गरिरहँदा आज माओवादी आन्दोलन कुन ठाउँमा छन् ? सबैले मूल्याङ्कन गर्नुपर्ने विषय हो । विगतमा एमाले काङ्ग्रेसले पनि सङ्घर्षपश्चात विलय भएको इतिहास मरेको छैन । त्यसैले वर्ग सङ्घर्ष गम्भीर विषय हो । सङ्घर्ष र परिणाम पनि फरक अभिलेख हुन् । अवस्था अनुसारको सङ्घर्ष र सङ्घर्ष अनुसारको परिणामको निर्धारण हुन्छन् । त्यसैले यसको भागेदार जनताभन्दा नेतृत्वको काँधमा सुम्पिएको हुन्छन् ।

नेतृत्व भनेको निर्णायक शक्ति हुन् । आज मधेसी जनता नेतृत्वकै कारण परिणाममा गुणात्मक सफलता नपाए पनि पहिचानमा भन्ने गुणात्मक सफलता पाएका हुन् । फेरि पहिचान प्रप्ति नै होइन भन्न खोजेको होइन् । यसको प्रमुख दोष फेरि नेतृत्वमा नै जान्छ । यो सब कुरा नेतृत्वमा भरपर्ने कुरा हो । सरकार त दोषी छँदैछ । तर, कतै न कतै हामी पनि दोषी छौं भन्ने कुराको महसुस गर्न जरूरी छ । राज्यको विभेदपूर्ण चरित्र ढाल्न र जन उत्तरदायी बनाउन नेतृत्व र जनताको अहम् भूमिका हुन्छ । जसबाट हामी चुक्दै आएका छौँ ।

मलाई अझै झझल्को छ २०६३ माघ ५ गतेको । जसले लहानमा मधेस आन्दोलनको बिजारोपण गर्यो । मलाई दोषी ठान्नु ऊर्जा हो । पछुतो छैन । त्यो बुझाइमा भरपर्ने कुरा हो । म त्यतिखेर अन्जानको पात्र हुँ । मलाई यो पनि थाहा छ । हाम्रो तत्कालीन नेकपा (माओवादी) पार्टीले सङ्गठित तरिकाले उठाएको सङ्घीय प्रदेशको मुद्दा कारणवस २०६३ माघ १ गतेको अन्तरिम संविधान जारी गर्दा अडानमा चुकेको थियो । जुन मुद्दा मुलुकको समग्र उत्पीडित वर्ग, समुदाय र क्षेत्रका लागि प्रमुख मुद्दा नै थियो । तत्कालीन सरकारको त्यो विभेदपूर्ण निर्णयको शिरोधार मधेसी जनताले गर्न सकेनन् र माघ २ गते मधेसी जनताका सहासी अगुवा राजनीतिक पात्रहरू उपेन्द्र यादव, रामेश्वर राय यादव, निलम वर्मा, बीपी यादव लगायतले काठमाडौंमा ज्ञापनपत्र पुझायो ।

माघ ३ गते अन्तरिम संविधान जलाउँदा तत्कालीन सरकारले उनीहरूलाई जेलमा हाल्ने खेल गर्यो । परिणामतः तराई मधेसको स्थिति एकाएक फेरियो । सङ्घीय प्रदेश, समग्र मधेस एक प्रदेश, राज्यको पुनर्संरचना, जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्र तथा समान प्रतिनिधित्वको सवाल, पूर्ण समानुपातिक समावेशिताका विषयहरू रोडमा चर्को रूपमा उठ्न थाल्यो । जुन माओवादीकै एजेन्डा तत्कालीन उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरमले पकड स्थापित गर्यो । हाम्रो योगदान सङ्घर्ष तत्कालीन पार्टीको विश्वासका रूपमा थियो । भनेकै कुरामा अडिग थियौँ । किनभने आमूल परिवर्तन पार्टीको मुख्य उद्देश्य थियो ।

सम्पूर्ण उत्पीडित वर्ग जाति, समुदाय र क्षेत्रको मुक्ति नै हाम्रो मुख्य लवज थियो । तर अन्तरिम संविधान जारी हुँदा र सङ्घीयता लगायतका विषय उल्लेख नहुँदा हामीमा पनि कताकता मनमा निराशा, तिक्तता, कुण्ठा पलाएको थियो । तर भूमिगत जगतबाट बाह्य सतहमा आएको एक पार्टीको इमानदार सदस्यको नाताले विश्वास र शङ्का प्रमुख कुरा थिएन । त्यसमा पनि म जनमुक्ति सेनाको एक कुशल मधेसी सिनियर कमान्डर पात्र थिए । पटक पटकको युद्ध मोर्चामा घाइते हुँदा मेरो मानसिक सन्तुलन समेत गुमेको अवस्था थियो । शरीर र मस्तिष्क भरी बमका छर्राहरू अझै पनि ताजै छ । लहान घटना हुँदा म त्यतिखेर मधेसी बटालियन फोर्सको कमान्डर थिएँ । मानसिक असन्तुलनका कारण बटालियनको सारा जिम्मेवारी मेरा सहायक कमान्डर ग्यानेन्द्रबहादुर गुरूङ (कसम) ले नै फुल कमान्ड सम्हालेका थिए ।

शान्ति प्रकृयाका क्रममा पार्टी केन्द्रले २०६३ माघ ५ गते चितवनमा अगुवा कार्यकर्ताहरूको प्रशिक्षण कार्यक्रमको आयोजना गरेको थियो । त्यही दिन यता मधेसमा आगो बल्ने दिनको सङ्केत दिँदै थियो । प्रशिक्षणको कुरा मलाई ४ गते मात्र अबेरसम्म खबर भएको थियो । सूचना प्रविधिको अवस्था अहिलेको जस्तो थिएन् । सप्तरी जिल्लाका सिनियर नेता अशोक मण्डल (अमर) हाल सप्तरी २ नं. क्षेत्रका निर्वाचित सभासद तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन् । हामी सँगै ५ गते बिहानै एउटै बाइकमा प्रशिक्षण कार्यक्रम चितवनतिर जाने सल्लाह भयो । भोलि बिहानै हामी रूपनी बजारबाट हिँड्यौँ पनि । तर, सप्तरीको कल्याणपुर बजार नपुग्दै अमर दाइको मोबाइलमा फोन आयो र हामी रिटर्न भयौँ रूपनीतिरै ।

रूपनी पुग्दा मात्र थाहा भयो पूर्वबाट एउटा बस र बोलेरोमा साथीहरू आउँदैछ । त्यही गाडीमा चितवनसँगै जानुपर्ने भयो । हामी बाइक रूपनीबजारमै राख्यौँ र हिँड्यौँ । रूपनी बजारमा पनि नाराबाजी भइरहेको थियो । तर, हामीसँगै पहिला माओवादी पर्टीमा काम गर्ने नजिककै साथी सुरेन्द्र प्रसाद साह रहेकाले सकारात्मक तरिकाले हाम्रो गाडी अगाडि बढ्यो । आन्दोलनरत पक्षबाट त्यस्तो कुनै अप्रियता भएन । जब त्यहाँबाट हामी लहानको हस्पिटल चोकमा आइपुग्यौँ अनि लहानको स्थिति आन्दोलनमय रहेको खबर पायौँ । हस्पिटल चौकमा एकजना चिनेकै कन्डक्टर दाइ रहेकाले त्यहाँ हाम्रो कुरा मिल्यो । त्यस्तो अभद्रता भएन् । हामी आफ्नो प्रशिक्षणको जानकारी गराएरै लहान चोकतिर अघि सर्यौं । हाल लहानको सहिद चोक पुगनासाथ आन्दोलनरत पक्षका युवा साथीहरूले एक्कासि हाम्रो गाडी रोके ।

मलाई थाहा छ, त्यहाँ एक जना चिनेकै साथी धनेश्वर यादव पनि हुनुहुन्थ्यो । तत्कालीन जनमोर्चाका निर्मल बराले युद्धकालमै लहान बस्दा पार्टीको स्टम्प बनाउनमा सहयोग गर्नुभएको थियो । त्यतिबेलै हात काटिएको धनेश्वरसँग चिनाजानी भएको थियो । उहासँग हाम्रो प्रशिक्षण कार्यक्रम चितवन जानुपर्ने भएकाले हाम्रो गाडी जान दिन आग्रह गर्दै थियौँ । त्यतिबेलै केही युवाहरूले हामीलाई गाडीबाट ओर्ल भन्दै पहाडी मधेसीलगायतका अपशब्द प्रयोग गरिरहेका थिए । त्यसैबेला म उहाँहरूलाई सम्झाउन गाडीबाट ओर्लें । मसँग तत्कालीन जनमुक्ति सेनाका ब्रिगेडियर हाल नेपाली सेनाका प्रमुख सेनानी वासुदेव घिमिरे (पावेल) दाइ पनि हुनुहुन्थ्यो ।

आन्दोलनकारी युवाहरूलाई पहाडी मधेसीको कुरा गर्नुभन्दा सही कुराका लागि हामी सँगै लडौँ । हाम्रो प्रशिक्षण चितवनमा छ, हामीले पनि कुरा उठाउँछौँ मात्र के भनेका थिए त्यतिकैमा पहाडीका दलाल भन्दै ममाथि सबै आइलागे । निर्ममतापूर्वक ममाथि हातपात भयो र म स्पोटमै मूर्छित भएँ । त्यस अवस्थामा मलाई सियाराम ठाकुरको हातमा रहेको मौजर हुलमा प्रहार भयो र रमेश महतोको मृत्युभयो । हामी चढेको गाडी त्यसपछि दनदनी बल्यो । हामीसँग रहेको एक बोलेरो गाडीमा अग्रज नेताहरू तथा अहिलेका सूचना तथा समचार मन्त्री सुरेन्द्र कार्की (राम कर्की) लगायत चढेको बोलेरो गाडी आक्रमणबाट ब्याक भएर सुरक्षित हुन सफल भयो ।

रमेश महतोमाथिको गोली प्रहारले आगोमाथि घिउ थप्यो र लहान बजार आगोसरी बल्न थाल्यो । दर्जनौँ गाडीमा आगजनी भयो । टायर बाल्नेदेखि पहाडी विरोधी नाराबाजीले लहान बजार सम्प्रदायितामै फेरियो । तत्कालीन सगरमाथा अञ्चलका एसएसपी विज्ञानराज शर्मा, सिरहा जिल्लाका एसपी भोगबहादुर थापा र ई.प्र.का. लहानका इन्सपेक्टर लक्ष्मण गिरीको सुरक्षामा प्रमुख भूमिका थियो । यसले थप क्षति हुनबाट जोगायो । मलाई लहान थानामा राखेको थियो । आन्दोलनकारीहरूले मलाई मार्न प्रहरी चौकीमाथि पटक पटक आँधीसरी आक्रमण गरिरहेका थिए ।

बेलुका मलाई कडा सुरक्षाकाबीच रातारात धारान घोपामा उपचारका लागि प्रहरीले लग्यो । केही दिन त्यहीँ उपचारमा भर्ना भएँ । मेरो स्वास्थ्य स्थितिमा सुधार आयो । यता लहान बजारमा रमेश महतोको लास राखेर लहान दनदनी बलिरहेको खबर पाइरहेका थियौँ । यसै समयमा तराईमा सशस्त्र गतिविधि चलाइरहेका जयकृष्ण गोइत र नागेन्द्र पासवान (ज्वला सिंह) नेतृत्वको तराई जनतान्त्रिक मुक्ति मोर्चाका कार्यकर्ताहरू पनि आन्दोलनमा सरिक थिए । सङ्घर्षको उत्कर्षले अब इतिहासमा मधेसी जनता फेरि आन्दोलन र रगत बगाउनुपर्दैन लाग्थ्यो । मधेस मुक्तिका लागि ५५ जनाले सहादत प्राप्त गरिसकेका थिए । सयौँको सङ्ख्यामा मधेसी समुदाय घाइते अपाङ्ग भइसकेका थिए । व्यापक सङ्घर्षको १९ दिनमै मागहरूको सम्बोधन पनि भयो । स्थिरताको केही दिनमै धरानबाट सिरहा सदरमुकाम पुगेँ र फागुण २ गते सिरहाका तत्कालीन जिल्ला सेक्रेटरी अजय शङ्कर नायक (अविनाश) हाल कामुन मन्त्री हुनुहुन्छ, उहाँकै जिम्मामा रिहा भएँ अनि आफ्नै गृह जिल्ला सप्तरी फर्किएँ ।

मधेसी जनतामा हर्स र उल्लास छायो । तर त्यो खुशी धेरै दिन टिक्न सकेन । मधेसवादी नेताहरूको व्यापक निजी स्वार्थका कारण सता, सरकार र कुर्सीको लोभमा सारा मधेसी जनताका सपना र आदर्श चकनाचुर भयो । निर्वाचनमा मधेसी जनताको व्यापक मतदानले मधेसवादी दल मुलुकको तेस्रो पार्टीको दर्जामा आयो । तर, केही वर्ष नबित्दै सबै फुटेर माओवादी पार्टीझैं धुजाधुजा बन्यो । नेताहरूको स्वार्थका कारण सहिदका सपना र मधेसी जनतामाथि कलङ्कको टीका थप्यो । आज मधेसी जनता आफ्नो पूर्ण मुक्ति र स्वतन्त्रताका लागि फेरि पनि भौँतारिन विवश छन् । त्यसैले मधेसवादी दलहरू विगतको इतिहासबाट पाठ सिकेर नयाँ सिरानीबाट फेरि मधेस मुक्तिका लागि अगाडि बढ्न जरूरी छ । यसका लागि निजी राजनीतिक स्वार्थहरूबाट माथि उठ्न जरूरी छ । सबै एकआपसमा विनासर्त विलय हुन जरूरी छ । यसका लागि धेरै ठूलो त्याग र तपस्याको खाँचो छ । जुन त्याग बलिदान भन्दा सयौँ गुणा दर्दनाक हुन्छ । के मधेसवादी दलले त्यो त्यागको बलिदा गर्न सक्छन् ?
राजविराज कारागार, सप्तरी

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल