गोरु ब्याउने देश नेपाल !

-  |   गोपाल बुढाथोकी

गोरु ब्याउने देश नेपाल !

सांसद पनि खरीद विक्री हुन्छन् र ? कांग्रेस र एमाले पनि खरीद विक्रीमा लाग्छन् र ? २०५१ साल अघि सर्वसाधारण यस्तै ठान्थे, यस्तै सोच्थें पनि । २०५१ सालको मध्यावधि चुनावमा कुनै पार्टीले बहुमत ल्याएनन् । सबैभन्दा ठूलो पार्टी एमाले बन्यो, त्यसपछिको ठूलो कांग्रेस बन्यो ।

तेस्रो ठूलो पार्टी राप्रपा बन्यो । राप्रपामा अहिलेकै नेताहरु थिए । त्यसबेलाका मुख्य खेलाडी सूर्यबहादुर भने दिवंगत भइसकेका छन् । त्यसबेला संसदीय गणित नै यस्तो थियो कि राप्रपा जता ढल्क्यो उसकै सरकार बन्ने । कसैको बहुमत नभएको अर्थात त्रिशंकु संसद बनेपछि कुनै दुईटा पार्टी मिलेर सरकार बनाउनुपर्ने भयो । कांग्रेस र एमाले बीच यति सत्रुता र प्रतिस्पर्धा थियो कि उनीहरु मिल्ने कुनै सम्भावना नै रहेन ।
राप्रपासंग मिलेर सरकार बनाउन कांग्रेस लजायो । त्यसबेलासम्म कांग्रेस र एमालेहरुले आफूलाई निकै क्रान्तिकारी ठान्थे । राप्रपा र राजावादीहरुलाई अछुत झैं व्यवहार गर्थे । राप्रपासंग मिल्नुपर्ने बाध्यतामा कांग्रेस थियो तर मिलेन । सिर्फ लाजको कारणले मिलेन । राप्रपा र कांग्रेसले मिलेर सरकार नबनाएपछि सबैभन्दा ठूलो पार्टीको नाताले एमालेले अल्पमतको सरकार बनायो । मनमोहन अधिकारी पहिलो कम्युनिष्ट प्रधानमन्त्री बने । एमालेले नौ महिना अत्यन्तै लोकप्रिय सरकार चलायो । जनताबीच एमाले हाईहाई भयो । यति हाईहाई भयो कि ढुंगामाटो पनि एमाले बन्यो भनेर मानिसहरु ठट्टा गर्थे । त्यस्तो ठट्टालाई छोपिदियो क्रुर वास्तविकताले । अविश्वास प्रस्ताव आएपछि एमाले सरकारले प्रतिनिधिसभा विघटन गरिदियो । सर्बोच्च अदालतमा मुद्दा पर्‍यो । प्रधानन्यायाधीश विश्वनाथ उपाध्यायको इजलाशले प्रतिनिधिसभा विघटनलाई उल्टाइदियो ।
नेपालको पछिल्लो इतिहासमा यो घटना टर्निङ प्वाइन्ट ठहरियो । त्यहाँबाट अदालत र संसद दुवैतिर नैतिक स्खलन सुरु भयो । पुनस्र्थापित प्रतिनिधिसभामा राप्रपालाई कांग्रेस र एमाले कसले काँध थाप्ने भन्ने प्रतिस्पर्धा सुरु भयो । बीचमा राप्रपा, दायाँवायाँ कांग्रेस र एमाले । सांसद खरीद विक्री भए । अनेक चमत्कारिक अनैतिक काम भए । राजनीतिमा नैतिक पतन कतिसम्म हुनसक्छ भन्ने दुर्दान्त नमूना राप्रपाका सांसदहरुले पेस गरे । तर, तिनलाई खर्च बाँडेर नैतिक पतनको पराकाष्ठामा पुर्‍याउने भने यिनै कांग्रेस र एमालेका नेता थिए । नैतिक पतनमा जाकिने र जाक्ने दुवैथरी अहिले राजनीतिमा सदाबहार छाइरहेका छन् । त्यसपछि नेपाली राजनीतिमा कालो धन, सुन तस्करीमा दीपक मलहोत्रा जस्ता तस्करहरु उदाए । महापंच खोभारी रायहरु मालामाल चए । कालो धनको शक्ति सर्वाेपरी भयो । इमानजमान, नैतिकता, आदर्श र सिद्धान्त गायब भयो । राजनीति भनेकै कुर्सीका लागि र पैसाका लागि भन्ने मान्यताको औपचारिक थालनी विन्दू त्यो घटना भयो ।
सर्वाेच्चले प्रतिनिधिसभा पुनरस्थापना नगरिदिएको भए के हुन्थ्यो होला ? आजको आँखाले फर्किएर हेर्दा अनेक कुरा देखिन्छ । पुनरस्थापना नगरिदिएको भए के हुन्थ्यो भन्ने प्रश्न बिना कारण उठेको होइन । त्यसअघि गिरिजाप्रसाद कोइरालाले प्रतिनिधिसभा विघटन गर्दा अदालतले सदर गरिदिएको थियो । एउटा प्रधानमन्त्रीले गरेको विघटन सदर, अर्का प्रधानमन्त्रीले गरेको विघटन वदर । मनमोहन सरकारले गरेको विघटन वदर भएपछि त्यसबेलाका राप्रपा नेता राजेश्वर देवकोटाले गरेको टिप्पणी थियो–‘सर्वाेच्चमा गोरु ब्यायो †’
त्यसपछि सर्वाेच्चमा मात्र होइन नेपाली राजनीतिमा, शासन प्रशासन सर्वत्र गोरु ब्याउन थाल्यो † नहुने काम पनि पेलपाल पारेर हुने बनाइन थाल्यो । अदालतले के फैसला गर्छ भन्ने अनुमान नै गर्न नसकिने भयो । किनभने न्यायको तुलोमा जोखेर होइन, राजनीतिक र अन्य स्वार्थको प्रभावले अदालतमा फैसला हुन्छ भन्ने जनधारणा बन्न थाल्यो । राजनीति खत्तम, न्यायालय खत्तम, प्रशासन खत्तम, नेता खत्तम भन्ने भावना जनतामा जाग्यो । त्यो भावनामा टेकेर महाराजा ज्ञानेन्द्रले सत्ताहरण गरेको बिर्सन मिल्दैन ।
राजनीतिमा गोरु ब्याउने अर्थात् अनर्थ हुने क्रम घट्नुको सट्टा झनझन बढ्दै गयो । संविधानसभाका नाममा समानुपातिक सभासदको प्रणाली भित्र्याइएपछि सांसद पद नै खरीद विक्रीको वस्तु बन्न पुग्यो । जोसंग टन्न दाम छ ऊ सभासद् बन्ने पक्का । कतिपयले त करोडको बलमा पार्टी खोलेर एकदुई सीट सांसद पद हात पारेको पनि देख्न पाइएको छ र तिनलाई सांसद भनेर मान्नपरेको छ । दर्जनौं पात्रहरु यस्ता छन् जो जनबलमा होइन धनबलमा सांसद बनेका छन् । सांसद पद योग्यताको होइन अयोग्यताको चाहिं पर्याय बनाइयो । यो क्रम जारी छ ।
राजेश्वर देवकोटाले ऊ बेला सर्वाेच्चमा गोरु ब्यायो भनेका थिए, त्यसपछि संसदमा पनि गोरु ब्याउन अर्थात् अनर्थ हुन थाल्यो । खुलेआम सांसद पद नै विक्री हुने, सांसद लिलाम बन्ने दिन आयो । नेपाली राजनीतिको यो डरलाग्दो क्षयीकरण यतिमै रोकिने अवस्था देखिएन । अब त देशै बेचौं भन्न थालेका छन् । जनप्रतिनिधिले नै देश टुक्र्याउने धम्की दिन थालेका छन् । आदर्श, विचार, सिद्धान्त अब मरेर गयो, स्वार्थ सर्वाेपरी बनेर गयो । स्वार्थका लागि देश फोर्छौंं भन्ने जमात समेत देखिन थाले । हिजो आधा पेट खाएर राजनीति गर्नेहरु आदर्श मानिन्थे, आज जो धनी छ उही नेता बन्छ र उही आदर्श बन्छ । कुरा यतिमै सीमित छैन, क्षयीकरण यतिमै सीमित छैन, हिजो विचारका आधारमा राजनीति हुन्थ्यो आज जातको आधारमा राजनीति हुन्छ । हिजो कुन विचारको मानिस भनेर राजनीतिमा सोधखोज गरिन्थ्यो, आज चाहिं कुन जातको भनेर सोधिन्छ । योभन्दा पतन के हुने ? पख्नुस्, कुरा अरु पनि छ–
पतनको यो सिलसिलामा नेपाली पुस्ताले अर्काे दर्दनाक दृष्य देख्न पर्ने खतरा देखिएको छ । त्यो हो–यो संसदमा पनि सांसद खरीद विक्रीको, मोलभाउको तमासा हेर्नुपर्ने अवस्था आउला जस्तो छ । दाम खर्च गरेर सांसद बनेका मानिस देखिएको हो, सांसदले लुट मच्चाएको पनि देखिएको हो तर संसदीय कर्ममा यता या उता भोट हालेवापत लिलाम भएको देख्न नपाइएको धेरै भएको थियो । संविधान संशोधन विधेयकले त्यो अवस्था ल्याउला जस्तो छ । लाग्छ, यो देशमा गोरु ब्याउने क्रम सितिमिति रोकिनेवाला छैन †
(वरिष्ठ पत्रकार बुढाथोकी साँघु साप्ताहिकका सम्पादक हुन्)

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल