लोकमान प्रकरणपछिको विकल्प

-  |   निर्मल भट्टराई

लोकमान प्रकरणपछिको विकल्प

नेपालको राजनीतिमा भ्रष्टाचारको मात्रा अत्यधिक छ । अधिकांश भ्रष्टाचार नेताहरुको संरक्षणमा नै हुने गरेको छ । करोडौँ खर्च गरेर चुनाव जित्ने अनि प्रधानमन्त्री, मन्त्री हुँदा राज्यको ढुकुटीबाट त्यसको दोब्बर दोहन गर्ने परम्परा जस्तै भइसक्यो ।

नेताहरुमा समेत राजनीति आखिर पैसा वा बलिदान केका लागि भन्ने प्रश्नको राम्रो उत्तर पाइँदैन । नेताप्रति जनताको अपेक्षा पनि विचित्रकै हुने गरेका छन् । नेतालाई जादुको छडी ठान्नेको सङ्ख्या पनि कम छैन । पैसा नभएको नेता के नेता भन्ने आम मानिसको बुझाइ छ । नेता हुन चाहिने गुण वा वस्तुहरु केके हुन् ? के नेतागिरी सजिलो विषय हो ? के जनताले सधैँ सही नेता चुन्छन् ?

१. त्याग र बलिदानविना सच्चा नेता सम्भव छैन
नेपालमा राजनीतिक पार्टीको अभ्यास भएदेखि नै नेता बन्ने अभ्यास पनि सुरु भएको हो । त्यस यता नेपालले सयकडौँ नेताहरु ब्यहोरेको छ । ती नेताहरुले देशलाई दिएको योगदानको चर्चा त समयक्रममा भइरहेको देखिन्छ तर उनीहरुको राजनीतिक जीवनमा व्यक्तिगत स्वार्थको मात्राले कति असर पार्यो भन्नेतर्फ बिरलै ध्यान गएको पाइन्छ ।
मानिसले जन्मँदै लिएर आएका केही गुणले उसको जीवनको समग्र फ्रेमिङ गरिरहेको हुन्छ । भनिएको छ, मानिसले जन्मँदै सातवटा दुर्गुण लिएर आएको हुन्छ । लोभ, रिस, ईष्र्या ,अल्छ्याइँ, कामुकता, खन्चुवापन र अरुको सम्पत्ति छिन्ने प्रवृत्ति जस्ता जन्मजात स्वभावले मानिसलाई जीवनभर पछ्याइरहन्छन् । नेता बनेर देश र समाजको सेवा गर्न तम्सनेहरु यी आफूसँगै आएका दुर्गुणहरु नियन्त्रण गर्न कति सफल होलान् ? एउटा नेताले लोभ नियन्त्रण नगरे के होला ? नेताको त्यही लोभी प्रवृत्तिले भ्रष्टाचारको जालो हट्न सकेको छैन । आफ्ना खराब आकाङ्क्षाहरुको नियन्त्रण गर्न नसक्ने व्यक्ति नेता बनाइयो भने त्यसले देश र समाजको भलो नहुने निश्चित छ ।

२. के पैसा नभई नेता बन्न सकिँदैन ?
“पैसा नभई नेता बन्न सकिँदैन” यो सबैतिर सुनिने वाक्य हो । “किन ?” भन्ने प्रश्न राख्दा त्यसको बेलिविस्तार यसरी लाइन्छ– नेतालाई पाकेट खर्च चाहियो । कार्यकर्ताको भरणपोषण गर्नु पर्यो । चुनावमा भोट किन्नु पर्यो आदि । यो सबै गर्ने हो भने करोडौँ पैसाको आवश्यकता पर्दछ । आखिर नेतालाई त्यति धेरै पैसा चाहिने हो भने त एकाध अरबपतिबाहेक कसैले राजनीति गर्न सक्दैन । भ्रष्टाचार गरेर अकुत सम्पत्ति नकमाउनेले राजनीति गर्न सक्दैन । डनगिरी गर्ने, कमलाबजारी गर्ने र भ्रष्टाचार गर्न सक्नेले मात्र राजनीति गर्ने हो भने स्वच्छ राजनीतिको कल्पना गर्नु आकाश चाटेर अघाउने कल्पना जस्तै हुन्छ ।
एकपटक एमाओवादी सुप्रिमो प्रचण्डले बन्दुक र पैसा भएपछि सबथोक हुने रहेछ भने । हुन पनि एमाओवादीमा अथाह पैसाको केन्द्रीकरण भएको थियो । उनीहरुले त्यतिबेला अत्यधिक पैसाको चलखेल पनि गरे । सम्र्पूण पैसा प्रचण्डको वरिपरि केन्द्रित हुने हुनाले बढेको असन्तुष्टिले आखिर पार्टीलाई नै ढुङ्गा बर्सिएको सिसाको घरजस्तो बनाइदियो । चन्दा उठाएर गुजारा गर्न अभ्यस्त कार्यकर्ता चन्दा उठ्न छोडेपछि उनीहरुको बिल्लिबाठ भयो । श्रम गरेर अल्पकालीन राजनीति गर्न सिकाइएको भए परिस्थितिमा व्यापक सुधार हुन सक्थ्यो ।
एमाले र काङ्ग्रेसको राजनीति गर्नेहरु राजनीतिलाई पनि नाफा घाटाको व्यवसाय ठान्दछन् ।नाफा घाटा भनेपछि त्यहाँ लगानीको विषय बन्ने नै भयो । आर्थिक लगानी गरेर नेता भएपछि सावाँ ब्याजसहित त्यो लगानी उठाउनुपर्यो । अनि भ्रष्टाचार कसरी रोकिन्छ ?

३. को दोषी : नेता कि जनता ?
नेता बनाउने जनता हुन् । जनताको भोट बेगर नेताको अस्तित्व रहन्न । जनताले कस्तो नेता छान्छन् भन्ने अहिलेको अहम् प्रश्न हो । पार्टीको नीतिको खोल ओडेर खराब मानिसहरु राजनीतिमा आएका छन् । कालो धन बोकेर राजनीतिको जोड घटाउ र खरिद बिक्रीमा लागेका तत्वलाई राजनीतिको घेराबाट गलहत्याउन जनता सफल हुन सकेको दिन राजनीति कुनै फोहोरी खेल होइन, पवित्र कार्य हुनेछ । चुनावको बेला भोट खरिद गर्न नदिने परिपाटी मात्र बसाल्न सकिए राजनीतिमा विस्तारै इमानदार नेतृत्वको उदय अवस्य हुनेछ । आफ्नो मतको महत्ता नबुझेर आना सुकीमा भ्रष्ट नेतालाई मत बेच्ने प्रचलनलाई अभिया नै सञ्चालन गरेर हटाउनु पर्दछ ।

४. कार्यकर्ताको भरणपोषणबारे
नेपाली काङ्ग्रेसमा एमाले र एमाओवादीमा जस्तो पूर्णकालीन भत्ता दिने व्यवस्था छैन । तर पैसावाल नेताले आफ्ना विश्वास पात्र कार्यकर्तालाई आर्थिक सहयोग गरिरहेछन् । एमालेमा केही औपचारिक निर्णयको आधारमा पूर्णकालीन भत्ता खाने समूह छ भने पैसावाला र पहुँचवाला नेताको र उनका विश्वास पात्रको ठाँट रवाफ अर्कै छ । एमालेको आन्तरिक चुनावमा उम्मेदवारहरुले गर्ने खर्चको कुनै हिसाब छैन । एमाओवादीले हिजो आफ्ना कार्यकर्ता ब्यारेकमा राख्दा उनीहरुको सम्पूर्ण भरणपोषणको व्यवस्था गर्यो । आफूसँग प्रशस्त पैसा हुँदा प्रचण्डलगायतका शक्तिशाली नेताको हातबाट बाँडियो । तर त्यसलाई निरन्तरता दिन नसक्दा कार्यकर्तामा असन्तुष्टि व्यापक बनेको छ । पैसाकै कारण हो नेपाली काङ्ग्रेसमा खुमबहादुरजस्ताको हाइहाइ हुन्छ र प्रदीप गिरीहरुको बेवास्ता । एमालेमा बस्नेत बन्धुहरुको रातारात उदय हुन्छ, अमृत बोहोराहरुको राजनीतिक अवसान र एमाओवादीमा अमिक शेरचनहरुको सिकुवामा बास हुन्छ ।

अन्त्यमा
नेता रातारात धनी बन्ने र जनता झन् गरिब बन्दै जाने परिपाटी उल्ट्याउन राष्ट्रिय अभियानको आवश्यकता छ । अक्तियार दुरुपयोग अनुसन्धान आयोगमा लोकमानजस्ता व्यक्तिको नियुक्तिले हाम्रो देशमा व्याप्त भ्रष्टाचार न्यूनीकरणमा नेतृत्व कति जिम्मेवार छ भन्ने सङ्केत गर्छ । भ्रष्टाचार नियन्त्रण गर्न शक्तिशाली लोकपाल आयोग गठन गरिनु अति आवश्यक भइसकेको छ । साथै, राज्यको ढुकुटीबाट झिकेर नेता धनी हुने परिपाटीको ठाउँमा आफ्ना सम्पूर्ण आर्थिक आकाङ्क्षा तिलाञ्जलि दिन सक्ने नेता जनस्तरबाट स्थापित गराउँदा मात्र देशको समृद्धि सुनिश्चित हुन्छ ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल