राष्ट्रियताको नारा सत्तामा पुग्ने भर्याङ

-  |   मुरारी ढुङ्गेल

राष्ट्रियताको नारा सत्तामा पुग्ने भर्याङ

केही समयदेखि नेपालको राजनीतिमा राष्ट्रियता भन्ने शब्द तथा राष्ट्रवादी भावनाले बढी महत्व पाएको छ । आफ्नो दल, सङ्घ सङ्गठन मात्र होइन आजकल त एक्लो व्यक्ति पनि नेपाली राष्ट्रिय झण्डा बोकी राष्ट्रियता धरापमा परेको चिन्ता लिँदै राष्ट्रवादी भावना व्यक्तगर्दै सडकमा हिँडेको देख्न पाइन्छ । देशका दल, सङ्घ, सङ्गठन राष्ट्रियताको रक्षा गर्न जन्मिएको हो भन्ने प्रचारबाजी गर्नु राम्रो कुरा हो । तर आफू अनि आफ्नो दल मात्र राष्ट्रियताको पक्षधर अरु सबै अराष्ट्रिय तत्व हुन्, द्रोही हुन् भन्ने अभिव्यक्ति दिँदै हिँड्नु पक्कै पनि राम्रो होइन ।

आजभोलि नेताहरू भाषण तथा अन्तरवार्तामा राष्ट्रियताको विषय निकै चर्का कुरा गर्दै आएका छन् । तर चिन्ता राष्ट्र र राष्ट्रियताको हो अथवा सत्तामा पुग्ने नारा मात्र हो भन्ने कुरा बुझ्न जनतालाई गाह्रो परिरहेको छ । उनीहरुले व्यक्त गरेका कुराको विश्वास दिनेखालका क्रियाकलाप अहिलेसम्म कुनै पनि दलले देखाउन सकेका छैनन् ।

इतिहास पल्टाउने हो भने राजा महेन्द्रले सबैभन्दा राष्ट्रियताको कुरा उठाएका थिए । त्यसैअनुरुप उनले प्रत्यक्ष अनुभूति हुनेखालका कार्यक्रम पनि ल्याएको थिए । त्यसैले महेन्द्र अरु राजाभन्दा बढी राष्ट्रवादी थिए भन्ने सुनिन्थ्यिो । त्यसपछि पञ्चायत विरोधी दलहरुले आफ्नो आन्दोलनमा बारम्बार राष्ट्रियताको कुरा नै उठाएर पञ्चायती व्यवस्था ढाल्न सफल भए । यही राष्ट्रियता खतरामा परेको नारा अनवरत रुपमा हालसम्म जारी छ । सत्तामा पुग्दा चुपचाप रहने दल सत्ताच्यूत हुने वित्तिकै ठूलो स्वरमा हुङ्कार गर्दै राष्ट्रियतामाथि खतरा बढेको देख्छन् । देश विखण्डनकारी तथा विदेशी शक्तिले आफ्नो सरकार ढालेको देख्छ । सत्ताको स्वाद नलिएका दल तथा सङ्गठनहरु अरु सबैलाई अराष्ट्रिय तत्व देख्छ्न । आफू मात्र राष्ट्रको रक्षार्थ लागिरहेको प्रचारग रिरहेका हुन्छन् । यसर्थ यो राजनीतिक दललाई सत्तामा पुर्याउने भर्याङ बन्दै गएको देखिन्छ ।

हिजो महेन्द्रका पालामा राजनीतिक दलहरुले नेपालको राष्ट्रियता नै धरापमा परेको प्रचार गरेर पञ्चायत विरुद्धमा जनतालाई एकत्रित गरेर व्यवस्था नै परिवर्तन गर्न सफल भए । तर सत्तामा पुगेपछि राष्ट्रियताको नाममा हिजो गरिएको राष्ट्रिय हित विपरीतका असमान सन्धि सम्झौता खारेज गर्ने, क्रान्तिकारी भूमिसुधार लागू गर्ने, जमिनमाथि जसको जोत उसैको पोत जस्ता नारा दिई नेपाली राजनीतिमा राष्ट्रियताको पाटोलाई आकर्षक बनाउने आश्वासन बाँड्दैछन् । कोही हिजो राजाको शासनकालदेखि आफू राष्ट्र रक्षक तथा राष्ट्रियता जगेर्ना गर्न ठूलो भूमिकामा भएको र वर्तमानमा पनि आफू जस्तो राष्ट्रियताको संरक्षक अरु कसैलाई देख्दैनन् । आफूलाइ अरुभन्दा बढी राष्ट्रियता माथि निगरानी राख्ने, राष्ट्रभक्ति दलका रूपमा प्रस्तुत गरिनुले राष्ट्रियताको नारा अझ दर्बिलो सत्ता हत्याउने सजिलो अस्त्र बन्दै गएको छ ।

राष्ट्र बलियो भए राष्ट्रियता यसै बलियो हुन्छ भन्ने हेक्का दलहरुलाई हुनुपर्ने हो । त्यस्तो आभास झल्कने गतिविधि दलहरूमा पाइँदैन । राज्यभित्र हुने एकता र अपनत्वको भावनालाई राष्ट्रिय भावनामा पुर्याउन सकियो भने राष्ट्रियता बलियो हुन्छ । तर देशको अस्तित्व नै खतरामा पर्नुमा राजनीतिक दलहरु नै दोषी छन् भन्ने आरोप लाग्ने गरेको छ । स्वतन्त्र राजनीतिक विश्लेशकहरु राजनीतिक दलहरुले नै निजी तथा दलगत स्वार्थमा विदेशीलाई खेल्ने ठाउँ दिएर आज राष्ट्र नै सङ्कटको अवस्थामा पुगेको आरोप लगाउँछन् ।

नेपालमा बाहिरी देशलाई गाली गर्नु मात्र राष्ट्रियता ठानिन्छ । यसले जति धेरै बाहिरी देशको विरोध गर्न सक्यो ऊ अरुभन्दा बढी राष्ट्रप्रेमी जस्तो बुझिन्छ, जुन नितान्त गलत छ । देशभित्रको आन्तरिक भावनालाई बलियो र सङ्गठित बनाउन सकियो भने बाहिरी आक्रमणले असर पुर्याउन सक्दैन । एउटै राज्यभित्र पनि विभिन्न समुदाय हुन्छन् । त्यस समुदायभित्र भिन्नभिन्न जातजातिको बसोबास हुन्छ । जसको भिन्नै राष्ट्रिय भावना हुन सक्छ । ती सबैको भावनाको सम्मान हुनु नै आन्तरिक राष्ट्रियता बलियो बन्नु हो । एउटा देशभित्रको कुनै समुदायको भावनामा चोट पुर्याउनु भनेको आन्तरिक राष्ट्रियता कमजोर हुनु हो । अहिले देशमा देखिएको आन्तरिक कलहले हामीभित्रको राष्ट्रियता कमजोर बनेको पक्कै हो । यस्तो अवस्थामा अराष्ट्रिय तत्वहरुले राष्ट्रियतामा आँच पुर्याउन सक्छ । विभिन्न अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरु खेल्न सक्ने छन्, यस कुराको निगरानी राख्नसक्नुपर्दछ । राष्ट्रियताको रक्षा गर्नु आजको आवश्यकता हो । व्यक्ति, समुदाय, दल, दलगत सङ्गठनहरु तथा सरोकारवाला निकाय सबैले बेलैमा जिम्मेवारी बहन गर्दै एउटै राज्यमा रहेको हरेक समुदायको राष्ट्रिय भावनाको कदर गर्न सक्नुपर्दछ ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल