ओली–प्रचण्डको मित्रता बाघ र बिरालोको कथा जस्तै

-  |   केदार गौतम

ओली–प्रचण्डको मित्रता बाघ र बिरालोको कथा जस्तै

गतवर्ष यतिबेला पूर्व प्रधानमन्त्री केपी ओली र वर्तमान प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’को मित्रता खुबै जमेको थियो । माओवादी र प्रचण्डका खुङ्खार विरोधी नेताका रुपमा परिचय बनाएका केपी ओलीलाई संविधान निर्माणपछि प्रधानमन्त्री बनाउन प्रचण्डले निर्णायक भूमिका खेलेका कारण उनीहरुको मित्रता त्यसरी जमेको थियो ।

दुई जनाले हाँस्दै कुम जोडेका तस्बिर र भिडियोहरु सञ्चार माध्यमतिर आइरहन्थे । त्यो देखेर मान्छेहरु कहिलेसम्म यी दुईको मित्रता टिक्ला ? भन्दै मित्रताको स्थायित्वप्रति प्रश्न उठाउने गर्थे, शङ्का गर्नेगर्थे नभन्दै एक वर्ष पुग्न नपाउँदै शङ्का वास्तविकतामा बदलियो । अहिले नेपाली राजनीतिक वृत्तमा यी दुई नेता परस्पर विरोधीका रुपमा उभिएका छन् ।

उनीहरुको गत सालको क्षणिक मित्रता अनि अहिले केपी ओली र प्रचण्डको भाषण र अभिव्यक्तिमा देखिएको दोहोरीको प्रसङ्ग नियाल्दा हजुरआमाले सानो छँदा सुनाएको बाघ र बिरालोको रोचक कथासँग ठ्याक्कै मेल खान्छ ।

थुप्रै जनावरहरुको वास भएको एउटा जङ्गलमा एक दिन एउटा बिरालो भौँतारिरहेको थियो । त्यसै बखत एक्कासि आफूतिर दौडिँदै आएको बाघलाई देखेर डराउँदै हतपत रुखमा चढ्यो । बल्लतल्ल भेटिएको शिकार रुखमा चढेर उम्किएकामा बाघ दःुखी भयो । बाघले सोच्यो म पनि रुख चढ्न सक्ने भएको भए त रुखमा गएर पनि शिकार गर्न सक्थेँ, शिकारको दुःख हँुदैनथ्यो । त्यसपछि बाघले बिरालोसँग साथी बन्ने र उसँग रुख चढ्न सिक्ने निर्णय गरेछ । बाघले बिरालोलाई साथी बन्ने प्रस्ताव गरेछ बिरालोले पनि बाघसँग साथी बन्यो भने जङ्गलमा आफूलाई कसैले हेप्न नसक्ने रआफू शक्तिशाली हुने ठानी बाघको प्रस्तावमा सहमत भएछ । दुवै मिल्ने साथी भएछन् ।

बिरालोले बाघलाई दिन–दिनै रुख चढ्न सिकाउँदो रहेछ । एक दिन बिरालोलाई लागेछ कि यो बाघको चलाखी हो यसले रुख चढ्न सिकेपछि रुखमै चढेर हाम्रो शिकार गर्छ । यसलाई रुख चढ्न सिकाउनु आफ्नै लागि खतरा हुने कुरा बिरालोले सोचेछ । बाघलाई एउटा ठूलो रुखमा चढ्न सिकाउँदै सिकाउँदै रुखको टुप्पोमा पु¥याएछ र बाघलाई रुखको टुप्पोमै छोडेर दगुर्दै बिरालो रुखको फेदमा झरेछ । आफूलाई रुखबाट ओर्लिन सिकाइ दिन बाघले बिरालोलाई अनुनय विनय गरेछ । तर बिरालोले मानेनछ उल्टै खुच्चिङ भन्दै रुखको फेदमा नाचेर बसेछ । बिरालोले धोका दिएपछि आफैँ रुखबाट ओर्लिने प्रयास गर्दा बाघ रुखको टुप्पाबाट भुइँमा बजारिएछ । बाघ भुइँमा बजारिएपछि बिरालो भाग्न थालेछ । रुखबाट बजारिएको पीडाले छटपटाइरहेको बाघले भाग्दै गरेको बिरालोतिर हेरेर भनेछ, पख्लास् धोकेवाज तँलाई त के तरो गु भटे पनि छोड्दिन । यही बेलादेखि बाघले आफ्नो दिसा पनि नभेटोस् भनेर अहिलेसम्म पनि बिरालोले दिसा गर्ने बित्तिकै पुरेर हिँड्ने गर्छ रे ।

के.पी. ओलीको प्रधानमन्त्री बन्ने तीव्र आकाङ्क्षा र नेपाली राजनीतिमा आफ्नो र आफ्नो पार्टीको महत्व र प्रभाव बढाउने प्रचण्डको ध्येयका कारण जमेको गतसालको उनीहरुको मित्रता बाघ र बिरालोको कथाजस्तै केही समय पनि टिकेन । बिरालोले बाघको साथ छोडे जस्तै प्रचण्डले साथ छोडी दिँदा के.पी. ओली कथामा रुखको टुप्पाबाट बाघ पछारिए जस्तै सत्ताबाट गल्र्यामै पछारिए । बिरालोको धोकापछि पछारिएर बाघ बिरालोसँग जसरी रिसाएथ्यो के.पी. ओलीले पनि प्रचण्डमाथि त्यस्तै रिस देखाइरहेका छन् । नेपाली राजनीतिको अहिलेको मूल गाँठो यी दुई नेताको क्षणिक मित्रतापछिको वैमनस्यताले निम्त्याएको परिणाम हो । संविधान संशोधनका कुरा, सीमाङ्कनका कुरा, राष्ट्रियताका कुरा दुनियाँलाई भुलभुलैयामा पारी राजनीति धान्ने फगत अस्त्र मात्रै हुन भन्ने कुरा उनीहरुको विगतका क्रियाकलापबाट सजिलै आँकलन गर्न सकिन्छ ।

राजनीतिमा स्थायी मित्र र स्थायी शत्रु हुँदैन भन्ने कथन पौराणिक कथा महाभारतमै उल्लेख गरिएको कुरा हो, यो कथन आजका दिनसम्म पनि उत्तिकै सान्दर्भिक छ । जिम्मेवार राजनीतिक दलको भूमिका भनेको खाली आफ्नो र आफ्नो पार्टीको स्वार्थलाई मात्रै शिरोधार्य गरेर हिँडिरहनु किमार्थ होइन, राष्ट्रलाई समस्या र अप्ठ्याराहरुबाट पार लगाउन सहयोगी भूमिका खेल्नु उनीहरुको अनिवार्य कर्तव्यभित्र पर्दछ । तर विडम्बना हाम्रा अधिकांश राजनीतक दलका नेताहरु आफ्नो पार्टी, आफ्नो गुट र आफ्नो व्यक्तिगत स्वार्थलाई केन्द्रमा राखी राष्ट्रिय स्वार्थलाई ओझेलमा पारिदिन्छन् ।
अहिलेको मुख्य राष्ट्रिय स्वार्थ भनेको संविधानप्रति असन्तुष्ट पक्षका जायज मागको संवोधन गरी संविधानकार्यान्वयन गराउनु नै हो । यो कार्य यहाँका सबै प्रमुख दलहरुको सहकार्य र एकताविना कठिन छ । आफूलाई देशको जिम्मेवार दाबी गर्ने सबै नेताहरुले बुझेकै छन् तर माथिको बाघ बिरालोको कथामा जस्तै सत्ताबाट पछार्ने धोकेवाजलाई जसरी भएपनि बदला लिएरै छोड्छु भन्ने के.पी. ओलीपक्ष प्रतिशोध र विरोधमै व्यस्त देखिन्छ भने सधैँ आफ्नो दिसा पुर्दै हिँड्ने बिरालोको जस्तै ओली पक्षको विरोधको खण्डन र प्रतिरक्षामै प्रधानमन्त्री प्रचण्डको ज्यादा समय खर्च भइरहेको देखिन्छ ।
कसैको कोहीसँग प्रतिशोध होला, मतभेद होलान्, धोकाधडी होलान्, वैमनस्यता होला तर ती कुराहरुलाई सीमित नेता वा समूहको स्वार्थका लागि अनावश्यक राजनीतिक रङ्गदिएर देशलाई अनिर्णयको बन्दी बनाउने छुट कसैलाई छैन । केवल दुई चार नेताहरुको अभिमान र प्रतिशोधका कारण देशलाई समस्यै समस्याको जन्जिरभित्रै अल्झाइरहने प्रवृत्तिको अन्त्य हुनु जरुरी छ । सम्बन्धित नेताहरुले देशप्रति जिम्मेवारी बोध गर्दै आफ्ना व्यक्तिगत र समूहगत स्वार्थ अनि प्रतिशोधलाई त्यागेर अघि नबढेसम्म अहिलेको समस्याको गाँठो फुक्ने देखिन्न ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल