तेस्रो विश्व, भेनेजुएला र नेपाली क्रान्ति

-  |   आनन्द स्वरुप वर्मा

तेस्रो विश्व, भेनेजुएला र नेपाली क्रान्ति

तेस्रो विश्वका मुलुकहरुमा सामाजिक परिवर्तनका लागि कुनै हलचल हुँदा जहिले पनि त्यसको सोझै प्रभाव पश्चिमका साम्राज्यवादी मुलुकहरुमा पर्छ । किनभने आम रुपमा एसिया, अफ्रिका र ल्याटिन अमेरिकी मुलुकहरु कुनै न कुनै समय यिनका उपनिवेश रहेका थिए । जुन मुलुकहरुमा तिनको प्रत्यक्ष शासन समाप्त भयो, त्यहाँको अर्थतन्त्रमा इनको पकड पहिला जस्तै बलियो रहिरह्यो र फेरि नवऔपनिवेशीकरणको चरण सुरु भयो । उपनिवेशको समाप्तिसँगै शासक मुलुकहरुले शासित मुलुकका अभिजात्य वर्गलाई आफ्नो अनुकुल कस्तो प्रकारले ढाले भने तिनले तिनै नीतिहरुको नै पालना गर्न थाले जुन नीति उपनिवेशवादीहरुले बनाएका थिए ।

आम रुपमा यी मुलुकहरुमा सत्ताको हस्तान्तरण भयो र यो सत्ता त्यही वर्गको हातमा सुम्पियो, जोसँग साम्राज्यवादी मुलुकहरु निश्चिन्त थिए कि उनले तिनका कुनै पनि हितहरुमा बाधा र चोट पुर्याउने छैनन् । भारतसहित अफ्रिकाका कैयौँ मुलुकहरुमा हामीले यस प्रकारको परिघटना देख्न सक्छौँ । यी मुलुकहरुमा सत्ता हस्तान्तरण त्यस समय भयो जतिबेला विदेशी शासकहरुलाई यस्तो लाग्न थाल्यो यदि ढिला गरियो भने हिंस्रक आन्दोलनका माध्यमबाट जुन सत्ता स्थापित हुन्छ, त्यसलाई उनीहरुले तह लगाउन सक्ने छैनन् ।

यद्यपि सबै मुलुकहरुको सामाजिक राजनीतिक अवस्थाहरु समान छैनन् तर एउटा अर्थमा समानता अवश्य देखिन्छ एसिया, अफ्रिका अथवा ल्याटिन अमेरिकामा साम्राज्यवादीहरुको नीति एकै खाले हुने गरेको छ ।

ल्याटिन अमेरिकाका अधिकांश मुलुकहरुमा स्पेनको औपनिवेशिक शासन समाप्त भएको डेढ सय वर्षभन्दा धेरै समय बितिसकेको छ तर जनताको खस्किँदो अवस्थामा कुनै परिवर्तन आएको छैन । यी मुलुकहरुमा कहिले सैन्य क्रान्तिहरुका माध्यमबाट भने कहिले सेनाको साहारामा अमेरिकाको सहयोगमा सत्तामा कुलिनतन्त्र आसिन रह्यो र राष्ट्रिय संसाधनहरु तथा राष्ट्रिय सम्पदाको समग्र लाभ यिनले (साम्राज्यवादी मुलुक)ले कुम्ल्याइरहे । यस अवस्थालाई फेर्न समय–समयमा यी मुलुकहरुमा आन्दोलनले जन्म लिई नै रह्यो । यिनले कहिले हिंस्रक र उग्र रुप ग्रहण गर्यो भने कहिले शान्तिपूर्ण ढङ्गले सामाजिक परिवर्तनको प्रयास गर्यो तर यी आन्दोलनलाई सफलता हात लागेन । एसियामा चीन र ल्याटिन अमेरिकामा क्युवा यसका अपवाद हुन् ।

चिलीमा साल्भाडोर एलेन्डेले शान्तिपूर्ण रुपले सामाजिक परिवर्तनको प्रयास गरे, जसलाई अमेरिकी साम्राज्यवादले नै विफल तुल्याइदियो । निकारागुआमा बामपन्थी सान्डिनिस्टा छापामारहरुले डेनियल ओर्टेगाको नेतृत्वमा आजभन्दा करिब तीस वर्षअघि एक हदसम्म सफलता हासिल गरे तर संसदीय भासमा फसे पछाडि त्यो आन्दोलनले पनि यस अर्थमा असफलता भोग्यो कि त्यसले निकारागुवाको सामाजिक संरचनामा खासै फेरबदल ल्याउन सकेन । ल्याटिन अमेरिकामा नै कोलम्बिया र पेरुमा हामीले वर्षौंदेखि चल्दै आएको सशस्त्र आन्दोलनहरुलाई पनि देखेका छौँ, जुन आज पर्यन्त जारी छ र जसले आफ्नो आन्दोलनको प्रेरणा माक्र्सवाद–लेनिनवाद–माओवादबाट लिएका छन् । पेरुमा एउटा उचाइसम्म पुगेर आन्दोलनलाई पछि हट्नुपर्यो तर कोलम्बियामा आजको मितिसम्म कम्युनिस्ट विद्रोहीहरुको शान्तिवार्ता चलिरहेको छ । त्यसो त सत्ताधारी वर्ग कोलम्बियाली कम्युनिस्टहरुको भूमि सुधारको मुख्य मागमा सहमत भएको छ तर अहिले नै भन्न गाह्रो छ, आउने दिनहरुमा के हुने हो ।

भारतमा सन् १९६७ मा नक्सलवादीबाट आरम्भ भएको आन्दोलन ४७ वर्षसम्मको सङ्घर्षपछि पनि कुनै गन्तव्यमा पुग्न सकेको छैन । योभन्दा पहिले तेलङ्गानाको किसान आन्दोलनले सयौं गाउँलाई सामन्ती उत्पीडनबाट मुक्त गराएर पनि सत्ताधारी वर्गको षड्यन्त्रको शिकार भइसकेको छ । नक्सलवादीलाई पनि यहाँका सत्ताधारीहरुले सन् १९७० को दशकमा लगभग समाप्त गरिसकेका थिए तर त्यही आन्दोलन माओवादी आन्दोलनका रुपमा आज यस्तो अवस्थमा पुगेको छ, देशका प्रधानमन्त्रीले यसलाई सबैभन्दा ठूलो खतरा घोषित गर्नुपरेको छ । यस आन्दोलनको मूलमा पनि माक्र्सवाद–लेलिनवाद–माओवाद रहेको छ । छिमेकी मुलुक नेपालमा यसै विचार धारालाई केन्द्रमा राखेर जुन आन्दोलनको प्रारम्भ भयो त्यसलाई यस अर्थमा अबसम्मका आन्दोलनहरुमा सफलतम भन्न सकिन्छ कि उसले आफ्नो मुलुकमा अढाई सय वर्ष पुरानो राजतन्त्रलाई जरैदेखि उखलेर फाल्यो र गणतन्त्रको स्थापना गर्यो । तर यो आन्दोलन पनि आगाडि बढ्ने क्रममा एउटा दिशाहीन अँध्यारो गल्लीमा पुग्यो र नेपालको सामाजिक संरचनामा आमूल परिवर्तनको उसको एजेन्डा भडकावको शिकार भयो ।

यस आन्दोलनका बारेमा अन्तिम निष्कर्षमा पुग्नु अलिक हतार हुन्छ तर यति त भन्न सकिन्छ नेपालमा आज एक चोटि फेरि सामन्ती र प्रतिक्रियावादी शक्तिहरु आफूलाई बलियो महसुस गर्न थालेका छन्, जसले सयांै वर्षसम्म राजतन्त्रलाई टिकाइराखे । यस दृष्टिकोणबाट हेर्ने हो भने २०औं शताब्दीमा तेस्रो विश्वका जुन सङ्घर्षहरुले जनताको ध्यान सबैभन्दा धेरै आकर्षित गरे तिनमा दक्षिण अफ्रिकाको सन् १९९४ मा रङ्गभेद विरोधी सङ्घर्षको सफलता, ल्याटिन अमेरिकी मुलुक भेनेजुएलामा ह्युगो चावेजको नेतृत्वमा सन् १९९२ मा सुरु भएको सङ्घर्ष र एसियाको एउटा लगभग अचर्चित मुलुक नेपालमा सन् १९९६ मा माओवादी छापामारहरुद्वारा सुरु गरिएको राजतन्त्रविरुद्धको सशस्त्र सङ्घर्ष । दक्षिण एसियाका मानिसहरुका लागि भेनेजुएला र नेपाली आन्दोलनको विशेष महत्व छ र यी आन्दोलनहरुबाट केही महत्वपूर्ण शिक्षा लिन सकिन्छ ।

भेनेजुएलामा ह्युगो चावेजले जुन आन्दोलनको सञ्चालन गरे, त्यसो त त्यो कम्युनिस्ट विचारधाराबाट प्रेरित थिएन तर परिवर्तनको प्रक्रियाले तीव्रता लिँदै जाँदा त्यसले लगभग त्यही भूमिका निर्वाह गर्यो, जुन कम्युनिस्ट आन्दोलनबाट अपेक्षा गरिन्छ । चावेजले विचारधाराका रुपमा ल्याटिन अमेरिकी क्रान्तिकारी योद्धा सिमोन वोलिभारलाई आफ्नो आदर्श माने र उनको विचारलाई केन्द्रमा राख्दै जनतालाई गोलबन्द गरे । चावेजको सैन्य पृष्ठभूमि थियो र चीन तथा क्युवाको क्रान्तिबाट शिक्षा लिँदै उनले आफ्नो मुलुकमा सवर्था नौलो बाटो तय गरे ।

बोलिभारियन विचारको जगमा उनले भेनेजुएलाका मात्र नभई छिमेकी मुलुकका जनतालाई पनि आन्दोलित गर्न सहयोग गरे । चावेजले छापामार युद्धको बारेमा माओत्सेतुङको गम्भीरता पूर्वक अध्ययन गरे । उनले आफ्नो अन्तर्वार्तामा माओलाई उद्धृत गर्दै भन्ने गर्थे कि कसरी सेना र जनताबीच माछा र पानी जस्तो सम्बन्ध हुनुपर्छ । ध्यान दिनुपर्ने विषय के छ भने यो उदाहरण माओले जनसेनाको बारेमा दिएका थिए, जसलाई चावेजले एउटा नियमित सेनामाथि लागू गरे । चावेज भन्छन्– ‘निश्चित रुपमा हामी शान्ति प्रक्रियामा आएका छौँ तर निशस्त्र छैनौँ, हामीसँग सेना छ ।’ त्यस बेला उनले नियमित राष्ट्रिय सेनालाई आफ्नो सेना मान्दै भनिरहेका हुन्छन् ।

शान्ति प्रक्रियामा आएपछि नेपालका माओवादी नेता प्रचण्डले पनि त्यही कुरा भनेका थिए । तर प्रचण्डको आशय जनमुक्ति सेनासँग थियो । जो त्यस समयको शाही नेपाली सेना र आजको नेपाली सेनाभन्दा भिन्न थियो । चावेजले संविधान निर्माणलाई प्राथमिकता दिए र त्यही मागलाई लिएर सन् १९९२ मा पहिलो पटक विद्रोह गरे किनभने उनको विश्वास थियो– एउटा जनपक्षीय संविधानले नै मुलुकको सत्ता समीकरणमा यस्तो परिवर्तन ल्याउन सक्छ जो व्यापक जनसमुदायको हितमा होस् ।

यो अच्चम्मको संयोग हो सन् १९९६ मा जब नेपालका माओवादीले सशस्त्र सङ्घर्षको घोषणा गरे त्यति बेला तिनको मुख्य माग पनि संविधानसभाको गठन नै थियो । आफ्नो आन्दोलनलाई अगाडि बढाउँदै सन् १९९८ मा चावेज पहिलो पटक मुलुकको राष्ट्रपति बने त्यो पनि चुनावका माध्यमबाट । सन् १९९२ मा आन्दोलन सुरु भयो र सन् १९९८ मा आन्दोलनको नेतृत्व सत्तामा पुग्यो । उता नेपालमा सन् १९९६ मा आन्दोलन सुरु भयो र सन् २००६ मा राजतन्त्रले पराजय स्वीकार्दै एउटा सम्झौता भयो र २००८ मा राजा ज्ञानेन्द्रलाई आफ्नो दरबार छोडनुपर्यो र गणतन्त्रको स्थापना भयो । सन् १९९८ पछि भेनेजुएलाले जुन उद्देश्यलाई लिएर अगाडि बढ्ने कार्यक्रम तय गर्यो त्यो सन् २०१३ सम्म अर्थात चावेजको मृत्युसम्म जारी रह्यो तर प्रचण्ड एउटा निश्चित विन्दुभन्दा अगाडि बढ्न सकेनन् । संसदीय लडाइँमा उनी चावेजभन्दा धेरैपछि छोडिए ।

चावेजका खिलाफ अप्रिल २००२ मा अमेरिकाको समर्थनमा सत्ता उल्ट्याउने असफल प्रयासपछि नै अमेरिका लगातार चावेज विरोधी समूहहरुलाई लाखौं करोडौँ डलरको सहयोग गर्दै मुलुकभित्र अस्थिरता पैदा गर्ने षड्यन्त्रमा लागेको थियो । त्यसो त बुस प्रशासनसँग चावेजको अन्तरविरोध सुरुदेखि नै रही रहेको थियो । यस्तो अवस्थामा ल्याटिन अमेरिकी मुलुकहरुको अमेरिका परस्त सङ्गठन ओएएस (अर्गनाइजेसन अफ अमेरिकन स्टेट्स)को विकल्पमा यी मुलुकहरुबीच एउटा साम्राज्यवाद विरोधी मोर्चा बनाउने प्रयासमा यस्ता कैयौँ धेरै मानिसहरु लागेका थिए, जो अमेरिकी नीतिहरुका कारण आफ्नो सम्प्रभुतामा खतरा महसुस गर्दथे । अमेरिकाका साथ भेनेजुएलाको सम्बन्ध लगातार तनावपूर्ण हुँदै गइरहेको थियो र अमेरिकालाई सधैँ के महसुस हुने गर्दथ्यो भने समग्र दक्षिण अमेरिकामा उसका लागि चावेज एउटा ठूलो चुनौती हो ।

डिसेम्बर २०११ मा भेनेजुएलाको राजधानी कराकासमा ल्याटिन अमेरिकी मुलुकहरुको एउटा यस्तो सङ्गठनको उदय भयो जसका बारेमा यो अनुमान लगाइयो कि अमेरिकाको निद्रा उडाउन यसको महत्वपूर्ण भूमिका हुनेछ । ‘सेलाक’ (कम्युनिटी अफ ल्याटिन अमेरिका एन्ड क्यारेबियन स्टेट्स) नामक यस सङ्गठनको स्थापना सम्मेलनमा ३३ मुलुकका राज्याध्यक्षहरुले भाग लिए । यसको स्थापना यस्तो समयमा भयो जब अमेरिकाको आर्थिक तथा राजनीतिक शक्तिमा ह्रास आउँदै थियो । राष्ट्रपति चावेजले जुन बक्तव्य पढे त्यसमा उनले क्युवामाथि अमेरिकाद्वारा लगाइएको आर्थिक प्रतिबन्धहरुको विरोध त गरे नै साथै यो पनि भने– ‘हामीलाई विश्व शाक्तिको एउटा केन्द्रका रुपमा आकार लिनुपर्ने हुन्छ र हामीमध्ये प्रत्येकले अपेक्षा गर्नुपर्ने हुन्छ, एउटा समुदाय र एउटा राष्ट्रका रुपमा हामीलाई सम्मान पाइनु पर्छ ।’

क्युवा ओएएसको सदस्य राष्ट्र होइन तर ‘सेलाक’मा उसलाई समावेश गरियो । अमेरिकाले आफ्नो तर्फदेखि भरमग्दुर प्रयास गर्यो कि यो शिखर सम्मेलन न होस् र ओएएसका विकल्पमा कुनै पनि अर्को सङ्गठन नजन्मियोस् । सम्मेलनमा भाग लिने राज्याध्यक्षमध्ये अधिकांशले आगामी दिनहरुमा पहिलाको जस्तो अमेरिकाद्वारा आआफ्नो आन्तरिक मामिलामा हस्तक्षेप गर्न सजिलो नभएको महसुस गरे । यसभन्दा पहिला क्यारेवियन मुलुकहरुलाई सहुलियत दरमा तेल दिने भनेर चावेजले अमेरिकासँग ती मुलुकहरुको निर्भरता कम गर्न जुन पहल गरेका थिए, त्यो पनि अमेरिकी नीति निर्माताहरुलाई रिसाइहाल्ने एउटा कारण बन्यो । यस्तो समयमा चावेजको भूमिका सारै महत्वपूर्ण सावित भइरहेको थियो, जब दुई ध्रुवीय विश्व खुम्चिएर एक धु्रवीय बनिसकेको थियो र अमेरिकी प्रभुत्वलाई दरिलो गरी चुनौती दिने कुनै शक्ति थिएन ।

अमेरिकाले ९÷११ पछि जुन आतङ्कवादका विरुद्ध भन्दै जुन युद्धको घोषणा गरेको थियो त्यसको चावेजले लगातार आलोचना गरिरहेका थिए । उनले आतङ्कवादका कारणहरु पत्ता लगाउनुपर्नेमा बारम्बार जोड दिइरहे र ती कारणविरुद्ध युद्धको घोषणा गर्नुपर्ने बताइरहे । आतङ्कवादविरुद्ध युद्धको नाममा अमेरिकाले झनै ठूलो आतङ्कवादलाई स्थापित गरेको उनको धारणा थियो । त्यही कारण थियो कि मूल रुपमा हिंसा र आतङ्कवादको विरोधी हँुदाहुँदै पनि चावेजले कोलम्बियाका कम्युनिस्ट क्रान्तिकारीहरुको हिंसालाई आतङ्कवादको श्रेणीमा राखेनन् । स्पष्ट कुरा के छ भने उनको मष्तिष्कमा न्यायका लागि हतियार उठाउनु र अन्याय लाद्नका लागि हतियारको साहारा लिनुको बीच भेद थियो ।

उनले एक ठाउँमा भनेका छन्– ‘विश्वमा आज जे भइरहेको छ त्यो धेरै समयसम्म चल्ने छैन । यदि धनी र गरिबकाबीच, विकसित र अन्य अविकसित मुलुकबीचमा अन्तर बढ्दै रह्यो भने, यदि हरेक दिन अझै धेरै मानिसहरु अझै निम्न स्तरको जीवन विताउन बाध्य भइरहे भने र धेरै मानिसहरु भोकले छटपटाउँदै गरे भने र अझ धेरै मानिस मृत्युको काखमा जाने हो भने यसलाई अर्को किसिमको आतङ्कवाद भन्नुपर्ने हुन्छ । विभिन्न रुपका आतङ्कवाद छन्– भोक तीमध्येको एक हो । हामीलाई हिंस्रक आतङ्कवादका रुपको सट्टा यस खाले आतङ्कवादसँग धेरै नै लगनशीलताका साथ सङ्घर्ष चलाउनु पर्छ ।’ एउटा अन्तर्वार्तामा आतङ्कवादबारे सोधिएको एउटा प्रश्नमा उनले भने– ‘यदि हामी यसै बाटोमा हिँड्दै गयौँ भने र ल्याटिन अमेरिका, क्यारेबियन र एसिया तथा अफ्रिकाका गरिबहरुको सङ्ख्या बढी नै रह्यो भने यो विश्व कतातर्फ जान्छ । स्पष्ट छ कि यो विश्व एउटा बिनासतर्फ र एउटा आतङ्कवादी विध्वंशतर्फ बढ्दै छ ।’ चाबेजको यस उद्धरणलाई पढ्दै गर्दा सहिद भगत सिंहको भनाइ सम्झना हुन्छ, जुन उनले साम्राज्यवादका सन्दर्भमा आज भन्दा ७० वर्षअघि चेतावनी दिँदै भनेका थिए– धनी र गरिबबीच बढ्दो दूरीका कारणले हामी एउटा ज्वालामुखीको मुहानतर्फ पुगेका छाँै ।
(क्रमशः…………….)
(मार्ता हार्नेकरको पुस्तक ‘अन्डर स्ट्यान्डिङ द भनेजुएलन रेभुलुसन’को हिन्दी संस्करणमा लेखेको भूमिका । वर्मा भारतबाट प्रकाशित हुने समकालीन तिसरी दुनिया नामक पत्रिकाका सम्पादक हुन् । अनुवादक : नरेश ज्ञवाली)

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल