प्रचण्ड र बाबुरामले दिएको सुखद सन्देश

-  |   निमकान्त पाण्डे

प्रचण्ड र बाबुरामले दिएको सुखद सन्देश

एकीकृत नेकपा माओवादीबाट १६ महिना अगाडि सम्बन्धविच्छेद गरेर डा.बाबुराम भट्टराईले नयाँ शक्ति पार्टीको निर्माण गरेलगत्तै रामबहादुर थापा बादलको नेतृत्वमा ड्यासमाओवादीबाट विद्रोह गर्दै ठूलै समूहबीच एकीकरण भई नेकपा माओवादी केन्द्र गठन भएपछि प्रचण्ड नेपाल सरकारको प्रधानमन्त्री बन्न पुग्नुभयो ।

प्रचण्ड प्रधानमन्त्री बनेपछि एउटा कार्यक्रममा प्रचण्ड र बाबुरामको जम्काभेट हुन पुग्यो । मञ्चमा प्रचण्ड र बाबुराम बसेको देखेपछि एक किसिमको नयाँ सन्देशको अपेक्षा गरिएको थियो । नभन्दै त्यो सन्देश दुवै नेताले दिएपछि अब माओवादी केन्द्र शक्तिशाली बन्छ भन्ने आशा पलाएको छ कार्यकर्तापंक्ति र शुभेच्छुकवृत्तमा ।
जुन उद्देश्यका साथ २०५२ फागुन १ गतेदेखि सशस्त्र युद्धको थालनी गरिएको थियो, त्यो सफल हुने आशा गरेर नै १७ हजार नेपालीले बलिदानी गरे । त्यो रगतको मूल्य कति हो ? प्रचण्ड र बाबुरामले मात्र होइन, युद्धमा सहभागी भएका माओवादीपंक्तिका नेता कार्यकर्ताहरू सबैले संवेदनशील भएर खोजी गर्नुपर्ने बेला भएको छ । जनयुद्ध सुरु गर्दाको देशको अवस्था कस्तो थियो ? इमान्दारीपूर्वक गम्भीर भएर समीक्षा गर्नु जरुरी हुन्छ । निश्चय पनि देशमा संवैधानिक राजतन्त्र थियो त्यो बेला । तथापि संवैधानिक राजतन्त्रले देशको राजनीतिलाई कुनै पनि किसिमबाट हस्तक्षेप गरेको थिएन । संसद्वादी राजनीतिक दलहरूले महाकाली सन्धिजस्तो देशलाई पूर्णरूपमा घाटा पु¥याउने सन्धि संसद्बाट पारित गर्नसमेत स्वतन्त्रता पाएका थिए । राजा साँच्चै देशभक्त भइदिएका भए र संसद्वादी दलहरूको क्रियाकलापमा अंकुश लगाउने अधिकारमा रहेका भए, त्यो राष्ट्रघाती सन्धि कुनै पनि हालतमा पारित हुन सक्ने थिएन । महाकाली सन्धि पारित हुँदा प्रचण्ड र बाबुरामको सांगठनिक शक्ति निकै कमजोर थियो । त्यो कमजोर शक्तिलाई बलियो बनाउन आवश्यक थियो । देशभक्ति आन्दोलनको लहर सृजना गरेर प्रचण्ड र बाबुरामले सशस्त्र युद्धको उद्घोष गर्दा महाकाली सन्धिलाई राष्ट्रघाती सन्धि भनेर आरोपित गरिएको थियो । आज प्रचण्ड र बाबुरामको अवस्था महाकाली सन्धिलाई राष्ट्रघाती भन्ने अवस्थामा नरहनु दुर्भाग्यपूर्ण हो । सशस्त्र युद्धमा बलिदानी गरेका योद्धाहरूको रगतले यस्तो दुर्भाग्यपूर्ण नियतिको परिकल्पना गर्न सक्दैन ।
सशस्त्र युद्धबाट आएको माओवादी शक्ति संसद्वादी राजनीतिक दलहरूभन्दा कुनै पनि हिसाबले फरक देखिन छोडेको छ । संसद्वादी राजनीतिक दलहरूले विगतमा माओवादीपंक्ति युद्धमै रहेका बेला छिमेकी देशको दबाबमा नागरिकतासम्बन्धी नयाँ नीति अवलम्बन गर्ने तयारी गरेका थिए । नागरिकता आयोग गठन गरी तराई क्षेत्रमा आप्रवासी नागरिकहरूलाई नागरिकता दिलाउन जनताका घरघरमा टोलीले दौडधूप गरिरहेको थियो । आजका मधेश केन्द्रित दलहरूले उठाइरहेको भन्दा निकै भद्दा किसिमको अभ्यास त्यो संसद्वादी दलका नेताहरूले गरेका थिए । सर्वाेच्च अदालतले नागरिकता आयोगबाट भएको नागरिकता वितरणको प्रयासलाई निषेध गरिदिएपछि संसद्वादी दलहरूको त्यो अभीष्ट पूरा हुन पाएको थिएन । त्यसपछि अर्थ विधेयकका नाममा नागरिकता विधेयक पारित गर्ने प्रयासमा संसद्वादी दलहरू जुटे । संसद्वादी दलहरूको पटक–पटकको यस्तो प्रयासलाई माओवादी नेताहरूले राष्ट्रघातको संज्ञा दिएका थिए । त्यही नारामा समेटिएर कैयौं होनहार युवाहरूले रगत बगाएका छन् । आज माओवादी नेतृत्व हिजोका संसद्वादी दलहरूभन्दा एक कदम अगाडि बढेर नागरिकता नीतिमा विदेशी शक्तिलाई रिझाउने कसरत गरिरहेको अवस्थाले सशस्त्र युद्धमा लागेका योद्धाहरूलाई पश्चाताप गराउनु स्वाभाविक हुन्छ ।

babauram prachanda
प्रचण्ड र बाबुराम एउटै मञ्चबाट पार्टी एकताको सम्भावनाको नजिक पुग्नु निश्चय पनि सुखद सन्देश हो । परन्तु सशस्त्र युद्धमा प्रवेश गर्नुपूर्वको भन्दा पनि देशको अवस्था आज झनै कमजोर बनेको छ । देशको यो कमजोर अवस्थालाई बलियो बनाउन प्रचण्ड र बाबुरामको प्रतिबद्धता जरुरी हुन्छ । अन्यथा एकताको कुनै अर्थ रहनेछैन । एकता राम्रो कामको निम्ति र शक्ति राम्रो परिणामको निम्ति आवश्यक हुन्छ । देशलाई विखण्डन गराउन छिमेकी मित्रराष्ट्रबाट भइरहेको प्रयासले हामीबीच एकता जरुरी छ । बाबुराम र प्रचण्डबीच मात्र होइन माओवादी र एमालेबीच एकता आवश्यक छ । विभाजित भएका वामशक्तिहरूबीच एकता आवश्यक छ । एकताले शक्ति बलियो बनाउँछ । बलियो शक्ति भयो भने हामीलाई कुनै बाह्य शक्तिको दबाबले झुकाउन सक्नेछैन ।
वामशक्ति संसद्मा पनि बहुमतमा छ, वामशक्ति सडकमा पनि बहुमतमा छ, वामशक्ति नेपाली जनताको मनमस्तिष्कमा बहुमतमा छ, तर वामशक्तिको विचार विभाजित छ । त्यसैले देश कमजोर भइरहेको छ र वामनेताहरू बाह्य शक्तिबाट परिचालित हुनुपर्ने बाध्यात्मक अवस्था सृजना भएको छ । बाह्य शक्तिको इशारामा परिचालित हुनुभन्दा आपूmभित्रैको शक्तिलाई स्वीकार गरेर वाम एकीकरणको अभियानलाई अगाडि बढाउँदा त्यो निश्चय पनि सम्मानजनक हुनेछ । वामहरूबीच एकले अर्कालाई राष्ट्रघाती भनेर दोषारोपण गर्नुपर्ने अवस्था किन सृजना भइरहेको छ ? सबै वामहरूले आफ्नो निधारमा हात राखेर सोच्नुपर्ने अवस्था अहिले विकसित भएको छ । वामनेताहरूकै कारणबाट देश विखण्डन हुन पुग्यो भने त्यो भन्दा ठूलो दुर्भाग्य अरु केही हुनेछैन । सबै वामनेताहरूलाई चेतना भया !

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल