कमरेड सुरेन्द्र पाण्डेको बेसुरा गीत

-  |   प्रा.डा. बद्रीविशाल पोखरेल

कमरेड सुरेन्द्र पाण्डेको बेसुरा गीत

अहिले संविधान सशोधनका नाममा देश र मधेस विखण्डन, विभाजनको सङ्गीन घडी छ । नानाथरी लेन्डुपहरु नेपाली एकतामा धाँजा पार्न हात, कलम र मुख तिखारिरहेका छन् । यसका लागि साम, दाम, दण्ड र भेद नीति खुल्ला रुपमा जारी छ ।

सञ्चार र अखबारका बजारमा लेन्डुपहरु हाबी देखिन्छन् । यस्ता अत्यन्त संवेदनशील विषय र सन्दर्भको बौद्धिक प्राज्ञिक काम छाडेर नेपाल बुद्धिजीवी परिषद् नामको केन्द्रीय समिति कुन दुलामा पसेको छ भनेर खोजी गर्दै यो लेखक परिषद्को कार्यालय काठमाडौँ पुगेको थियो । त्यहाँ देशको सङ्गीन सबालभन्दा पार्टीभित्रका गुटगत भए नभएका विवाद झिकेर केही बुद्धिजीवी रमाइलो गर्दै थिए । आफ्नै गुटको भनेपछि एमालेविरुद्ध बारबार अखबारी लेखन गर्नेलाई परिषद्को बुद्धिजीवी हो भनेर महासचिव बहसमा उत्रिए ।

तिनले त गरे गरे एमाले पार्टीका स्थायी समिति सदस्य तथा पूर्व अर्थमन्त्री कमरेड सुरेन्द्र पाण्डेले राष्ट्रिय अखबार नयाँ पत्रिकामा समृद्धिका लागि तेस्रो पुस्ता नामको बेसुरा गीत गाएको देखियो र सुनियो । लेख पढ्दा एमालेको दसौँ महाधिवेशन आउन लागेछ कि भन्ने भ्रम यस लेखकलाई पनि पर्यो । जननेता मदन भण्डारीले कुन बेला के के काम गर्ने भन्ने सबाल उल्लेख गर्नुभएको छ ।

महाधिवेशन अघि विचार निर्माणमा गम्भीर रुपमा बहस र विवाद गर्ने अनि सहमतिले वा अधिक सहमति वा सर्वसम्मतिले पार्टी विचार पारित गरेपछि पहिलेकै विषयगत निजी असन्तुष्टि सम्झी सम्झी गथासो गर्नु हुँदैन भन्नु भएको थियो । महाधिवेशनले निर्देश गरेका काममा सबै एकमत र भावनाका साथ माटो भएर पार्टी काममा लाग्नुपर्ने कुरा बारबार मदनले बताउनुभएको थियो । तर यसको ठीक विपरीत बारबार कामै छाडेर गथासो गर्ने सी.पी. मैनाली प्रवृत्तिलाई मदनले कडा व्यङ्ग्य पनि गर्नुहुन्थ्यो ।

माओले पनि विचार सही भएर मात्र हुँदैन त्यस सही विचारअनुसार समग्र पार्टी कामको प्राथमिकताका साथ एक ढिक्का भएर लाग्नुपर्ने कुरा बताउनुभएको छ । यसरी लागियो भने मात्र असल विचार र सिद्धान्त पनि व्यवहारमा सही सावित हुन्छ र उपलब्धि हासिल हुन्छ । यसको ठीक विपरीत एमालेका केही अगुवा नेता र प्रा. कृष्ण पोखरेललगायत बुद्धिजीवी लासा जानु कुतीको बाटोझैँ गरिरहेका छन् ।

पाण्डेले लेखमा पहिलो दोस्रो राजनीतिक पार्टीको नेतृत्वदायी पुस्ताको बेलिबिस्तार लगाउँदै मुलुकको समृद्धिका लागि तेस्रो पुस्ताको नेतृत्व अनिवार्य रहेको बकपत्र प्रस्तुत गर्नुभएको छ । यस लेखमा सुरेन्द्र पाण्डेले मूलतः कम्युनिस्ट पार्टीको पृष्ठभूमि, माले र एमाले पार्टीमा केन्द्रित रहेर यो वक्तृता प्रस्तुत गर्नुभएको देखिन्छ । उहाँले म अन्याय, अत्याचारमा परेको छु भन्नेहरुले समाजलाई अब नेतृत्व गर्न सक्तैनन् भन्नुभएको छ । अहिलेसम्म कुनै योग्य नेतृत्व नै नभएको जस्तो गरी अब योग्य, सक्षम र क्षमतावान् नेतृत्व आवश्यक छ भन्नुहुन्छ र तेस्रो पुस्ताको पार्टी निर्माण गर्न ढिला भएको पनि बताउनु हुन्छ ।

उहाँले नवौँ महाधिवेशनमा तेस्रो पुस्ताको नेतृत्व गर्ने जर्जर, धर्मर र उभयलिङ्गी पार्टी नेतृत्व नबनेर ठूलो नोक्सान भएको भन्न खोज्नु भएको छ । यो काम सम्पन्न नभएकोमा उहाँको धेरै चित्त दुखाइ देखिन्छ । पाण्डे आफू केन्द्रित तेस्रो पुस्ताको राग अलाप्न थाल्नु भएको देखिन्छ । उहाँका समृद्धि विषयक आलेखमा विचारको दिशा निर्देश शून्य देखिन्छ । उहाँले आर्थिक, भौतिक, औद्योगिक, कृषि, विद्युतलगायत विषयका आधारित केही योजनालाई अगाडि सारेर समृद्धिको सबाल उठाउनु भएको देखिन्छ ।

तर यस विषयमा कुन र कस्तो विचारको निर्देशन र मार्गदर्शन हो भन्ने कुरा उल्लेख गरिएको छैन । नेपालको हालसम्मको आन्दोलन र उपलब्धि यसैत्यसै प्राप्त भएको हो । यसमा पार्टी विचार, सिद्धान्तको मार्गदर्शन नै थिएन कि भनेझैँ लेखमा उल्लेख गरिएको पाइन्छ । उहाँले अहिलेसम्म समृद्धिको कुरा मात्र भएको हो । अब काम गर्नुपर्छ भन्नु भएको छ । मानौ अबको समृद्धि उहाँबाट मात्र हुन्छ । उहाँका अनुसार एमाले पार्टीमा गफाडीको बोलवाला छ । यो लेख पूरै प्रायोजित बतासे बेसुरे देखिन्छ ।

अहिले संविधान संशोधनको सबाललाई लिएर देश र मधेस विखण्डनको सङ्गीन घडीका बेला त्यस विषयमा उचित र उपयुक्त वहस, विवाद र आलेख लेख्न छाडेर पाण्डेले बेसुरा बाँसुरी बजाएको देख्दा अचम्म लागेको छ । अचम्म त के छ भने प्रतिभा र क्षमता नेतृत्व कौशल नहेरी पुस्ता र भुसतिघ्राले प्रगति हुुने हो र फिडेलक्यास्ट्रो कुन पुस्ताको हो ? माओ कुन उमेर र पिँढीका हुनुहुन्थ्यो ? मनमोहन अधिकारीले नेतृत्व गरेको नौ महिने सरकार कुन पुस्ता हो ? बेला न कुबेला यस्ता सतही कुरा कथुर्न छाडेर अहिलेको सङ्गीन घडीमा गर्ने र उछाल्ने काम यही हो कमरेड ? तपाईं जत्तिको झण्डै महासचिव भइसकेको व्यक्तित्वका यस्ता बेसारे र बतासे गीत सुन्दा महाअचम्म लागेको छ । पुष्पलालको योगदान तेस्रो पुस्ता नभएर कमजोर भन्न खोज्नुभएको हो ? जननेता मदन भण्डारीले जम्मा दुई कार्यकाल महासचिव हुँदा नेपाली कम्युनिस्ट आन्दोलनमा अभूतपूर्व भूमिका र योगदान हुनसक्यो ।
एमाले अध्यक्ष के.पी. ओली सरकारको छोटो अवधिको कार्यकाललाई सारा नेपाली जनताले प्रशंसा गरिरहेका छन् । ओली कालमा उहिलेदेखि कसैले हिम्मत गर्न नसकेको चीनतिरको नाका खोलियो, यो के कुरा मात्र हो कि अत्यन्त दूरगामी कर्म हो ? के यो नेपाल विकासको कोसे ढङ्गो होइन ? इमान, जमान र कमाण्ड हुनेहरु जुनसुकै पुस्ताका हुन् केही न केही गरिछाड्छन् । हुति, मति र गति नहुनेहरु कुरा मात्र गर्छन्, गथासा र गनगन मात्र गर्छन् । काम गर्ने लुर भएको नेतालाई जिन्दगीभरि पदमा लेपास्सिनु पर्दैन र देश र जनताका हितमा राम्रो काम गरिरहेको नेतृत्वलाई षडयन्त्र गरी गरी अति गोप्य गुटगत निकृष्ट गतिविधि गरेर निमोठ्ने काम पनि गर्नु हुँदैन ।

ओली सरकार विरुद्ध एमालेभित्र नै बन्चराका बिँडहरु भित्रभित्रै षडयन्त्रमा लोगेको त देखियो नि । विचार, मान्यता र सिद्धान्तमा प्रतिबद्ध नभई कुनै पनि काम हुन सक्तैन । कुखुरा पालौँ कि पोइल जाऊँ भन्ने तालले केही काम हुँदैन । तर अब तासे र बतासे कुरा मात्र फिटेका भरमा कार्यकर्ताहरु पशुमित्रझैँ लुरुलुरु अमुक नेताका पछिपछि आस, त्रास र बतासका भरमा लाग्लन् जस्तो लाग्दैन । किनकि पार्टी स्कुल विभागले सघन प्रशिक्षणको सञ्जाल तयार पार्न थालेको छ । पहिले जस्तो न्यून चेतका कार्यकर्ताले विगत कालमा जस्तो अमुक नेताको दौरा समातेर झुण्डिनेवाला छैनन् । धेरै कुरा बाहिर आइसकेका छन् । ओली सरकार विस्थापन गर्न भित्रभित्रै गोप्य षडयन्त्र गरेको खुलासा भइ नै सक्यो । खुसी, खोकी, प्रेम र राजनीतिक अपराध धेरै दिन लुक्तैन भनेझैँ लुकेन नि । अझै अरु विषय, व्यक्ति र कर्तुत खुल्दै जाला ।

यस्ता भावना राखेर अनि योग्य, सक्षम तेस्रो पुस्ताको पार्टी बनाउने भन्ने कुरा मात्र बातबहादुर हो । वरिष्ठ नेता झलनाथ खनालले प्रदेश नं. एकको भेलामा नौलो जनवादी वा बहुदलीय जनवादी क्रान्ति सम्पन्न भयो भन्नुभयो । लगत्तै महासचिव ईश्वर पोखरेलले नौलो जनवादी क्रान्ति पूरा भएको छैन राजनीतिक कार्यभार मात्र पूरा भएको भन्दा हुन्छ भन्नुभयो ।

अनि सुनसरीको धरानमा आएर चार महिने अगुवा कार्यकर्ता भेलामा पार्टी सचिव घनश्याम भुसालले बहुदलीय जनवादका १४ सूत्र पूरा भए भन्नुभयो र अब जबजले निर्देश गरेको काम र कार्यभार सकियो भनेझैँ गर्नुभयो । क्रान्ति पूरा हुनु भनेको के हो ? क्रान्ति पूरा हुनका लागि राजनीतिक, आर्थिक र सांस्कृतिक क्रान्ति पूरा हुनुपर्छ कि पर्दैन ? अथवा त्यस्तो अवस्था सुनिश्चित हुनुपर्छ कि पर्दैन ? यो के पुँजीवादी वा समाजवादीले एकल अगुवाइ्मा क्रान्ति पूरा भएको र भोलिको दिन करिब सुनिश्चित भएको अवस्था हो ? यी सबै कुरा गरेर अब जनताको बहुदलीय जनवादको काम सकियो भन्न खोजेको होइन ? यत्ति कुरा पनि बुझ्ने कार्यकर्ता, नेता र बुद्धिजीवीको अभाव होला र झन् पार्टी स्कुल विभागबाट प्रशिक्षित नेता र कार्यकर्ताहरु जसोजसो बराजु उसैउसै स्वाहा भन्लान् र ? जबजले नेपाललाई समाजवादसम्म पुग्ने बाटो देखाएको छ र समाजवादमा पनि प्रतिस्पर्धाको राजनीति अवलम्बन गर्नु पर्ने कुरा जबजमा उल्लेख गरिएको बिर्सनु भयो ? जबज यो दुनियाँको उन्नत जनवादी लोकतान्त्रिक सिद्धान्त हो । यस लेखकले आफूलाई जबजको जिन ठानेको छ ।

जबजको सूक्ष्म र मिही तरिकाले भ्वाङ प्वाल पार्न खोजेको थाहा पाइन्छ । जबजका बारेमा सोझो समर्थन गर्ने हो । यसको समृद्धिमा नलुकाइकन आफ्ना धरणाहरु राख्ने हो तर खोटीमन र मतीका आधारमा तर, तथापि, तैपनि र परन्तु भनेर बटारे कुरा गर्नु पर्दैन । एमाले जत्तिको पार्टी दक्षिण एसियामा नै छैन । चारतिर फर्किएका भए पनि एमाले बराबरको प्रतिभाशाली पार्टी नेतृत्व पनि यस क्षेत्रमा छैन । एक ढिक्का भएर निम्न पुँजिवादी चिन्तन त्यागेर लाग्ने हो यो देशको प्रगति र उन्नति कसैले छेकेर छेकिन्न तर तपाईंले नै तेस्रो पुस्ताको बेसारे गीत गाउँदा जबज र यसको मार्गदर्शनको थोपो कुरा गर्नु भएन नि । देश र मधेस विखण्डनको सङ्कटपूर्ण अवस्था देखीदेखी यस विषयमा सघन आन्दोलन, अभियान र आलेखका साथ नेतृत्वको योग्यता र क्षमता देखाउन छाडेर बेसारा गीत गाउनुको कुनै तुक देखिन्न ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल