लक्ष्मी हत्या प्रकरण किन ओझेलमा पारियो ?

-

लक्ष्मी हत्या प्रकरण किन ओझेलमा पारियो ?

गीता केसी दर्नाल

कुल जनसङ्ख्याको आधा हिस्सा रहेका महिलाले पुरुष समान अधिकारका लागि निरन्तर आवाजहरु उठाइरहेका छन् । शिक्षा, स्वास्थय, रोजगारी लगायत राज्यका नीति निर्माण तहमा समेत समान प्रतिनिधित्व हुनुपर्छ भनेर लडिरहेका छन् । यो सत्य हो तर यतिखेर उनीहरु अधिकार लिने कार्यमा मात्र बढी केन्द्रित भएका छन् । राज्य र समाजप्रति उनीहरुले आफ्नो दायित्वलाई भुल्दै गइरहेका छन् । यसको उदाहरण हो– लक्ष्मी हत्या प्रकरण । आफूलाई महिलाको हकहित, अधिकारका लागि लड्ने अधिकारकर्मी, दलित महिलाहरुले लक्ष्मीको हत्याको विषयमा विरोध गर्दै सडक र सदनमा आवाज उठाएको खोई ?

नोभेम्बर २५ अर्थात मङ्सिर १० गतेदेखि १६ दिने महिला हिंसा अभियान र डिसेम्बर १० अर्थात् मङ्सिर २५ गते मानव अधिकार दिवस मनाइरहँदा काभ्रे सानोवाङथलीकी लक्ष्मी परियारको मङ्सिर २४ गते हत्या भयो । गाउँकै शिक्षक हिरा लामा र उनकी आमा काइँलीमाया लामाले लक्ष्मीलाई बोक्सीको आरोपमा मलमूत्र खुवाई निर्घात कुटेपछि लक्ष्मीको मृत्यु भएको हो । उक्त घटनाको विभिन्न पत्रपत्रिका, सामाजिक सञ्जालहरु छरपष्ट भए । यही घटनालाई लिएर विभिन्न टीकाटिप्पणी भए तर आफूलाई गन्ने मान्ने ठान्ने महिला अधिकारकर्मी, मानवअधिकारकर्मी र दलित अधिकारकर्मी भनाउदाहरुले यस विषयमा एक शब्द पनि नबोलेको देख्दा आश्चर्य लाग्यो । आखिर किन उनीहरु लक्ष्मी परियारको हत्याको विरोधमा मौन बसे ? के लक्ष्मी परियार बोक्सीको आरोपमा मलमूत्र खुवाई निर्घात कुटेर मारिँदा समेत उनीमाथिको हिंसा महिला हिंसा अन्तर्गत पर्दैन ? उनलाई सामाजिक रुपमा कथित बोक्सीको आरोप लगाई क्रूर, निर्मम तरिकाले कुटपिट गर्दा उनको मानवअधिकार हनन् भएन ? के उनी मानव होइनन् र ?

लक्ष्मी परियार एउटी गाउँले, गरिब, दलित समुदायकी सदस्य थिइन् । उनी कुनै पार्टी र सङ्घसंस्थासँंग सम्बन्धित थिइनन् । दुःख गरेर घरव्यवहार चलाउने एउटी सोझी महिला थिइन् । त्यही भएर त उनीमाथि निर्मम कुटपिट र नीच व्यवहार हुँदा बोल्ने कोही भएनन् । उनका पक्षमा गाउँले, पार्टीका नेता तथा कार्यकर्ता वा कुनै भातृसङ्गठन वा अरु कोही नै बोले । एउटी महिलालाई कुटीकुटी मार्दा महिला अधिकारवादी, दलित महिला अधिकारकर्मी र दलित महिला सांसद चुपचाप बसेका छन् । यो लज्जास्पद विषय हो ।

महिलाका हक अधिकारको क्षेत्रमा काम गर्ने सयौँ संस्था छन् । त्यसमा काम गर्ने हजारौं महिलाहरु छन् तर कसैले पनि लक्ष्मीको हत्याको बारेमा बोलेनन् । यस्तै दलित अधिकारकमीहरु पनि सयौं छन्, जसलाई होटेलका कोठे कार्र्यक्रमहरुमा नै भ्याइनभ्याई छ । संसद्मा प्रतिनिधित्व गर्ने ३९ जना दलित सभासद्मध्ये २१ जना दलित महिला सभासद् छन् । उनीहरुलाई देशविदेशका कार्यक्रममा गई भत्ता पचाउने कार्यमा मात्रै व्यस्त छन्, अनि कसरी लक्ष्मी हत्याको विषयमा सदन र सडकमा आवाज उठाउँछन् ? यसबाट पनि प्रष्ट हुन्छ यतिबेला समग्र महिलाअधिकारकर्मी, मानवअधिकारकर्मी र दलित अधिकारकर्मी र त्यसमा पनि दलित महिलाहरु कसैलाई पनि लक्ष्मीको घटनाको विषयमा बोल्ने, सोच्ने र लक्ष्मीको हत्यारालाई कारवाही गराउन आवश्यक दबाब दिन फुर्सद नै छैन ।

लक्ष्मी परियारको कुटपिटको प्रत्यक्षदर्शी उनका १० वर्षीया छोरा सुमन थिए । आफ्नी आमालाई आफू पढ्ने विद्यालयको चौरको खम्बोमा डोरीले बाँधेर कुट्दा नरपिपाशु शिक्षक र उनकी आमालाई बारम्बार आग्रह गरेका थिए । तर उनको केही जोर चलेन । उल्टै सुमनलाई समेत ती आमाछोराले कुट्ने धम्की दिए । लक्ष्मीमाथि निरन्तर कुटपिट हुँदा गाउँलेहरु मुकदर्शक बनिरहे । त्यसको दुई दिनपछि लक्ष्मीको मृत्यु भयो । यसपछि सुमनले आफ्नी आमाको मृत्यु हिरा लामा र उनकी आमाको कुटाइबाट भएको कुरा सबैलाई भनिरहे । करिब एक हप्तापछि लक्ष्मीको पोस्टमार्टम रिपोर्टले पनि उनको हत्या कुटाइबाटै नै भएको देखायो । यसले सुमनले झुठो बोलेका होइनन् भन्ने प्रमाणित भयो ।

महिलामाथी हुने सबै खाले विभेदविरुद्धको महासन्धिको धारा २ र ५ र सबै किसिमको जातीय भेदभाव उन्मूलनसम्बन्धी महासन्धिको धारा २ उपधारामा राज्य हरेक निकाय वा त्यसमा आबद्ध व्यक्तिले जातीय विभेद कार्य गर्ने निषेध गर्नेलगायतका प्रावधान छन् । आरोपित भनिएका हिरा लामा एक सामाजिक विषयका शिक्षक हुन् । पीडित महिला लक्ष्मी न्यायका लागि प्रहरीमा जाँदासमेत बेवास्ता र फौजदारी न्याय सिद्धान्त विपरीत मिलापत्र गराएकै कारण ज्यान गएको छ । यो नितान्त मानव अधिकारसँग जोडिएको छ । यसकारण जसजसले यस घटनालाई दबाउन, बङ्ग्याउन खोजिरहेका छन् उनीहरुका विरुद्ध प्रशासन, नेपाल प्रहरी र गृहमन्त्रालयले गर्ने कारवाही हेर्न बाँकी छ ।

लक्ष्मी परियारको हत्या भइसकेपछि अनुसन्धानका उनको गाउँमा जानेहरु अहिले धेरै छन् । हत्या भएको केही दिनपछि नै यस घटनालाई चासो देखाउँदै राष्ट्रिय मानव अधिकार आयोग, महिला आयोग, दलित आयोग, एसियन मानव अधिकार आयोग र इन्सेकलगायतका सङ्घसंस्थालस्थलगत अनुगमन नगरेका होइनन् तर यिनीहरुले अहिलेसम्म पनि घटनाको प्रतिवेदन सार्वजनिक गरेका छैनन् । अनि अझै उनको गाउँमा गएर सेल्फी खिचेर फेकबुकमा अपलोड गर्नेहरुको कमी देखिएको छैन र त्यो क्रम अझै रोकिएको छैन ।

जहिले पनि दलितहरु विभिन्न बहानामा मारिँदा दलित अधिकारकर्मीहरुको फितलो दबाब र एकताबद्ध भएर काम गर्न नसकेकाले यो घटनामा पनि न्याय पाउन सक्ने अवस्था देखिँदैन । यसको पछिल्लो उदाहरण अजित मिजारको हत्या प्रकरण हो । अजितको हत्या भएको अहिले पाँच महिना भयो । तर उनको हत्यारालाई कारवाही गर्न भएको छैन । अजितको घटना पनि प्रधानमन्त्रीदेखि संसद्सम्म पुगेको थियो । तर दलित अधिकारकर्मी, दलित अगुवा र संसद्मा प्रतिनिधित्व गर्ने दलित सभासद्हरुको निरन्तर दबाब नदिएकाले नै अजितले न्याय पाउन सकेका छैनन् । यो घटनाबाट पनि के प्रष्ट हुन्छ भने लक्ष्मी र उनको परिवारले पनि न्याय पाछन् भन्नेमा शङ्का छ ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल