घरबेटीका संवेदनाहीन व्यवहार

घरबेटीका संवेदनाहीन व्यवहार

–जयश्वर रिमाल

हाम्रो समाजमा निरन्तर हुने मानवीय संवेदनाविरुद्ध थुप्रै घटनाहरु छन् । यसलाई अहिलेसम्म अपराधको परिभाषाले समेट्न सकेको छैन । कसैको आत्मसम्मानमा चोट पुर्याउने यस्ता घटनाका सम्बन्धमा कहीँ कतैबाट सम्बोधन भएको पाइँदैन । यस्तै घटनामध्येको एउटा घटना हो– घरधनीले डेरावालसँग गर्ने अमानवीय व्यवहार ।

साहित्यकार अमर न्यौपानेले लेख्नुभएको उपन्यास ‘करोडौं कस्तूरी’को ‘फेरिएका आँखा र फेरिएको मन’ शीर्षकमा समाविष्ट केही साहित्यिक वाक्यांशहरु यस प्रतिनिधि घटनाका पात्रसँग मिल्दोजुल्दो भएकाले लेखकसँग अनुमति माग्दै प्रस्तुत गरेको छु ।

‘भित्र कोठामा हुनेहरुले झ्यालमा आएर हेरे, पिँढीमा हुनेहरुले आँगनमा आएर हेरे, आँगनमा हुनेहरुले बाटोसम्म आएर हेरे । कसैकसैले त आँखामाथि दाहिने हत्केलाको पाली बनाएर हेरे, बाटो हिँड्नेले टक्क उभिएर फर्कीफर्की आँखालाई दुर्बिनजस्तो बनाएर हेरे । चिनेकाहरुले पनि नचिनेझैं हेरे । नचिनेकाहरुले पनि चिनेझैँ हेरे । आफन्तहरुले पनि पराइलाई झैं हेरे । एउटा मान्छेलाई मान्छेहरुले नै अमान्छेलाई झैं हेरे तर पशुहरुले भने मलाई मान्छेलाई झैँ हेरे ।”ࢗ
हो, वास्तवमा काठमाडौँको खाल्डोमा कोठा भाडामा लिई बस्ने डेरावालहरुको यस्तै हविगत बनेको छ । नियती (नाम परिवर्तन) एक विवाहित महिला हुन् । परिवारकी कान्छी छोरी नियती सानै छँदा उनको बुबाको मृत्यु भयो । दाजुले अभिभावकत्व निभाउन नसक्दा आफ्नै परिवारमा समेत बोझ बनेकी उनले उच्च शिक्षा हासिल गर्ने धोको विवाहपश्चात मात्र पूरा हुने ठानि चाँडै नै वैवाहिक बन्धनमा बाँधिइन् । हाल उनको परिवारमा श्रीमान, १८ महिनाकी एक छोरी, सासू र ससुरा छन् । हाल नियतीको श्रीमान् वैदेशिक रोजगारीका लागि विदेशिएका छन् । श्रीमतीको पढाइ पूरा गर्न आवश्यक पर्ने शुल्कको जोहो गर्नु नै श्रीमान् विदेशिनुको एक मात्र कारण हो । उनले अध्ययन गर्ने विषय महँगो भए पनि चाहना र क्षमताले पूर्ण भएकै कारणले गर्दा उनको श्रीमान् केही वर्षका लागि विदेशिन राजी भए । उनकी १८ महिनाकी नाबालक छोरी बाबुआमाबाट टाढा रहेर हजुरआमा र हजुरबुबासँग विकट गाउँमा बस्दै आएकी छिन् । आफ्नो स्याहारसुसार र लालनपालन आमाबुबाबाटै पाउनुपर्ने अधिकारबाट वञ्चित रहेकी उनी आमाको पढाइलाई बाधा नपुर्याउन विवश छिन् ।

हालको घरबेटीसँग अलि टाढाकै भए पनि उनको नाता सम्बन्ध थियो । तर डेरा भाडा महँगो भएको कारणले नियती अर्को कोठा खोज्न बाध्य भइन् । एक्ली नारी, त्यो पनि विद्यार्थी भएकाले धेरैजसो घरधनीहरुले उनलाई डेरामा राख्न पत्याएनन् । अथक प्रयासपछि उनले हाल बसेको डेरा नजिकैको घरमा एउटा कोठा पाइन् । अहिलेको घरधनीलाई आफू अन्यत्रै डेरा सर्न लागेको जानकारी पनि दिइन् । नियतीको अवस्थाको बारेमा जानकार घरबेटीले चिनेजानेकै छिमेकीको घरमा डेरा सार्न लागेको हुनाले कुनै असहमति जनाएनन् ।

उनको पढाइमा धेरै खर्च लाग्ने र आवधिक हिसाबले कलेजको शुल्क तिर्नुपर्ने भएकाले उनले मासिक रुपमा घरभाडा तिर्ने गरेकी थिइनन् र यसमा घरबेटीको समर्थन पनि थियो । श्रीमान र घरबेटीको सल्लाह बमोजिम कहिले ३, ४ महिनाको भाडा अगाडि दिने त कहिले पछाडि दिने गरेकी थिइन् । घरबेटीले डेराभाडाको विषयमा कुनै गुनासो गर्नुपर्ने अवस्था सृजना भएको पनि थिएन ।

यसपटक घरभाडा पछाडि तिर्ने पालो परेको थियो । सामान सार्ने दिन बिहानै उनले घरबेटीलाई भनिन्, “बुबा ३, ४ दिनमा ज्वाइँले पैसा पठाउनुहुन्छ अनि म अहिलेसम्मको बाँकी (डेड महिनाको) भाडा रु. ९००० दिन्छु है ?” उनले हुन्छ भने । साँझपख नियतीले भरिया बोलाइन् र सामान सार्न थालिन् । काठको दराज लैजान बाँकी थियो । रातिको ८ बजेको थियो । अकस्मात् घरबेटी आएर मेरो पैसा देऊ अनि मात्र बाँकी सामान लैजाउ भने ।

उनी छाँगाबाट खसेझैँ भइन् । उनले ३, ४ दिनमा दिने वाचा गरिन् र बिहानै मात्र जानकारी गराएको कुराको याद गराइन् । तर उनले सबैले सुन्ने गरी घरभाडा नतिरी अन्त डेरा सर्न लाज लाग्दैन भनेर हप्काए । आफ्नो समस्या सबैलाई नसुनाउन अनुरोध गर्दै उनले ३ दिनको भाकामा चेक काटेर दिइन । तर घरबेटीले मानेनन् । त्यसपछि विवाहमा श्रीमानले बनाइदिएको सुनको सिक्री झिकेर दिइन् र तीन दिनपछि भाडा दिएपछि फिर्ता लिने वाचा गरिन् । घरबेटीले त्यो पनि मानेनन् । उनको अनुरोध अर्थहीन र कमजोर बन्दै गयो भने घरबेटीको अडान झनै दरिलो ।
अब उनलाई यो सब हर्कत असह्य हुन लाग्यो । पीडा खप्न सकिनन् र रुन थालिन् । यो रडाको मच्चिँदा रातिको ९ः३० बजिसकेको थियो । पकेट खर्चको रुपमा राखेको २, ३ हजार रकम मात्र थियो उनीसँग । सामान सार्न बोलाएका ज्यामीलाई पनि ज्याला दिनु नै थियो । अब उनीसँग एक मात्र विकल्प नजिक बस्ने आफन्तसँग सापटी रकम लिई घरबेटीको भाडा तिर्ने थियो । यति राति पैसा माग्न जानु सहज त थिएन तर पनि थप बेइज्जती बेहुर्नुको साटो कथित इज्जत ढाक्नका लागि पनि उनले जानु नै पर्यो । छिट्टै पैसा ल्याउने वचन दिँदै रुँदै घरबाट बाहिरिइन् ।

रातिको समय थियो । उनी एक्लै थिइन् । उनकै सामान सार्न आएका २ जना अपरिचित ज्यामीबाहेक उनलाई रोक्ने कोही भएनन् । ती अपरिचित ज्यामीमध्ये एक जनाले उनलाई रोक्न खोजे । ज्यालादारी गरी जम्मा गरेको रु. ९००० रकम उसको साथमा रहेछ । उसले त्यो पैसा लिन अनुरोध गर्दै श्रीमानले पैसा पठाएपछि लिन बोलाउन भने । यससँगै पैसा प्राप्त भएपछि सम्पर्क गर्न आफ्नो मोबाइल नम्बरसमेत दिए र यति राति एक्लै बाहिर नजान अनुरोध गरे । यस अनुरोधले उनी झन् मर्माहत भइन् । अनायसै काठमाडौंका घरबेटी र निमेकको भरमा ज्यान पाल्ने ज्यामीलाई तुलना गर्न पुगिन् । आफ्नो पीडामा ज्यामीलाई दुःख नदिने निर्णय गरिन् । र २०, २५ मिनेटभित्रमा फर्किने जानकारी गराउँदै ज्यामीलाई पर्खिन अनुरोध गरी आफ्नो गति बढाइन् ।

उनको डेराबाट केही टाढा उनकै गाउँकी एकजना दिदी बस्थिन् । छोटकरीमा आफ्नो समस्याको जानकारी गराई रु. १०,००० सापटी लिएर फर्किइन् । यतिबेला रातिको बजेको थियो । घरबेटी पर्खेरै बसिरहेका थिए । उनले पैसा दिइन् अनि आफ्नो सामान लिएर नयाँ डेरामा पुगिन् । उनी धेरै थाकेकी थिइन् । सामान बोक्ने ज्यामीलाई ज्याला दिएर लामो स्वास फेर्दै भुइँको कार्पेटमा पल्टिइन् ।

उनको जीवनमा आफ्नो हैसियत दिलाउने यस घटनाले उनको भोक प्यासलाई मेटाएको थियो । त्यसैले होला खाना बनाउने र खाने होस् पनि भएन उनलाई । भोकै सुतिन् । तर निद्रा परेन । पैसाको महत्व र आवश्यकताको बारेमा सोच्न थालिन् । मनमा विचारहरुको तुफान आयो । यस तुफानलाई थाम्ने उपाय एउटा मात्र थियो उनीसँग । मोबाइल चलाउन थालिन् । श्रीमानलाई टेलिफोन गरेर सबै वृत्तान्त सुनाउन चाहिन् तर विदेशमा भएको श्रीमानलाई टेलिफोन गर्न पर्याप्त ब्यालेन्स थिएन । फ्री वाइफाइ भेटिने झिनो आशामा वाइफाई अन गरिन् । भाग्यवश, उनले चाहेजस्तै भयो । उनको झिनो आशालाई एउटा मात्र देखिएको वाइफाईको टावरले पूरा गर्यो । आफ्नो वेदना श्रीमानलाई वेदना सुनाइन् र भोलिको दिनको पखाइमा सुतिन् ।

नियतीको यस घटनाले मलाई केही लेख्न उत्प्रेरित गर्यो । पैसा र मानव जीवनको सम्बन्धको आध्यात्मिक पाटो पनि केलाउन मन लाग्यो । केही सोच्ने, खोज्ने अनि पढ्ने र अरुलाई समेत सुनाउने रहरसमेत जाग्यो । आजकालको सबैभन्दा सहज तरिका अपनाएँ । पैसाको महत्व लेखेको कुराहरु इन्टरनेटमा हेर्न थालेँ । अरुलाई सिकाउने तर आफूले व्यवहारमा नउतार्ने देखावटी र ढोँगी दुनियाँमा धेरैले धेरै कुराहरु राखेको पाएँ । अरुको पैसा र आफ्नो जीवनको बारेमा समेत धेरै नै कुराहरु देखेँ, पढेँ । ती धेरैमध्ये एउटा अलिक सान्दर्भिक लाग्यो र साभार गर्न उपयुक्त ठानेँ ।

म पैसा हुँ, म बोल्दिनँ तर सबैको बोली बन्द गर्न सक्छु ।
म पैसा हुँ, कैयौं मानिसहरुसँग म प्रशस्त थिएँ तर पनि उनीहरु मरे र रुनेहरु कोही पनि भएनन् ।
म पैसा हुँ, म भगवान होइन तर मानिसहरुले मलाई भगवानभन्दा कम सम्झिदैनन् ।
म पैसा हुँ, म फसादको जड हुँ तर पनि थाहा छैन मानिसहरु पागल भएर किन मेरो पछि लाग्छन् ।
म पैसा हुँ, म केही पनि होइन तर तपाईंलाई अरुले कति इज्जत दिन्छन् त्यो म नै निर्धारण गर्छु ।
म पैसा हुँ, म नुनजस्तो छु, जुन आवश्यक त हुन्छ तर आवश्यकता भन्दा धेरै भयो भने जिन्दगीको स्वाद बिगारिदिन्छु ।
म पैसा हुँ, मलाई त्यहाँसम्म मात्र पछ्याउ जहाँबाट फर्किदा तिमीले फेरि आफन्तलाई भेट्छौ ।
म पैसा हुँ, म तिम्रो साथमा छु भने तिम्रो हुँ तिम्रो साथमा छैन भने तिम्रो होइन ।
तर म तिम्रो साथमा भएँ भने सबैजना तिम्रा हुनेछन् ।

वास्तवमा धन सम्पत्ति, भोग, विलास, ऐस आराम क्षणिक हो । धेरै धन सम्पत्ति हुने सबैसँग त्यतिकै इज्जत र मान सम्मान हुन्छ नै भन्न सकिन्न । जीवनभर अथाह सम्पत्ति कमाउन उद्दत हुनेहरु पनि मरणसँगै खाली हात जान्छन् । वास्तवमा सबै चीज बाँचुन्जेल मात्रै हो । यसको मतलव धन सम्पत्ति केही पनि होइन र आवश्यक पनि छैन भन्न खोजेको भने पक्कै होइन । हरेक मानवमा यसको चाहना र आवश्यकता त हुन्छ नै तर के गरेर पैसा कमाउने अनि कमाएको पैसाको सदुपयोग कसरी गर्ने भन्ने कुरामा समेत ध्यान दिनुपर्दछ ।

यस दुनियाँमा फोकटमा पाउने कुरा केही पनि छैन । यो कुरा सबैलाई थाहा नै छ । सेवा तथा वस्तुको उपभोगको यथोचित मूल्य त सचेत मानिस सबैले तिर्छ । तर कसैको आत्मसम्मानमा चोट पुर्याएर तत्कालै धन प्राप्ति गर्न खोज्नु कदापि ठीक हुँदैन । यसरी गरेको प्राप्तिले केवल अशान्ति मिल्छ । त्यसैले अरुलाई आदर्श सिकाउन खोज्ने तर आफूले नै व्यवहारमा लागू गर्न नचाहने मानिसहरुको झुण्डमा आफूलाई फरक बनाउने प्रयास गरौं । पैसाले मापन गरिने धनी र सम्पन्न मानिस बन्नुको सट्टामा मानवीय संवेदनासमेत बुझ्ने असल मानिस बनौं । सुखमा त सबै हुन्छन् नै दुःखमा समेत सहयोगी बन्ने कोसिस गरौँ ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल