प्रजातन्त्र अघि नेपाली पत्रकारिता

प्रजातन्त्र अघि नेपाली पत्रकारिता

खगेन्द्र फुयाँल

नेपालमा प्रजातन्त्र अगाडिको पत्रकारिताका विषयमा खासै चर्चा परिचर्चा हुने गरेको छैन । २००७ साल अगाडिको समयलाई पत्रकारितको इतिहासका रुपमा उठान गरेको पाइँदैन । तर नेपालको इतिहासमा नेपालमा प्रजातन्त्र स्थापना हुनुभन्दा अगाडि पनि नेपाली पत्रकारिताले थुप्रैै उतारचडाव बेहोर्नु परेको थियो ।

नेपालमै छापिएर प्रकाशन भएको नेपाली भाषाको पहिलो पत्रिका ‘सुधासागर’ हो । यसले प्रकाशनको थालनी विक्रम संवत १९५५ साउनदेखि गरेको मानिन्छ । राणा शासनकाल माराणा परिवारमा मात्रै सीमित रहेको शिक्षा सर्वसाधारणलाई सुुसूचित गर्ने पत्रपत्रिकाको प्रकाशन कल्पनाभन्दा बाहिरको कुरा थियो । त्यो समयमा पढेलेखेका मान्छे भेट्न समेत गाह्रो थियो । त्यही कठिनाइकाबीच ‘सुधासागर’ले केही वर्षसम्म मासिक रुपमा आफ्नो प्रकाशन गरेको थियो ।

राणा शासनको समयमा सर्वसाधारणलाई शिक्षामा सहजै पहुँच नभएको हुँदा सम्पन्न परिवारका छोरा मान्छे प्रवासमा पढ्न जाने चलन रहेका थियो । तिनै नेपाली विद्यार्थीहरुले ‘सुधासागर’ प्रकाशनमा आउनुभन्दा अगाडि नै नेपाली भाषामा विभिन्न बुलेटिन तथा पत्रिका वनारस, कलकत्ता, आसाम, लगायतबाट छापेका थिए भन्ने जानकारी विभिन्न आलेख तथा पुस्तकहरुमा भेटिन्छ ।
‘सुधासागर’ ‘पण्डित नरदेव मोतिकृष्णद्वारा पशुपत प्रेसमा छापिएको थियो । यस पत्रिकाको उद्देश्य नेपाली भाषाको उन्नति गर्नु थियो भने यसमा कथा, कविता छापिने गर्दथ्यो’ भन्दै ग्रीस्मबहादुर देवकोटाले आफ्नो पुस्तक ‘नेपालको छापाखाना र पत्रपत्रिकाको इतिहास’मा लेखेका छन् । जसका भाषा सम्पादक पण्डित कविलदेव शर्मा रहेका थिए ।

‘सुधासागर’ मासिक पत्रिका प्रकाशन भएको २ वर्षपछि विक्रम संवत १९५८ साल जेठ ३ गते सोमबार ‘गोर्खापत्र’को प्रकाशन सुरु भएको थियो । श्री नरदेव मोतीकृष्ण शर्मा प्रकाशकरहेको ‘गोर्खापत्र’ ठहिँटीमा रहेको पशुपत पे्रसमा छापिएको मानिन्छ । सुरुका दिनमा ‘गोर्खापत्र’ साताको सोमबार मात्र प्रकाशन हुने गरेको थियो ।

उदारवादी राणा शासकको रुपमा कहलिएका श्री ३ प्राइम मिनिस्टर देव शमशेर राणाको पालामा शिक्षालयको नाममा दरबार स्कुलको स्थापना भएको थियो भने त्यही समय ‘गोर्खापत्र’को प्रकाशन सुरु भएको थियो । पत्रिकामा के छाप्ने के नछाप्ने भनेर राणा सरकारले आचार संहिताका रुपमा छाप्ने विषयहरुको सीमित दायरा बनाएका थिए ।

श्री ३ देव शमशेरको शासनकालमा पार्लियामेन्टको स्थापना गर्न खोजेको र अनेक ठाउँमा बाकस राखी शासन व्यवस्थासम्बन्धी लिखित सुझाव माग्दै प्रजातन्त्रको अभ्यास गर्न खोजेको भन्दै देव शमशेरले शत्ताच्यूत हुनु परेको थियो ।
देवशमशेरको सत्ता खोसिएपछि श्री ३ चन्द्र शमशेर नेपालको प्राइम मिस्टर बने । चन्द्र शमशेरको ३१ वर्षे शासनकालमा नेपालमा कुनै पनि नयाँ पत्रपत्रिकाहरु प्रकाशनमा आउन सकेनन् भने भएको ‘गोर्खापत्र’ पनि मर्नु न बाँच्नुको अवस्थामा रहेको थियो ।

त्यसैगरी जुद्ध शमशेरको पालामा विक्रम संवत १९९१ सालमा श्री ऋद्धिबहादुर मल्लको सम्पादनमा ‘शारदा’ मासिक प्रकाशन सुरु भयो । सरकारी लगानीमा प्रकाशन भएको ‘शारदा’ मासिकमा सरकारी नियन्त्रण रहेको हुँदा राणा साहेवका सवारी एंव गतिविधि मात्र प्रकाशन हुने गर्दथ्यो ।
नेपाली साहित्यको क्षेत्रमा ‘शारदा’ पत्रिकाले दिएको अवसरलाई राम्रो मानिन्छ । यसले विजयाङ्क, नारी–अङ्क, मोहन–अङ्क, लगायत विभिन्न विषेशाङ्कहरुलाई स्थानदिएको बताइन्छ । नियमित ग्राहकहरु नहुँदा सरकारी अनुदानको अभावमा २० वर्ष ७ अङ्क निस्किसकेको पत्रिका समेत बन्दभयो ।

विक्रम संवत १९९२ सालभाद्र १ गते ‘उद्योग’ पाक्षिक पत्रिकाको रुपमा प्रकाशन भयो । उद्योगसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने अभिलासासहित राणा शासकको पहलमा प्रकाशन थालेको ‘उद्योग’ मासिक हुँदै विभिन्न स्वरुपमा प्रकाशन भए पनि जनताको चसो पाउन नसक्दा १४ वर्ष सङ्ख्या ९ प्रकाशन भएपछि बन्द भयो ।

जुद्ध शमशेरपछि नेपालको श्री ३ प्राइम मिनिस्टर पद्मशमशेर भए । देवशमशेरपछि राणा शासकहरुमा पद्यमशमशेर प्रजातन्त्रिक भावनाका उदारवादी भएर देखा परे । त्यसैले उनको शासनकालमा समयअनुसार गाउँपालिकाको चुनाव, नेपाली साहित्य परिषदको स्थापना, सर्वसाधारणले रेडियो राख्ने स्वतन्त्रता, वैधानिक कानुनको घोषणा जस्ता सुधारका कामको सुरुवात गरेको थिए ।

प्रधानमन्त्री श्री ३ पद्मशमशेरको शासनकालमा नै हप्तामा २ पटक निस्कने ‘गोर्खापत्र’ हप्तामा ३ पटक प्रकाशन हुनथल्यो । २००४ साल वैशाखमा श्री हृदयचन्द्रसिंह प्रधानको सम्पादनमा ‘साहित्य–मोहन’ मासिक पत्रिकाको प्रकाशन सुरु भयो । ‘शारदा’ मासिक पत्रिका ओइलाउँदै गएको अवस्थामा सुरु भएको यस पत्रिकाले नामअनुसारको कामभन्दा पनि बढी नेपाली साहित्यको प्रवाह बढाउनमा लागेको भनिन्छ । जसमा साहित्यक ढङ्गबाट राजनीतिक रङ्ग देखिएका कारण २ वर्ष २ महिनापछि प्रकाशन नै बन्दभएको भनिन्छ ।

२००४ साल जेठ २ गतेदेखि ने.क.घ.इ प्रचार अड्डाद्वरा ‘घरेलु इलम पत्रिका’ निकाली घरेलु इलमसम्बन्धी प्रचार गर्न र पाक्षिक ‘शिक्षा’ पत्रिका निकाली शिक्षासम्बन्धी ज्ञान दिने कार्य सरकारी क्षेत्रबाट गरेको पाइन्छ ।
काठमाडौं म्युसनसिपल समितिको गठन भएपछि यस समितिद्वारा २००४ सालमाग १४ गते देखि ‘काठमाडौँ म्युसनसिपल पत्रिका’ पाक्षिक निस्कियो । यो पत्रिका पनि वर्ष १ सङ्ख्या १० सम्म प्रकाशन भएर बन्द भयो ।

राणा प्रधानमन्त्री जुद्ध शमशेर र देवशमशेर विभिन्न षड्यन्त्रबाट हटाइएपछि श्री ३ मोहनशमशेल राणा प्राइम मिनिस्टर भए । मोहन शमशेरको पालामा नेपालमा पहिलो पटक छापाखाना र प्रकाशनसम्बन्धी ऐन जारी भयो ।

नेपाली पत्रिकाको लहरमा २००५ साल असोजमा देवीप्रसाद रिमालको सम्पादनमा ‘आँखा’ मासिक पत्रिका प्रकाशन भयो । सरकारी सहयोग प्राप्त यस पत्रिकामा स्कुलका छात्राछात्र र शिक्षकहरुलाई आफ्नो रुचि बढाउन अग्रसर रहेको भए पनि वर्ष २ सङ्ख्या ७ सम्म प्रकाशित भई बन्द भएको थियो ।

त्यस्तै २००६ साल पुसदेखि बुद्धिसागर शर्मा र शेषराजशर्माको सम्पादनमा ‘पुरुषर्थ’ मासिकको प्रकाशन सुरु भएको थियो । सरकारबाट सहयो प्रप्त भएता पनि २०१० सालभाद्र महिनापछि यसको प्रकाशन बन्द भयो । सरकारका तर्फबाट श्री ५ को सरकार शिक्षा विभागद्वारा २००५ सालअसोज १५ गतेदखि सर्वश्री जितेन्द्रबहादुर शाहा, भवनाथ उपाध्याय, तारामान सिंह त्रैलोक्यनाथ उप्रेती, खड्ग मल्ल गरी ५ जनाको सम्पादनमा नेपाल शिक्षा मासिक प्रकाशन सुरु भएको थियो ।

त्यस्तैगरी २००५ साल कात्तिक ३० गते ‘सेवा’ मासिक विरगञ्जबाट पत्रिका प्रकाशनको इजाजत पाएर प्रकाशन सामग्री सरकार समक्ष पेश गरिएको भए पनि जाँचिएका प्रतिलिपिहरु नियमबमोजिम नभएको इजाजत नै खारेजी गरेको थियो । यस पत्रिकाका सम्पादक बलभद्र शर्मा र सुरेन्द्रराज शर्मा थिए भने श्यामप्रसाद शर्मा प्रकाशक रहेका थिए । २००८ साल साउनमा श्यामप्रसाद शर्मा सम्पादक रही बनारसबाट मुद्रित भई वीरगञ्जबाट प्रकाशन भएको थियो । २००७ सालभन्दा अघि नेपालमा कुनै पनि रेडियो तथा टेलिभिजनको प्रसारणमा रहेका थिएनन् ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल