कुलवीरले यूएईबाट भने : बन्दुक बोक्न भुलेको छैन

कुलवीरले यूएईबाट भने : बन्दुक बोक्न भुलेको छैन

कुमार शर्मा

केही वर्षअघि यूएईबाट एकजना पत्रकार एक अनलाइन पोर्टलमा नियमित लेख लेख्नेगर्थे । उनी जनमुक्ति सेनाका पूर्व लडाकु थिए । उनका लेख रचनाहरुमा अधिकांश शब्दहरु माओवादीलाई गाली गर्न खर्चिएको हुन्थ्यो । ती लेख रचनाहरुलाई माओवादीइतरका व्यक्तिहरुले सामाजिक सञ्जालमा खुबै सेयर हुन्थे । माओवादी र माओवादी नेता विशेष गरी प्रचण्डलाई गाली गरी लेखिएको ती लेखहरुका कारण उनी चर्चित बने । उनका लेखहरुमा नेपाल बिग्रनुमा, बर्बाद हुनुमा र नेपालीहरु अरबमा भेडा चराउन आउनुमा सम्पूर्ण दोष माओवादी आन्दोलन थियो । उनको बुझाइमा माओवादी आन्दोलनका नेता हुनुका कारण सबैभन्दा खराब र देशलाई बर्बादीमा लैजाने मुख्य नाइके प्रचण्ड थिए ।

समय केही फेरियो । उनी नेपाल गए । नेपाल गएपछि उनी फेरि पनि उही माओवादी आन्दोलनको हिमायाती बने । प्रचण्डको फ्यान बने । विगतमा आफूले अरबबाट प्रचण्डलाई गाली गरेकोमा पश्चाताप गरे । देशको आमूल परिवर्तनको संवाहक माओवादी र माओवादी आन्दोलन नै हो भन्ने कुराको निचोडमा पुगे । गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशी, आरक्षण जस्ता सफलताको मुलभूत कारक माओवादी आन्दोलन नै हो भन्ने कुरा बुझे । माओवादीका बाध्यताहरु, अप्ठ्यारा पक्षहरु बुझे । माओवादी आन्दोलन नभएको भए उल्लेखित देशमा २४०औँ वर्षदेखि जरा गाडेर बसेको राजतन्त्र नफालिने रहेछ भन्ने निष्कर्षमा उनी पुगे । अझै पनि नेकपा एमाले र नेपाली काङ्ग्रेसलगायत राजावादीहरुलाई यी प्राप्ति पच्न नसकेको उनको ठम्याइ छ । प्रतिक्रान्ति हुनसक्ने भन्दै प्राप्त उपलब्धिलाई माओवादीहरु मिलेर जोगाउनुपर्ने र देश विकास समृद्धिमा अघि बढ्नुपर्ने उनको जोड रहेको देखिन्छ ।

यी लेखक एक प्रतिनिधि पात्र मात्रै हुन् । आजकल धेरै पात्रहरु यसरी नै अरबमा बसेर माओवादी केन्द्र र केन्द्रका अध्यक्ष प्रधानमन्त्री प्रचण्डलाई गाली गर्नमा शब्द र समय खर्चिन्छन् । यी पात्रहरुमध्ये केही एमाले निकट पत्रकार छन् भने केही चाहिँ माओवादी आन्दोलनसँग जोडिएका हाल माओवादी विप्लव निकट रहेका पत्रकार र कार्यकर्ताहरु छन् । उनीहरु सिङ्गो माओवादी आन्दोलनलाई नै कालो दाग लगाउँदै अरब आउनुमा, अरब आएर मेसिन र माटोमा खेल्नुमा सम्पूर्ण दोष माओवादी केन्द्र र प्रचण्ड रहेको भन्दै कोकोहोलो गर्छन् । एमालेका कार्यकर्ता पत्रकारहरु लेख्छन्, विप्लवका कार्यकर्ता पत्रकारहरु सामाजिक सञ्जालमा सेयर गर्छन् र ताली पड्काउँछन् । विप्लवका कार्यकर्ताहरु आफै पनि लेख्छन् र एमाले, काङ्ग्रेसका कार्यकर्ताले शेयर गरेकोमा पुकलित बन्दै सिङ्गो माओवादी केन्द्रलाई धक्का दिन सकेकोमा गर्व गर्छन् । एमाले खेमाभित्र पहिलेदेखि नै गणतन्त्रवादीको एउटा खेमा पनि छ, जो अहिले मौन छन् । ओलीको दौरा र टोपीको राष्ट्रवादले, लौनचौरमा हुने रात्रिकालीन राष्ट्रवादले उनीहरु ओझेलमा परेका छन् ।

माओवादी केन्द्र कमजोर भए अहिले प्राप्त उपलब्धि गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशी र आरक्षणजस्ता उपलब्धिलाई उल्ट्याउन सकिन्छ भनेर “झर्छ र खाउँला” झैँ गरी बसेका कमल थापा खेमाका राजनीतिसँग लगनगाँठो जोड्न खोज्ने काङ्ग्रेस र राजावादी एमालेहरुका कार्यकर्ताहरुसँगको गठबन्धनमा बिशेष गरी विप्लव माओवादीहरुको साथ टीठ लाग्दो छ । यिनीहरु प्राप्त उपलब्धिको रक्षा गर्नेभन्दा माओवादी केन्द्रलाई खुइल्याउनमै बढी समय खर्चिन्छन् । प्राप्त उपलब्धिको जस सिङ्गो माओवादीले लिने, यसलाई आफ्नो हितमा प्रयोग गर्नेभन्दा लडाकुको अरब भोगाइलाई अतिरञ्जित बनाउँछन् । यसोगर्दा एमाले काङ्गे्रसले मूतको न्यानो त महसुस होला तर हिजो हामीले सुराकी भनेर गाउँगाउँबाट लखेटेका ती एमाले र काङ्ग्रेसका सुराकीहरुले चलाऊने घन फर्केर कुनै दिन हाम्रै टाउकोमा बज्रिन सक्छ भन्ने बुझ्न सकेका छैनन् । जसले गर्दा विप्लव माओवादीप्रति सहानुभूति राख्ने र माओवादी आन्दोलनलाई माया गर्ने माओवादी केन्द्रका ठूलो खेमाको माया र सहानुभूति उनीहरुले पनि गुमाउँदैछन् । धेरै माओवादी केन्द्रका मित्रहरुको गुनासो पनि यही छ । उनीहरु भन्छन– हामी विप्लव र उनका कार्यकर्ताहरुलाई माया गर्छौं । आखिर हिजो बन्दुक त सँगै बोकेको हो नि । तर विप्लवहरुले केन्द्रलाई नै हान्न छोडेनन् । हिजो वैद्यहरुले पनि यसै गरेका थिए ।

वैदेशिक रोजगारी र रेमिटेन्स :
वैदेशिक रोजगारीको इतिहास हेर्ने हो भने सन् १९७० को दशकबाट विशेष गरी पर्सियन क्षेत्रमा तेल पत्ता लागेपपछि खाडीमा क्षेत्र आर्थिक हिसाबले “बुम” भएको हो । सोही बेलादेखि नै अरब क्षेत्रमा वैदेशिक रोजगारीको लागि आउने चलन बढेको देखिन्छ । त्यसो त वैदेशिक रोजगार भन्ने बित्तिकै हामी गरिब देशका जनता आर्थिक हिसाबले केही उच्च मुलुकहरुमा रोजिरोटीको लागि लेबर कामका लागि जानुलाई बुझ्दछौँ । अमेरिका देशका नागरिकहरु भारतमा पचासौँ हजार छन् भन्ने ख्याल गरेका छैनौँ । अब विश्व कुनै कुनै भूगोलको सीमाभित्र मात्र रहेन । अवसरको खोजीमा भूगोलको सीमा नाघेर अर्को देशमा जाने चलन हाम्रो जस्तो गरिब मुलुकमा मात्रै हैन विकसित मुलुकमा पनि उत्तिकै छ ।

विश्व बैङ्कको आँकडा हेर्ने हो भने विश्वभरबाट २०१६ मा ६६१ बिलियन डलर रेमिटेन्स विभिन्न मुलुकमा भित्रने अनुमान छ भने त्यो रकममध्ये ४४१ बिलियन डलर अल्पविकसित देशहरुमा भित्रिन्छन् । २२० बिलियन डलरभन्दा बढी रेमिटेन्स विकासित देशहरुले नै भित्र्याउने अनुमान विश्व बैङ्कको रहेको छ ।

यसरी हेर्ने हो भने अमेरिका विश्वमा सबैभन्दा बढी रेमिटेन्स पठाउने देश हो । जसले सन २०१४ मा ५६ बिलियन डलर पैसा आफ्नो देशबाट बाहिर पठाएको छ । त्यसपछिको दोस्रो साउदी अरबले ३७ बिलियन डलर र तेस्रो रसियाले ३३ बिलियन डलर बाहिर्याएका छ । सन् २०१५ मा सबैभन्दा बढी रेमिटेन्स भित्र्याउने मुलुकहरुमा अग्रपङ्क्तिमा भारत छ । यसले ७२ बिलियन डलर भित्र्याएको छ भने चीनले ६४ बिलियन र फिलिपिन्सले ३० बिलियन डलर रेमिटेन्स भित्र्याएर दोस्रो र तेस्रो नम्बरमा छन् । नेपालको कुल ग्राहस्ट उत्पादनको ३१ दशमलब ८ पतिशत रेमिटेन्स ओगटेको छ । रेमिटेन्स भित्र्याएर देशको अर्थ तन्त्र धान्नेमा नेपाल पनि अग्रपँक्तिमा छ ।

नेपालीहरुको वैदेशिकरोजगार :
नेपालमा विशेष गरी सन् १९८० को हाराहरीदेखि वैदेशिक रोजगारी जाने प्रचलन बढेको देखिन्छ । पैसा कमाउन भारत जाने प्रचलन पुरानो रहे पनि नेपाल सरकारले भारतलाई वैदेशिकरोजगारीको मान्यता नदिएको हुनाले १९८० को दशकमा अरब जाने प्रचलनलाई आधार मानी वैदेशिक रोजगारको सुरुवात भएको मानिन्छ । सन् १९९१ मा नेपालमा बहुदलीय व्यवस्थाको आगमनसँगै नेपालीहरु अरब देशहरुमा जाने सङ्ख्यामा अत्यधिक वृद्धि हुन थालेको छ । सरकारी आँकडामा सन् १९९३ र १९९४ मा ३६०५ जना नेपालीहरु अरब गएका थिए । सो सङ्ख्या बढेर १९९९ मा २८ हजार पुगेको थियो । सन २००१ देखि वार्षिक १ लाखभन्दा बढी नेपालीहरु अरब खाडीमा गएका देखिन्छन् भने २००८ सम्म आईपुग्दा वार्षिक २ लाख ५० हजारभन्दा बढी नेपालीहरु अनुमति लिएर विदेशिएका छन । आईएलओको तथ्याङ्क हेर्ने हो भने २०१४।२०१५ मा करिब ३८ लाख नेपालीहरु अनुमती लिएर वैदेशिकरोजगारीको लागि बिदेशिएका छन । ती मध्ये २० लाखभन्दा बढी अरब खाडीमा छन भन्ने अनुमान रहेको छ ।

जनतालाई अरबमा भेडा चराउन पठाउने प्रचण्डले नै हुन् त ?
सन १९९६ मा नेपालमा जनयुद्धको सुरुवातसँगै वैदेशिक रोजगारीमा जाने नेपालीहरुको सङ्ख्या ह्वात्तै बढेको हो । विशेष गरी माओवादी आन्दोलनको मारमा पर्ने सेना प्रहरीहरु विदेशिए । सँगसँगै माओवादीले गाउँगाउँबाट लखेटेका विभिन्न दलमा आबद्ध सुराँकीहरु पनि विदेश लागे । लखेटिएकामध्ये कोही कोही निर्दोष पनि थिए भने धेरै चाहिँ गाउँमा मुखियागरी गरी खाइबसेका नै थिए । सन् १९९६ देखी २००६ सम्म आईपुग्दा धेरै एमालेहरु र काङ्रेसहरु बाध्यताले देश छोड्दै अरबतिर मुन्टो लुकाउँदै थिए । केही भागौडा लडाकुहरु पनि त्यसैमा सामेल थिए ।

सन् २००६ मा देशमा आमूल परिवर्तन आएपछि केही लडाकु जो अनमिन र राज्यबाट अयोग्यको बिल्ला भिराइए, केही राज्यबाट निश्चित मुआब्जा पाएका लडाकु र केही सच्चा माओवादी कार्यकर्ताहरु पनि विविध बाध्यताले विदेशिएका छन । उनीहरुमध्ये धेरै अरब खाडी र मलेसियामा छन् । माओवादी आन्दोलनमा लागेका जो खाडीमा छन् उनीहरुमध्ये धेरै माओवादी केन्द्रमा आबद्ध छन् भने केही विप्लव र वैद्य माओवादीमा पनि आबद्ध छन् । अहिले उनीहरुको गतिविधि हेर्दा लाग्छ माओवादी केन्द्र नै विप्लव र वैद्यका प्रमुख शत्रु हुन । एमाले र काङग्रेसहरु चाहिँ निकट मित्र । त्यसैले उनीहरु बढी समय माओवादी केन्द्र र प्रधानमन्त्री प्रचण्डलाई गाली गर्नमै व्यस्त हुन्छन् । जुन उनीहरुका लागि एकदम प्रत्युत्पादक हुनेछ । जसबाट अधिकार खोसियो उनीहरुलाई हौसला पुग्ने गरी आफ्नै मित्र माओवादी शक्तिको खेदो खन्ने काम बन्द गरी कम्तीमा कार्यगत एकता गर्न जरुरी छ ।

तसर्थ रेमिटेन्सको विश्व ट्रेन्डलाई हेर्ने हो भने दक्षिण एसियाका अन्य मुलुकहरुको रेमिटेन्सको वृद्धि हेर्ने हो भने कहीँकतै पनि माओवादीलाई गाली गर्ने आधार भेटिन्न । न त माओवादीले वैदेशिक रोजगारका निमित्त अरब खाडीको ढोका खोलेका हुन न त अरबमा गएर कमाएर ल्याऊ भनेर न त माओवादीले कसैलाई जबर्जस्ती गरेको छ । छ त, २४०औँ वर्षदेखि राज्य व्यवस्थामा हालीमुहाली गर्ने शासक वर्ग, तिनलाई दाम चढाउने तिनका मतियारहरु नै यसका लागि जिम्मेवार छन् । जसले दशकौँ वर्षसम्म देशको खुन चुसे । माओवादी आन्दोलनका १० वर्षको पाइपाइ हिसाब गर्नेहरु त्योभन्दा अघिका र पछिका हिसाब नगरी भड्काउ अभिव्यक्ति दिनु त्योभन्दा ठूलो घिनौला राजनीति अर्को हुनसक्दैन ।

माओवादी हुनुमा गर्व गर्छु :

झापा जलथलका कुलवीर थापा विगत ५ वर्षदेखि सेक्युरिटी पदमा यूएईमा छन् । युएई आउनुभन्दा अघि झण्डै २ वर्ष मलेसियामा थिए । उनी बिहानै ७ बजे आफ्नो काममा जान्छन् र १२ घण्टासम्म डिउटीमा खडा भइरहन्छन् । हप्तामा कुनै पनि दिन १ दिन छुट्टी हुन्छ । शुक्रबार भने बिरलै छुट्टी पाउँछन् । गत महिना प्रधानमन्त्री प्रचण्ड भेट्न उनी दुबई आए । दुबईको एक होटलमा भएको कार्यक्रमको अन्तिमसम्म पनि उनी प्रचण्डलाई हेरेर बसिरहे । युद्धको बेलामा इन्सास र थ्री नट थ्रीसँग खेल्ने उनका हातहरु प्रचण्ड बोल्दै जाँदा जुरुक जुरुक उचालिन्थे । उनलाई लाग्थ्यो अहिले फेरि बेजोडले चिच्याउ र भनौँ, नेकपा माओवादी जिन्दावाद ।

उनी भन्छन, हामी खास उद्देश्यले माओवादी आन्दोलनमा होमिएका थियौँ । सामन्ती राजतन्त्रलाई धुल चटाएर जनताको शासन “गणतन्त्र” ल्याएर विदेश हिँडेको हुँ । कुन चाहिँ पार्टी थियो त्यो बेला राजाको सामुन्ने गएर जनताको शासन माग गर्ने ? हामीले गणतन्त्र, सङ्घीयता र धर्मनिरपेक्षता जस्ता सयौँ वर्षदेखिको हाम्रो सपना पूरा गरेका छौँ । अब यी उपलब्धिलाई संस्थागत गर्ने र देश समृद्धिको बाटोमा अघि बढ्नुपर्छ । हिजो मैले बन्दुक बोकेँ तर बन्दुकको ब्याज आज पनि मैले खान पाउनुपर्छ भनेर म तर्क गर्न सक्दिन । पार्टीले आमूल परिवर्तनका लागि युद्ध लडेको थियो ।

माओवादी युद्धमा होमिएर लामो समयसम्म बन्दुकको नालसँग माया प्रिती गाँस्नेहरु प्रचण्डलाई किन गाली गर्छन् ? माओवादी केन्द्रलाई किन गाली गर्छन् ? उनी भन्छन्, सयौँ वर्षदेखि जकडिएको कर्मचारी संयन्त्र जस्ताको त्यस्तै रह्यो । केही गर्न खोजे उही पुरानो राज्य सन्यन्त्रका नीति नियमले छेक्छन् । केही निराशा त पक्कै होला तर त्योभन्दा बढी उनीहरु कुन शक्तिकेन्द्रबाट प्रयोग हुँदैछन् भन्ने कुरा नबुझ्नु नै हो । उनीहरु माओवादीलाई गाली गर्छन् एमालेका र काङग्रेसका भगौडाहरु ताली बजाउँछन् र खुच्चिङ मार्छन् । यसो गर्दा समग्रमा माओवादी आन्दोलन धरापमा पर्ने उनको विश्लेषण छ । यहाँ महाकाली बेच्नेहरु नै हुन जो फेसबुकमा उफ्रिन्छन । राजाको पाउमा दाम चढाउँदै बयलगाडा चढ्ने नै हुन जो गणतन्त्रको विरोध गर्छन् । सांसद खरिदबिक्रीका मतियारहरु छन् जो माओवादी आन्दोलनको विरोध गर्छन् । संविधानलाई कार्यन्वयन हुन नदीकन असफल पार्नेहरु, जनताका अधिकारलाई कुण्ठित पार्नेहरुसँग काँध जोडेर माओवादी आन्दोलनलाई कमजोर बनाउन नसकिने उनको दाबी छ ।

पार्टी र देशले युद्धमा घाइते भएका, अपाङ्ग भएका, टुहुरा भएका, सहिद परिवारलाई हेरोस्, केही गरोस् । म त सक्षम छु, हात खुट्टा बजारेर परिवार पाल्छु, उनले भने, पार्टीले धेरै गर्न बाँकी छ तर केही पनि गरेन भनेर खाडीमा बसेर हामीलाई बेहाल बनायो भन्दै रुहाइ गर्नुको औचित्य छैन । म अझै पनि माओवादी हुनुमा गर्व गर्छु । अहिलेको उपलब्धि गुम्ने खतरा भयो भने फेरि पनि बन्दुक बोक्न भुलेको छैन भनेर लेखिदिनुस्, कुलवीरले भने ।

कुलवीरले भने : फेरि पनि बन्दुक बोक्न भुलेको छैन भनेर लेखिदिनुस्,

(हाल युएई )

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल