सङ्घीयता चाहिँदैन

सङ्घीयता चाहिँदैन

 

दीपक घिमिरे

 

मेरो घर थारु बाहुल्य इलाकामा पर्छ । मेरा बाआमाका सुख दुःखका साथी भनेका तिनै थारु जातिका बुदु र बुदी हुन् । बुदु भनेको बाजे र बुदी भनेको बोई हो । मेरा दोस्तीमा पनि धेरैजसो थारु नै छन् । हामी मेलापात गर्दा होस् या स्कुल कलेज जाँदा थारु केटाकेटीसँगै गयांै । स्कुलमा मास्टरहरु पनि पहाडीभन्दा थारु नै धेरै थिए ।

 

थारुगाउँमा १५ वर्ष बिताएपछि मैले गाउँ छाडेँ तर मेरो घर अझै त्यहीँ छ । छिमेकमा उत्तर दक्षिण दुवैतिर थारु नै छन् । मलगायत मेरा बाका भाइ बगाल मेरो घरभन्दा टाढा बस्छौँ । मेरा बालाई सानो दुःख पर्दा सघाउने तिनै थारु हुन् । मेरी आमाको घाँसपात गर्ने सङ्गी तिनै थरुनी हुन् । मसँग रुन नसक्ने मेरी आमा तिनै फूलकुमारी अन्टीसँग दिल खोलेर रुन्छिन् । मेरा बाले दुःख साट्ने भनेकै तिनै फूलमान अङ्कलसँग हो । हाम्रो गाउँमा भए जति सबै पहाडे घर थारुसँग हाडनाता नभए पनि त्योभन्दा धेरै मिलेर बसेका छन् । यो परापूर्वकालदेखि हो । तराईमा औलो उन्मुलन भएसँगै आएका हामीहरु थारुसँग आफन्तको भन्दा नजिकको सम्बन्ध राखेरै बसेका छौँ ।

यो मेरो गाउँको अवस्था । अब खबर र पछिल्लो अवस्थाको कुरा गरौँ । थरुहट र थारुवानले छुट्टै प्रदेश माग्ने, मगरातले छुट्टै, लिम्बुवान र तमुवानले छुट्टै राज्य मागेर आन्दोलन चर्काइरहेको बेला देउखुरीको थारु परिवारकी बैनी रुपा चौधरीले म्यासेज गरेर भनिन्, ‘दाइ हाम्रो समाज कति मिलेर बसेको थियो । तर जातीयता र सङ्घीयताको राजनीति गर्नेहरुले भाँजो हाल्न खोज्दैछन् । अब हामी पहिलेको जस्तै मिलेर बस्न सक्दैनौँ क्यारे है ।’

 

म सोचमग्न भएँ । उसलाई हाँसेका इमो पठाइदिएँ, अनि फेरि सोच्न थालेँ । साँच्चै हामी किन र कसका लागि देशमा भाँडभैलो मच्चाउँदैछांै ?  आखिर किन चाहियो सङ्घीयता ?

 

सदियौँदेखि मिलेर बसेको समाजमा राजनीतिले उथलपुथल बनाउँदा पक्कै पनि कोही खुशी छैनन् । चाहे त्यो मधेसी वा थारु नै किन नहोस् । सबै मधेसीकै नाममा राजनीति गर्नेहरु सहर केन्द्रित छन् । गाउँमा बस्ने मेरा बाआमाहरु थारु परिवारसँग कति मजाले मिलेर बसेकै छन् । यस्तो मिलेको समाज भाँड्न किन चाहियो जातीयतासहितको सङ्घीयता ?

 

मेरो मामा घरकै गाउँको कुरा गर्ने हो भने मामाको घर मधेसी बाहुल्य इलाकामा छ । अधिकांश घर यादव (अहिर) छन् । मेरा मामाको सुख दुःखको साथी भनेकै ती अहिर हुन् । जसको नाममा केही नेताहरु काठमाडौँमा प्रदेश माग्दैछन् । तर यता यादव मामाहरु भन्छन्, ‘नाही जानथौ भान्जा, हमही त्वार मामा हुइथन् ।’

 

अहिले हाम्रो समाज मिलेर बसेको छ । मामाका छिमेकीलाई म मामाकै नाता लगाउँछु । अङ्कलको छिमेकीलाई अङ्कलकै नाता लगाउँछु तर सहरमा बसेर राजनीति गर्नेहरु हामीलाई फुटाउन सङ्घीयता र जातीयताको नाममा देश टुत्र्mयाउने खेल खेल्दैछन् । यसर्थ  किन चाहियो जातीयतासहितको सङ्घीयता ?

 

भौगोलिक बनोट, क्षमता र आयस्रोतको आधारमा देशलाई सङ्घीयतामा लगियो भने विकासले फड्को मार्छ भन्ने कुरा छ तर जातीयताको नाममा सङ्घीयता गराउँदा देशको अवस्था के हुन्छ ? नेताजीहरुले सोच्नुपर्ने अवस्था आएको छ । अस्ति एकजना बुद्धिजीवीले फेसबुकमा स्टाटस लेखे– ‘सीमित बाहुनहरुले गर्दा देश भाँडियो ।’

 

यो कस्तो आक्षेप हो ? के कुरा बुझ्नु जरुरी छ भने सीमित बाहुनहरुले गर्दा देश बिग्रेको होइन । तिमीजस्ता अन्धभक्त राजनीतिक कार्यकर्ताले गर्दा देश बिग्रियो । आफ्नो दलको नेताका लागि ज्यान गुमाउन तम्सिने ती अन्धभक्तले देशमा गद्दारी गर्ने जति बाहुनलाई  पछार्न किन सक्दैनन् त ? बाहुनवाद र बाहुनले गर्दा देश पछाडि प¥यो भन्नुभन्दा जातीयता र सङ्घीयताले गर्दा पछाडि पर्यो भनेर स्वीकार्नु उचित हुन्छ यतिबेला ।

आखिर कसले उचाल्यो जनजातिलाई ? कसले देखायो सपना आदिवासीलाई ? के आदिवासी र जनजातिका सपना जातीयतासहितको सङ्घीयता आउँदैमा साकार हुन्छ त ? के थारुवान र थरुहट प्रदेश या मधेस प्रदेश बनाउँदैमा ती पिछडिएका वर्गको स्तरोन्नति हुन्छ त ? समीक्षा गर्ने बेला आएको छ ।

 

मौरीघाट हाम्रो गाउँदेखि अलिपरको गाउँ हो  । मौरीघाटमा श्रीनारायण चौधरी एकजना  जिम्दार थिए । उनलाई स्थानीय थारुहरुकै अगाडि थारु नेताहरुले  हत्या गरे । पहाडिया मान्छे थारुहरुको मुख्य समस्या हुन्थ्यो भने श्रीनारायण हत्या हुने ठाउँमा त्यही गाउँमा बसोबास गर्ने अर्को पहाडियाको हत्या हुन सक्थ्यो । यसले के बुझिन्छ भने समस्या जातीयतामा होइन, विचारमा छ । पहाडी थारु मधेसी भन्दै राजनीति गर्नेहरुमा समस्या छ  ।

 

म सङ्घीयता विरोधी होइन । म धर्तीपुत्र कहलिँदै आएका थारु मधेसीको विरोधी पनि होइन । तर नेपालले थेग्न सक्ने सङ्घीयता भनेकै पाँच विकास क्षेत्रवाला सङ्घीयता थियो । दुई ढुङ्गाबीचको तरुल भनेको नेपालमा दुईवटै ढुङ्गालाई छोएका कति राम्रा सङ्घीयता थिए । सात प्रदेशसहितको जातीय सङ्घीयता के कारणले बनाउनुपर्यो ?

 

जातीयताको नारा लगाउने नेतालाई सोध्न चाहन्छु । कहाका आदिवासी जनजातिले प्रदेश मागे ? कहाँ बस्ने थारुहरुले हामीलाई सङ्घीयतासहितको संविधान चाहियो भनेर भन्दैछन्  । गाउँमा गएर सोध्नुस् त कुन चाहिँ थारुले चाहियो भन्छ । सोध्नुस् त कुन चाहिँ अहिरले प्रदेश चाहियो भन्छ ?

 

देश सङ्घीय गणतन्त्रको अभ्यास भइरहेको बेलामा यति कुरा नकारात्मक शैलीमा बोल्ने लेख्ने अधिकार मलाई नहुनसक्छ तर जान्ने अधिकार लोकतन्त्रले दिएको छ । मेरा बालाई ती थारुबाट अलग गर्ने सङ्घीयता, मेरी आमालाई ती थरुनीबाट अलग गर्ने सङ्घीयता चाहिँदैन ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल