जनयुद्धले जगाएको महिला सशक्तीकरण

जनयुद्धले जगाएको महिला सशक्तीकरण

जुना घर्ती मगर

नेपाली जनताको लामो समयदेखिको चाहना संविधान सभाबाट संविधान निमार्ण गर्ने काम पूरा भएको छ । तर यो काम यति सजिलै भएको होइन । यसमा धेरै नेपालीले जीवनको आहुती दिएका छन् । कैयौँ अझै पनि बेपत्ता छन् । कैयौँ शरीरिक तथा मानसिक अपाङ्ग छन् ।

नेपालमा संविधान सभाबाट संविधान निमार्ण गर्नुपर्छ भन्ने पटक पटक उठे पनि २०५२ मा नेकपा माओवादीले सुरु गरेको जनयुद्धको राप र तापसँगै नेपाली समाजमा यो मुद्दा स्थापित भयो ।
माओवादीले सुरु गरेको जनयुद्धमा समाजको त्यो तप्काको बढी सहभागिता रह्यो । जुन वषौंदेखि दमित अपहेलित र अधिकारबाट वञ्चित थिए । यसमा राज्यसत्ताबाट टाढा रहेका वर्गको सहभागीता बढी भयो । यसमा महिला, पुरुष, आदिवासी जनजाति, दलित, पिछडिएका भूगोलका मान्छेहरुको उल्लेख्य सहभागिता रह्यो ।

वर्षौंदेखि पुरुषवादी चिन्त र राज्यसत्ताको मारमा पिल्सिएका महिलाहरुले पनि दासताका जन्जिर चुडाल्दै जनयुद्धमा सहभागी भए । महिलाहरु जनयुद्धमा सहभागी मात्र भएन इतिहासमा धेरै कीर्तिमानी नै कायम गरेका छन् । चाहे त्यो गोरखाको जेलब्रक होस् । चाहे त्यो जेलभित्र यातना सहेर पनि पार्टीको गोपनीयता नखोल्नेमा महिला नै अगाडि छन् जनयुद्धमा । पहिला पहिला चिनियाँ क्रान्ति, भियतनाम, पेरु लगायतका देशहरुमा क्रान्तिकारी महिलाहरुका कथा सुनेर दङ्ग पथ्र्यौं तर पछि हाम्रै नेपालमा यी कथाका पात्रहरु जनयुद्धमा देखिन थाले ।

जनयुद्धमा महिलाको सहभागिता हुनु नै आफैमा महत्वपूर्ण थियो । महिलालाई नेपाली समाजमा केही गर्न नसक्ने अवला भनिँदै आएको थियो । तर तीनै अवलाले कैयौँ फौजी मोर्चाको नेतृत्व गरे । ती मोर्चाहरुमा सफलता पनि दिलाए । सफलतासँगै महिलाहरुको बलिदानीको इतिहास पनि रचे । सरकारी सुरक्षा कर्मीहरुले गरेका अन्याय अत्याचारका बाबजुद पनि महिलाको सहभागिता धेरै रहेको थियो । ३ हजारभन्दा बढी महिलाहरुले बलिदान दिएका छन् भने कैयौँ बेपत्ता छन् । कैयौँ अहिले पनि घाइते अपाङ्ग छन् ।

आज जनयुद्ध सुरु भएको दुई दशक भयो भने शान्ति प्रक्रियाको पनि एक दशक पूरा भएको छ । यो बीचमा नेपालमा महिलामा राजनीतिक चेतना बढेको छ । यही चेतनाको कारण महिलाहरु मुक्तिका लागि सङ्घर्षमा होमिएका थिए ।
जनयुद्ध सुरुवातकालदेखि नै लैङ्गिक समानताको मुद्दालाई विशेष महत्वको साथ लिँदै नेतृत्व निमार्णका प्रक्रियामा पनि महिलाहरुलाई महत्वका साथ स्थान दिएको थियो । फलस्वरुप माओवादी आन्दोलन शान्तिपूर्ण अवतरणसम्म आइपुग्दा थुप्रै महिला नेताहरु जन्मिए । यसले समग्रमा महिला आन्दोलनको सशक्तीकरणमा विशेष टेवा पुग्यो ।

जनयुद्धकोे प्रभाव नेपाालका अन्य ठूला राजनीतिक दलहरु एमाले, काङ्ग्रेस र अन्यमा पनि पर्यो । समाजका हरेक व्यक्तिहरुको सोचाइमा क्रान्ति नै ल्यायो । राजनीतिक दलहरुमा यसको प्रत्यक्ष असर पर्यो । हरेक राजनीतिक दलहरुले आआफ्नो तर्फबाट समावेशी रुपमा महिलाहरुलाई ३३ प्रतिशत प्रतिनिधित्व गराउन बाध्य भए । यसको साथै नेपालको संविधानमा अहिले ३३ प्रतिशत महिलाको प्रतिनिधित्व अनिवार्य बनको छ । यी सबै उपलब्धि दस वर्षे जनयुद्धको देन हो । सायद जनयुद्ध हुँदैन थियो भने नेपाली महिलामा न त यत्तिको राजनीतिक चेतना आउथ्यो न त राज्यका हरेक अङ्गहरुमा महिलाको सहभागीताको सुनिश्चिता हुन्थ्यो ।

जनयुद्ध दिवस मनाइँरहदा जीवनको प्रवाह नगरी जनताको पक्षमा जीवनको आहुती दिने महिलाहरुको योगदान महान छ । रुसी अक्टुबर क्रान्तिका नेता लेनिनले भन्नु भएको थियो ‘कुनै पनि क्रान्तिको नापो त्यो क्रान्तिमा महिलाहरुको सहभागिता कति हुन्छ भन्ने कुराले निर्धारण गर्दछ ।’ महान दस वर्षको जनयुद्ध नेपाली सर्वहारा वर्गको मुक्तिका लागि, शोषितपीडित वर्ग, उत्पीडित जातजाति, लिङ्ग, क्षेत्र र सबैको मुक्तिका लागि क्रान्ति भएको थियो ।

विशेषत बहुविवाह, जुवातास, जाँडरक्सी र महिलामाथि हुने दैनिक घरेलु हिंसा विरुद्ध जनयुद्धले अभियान नै चलाएको हो । त्यही अभियानका कारण गाउँ गाउँबाट महिलामाथि हुने अन्याय अत्याचार कम भयो ।
जनयुद्धको बिस्तार सँगसँगै अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीले महिलाहरुको सशक्त नेतृत्व स्थापित गर्दै माओवादी पार्टीको हरेक तह र तप्कामा महिला नेतृत्व स्थापित गरेको थियो । हरेक मोर्चामा महिलाको सहभागिता सुनिश्चित गर्दै सांस्कृतिक युद्ध पनि सँगसँगै चलाएका थिए ।

यद्धपि माओवादी पार्टीका पुरुष नेतृत्वहरु पहिला मदिरा सेवन गर्ने आदत भएका भए पनि पछि त्यो आदत छोड्दै गए । यसमा महिला नेतत्वको जबरजस्त प्रभाव र सङ्र्घषको उपज नै थियो । जब माओवादीहरु जाडरक्सी खादैनन्, जुवातास खेल्दैनन्, कुविचार र कुसंस्कार अपनाउँदैनन् र यस्ता क्रियाकलाप गर्नेहरुमाथि कारवाही हुन्छ भन्ने सोच र संस्कार विकास हुनुमा जनयुद्ध मात्र एक कारण होइन, यसमा महिलाको सहभागिता महत्वपूर्ण परिघटना थियो । जनयुद्धमा कैयौं महिला नेतृत्वहरुको साहदत हुनु, हरेक गाउँ बस्तीहरुमा राज्य आतङ्क, बलात्कार, धडपकड महिलाहरुमाथि थुपिँ्रदै गर्दा पनि बन्दुक बोकेर युवतीदेखि वृद्धसम्मको जनयुद्धमा उल्लेख्य सहभागिता हुनु तत्कालीन राज्यसत्ता महिलाप्रति विवेधकारी नीति थियो भन्ने कुरा पुष्टि हुन्छ ।

जनयुद्धमा महिलाहरुको त्याग, तपस्या र बलिदानवाट विकास भएको महिला नेतृत्व शान्तिपूर्ण सङ्क्रमणकालमा पनि त्यतिकै सशक्त रह्यो । २०६२÷२०६३ को जनआन्दोलन १२ बँुदे समझदारी र बृहत शान्ति सम्झौतापछि बनेका अन्तिम संसदमा अन्य दलबाट औँलामा गन्न सक्ने थिए भने माओवादीको तर्फवाट उल्लेख्य मात्रामा महिला सहभागिता रहेको थियो । जसमा महिलाहरु हरेक जाति वर्ग क्षेत्रका थिए । अन्तरिम संविधानको मस्यौदामा महिलासम्बन्धी थु्रपै हक र अधिकार स्थापित हुनु पनि जनयुद्धबाट सृजित माओवादी महिला नेतृत्वको प्रभाव र योेगदान हो ।

आजका समकालीन महिला आन्दोलनमा चासो राख्ने विभिन्न पार्टी राजनीतिमा सहभागी महिला नेतृवत्व, विभिन्न क्षेत्र र महिला अधिकारसँग सम्बन्धित सङ्घ संस्था र अधिकारकर्मीहरु, उच्च शिक्षा हासिल गरेका विद्यार्थी, सञ्चारकर्मीहरुले बुझ्नुपर्ने कुरा हो अहिलेको राजनीतिक परिवर्तन र महिलाको हरेक तह र तप्कामा सहभागिता जनयुद्धको देन हो । यो कुरा स्वीकार्न र यसको जस माओवादी जनयुद्धलाई दिन हिचकिचाउनु हुँदैन ।

भन्न मनलाग्छ जनयुद्ध नभएको भए नेपालमा सामन्तवाद, एकात्मक राज्य प्रणाली र पितृसत्तात्मक सोच र चिन्तनमा परिवर्तन भई आजको स्थिति आउन सम्भव थियो ? आजको नयाँ संविधानमा पैतृक सम्पत्तिमाथि छोरा र छोरीको समान हक रहने व्यवस्था भएको छ । आर्थिक रुपमा महिलालाई सफा तुल्याउन आयकरमा हुने १५ प्रतिशत छुट के सम्भव थियो ? घरेलु हिंसा र पुरुषबाट हुने यौनहिंसा र पुरुषको स्वार्थमा जबरजस्ती सम्बन्ध विच्छेदमा आजको संविधानले व्यवस्था गरे अनुरुप महिलाको विचार पहिलो प्राथमिकता दिने अधिकार कानुनी रुपले व्यवस्था भई अभ्यासमा आउन सम्भव थिएन । महिला नेतृत्व विकासका लागि आज संविधानमा नै राज्यका हरेक अङ्गहरुमा ं३३ प्रतिशत महिलाहरुको सहभागिता संवैधानिक रुपमै व्यवस्था हुन सम्भव थिएन ? अझै अगाडि बढेरभन्दा नेपालको नयाँ संविधान घोषणपछिको पहिलो राष्ट्रपति महिला, पहिलो सभामुख जनजाति महिला र पहिलो महिला प्रधानन्यायाधीश महिला भएका छन् । यो धेरै ठूलो उपलब्धि हो ।

आज सदियौँदेखि अन्याय अत्याचार र उत्पीडनमा परेका महिलाहरु आजभोलि धेरै भएका छन् । दासताका जन्जिरहरु तोडिइएका छन् । यी उपलब्धिहरु सामन्तवादी राज्यसत्ता र पितृ सत्तावादी चिन्तन भएको समाजमा त्यति सम्भव थिएन ।
यद्यपि यी उल्लेख्य उपलब्धिहरु सँगसँगै नेपाली सामाजिक रुपमा यी सबै महत्वपूर्ण भूमिकाहरु पूरा गर्ने नैतिकता र क्षमताको विकास गर्ने अति जरुरी छ । किनभने अधिकार र कर्तव्य एकै सिक्काका दुई पाटो हुन भन्ने भनाइ आज पनि त्यतिकै मननयोग्य छ ।

समय बदलिएसँगै नेपाली महिलाहरुमा यो वा त्यो रुपमा विकृति विसङ्गति भित्रिएको छ । यसमा कमैले जानी जानी र धेरैले नजानेर नै त्यो दल दलमा फस्दै छन् । कैयाँै कुरामा आधुनिक बन्ने नाममा साम्राज्यवादी संस्कृति र संस्कारले आजको नयाँ पङ्क्तिलाई प्रभाव पारेको छ । उदाहरणका लागि सहरमा मात्र होइन गाउँघरमा महिलाहरुबाट बालबच्चालाई खुवाउने अन्न जाँडरक्सी बनाएर आफै खाने प्रवृत्ति बढ्दो छ । श्रम र रोजगारका लागि विदेशिएका श्रीमानको मिहिनेत र परिश्रमलाई वास्ता नगरी पारिवारिक जिम्वेवारीको बहन नगरी हिँड्ने र वालबच्चाहरुलाई छोडेर अन्त कतै जाने घटना आजको तीतो यर्थाथ हो । सिङ्गो समाजको आधा हिंसा ओगटेको र आधा संसारको जिम्वेवारी बोकेको नारीहरुबाट यी समस्या हुनु आजको गम्भीर विषय हो । यसका लागि थप जनचेतनाको आवश्यकता छ ।

अन्त्यमा
अधिकार सँगसँगै त्यसले निश्चित सोच र संस्कारको मात्र प्रतिनिधित्व गर्दैन अनेकथरी सोच र संस्कारलाई पनि बोकेर लिएको हुन्छ । अन्तर्राष्ट्रिय नारीवादी आन्दोलनको सोच आजकै दिनमा नेपाली समाज र नारीहरुको सोच चिन्तनले अनुसरण गर्न सक्छ वा नेपालको सन्दर्भमा अगाडि बढाउन सक्नुपर्छ । आज ननारीवादी आन्दोलन कार्यक्रम गरेर रिपोर्ट तयार बनाउने मात्र काम हुनुहुँदैन । बलिदानी र त्यागबाट आएको परिवर्तनलाई संस्थागत गर्ने जिम्मेवारी पनि महिलाहरुको हो । होइन भने यी परिवर्तन गुमेसँगै हामी महिलाहरुले पाएका हक अधिकारहरु पुनः गुम्ने खतरा रहन्छ । यसका लागि आजको आवश्यकता भनेको सबै महिलाहरु अथवा परिवर्तनको पक्षधरहरुले एक ठाउँमा आउन आवश्यक छ । नारी आफैभित्र कैयौँ चुनौती र विकृतिहरु आउन सक्ने कुरालाई मध्यनजर गर्दै जनयुद्ध जनआन्दोलन नयाँ संविधानपछिका नारी अधिकार र कर्तव्यको संरक्षण, सम्बद्र्धन र विकास गर्दै सक्षम नारी नेतृत्व र नारी समाजको विकास गर्दै अघि बढेमा सबल नेपाल बन्ने छ ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल