यस्तो हुन्छ आर्थिक क्रान्तिको विशेष अभियान

यस्तो हुन्छ आर्थिक क्रान्तिको विशेष अभियान

सरोज भण्डारी

संविधान निर्माण भइसकेको छ । राजनीतिक आन्दोलनको एक युग सकिएको छ । अब आर्थिक क्रान्तिको नयाँ चरण प्रारम्भ भइसकेको छ । देशको हरेक राजनीतिक दल, सङ्घ संस्था र सरोकारवाला सबै आर्थिक क्रान्तिको दिशातिर मोडिनुपर्ने आवाश्यकता छ । आर्थिक क्रान्तिको दिशातिर उन्मुख हुने हो भने विकासका निम्न अवधारणालाई ध्यान दिनैपर्छ ः
क. कानुन, ख. जलविद्युत, ग. पर्यटन, घ. जडीबुटी, ङ. कृषि र च. शिक्षा ।

क. कानुन.
पूर्व मेचीदेखि पश्चिम महाकाली र हिमाल, पाहाड, तराई, हरेक नेपालीले अब आफ्नो अधिकारको प्रयोग गर्ने बेला आएको छ । अधिकारकै दृष्टिकोणबाट हेर्ने हो भने नेपालको संविधान २०७२, विश्वकै एक नमुना संविधान भन्न सकिन्छ । लैङ्गिक अल्पसङ्ख्यकलाई उनीहरुले छोनोट गरेको लिङ्गको आधारमा नागरिकता प्रदान गरिने व्यावस्था छ । पैतृक सम्पत्तिमा महिलाको हकलाई संवैधानिक रुपमा सुनिश्चित गरेको छ । भुटानपछि मृत्युदण्डको प्रचलनलाई नेपालले संवैधानिक रुपमा दक्षिण एसियामै पहिलो पटक हटाएको छ । त्यति मात्र होइन, कुनै कल कारखाना, र उद्योग धन्दाले वातवरणलाई प्रदूषण गरेमा सम्बन्धित ठाउँका जनताहरुले क्षतिपूर्तिको दाबी गर्न सक्ने व्यावास्था संवैधानिक रुपमै ग्यारेन्टी गरेको छ । यद्यपि, अहिले तराईलगायतका क्षेत्रहरुमा केही आन्दोलनहरु भएका छन् । तर हरेक जायज मागहरुलाई क्रमशः संशोधन मार्फत समावेश गर्दै लैजान सकिने अवस्था छ ।

देशमा सयौं कानुन बनाउनुपर्ने आवश्यकता छ । भूगोल, समाज र संस्कृति अनुसार हरेक प्रदेश र केन्द्रमा फरक फरक कानुन बनाउनुपर्ने हुन्छ । आर्थिक प्रगतिको मोडेल कस्तो हुने भन्ने बारेमा वैदेशिक लगानी भित्र्याउन कस्तो कानुन बनाउने, पर्यटनको विकास कसरी गर्ने, स्रोत, साधानको प्रयोग र भौतिक संरचनाको निर्माण कसरी गर्ने भन्ने बारेको निक्र्याेल कानुनले नै गर्छ । नेपाल भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भनेका थिए, “संविधान ऋषि मनले बनाउनु पर्छ ।” उनको भनाइको तात्पर्य देशमा बन्ने हरेक कानुनहरूले १०० वर्षपछिको अवाश्यकतालाई समेत पूर्ति गर्न सक्नुपर्छ । त्यसरी बनेका कानुनले मात्र परिवर्तनको अवाश्यकतालाई पूर्ति गर्छ ।

ख. जलविद्युत
जलस्रोतको धनी देश लोडसेडिङ गन्थनमै भुलिरहेको छ । यो हामीले जलस्रोतको क्षेत्रमा देखाएको अदूरदर्शिताको कारणले हो । सानैबाट सिक्दै आएको, प्राविधिक रुपले ८३,००० मेघावाट सम्भावाना रहेको हामीले सन् १९११ देखि फर्पिङ जलाविद्युत आयोजनाबाट सुरु भएको हाम्रो ऊर्जा विकासको यात्रा सन् २०१६ सम्मा आइपुग्दा जम्मा ७५० मेगावाट पुगेको छ । छिमेकी राष्ट्र भारत र चीनले नै घेरेको भूपरिवेष्टित राष्ट्र भुटानलाई हेर्ने हो भने पनि उसले ऊर्जाको क्षेत्रामा निकै ठूलो फड्को मारेको छ । प्राविधिक रुपमा जम्मा २४,००० मेगावाट सम्भावाना रहेको भुटानको जलाविद्युतको यात्र सन् १९८८ मा भारत सरकारको अनुदान र ऋण सहयोगमा निर्मित ३६० मेगावाटको चुखा जलविद्युत आयोजनाबाट सुरु भएर अहिले करिब १६०० मेगावाट उत्पादन गर्न सुरु गर्दै २०२० सम्ममा १०,५०० मेगावाट उत्पदान गर्ने लक्ष बोकेको छ । उसले आफ्नो ब्यापार घाटा यसैबाट पूर्ति गर्छ र थप आफ्नो बजार बङ्गलादेशमा समेत विस्तार गर्ने योजना बोकेको छ ।

त्यासकारण हामीले भुटानबाट केही पाठ सिक्दै नदीहरुमा अटल रुपमा खेरा गइरहने पानीलाई सदुपयोग गर्दै विद्युतमा परिणत गर्नुपर्छ । जलविद्युतमा मात्र होइन हामीले ऊर्जाको सम्भावानालाई हावा र जमिनमा समेत खोज्नुपर्छ । अनि हाम्रो बजार भारत र चीनमा मात्र होइन विश्वका अन्य देशहरुमा समेत बिस्तार गर्नुपर्छ । यदि हामीमा ऊर्जामा आत्मा निर्भर र ब्यापार गर्ने क्षामता भयो भने विश्वको कुनै पनि देशको दादागिरी र मनोमानी चल्न सक्दैन । सरकारले वैदेशिक लगानीलाई सुरक्षित गर्ने र बढीभन्दा बढी विदेशी लगानी भित्र्याउने नीति अवलम्बन गर्नुपर्छ । विदेशी लगानी मात्र होइन, स्वदेशी पुँजी एकत्रित गर्ने साहास जुटाई स्थानीय जनतालाई जलविद्युत विकासमा अग्रसर गराउनुपर्छ । भुटान मात्र होइन स्विजरल्यान्डले समेत आफ्नो मुख्य ऊर्जाको स्रोत जलविद्युतलाई नै लिएको छ । हाम्रा भीरपाखा र खोल्छाहरुबाट बग्ने खोलालाई विकासको बाधक होइन, सेतो सुनको खानी ‘सम्पत्ति’ ठान्नुपर्छ ।

ग. पर्यटन
विश्वको सर्वोच्च शिखर सगरमाथा, अरु थुप्रै हिमशृङ्खलाबाट बगेका अनेकौँ नदी नाला, ताल झरनाहरु छन् । फूल, चरा चुरुङ्गी, जनवार र अरु थुप्रै विविधता छ हामीसँग । हामीसँग विविध भाषा, संस्कृति, जाति र धर्म छन् । हामीसँग कैयौं सभ्याता संस्कृति छन् । मिथिला संस्कृतिको आफ्नै खालको महत्व छ । गौतमबुद्धको जन्मस्थल लुम्बिनीको छुट्टै महत्व छ । चीन, जापान, थाइल्यान्ड, कोरियालगायतका देशमा बुद्ध धर्म मान्ने मानिसहरु छन् । भारतमा कैयौं हिन्दु धर्मावलम्बी छन् । काठमाडौँमा पशुपति क्षेत्रले हिन्दूहरुको ठूलो महत्व बोकेको छ । यदि काठमाडौँलाई ‘हिन्दू सिटी’ रुपमा विकास र विस्तार गर्न सकियो भने इन्डियाका कैयौं पर्यटकहरु यहाँ घुम्न आउने छन् ।

त्यसैगरी लुम्बिनी क्षेत्रले शान्ति र बुद्ध धर्मको ऐतिहासिक विरासत बोकेको छ । यो क्षेत्रलाई ‘बौद्ध सिटी’को रुपमा विस्तार गर्न सकियो भने चीन, जापान, थाइल्यान्ड, कोरियालगायतका देशका कैयौँ पर्यटकहरु यहाँ आउने छन् । भर्खरै मात्र नेपाल र चीनबीच भएको सम्झौतामा केरुङ, काठमाडौँ, पोखरा हुँदै लुम्बिनी पुग्ने रेल मार्ग निर्माणको अवाधारण उल्लेख छ, जुन सफल भएमा चीनका करोडौँ पर्यटक आफ्नो धर्मको उद्गम स्थलमा आउने अवसर प्राप्त गर्नेछन् । सोलुखुम्बुमा विश्वको सबैभन्दा अग्लो हिमाल सगरमाथा छ । यो क्षेत्रमा ‘सहासिक यात्रा तथा हिल क्लाइम्बिङ’ ट्रेनिङ सेन्टरका रुपमा विकास गर्न सकियो भने विश्वका कैयौं मानिसहरु तालिम लिन तथा आनन्द लिन आउनेछन् ।

घ. जडीबुटी
नेपालमा यार्सागुम्बा, पाँचऔँले, निर्मसी, सर्पगन्ध, निव लगायतका जडीबुटीहरु पाइन्छन् । प्रविधि, ज्ञान, सीप, जनशक्ति र उचित नीतिको अभावमा यी क्षेत्रहरुमा कुनै अध्यान अनुसन्धान हुन सकेको छैन । हामीसँग भएका सम्पादाहरु कौडीको भाउमा बेचेर कैयौँ महँगो मूल्यमा औषधि किन्न बाध्य छौं । हामीले सम्भावानाहरुको खोजी गरी तिनका प्रशोधन गर्नतिर लाग्नुपर्छ । हामीसँग भएका स्रोतहरुको प्रशोधन र उत्पादन गर्ने हो भने भारत लगायत अन्य देशबाट आयात गर्ने औषधि नेपालमा उत्पादन गर्नसक्नेछौँ । डोल्पा लगायत अन्य ठाउँलाई जडीबुटी तथा यार्सागुम्बा ‘प्रशोधन तथा उत्पादन्न केन्द्र’का रुपमा विकास तथा बिस्तार गर्नुपर्ने हुन्छ । तब मात्र औषधिमा आत्मनिर्भर बन्न सकिन्छ ।

ङ. कृषि
हामीले खाने माछा, मासु, अण्डा र विभिन्न प्रकारका फलफूल तथा तरकारी भारतबाट आयात हुन्छन् । हाम्रा जग्गाजमिन बाँझै छन् । बाँझा नभएका जमिनहरु पनि परम्परागत कृषि प्रणालीमा आधारित छन् । कृषिमा आत्मनिर्भर हुन र निर्यात गर्ने क्षमता बढाउने हो भने सबैभन्दा पहिले भारतबाट आउने माछा र मासुका उत्पादनहरुलाई रोक्नुपर्छ । हाम्रै खोला, ताल र पोखिरीहरुमा माछा उत्पादन गर्नुपर्छ । सरकारले उचित नीति बनाई कृषकहरुलाई प्रोत्साहित गर्नुपर्छ । दूधका लागि गाई, मासुको लागि कुखुरा, बाख्रा, अस्ट्रिज, सुँगुर र ऊनका लागि भेडा हाम्रै गाउँठाउँमा पाल्न सकिन्छ । यदि यसो गर्न सकियो भने युरोप अमेरिकाबाट आउने ‘बिफ, मटन र चिकेन’का प्याकेटहरु रोकिने मात्र होइन, गलैँचा बनाउनको लागि अस्ट्रेलियाबाट आउने ऊन पनि रोकिन्छ । त्यति मात्र होइन, यी सबै वस्तु तथा उत्पादनहरु सबै ती देशमा निर्यात गर्ने सक्छौँ ।

दूबो उम्रने रित्ता पाहाडहरुमा चिया रोप्नुपर्छ । खर उम्रने रित्ता भीरहरुमा आलु रोप्नु पर्छ । कोदो रोप्ने खेतहरूमा सुन्तला, कफी, र अदुवा रोप्नुपर्छ । कालिज चर्ने चिसा खोल्छाहरुमा अलैंची रोप्नुपर्छ । चौंरी चर्ने लेकहरुमा स्याउ सार्नुपर्छ । अनि ल्याउनु पर्दैन हुस्की र ब्रान्डीहरु बाहिरबाट, यहीँ बनाउन सकिन्छ । ‘तीन पने’का परिष्कृत रुपहरु तथा विविध फ्लेवरका वाइन तथा जुसहरु । मुस्ताङमा कुहिएर जाने स्वाउको लागि उद्योग खोल्नुपर्छ । विभिन्न ठाउँमा तरकारी तथा फलफूल भण्डारण गर्ने भण्डारण केन्द्र खोल्नुपर्छ्र । यसो गरे मात्र देशमा साँचो अर्थमा ‘ग्रिन’ (तरकारी) र ‘ह्वाइट’ (दूध) र फलफूल ‘रिभोलुसन’ हुन सक्छ ।

६. शिक्षा
हाम्रो शिक्षाले जीवनको बाटो होइन, केवल परीक्षाको बाटो देखायो । विकास र समृद्धिको बाटो होइन, केवल प्रमाणपत्र मात्र दियो । सीपको सिकाउन सकेन । यसले गर्दा प्रमाणपत्र पाए पनि बेरोजगार बस्नुपरेको छ । यसर्थ डोल्पाको विद्यार्थीले एउटा अनिवार्य विषयको रुपमा यार्सागुम्बाको बारेमा पढ्नुपर्छ । सोलुखुम्बुको विद्यार्थीले अनिवार्य विषयको रुपमा हिमालको बारेमा पढ्नुपर्छ । पोखराको विद्यार्थीले अनिवार्य विषयका रुपमा पर्यटनको बारेमा पढ्नुपर्छ । चितवनको विद्यार्थीले एक सिङे गैँडाको बारेमा पढ्नुपर्छ । स्थान विशेषका विद्यार्थीले उक्त स्थानमा पाइने स्रोतसाधनका बारेमा पढ्नुपर्छ । अनि मात्र देशको समग्र विकास सम्भव छ ।

अब बन्ने युनिभर्सिटीहरु काठमाडौँमा मात्र होइन, प्रत्येक प्रदेशहरुमा एउटा युनिभर्सिटी बन्नुपर्छ । जसले गर्दा पूर्व मेचीको एउटा विद्यार्थी काठमाडौँको चर्को भाडा तिरेर पढ्नु नपरोस्, आफ्नै घरको ढिँडो र सिस्नो खाएर पढ्न पाउनुपर्छ । अनि मात्र हाम्रो शिक्षाले जीवन सिकाउने छ, सिर्जनाको बाटो देखाउने छ र परिवर्तन, विकास र समृद्धि आउने छ ।

त्यसकारण अब हरेक राजनीतिक दलहरुले आफ्ना कार्यकर्तालाई ज.ब.ज, प्रचण्डपथ, बीपीको समाजवाद सिकाएर मात्र हुँदैन । सबै कार्यकर्तालाई अनिवार्य रुपमा ‘ज.ब.ज.प’ को विकासको आधारको प्रशिक्षण दिनुपर्छ । यसको अर्थ ‘जलस्रोत, वनजङ्गल, जडीबुटी, पर्यटन’ हो । यो विकासको एउटा अवधारणा हो ।

सबैभन्दा पहिला जनताहरुमा विकासको आवश्यकताको महसुस गराउनुपर्छ, त्यसपछि जनशक्ति निर्माण गर्नुपर्छ र त्यो जनशक्तिले स्रोतसाधानको उचित परिचालन गर्छ । स्रोतसाधानको उचित र पर्याप्त परिचालनबाट नै विकास सम्भव हुन्छ ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल