कथा : घर न घाटको बनाउनेहरु

-  |   दीपक घिमिरे

कथा : घर न घाटको बनाउनेहरु

मैले एक प्याक अरु थप्ने निधो गरेँ । सँगै पिउँदै गरेको केरलाको रफिकले मेरो भोड्काको बोतल आफूतिर सार्दै भन्यो ‘कितना पिएगा बे ? मरेगा तु !’

मेरा आँखा आलु जत्रा भए, गोलभेँडा जस्ता भए । रफिकको हातबाट बोतलतान्दै मैले भने– ‘तुझे क्या मुस्किल हे बे ? मे मेरा पिता हुँ, तेरा नही ।’

म हल्का हाँसे पनि फिलिपिनो जोन नक्कली दाँत देखाएर मस्तले हाँस्यो । ऊ हाम्रो सबै कुरा बुझ्दछ । जोन यो अरबमा बङ्गाली, इन्डियन अनि नेपाली र पाकिस्तानीसँग बसेको आठ वर्ष भयो । ऊ आफ्नो भाषा बरु भुल्दैछ तर हिन्दीमा पोख्त ।

जोनले एक बोतल उडायो । केरलावाला रफिकले एक बोतल । तर मेरो अझै दुई प्याग बचेकै छ । तैपनि रफिक मेरो रक्सी मलाई नै दिँदैन । यो उसको माया पनि हो । तर रक्सीको नशामा मैले मायाभन्दा डाहा देख्दैछु ।
रफिकको हातबाट खोसेको बोतल गिलासमा खन्याएँ, बोतलको पानी मिसाएँ अनि स्वाट्ट एकै घुट्कोमा पिएँ । जोनले ताली पड्कायो, रफिक रिसायो । मैले चाहिँ करङ देखिने छाती फुल्याउँदै भने– ‘हमलोग नेपाली हे, पिते हे, पिलाते हे पर पिने वालेको रोक्ते नही हे ।’ यति भन्दै हाँस्यौं, तीनै जना ।

प्रत्येक शुक्रबार अबुधाबीमा हाम्रो यस्तै मस्ती चल्छ । नेपाली मेरा दोस्ती छैनन्, पाकिस्तानी, बङ्गाली अनि इन्डियन । एउटा जोन भन्ने फिलिपिनो पनि छ कम्पनीमा । आठ वर्ष भयो अबुधाबी आएको । तीन पटक घर गए तर उता भन्दा यतै आनन्द आउँछ । यो मरुभूमिमा सानो सपना बोकेर छिरेको हुँ । सयौं सपना लाखौँ थोपा पसिना चुहाएर पूरा गरे तर पनि एकपछि अर्को गर्दै सपना बढ्दै गए अनि म यतै रहिरहेँ । मेरा आफ्नै कहानी छन्, जसले म बाध्य भएर यतै रहेँ । यतैको बासिन्दा भएँ ।

हाम्रो लेबर क्याम्पमा हरेक हप्ताको शुक्रबार जाँड पार्टी चल्छ । मेरो क्याम्पमा सबैभन्दा पछि पिउन सुरु गरेको मै हुँ । कान्छो अल्कोहलिक । अरु त प्रोफेसनल नै हुन् । नक्कली दाँत हालेको जोनको आफ्नै कथा छ । अफ्रिकन काले जस्तो कालो रफिकको पीडाको कथा सयौँ पटक सुनेको छु । तीनै जना दुःखले भरिएका कहानी सम्झिँदै सिध्याउँछौँ तीन बोतल । अनि लरबराएको जिब्रोले गाउँछौँ, लुला खुट्टाले नाच्छौँ ।

तीन बोतल भोडका, दारु मेरा रोजका भन्ने गीत जोनलाई सारै मन पर्छ । ऊ मोबाइलमा यही गीत खोजेर सुनाउँछ अनि खाली बोत्तल टाउकोमा राखेर नाच्छ । उसको नाचोमा कम्मर मर्काउन रफिक उठ्छ । अनि थपडी बजाउँदै गरेको म पनि त्यही भीडमा नाच्न उठ्छु अनि सुरु हुन्छ गुड फ्राइडेको अर्को रौनकता । रातको १२ बजेसम्म चल्छ यो पार्टी, अनि थाकेको शरीर कतिबेला निदाउँछ पत्तो हुँदैन । एकै पटक बिहानको सात बजे मोबाइलमा आलर्म बज्छ । अनि दिसा–पिसाब पनि कम्पनीमै गर्ने हतारका साथ कुदिन्छ ।

शुक्रबारको दैनिकीले हाम्रो विदेशी लाइफस्टाइल निक्कै रमाइलो देखाउँछ । ‘खाओ, पिओ मोज करो’ भन्ने केरलाको रफिक शुक्रबारको दिन मात्र खुलेर बोल्छ । अरु दिन दिमागमा हजारौँ पीडा लिएर काममा खटिन्छ । जोन पनि उस्तै हो । उसको कहानीमा दर्द मात्र भेटिन्छ, कहिले काहीँ दर्द भरी कहानी सुनाउँदै गर्दा पिलिस्स रोइदिन्छ, अनि कथाले अर्कै मोड लिन्छ । मेरो रामकहानी त कति सुनाउनु उनीहरुलाई । मैले मेरा कहानी सुनाउँदै गर्दा रफिकले रोक्दै भन्छ– ‘बस कर पगले, रुलाएगा क्या ?’

हामी तीन जना एकआपसमा कुरा गरेर धेरै रुन्छौँ । विवाहित रफिक र जोन अनि अविवाहित म । परिवेश, देश अनि समाज फरक भए पनि सपना खोज्दै बाटो बिराएका परदेशी भएकै कारणले होला हाम्रा कुरा मिल्छन् अनिमनको वेदना एकअर्कालाई सुनाएर रुन्छौँ । चोटलाई आँसुले पखाल्छौँ ।
बिहे गरेर ल्याएकी श्रीमती छोरी छाडेर अर्कै मर्दसँग गएको पीडा रफिकसँग छ । जीवनभर छोरीलाई पालेर बस्ने तर अर्कीलाई नल्याउने कसम ऊ बारम्बार खान्छ । हजारौँ कमाउँछ तर छोरीका लागि मात्र सँगाल्छ । सानैमा बाबुआमा बितेको रफिकपालन पोषणमा सहयोग गर्ने मामालाई भुल्दैन । बेला–बेलामा अलिअलि पैसा मामालाई पनि पठाउँछ ।

जोनको कहानी सुनेर अलि धेरै रुन्छु म पनि । स्कुले जीवनमै लभ म्यारिज गरेको जोन आफ्नो कमाइ सबै उसकी जेनीलाई पठाउँथ्यो । आफू खबुस र चिया खाएर बचाएको पैसा जति सक्दो धेरै बनाएर जेनीलाई पठाउँदा ऊ खुशी देखिन्थ्यो । सपनाको संसार बनाएर फिलिपिन्स फर्कने दिन गन्दै बसेको जोन त्यतिबेला रुन थाल्यो जतिबेला जेनी मनिलाको एउटा होटलबाट वेश्यावृत्तिमा संलग्नभएको आरोपमा पक्राउ परेको समाचार अबुधाबीमै पिटिभी न्यूजले प्रत्यक्ष देखायो ।

आफ्नो खुशी लुटाएर पसिना बेच्दै कमाएको पैसाले नपुगेर श्रीमती वेश्यावृत्तिमा सामेल भएको खबरले जोन दुई चार दिन पागलजस्तै भएको थियो । अर्धपागल हुञ्जेल दारुको नशामा बस्ने जोनलाई ड्युटी आउन बन्देज गरेर कोठामै थुन्ने नियत फोरम्यानले गरेपछि ऊ सुध्रियो ।
उनीहरुका कहानी सुनिरहुँ लाग्छन्, आँसु बगिरहँदा पनि सुनौँ, सुनौँ लाग्ने । मेरा कहानीले उनीहरुलाई कठै भन्नेसम्म बनाउँछ । तर रुँदैनन् । हामी तिनैजना रुन्छौँ, एकअर्काका पीडा आफ्नै मानेर रुन्छौँ । जोन र रफिकजस्तै मेरो कहानी अबको प्रस्तुति ।

बाइस वर्षको लक्का जवान हुँदा अबुधाबी छिरे । स्कुले जीवनका मीठा सपनाथिए । कलेज जीवनका मीठा सम्बन्ध थिए । सबै लत्याएर अबुधाबी छिरेपछि मेरो पहिलो लक्ष्य पैसा कमाउनु थियो । हजारौँ सपना खाडीमा बेचेको पसिनाले किन्न सक्थे । त्यसैले पनि मेरा लागि खाडी सपनाको संसार थियो ।
शुक्रबार रमाइलो अनि बाँकी छ दिन दुःख गरेर कमाएको पैसाले सयौं सपना किने । घरमा पठाएको पैसाले मेरा बाआमाले देखेका सपनाकिने । हामी सुस्त–सुस्त गरिबबाट मध्यम वर्गीय परिवार बन्दै गयौँ । साइकल चढ्ने हैसियत नदेख्ने म भाइहरुको रोजाइको बाइक किन्दिने हैसियतमा पुगेँ । सानो छाप्रोमा बस्ने मेरो परिवार तीन वर्षमै राम्रो सानदार महलमा बस्ने भयो ।

मैले पसिना बेच्दै कमाउँदै सपना किन्दै गर्दा एक दिन घरबाट बाको फोन आयो– ‘अब नेपाल आइज, बिहे गर्नुपर्छ ।’

मझसङ्ग भएँ । हो त यार ! बिहे गर्न बाँकी नै छ । भीसाको काम मिलाएर नेपाल फर्किएँ, दुई महिने छुट्टी लिएर । साथीभाइको लागि मोबाइल, ल्यापटप अनि क्यामेरा टिपेर ल्याए । बाआमाका लागि पैसा टिपेर ल्याएँ, भाइहरुका लागि आइफोन टिपेर ल्याएको थिएँ । सबैका लागि ल्याएका सामानले लगेज भरियो ।

साथीभाइ र घरपरिवारको नजरमा खाडीमा ठूलाठूला रुख हुन्छन् । जसमा दिराम, रियाल फल्छन् । टाठाबाठाले रुखमै चढेर टिप्छन् र धेरै कमाउँछन्, लाटा–सोझा चाहिँ तल खसेका रियाल दिराम टिप्छन् र थोरै कमाउँछन् । अझ साथीभाइ त कतिसम्म सोच्छन् भने ल्यापटप, मोबाइल, क्यामरा त खाडीमा लौका फलेजस्तै फल्छन् । टप्प टिप्यो पठायो ।

उनीहरुकै शब्दमा मैले सबैलाई औकात अनुसारका सामान टिपेर ल्याइदेको छु । दुई चार दिन रमाइलै भयो । परदेशको गिफ्ट पाएकाहरुले मलाई दुई चार दिन साथ दिए । नपाएकाहरु बाटो काट्दै हिँडे ।

एक साताको बसाइपछि बिहे गर्ने केटी हेर्न हिँडियो । कहिले कहाँ त कहिले कहाँ । कहिले मामाको साथ त कहिले अङ्कलको साथ । मैले मन पराउनेले मलाई मन पराउँदैनन्, उनीहरुले ओके गर्दा मलाई मन पर्दैन । सबैभन्दा दुःखको कुरा पढेका छोरीहरु खाडीको लाउरेसँग बिहे गर्नै नमान्ने ।

मैले यति भन्दा साथीहरुले भन्लान्– ‘हामी पनि खाडीमै छौँ, बिहे गरेर घरजम चलाकै छौँ । फ्वाँसे कुरा गर्च !’

नसिब सबैको एकै हुँदैन कम्रेड, हजुरहरुले पाउनुभयो तर मैले पाइन । नेपाली उखान जस्तै भयो, ‘गुन्यौ लाउनेलाई मैले चाहिनँ, धोती लाउनेले मलाई चाहिनँ ।’

देश निक्कै अगाडि बढेको थियो । कालापहाड जानेहरु खाडी जान्थे, खाडी जानेहरु युरोप, अमेरिका जान्थे । बाइस–पच्चीस वर्षका लक्का जवानहरु जापानमा सेटल भएका थिए । यस्तो बेला म जाबो अरबको लाउरेलाई कसले पत्याउँथ्यो ।

दुई महिने छुट्टी लगभग सकिनै आट्यो तर केटीको अत्तोपत्तो लागेन । भेटिएका दुई चारवटीलाई मैले रिजेक्ट गरेँ । बाँकी सबैले मलाई रिजेक्ट गरेँ ।

सपनाकी राजकुमारीलाई सपनामै कैद गरेर फेरि फर्किए कर्म भूमि । एक वर्षपछि छुट्टी मिल्यो, बिहेको तयारीका लागि फेरि नेपाल हिँडे, यो पटक त पक्कै हुन्छ भनेर सुन किनेँ, पैसा जम्मा गरेँ । तर समस्या उस्तै ।

आश्वासन दिनेले मख्ख बनाउँछन् । माथिबाट पठाएको जोडी भेटाउँछस् भन्दै । तर सबै काल्पनिक दन्त्यकथा जस्तै थिए । मेरो लागि उनी भगवान ब्रह्माले पनि सृष्टि गरेका रहेनछन् भन्दै फेरि महिना दिनको बिदा सकाएर फर्किए ।

उमेरले नेटो काट्न थाल्यो, मैले मन पराउने जीवनसाथी भेटिने सम्भावना कम रह्यो । खाडीमै रहँदा बस्दा नेपालप्रति माया त जाग्थ्यो तर उता भविष्य देख्दिन । पाँचौँ पटक नेपाल गएको बेला एकजना आफन्तले भने– ‘बिहे गरेकै साल श्रीमानको सडक दुर्घटनामा मृत्यु भएको हो, उसैलाई बिहे गर । उद्धार पनि हुन्च ।’

म तनावमा परेँ, मेरा लागि कुमारी केटी लेखेको रहेनछ भन्ने ठानेर अन्तिम पटक नेपाललाई बाई बाई गरेर अबुधाबी फर्किए अनि सुरु भयो दारुको सङ्गत ।

दारुले दोस्ती जमाइदियो जोन अनि रफिकसँग । आज यहाँ कमाउँछु, मस्तले पिउँछु, रमाउँछु । बचेको उता नेपाल पठाउँछु । बाचेको छु मेरा लागि, मर्नेछु एक्लै ।

खाडीमा सपना किन्न आएको म हजारौं सपना किने तर जीवन सफल बनाउन सकिनँ । हो, यहाँ पसिना बेचेर सपना किन्नेहरु कति सफल छन् तर म जस्तै असफल पनि हजारौँ छन् । मभन्दा धेरै त जोन र रफिक जस्ता छन्, जो पसिना बेचेर तातो बालुवामा पैसा टिप्छन् अनि त्यही पैसालाई भजाएर श्रीमतीहरु सुटुक्क भागिदिन्छन् । खाडीका लाउरेलाई घरको न घाटको बनाउने कैयौँ श्रीमतीहरु छन् । त्यस्ता श्रीमती हुनुभन्दा म जस्तै कुवारा बस्न ठीक । खुशीमा फेरि एक प्याग चढाइन्छ आज ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल