कविता : लाचार

कविता : लाचार

-शान्ता लिम्बु

मैले टेक्ने जमिन खस्कँदैछ
मैले स्वास फेर्ने हावा बाक्लो हुँदैछ
मेरो आँखा अघि एउटा जीवन
बिस्तारै बिस्तारै समाप्त हुँदैछ

उदाङ्गो आँखा वरिपरि
चलचित्रका दृश्य झैँ
जीवनयात्राका दृश्यहरु
फनफनी घुमी रहेछन्
सम्झन्छु, म त कहिल्यै एक्लै थिइनँ
मेरो स्मृतिको तिमी पहिलो आकृति
मेरी आमाको गर्भबाटै सुनेको
तिमी पहिलो आवाज
मेरो पहिलो कदममा
लड्छुकी भनी हात थाम्ने
मेरो घर बसाउँदा
शिरमा हात राखी बिदाइ दिने

तर अब हाम्रो बाटो छुट्टिँदैछ
तिमीबिना मैले बाँच्न सिक्नु पर्छ
घडीको टिकटिक आवाजले पनि झस्काउँछ
लाग्छ समय यहीँ रोकिए हुन्थ्यो
हामीबीच उभिएको त्यो अदृश्य ढोका
अब बिस्तारै बिस्तारै बन्द हुँदैछ
तिम्रा शरीरका प्रत्येक फ्युजहरु
एकपछि अर्को गरी जसै उड्दैछन्
मेरा मनका हरेक बत्तीहरु
झ्याप्प झ्याप्प निभ्दै निस्पट अँध्यारोमा
म आफैलाई खोजि रहेछु
समय बलवान् हो कि म निर्बल भएँ
आँखाअघि मेरो संसार ढल्न खोज्दा
म लाचार टुलुटुलु हेरिरहेछु ।

 

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल