कविता उतारूँ

कविता उतारूँ

-इ. सन्तोष पोखरेल

।।१।।
मलाई सोध किन गीत गाएँ
गला फुकाई, मधुमीत लाएँ
यो मीतको प्रीत बडो शुभान
गाई रमाऊँ फुरनेछ ज्ञान ।

।।२।।
म तान छाडी मदपान गर्दो
रमेर आल्हादित लागिपर्दो
यो सृष्टिको तेवर चुम्नलाई
नाचिरहेको कवि हूँ रमाई ।

।।३।।
मभित्र छैनन् कलुषित विचार
सिसासरी देख्दछु वारपार
ममा छ जो तन्मयता अघोर
म लट्ठिएको बुझ धेरथोर ।

।।४।।
तिमी बसेको पद जो महान
मलाई ता प्रस्तर धेर ठान
म हुर्किएँ शैशव खेली धूल
बुझी रहे जीवन यो समूल ।

।।५।।
म मालतीको फूलको सुवास
लिएर बस्दो बुझ खासखास
टिपेर राखूँ चुनी शब्द चारु
मडारिएका कविता सिँगारूँ।

।।६।।
मडारिँदो छ कृत यत्र तत्र
मुटुभरि चल्छ दिमागभित्र
लुकाई जो अन्तरभित्र क्यारूँ ?
म आज यौटा कविता उतारूँ ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल