कथा : यमलोकमा सहिदहरु

कथा : यमलोकमा सहिदहरु

-डा. राजुबाबु श्रेष्ठ

म यमराजको सिंहासनमा थिएँ । मेरो जुँगा लामो मठारिएको थियो । मेरो टाउकामा हीरा, रत्न जडित मुकुट थियो । घाँटीमा अनेकौँ मोती र मुगाका मालाहरु थिए । लुगा पनि अमूल्य जरीहरु र टलटल टल्किने किसिमको थियो । सुनैसुनले बनेको सिंहासनको दुवैतर्फ विशाल भीमकाय शरीर भएका यमदूतहरु उभिएका थिए । उनीहरुको हातमा ठूला कपडाको पङ्खा थिए । बेलाबेलामा मतर्फ पङ्खा हम्किरहेका थिए ।
सिंहासनदेखि दस फिट जति तल ठूलो हल थियो । सिंहासनबाट हल पुग्न दसैवटा सिँढी ओर्लनुपथ्र्यो । आज नेपाल च्याप्टरको विवादको सुनुवाइ भएकाले हलमा सबै नेपालीहरु जम्मा भइसकेका थिए । हल मान्छेहरुले खचाखच भरिएको थियो । हलको चारैतर्फ ठूलाठूला द्वारहरू थिए । ती द्वारमा एकै खालका रुप र लवाइ भएका द्वारपालहरु उभिएका थिए । कालो लुगा, मुठेजुँगा र टाउकामा सिङ निस्किएका । भीडमा मानिसहरु दुई समूहमा विभाजित थिए । उनीहरुबीच झगडा नहोस् भन्नाका खातिर बीचमा यमदूतहरु उभिएका थिए ।

मैले हातको इसाराले सुनुवाइ सुरु गर्न प्रमुख यमदूतलाई आदेश गरेँ । प्रमुख यमदूतले ढोकाको बाहिरपट्टि इसारा गर्नासाथै ढोकाबाट चारजनालाई हात पछाडि बाँधी यमदूतहरुले भित्र ल्याए । यमदूतहरुको अनुहारमा ती चारजनाप्रति रुष्ट भाव झल्किरहेको थियो । तीमध्ये एउटा यमदूत मेरो अगाडि आई शिर झुकाउँदै बोल्यो– “महाराज यमराजको जय होस् ।”
सबै यमदूतहरुले त्यसैगरी टाउको निहुर्याएर ठूलो स्वरमा एकपटक बोले “महाराज यमराजको जय होस !” आवाजले हल गुञ्जायमान भयो ।
मैले टाउको हल्लाउँदै मन्द मुस्कानका साथ उनीहरुको अभिवादन स्वीकार गरेँ । उनीहरु चुपचाप टाउको झुकाएर उभिइरहे । हलभित्र रहेका मानिसहरु सबैले बाँधेर ल्याएका ती मानिसहरुलाई हेर्दै विभिन्न ढङ्गको मुखाकृति बनाउन लागे । सबैका आँखामा एक किसिमको आक्रोश र मुहारमा घृणा झल्किरहेको थियो ।
“यमदूतहरु हो, भन यिनीहरुले के गरे ?”– मैले ठूलो स्वरमा बोलेँ ।

“यमराजको जय हो, महाराज यी नेपाल च्याप्टरका मानिसहरु हुन् । यिनीहरुले यमलोकमा जथाभावी मान्छे पिट्न थालेको र जबर्जस्ती सङ्घ सङ्गठन खोली यमलोकमा दुषित राजनीति गर्न खोजेकाले यिनीहरुलाई पक्राउ गरी काल कोठरीमा राखेका हौँ ।”– बरिष्ठ यमदूतले जाहेर गर्यो ।
“को हुन् यी ? के कस्तो परिस्थितिमा नेपालबाट ल्याइएका हुन्, सविस्तार भन ।” मैले फेरि आदेश गरेँक ।
“महाराज ! यिनीहरु सबै सहिद रहेछन् । यसैपालि मात्र सहिद घोषित भएका रहेछन् । हुन त आउँदादेखि नै अरुभन्दा अलि रिसालु र जिद्दी स्वभावका थिए तर यिनीहरुले यमलोकमा सहिद मोर्चा गठन गर्न लागेको भने एक महिना मात्र भएको छ, महाराज !” उसले फेरि टाउको झुकाउँदै जाहेर गर्यो ।
“यमदूत ! यिनीहरु पक्का सहिदहरु हुन् कि होइनन् यसबारेमा नेपालबाट अल्पायुमै ल्याइएका वरिष्ठ सहिदहरु धर्म, शुक्र, दशरथ र गङ्गालाललाई भेट र वास्तविकता के हो पत्ता लगाऊ । यमलोकमा मोर्चा गठन गर्ने आँट गरेर यिनीहरुले अक्षम्य अपराध गरेका छन् । त्यस कसुरका लागि यिनीहरुलाई उचित दण्ड देऊ ।” मैले फेरि आदेश गरेँ ।
मैले आदेश दिनासाथै हलको दाहिनेपट्टिका समूहबाट एउटा ख्याउटे केटो जुरुक्क उठेर अगाडि आयो र ठूलो स्वरमा चिच्यायो– “महाराज ! यमराजको जयहोस्, प्रभु मेरो एउटा सानो निवेदन श्रवण होस् ।”
मैले टाउको हल्लाउँदै उसलाई आफ्नो समस्या राख्ने अनुमति दिएँ ।

“महाराज ! हे राजन ! यिनीहरु सहिद होइनन् । यिनीहरुलाई गङ्गालालहरुलाई जस्तो सम्मान दिनु भएन महाराज । यिनीहरु त यहाँ आइसकेपछि जबर्जस्ती सहिद बनाइएका हुन् । यिनीहरु अत्याचारी हुन्, हत्यारा हुन् । यिनीहरुकै ज्यादती र कुटपिटले हामी यमलोकमा आउनुपरेको हो यमराज ! यिनीहरु सहिदको पद पाउन कुनै पनि हिसाबले लायक छैनन् प्रभु ।”– उसले ठूलाठूला आँखा पारी क्रोध र वेदना मिसिएको स्वरमा बोल्यो ।
म एकैछिन अन्यौलमा परेँ । यमलोकमा आजसम्म यसरी विवाद भएको थाहा छैन मलाई । सबैलाई उनीहरुको कर्मअनुसार काम दिने यो ठाउँमा उनीहरुले मागेअनुसार कहाँ दिन सकिन्छ र ! नत्र त यमलोकको पनि नेपालकै जस्तो दुर्दशा हुन के बेर । त्यो ख्याउटे युवकको कुराले मेरो मस्तिष्कमा ठूलै भुइँचालो गयो । मलाई यिनीहरुको बारेमा अझै विस्तृत रुपमा बुझ्न मन लाग्यो ।
“युवक ! तिम्रो कुरा अलि बुझिएन । प्रस्टसँग भन ।” मैले फेरि उसलाई बोल्ने आदेश गरेँ ।

“यमराज ! म नेपालमा पत्रकार थिएँ । मेरो सानो र सुखी परिवार थियो । कलम जोतेर आएको कमाइले परिवारको गर्जो टरेकै थियो । मैले गाउँ समाजका भइरहेको अत्याचार, अन्याय र कुरीतिलाई आफ्नो कलममार्फत नङ्ग्याउने काम गर्दै थिए । मेरो कलमको शक्ति उनीहरुलाई पचेन । बारम्बार धम्कीहरु आउन थाले । धम्कीको अगाडि मेरो स्वाभिमान र अक्षरहरु झुक्न चाहेन । एक दिन म सहरबाट घर फर्किरहेको अवस्थामा यिनीहरुले मलाई समाते । हाम्रो कुरा लेख्ने पत्रकार तै होइनस् ? भन्दै गाउँदेखि केही पर रहेको एउटा रुखमा लगेर बाँधे । मैले मलाई किन यसरी बाँध्छौं ? मेरो के गल्ती छ ? भनेर सोधेँ । जवाफमा यसले मलाई कसेर गालामा झापड हान्यो । कहिल्यै कसैबाट एक थप्पड पनि नखाएको मान्छे, यसको झापडले एकैचोटी ब्रह्माण्ड फनफनी घुमेजस्तै भयो ।

यिनीहरुले मलाई माफी माग्ने र खण्डन छाप्ने शर्तमा जीवन दान दिने आदेश गरे । मैले पत्रकारिता गर्दा अत्याचारका विरुद्धमा आवाज उठाउने कसम खाएको थिएँ । म बबुरो लिखुरे कलमजीवीको त्यही स्वाभिमान उठेर आयो । उनीहरुको बन्दुकभन्दा मैले मेरै कलम बलियो देखेँ । उनीहरुको त्यो हतियारधारी फौजमाथि म निहत्था फिस्टे नै भारी ठानेँ । मेरै अन्त्येष्टिका लागि नजिकैको ढुङ्गामा खुकुरी उध्याउँदा पनि मेरो मुटु डरले काँपेन, झन् झन् चट्टान जस्तै कठोर भएर आयो । यी बन्दुकधारीहरुको धम्कीले मेरो आवाज र कलम नरोकिने देखी यिनीहरु रिसले चुर भए । उनीहरुलाई आफ्नो दम्भमाथि प्रहार भएजस्तो लागेछ क्यार । कमान्डर नजिकै आई मलाई चुप लाग्न चेतावनी दिए । मेरो कलम र जीवन बन्द गर्ने फरमान जारी गरे । तर मेरा स्वर झन्झन् ठूलो–ठूलो हुँदैगयो । क्रोधले काप्न थालेछन् मेरो शरीर । हात खुट्टा बाँधिएको म लिखुरेसँग बोल्ने हिम्मत भएन यिनीहरुको । यिनीहरुलाई कताकता आफू पराजित हुँदै गएको आभाष हुन थालेछ । उनीहरुको अनुहार ग्लानिका रेखाहरु देखिन थाल्यो । तर उनीहरु कसैसँग हार्न चाहँदैनथे । एक्कासि कमाण्डरको हातको खुकुरी मेरो टाउकोमा बज्रियो । म रनमा परेँ । टाउकोबाट रगतको धारा बग्न थाल्यो । शरीर शिथिल भएर घुँडा टेक्न पुगेँ । टाउँको गहुँगो भएर आयो । टाउको जमिनतिर झुण्डियो । फेरि मेरो गर्दनमा खुकुरी बज्रियो । त्यसपछि सबैतिर अन्धकार छायो । मलाई केही थाहा भएन । म यमलोकमा आइपुगेछु ।”– उसले आफू यमलोक आउनु पूर्वको रामकहानी बतायो ।

“तिमी पनि त सहिद नै त भयौ नि, देशको लागि पत्रकारिता गर्दा मृत्युवरण गर्न पुगेछौ”– मैले फेरि युवकप्रति प्रश्न राखेँ ।
युवक रुँला रुँला जस्तै गरी फेरि बोल्यो– “यमराज ! म सहिद होइन, मलाई अझैसम्म त्यो देशको सरकारले सहिदको पङ्क्तिमा राखेका छैनन् । म यता आएपछि मेरा साथीहरुले निकै दबाब दिए । मलाई पनि सहिदको दर्जा दिनका लागि जुलुस गरे । ज्ञापनपत्र बुझाए तर मेरो मृत्यु सहिद हुनका लागि योग्य ठहरिएन । यसमा मेरो चित्त दुखाइ पनि छैन । गोलभेडाका भाउभन्दा पनि सस्तो मोलमा सहिद बनिरहेका बेला सहिद हुनुमा अब त्यस्तो गर्व कहाँ रह्यो र । सेना मरे सेना सहिद, प्रहरी मरे प्रहरी सहिद, विद्रोही मरे विद्रोही सहिद । अब देशको नाम नै सहिदहरुको देश भनेर गिनिज बुकमा आउने बेला भइसक्यो । यमराज ! मलाई सहिद नभनेकामा भन्दा पनि मेरी शान्ति र बच्चाको विजोगले पिरोलिरहेको छ । म यता आएको केही हप्ता त मेरा साथीभाइको पनि निकै सहानुभूति रह्यो मेरो परिवारप्रति । कतिपय ठाउँमा शान्तिलाई दोसल्ला पनि ओढाइयो । टिभीले देखायो । पत्रिकाले छाप्यो । तर शान्तिको दुःख उसैसँग रह्यो । कतैबाट आएन सहयोगमा एकदाना अन्न । कसैले दिएन बच्चाको स्कुलको फिस । मेरो कमाइले चलेको त्यो घरमा एउटा ठूलो अनिकाल आयो । शान्तिले जति आँशु बगाउँदा पनि सहकाल आउन सकेन । अहिले शान्तिले धन्न जीवनसम्म धानेकी छे । हामीजस्ता निमुखालाई मारेर आएका यी अपराधीहरुलाई पृथ्वीमा जे गरे पनि यहाँ सहिदको सम्मान दिनु हुन्न यमराज । मेरो विन्ती छ, यिनीहरुलाई यिनीहरुको कर्म हेरी प्रभुबाटै सजायको आदेश होस् ।” बोल्दा बोल्दा उसको अनुहार रातो रातो र आँखा ठूलो ठूलो भइसकेको थियो । युवकको कुराले ती हात पछाडि बाँधिएका चार जनामध्ये एकजना कमान्डरजस्तो देखिने अधबैँसे व्यक्ति कड्किएर बोल्यो– “हामीले यिनीलाई कुनै व्यक्तिगत रिसिइबीले काटेको होइनौँ क्यार । मुक्तिकामी जनताको हितका लागि पार्टीको निर्देशन अनुसार नै मृत्युदण्ड दिएका हौँ । क्रान्तिको दुस्मन कसैलाई पनि नछोड्ने र भौतिक कारवाहीमा समेत उत्रने नीति अनुरुप नै हामीले आफ्नो कर्तव्य पूरा गरेका हौँ ।

यमराज ! यिनको कुरा मात्र सुन्नु भएन । यिनको कारणले हामीलाई कम्ता दुःख भएन । दिनरातै हाम्रा घरमा सरकारी कुत्ताहरुले तलासीका नाममा हाम्रा निर्दोष परिवारलाई त्रास देखाई मरेतुल्य बनायो । राति घरमा बस्नसमेत डराई मर्नु भयो । कति दिन त अर्काको घर र गोठमा गएर सुत्नु पर्यो । आखिर एक दिन गोठमा सुतिरहेका बखत हामी पक्राउ पर्यौ । त्यहाँबाट आँखामा पट्टी बाँधी हामीलाई दिनभर हिँडायो र मोटरमा खाँद्यो । मोटरमा बस्दा पनि आँखामा पट्टी बाँधिएकै थियो । मोटरबाट झरेपछि हामीलाई एउटा सुनसान कोठामा राखियो । अनेकौँ प्रश्नहरु सोधिए । हामी क्रान्तिप्रति बफादार थियौँ । उनीहरुले कुट्नसम्म कुटे, सिस्नो पानी लगाए । आलपिनले घोचे, करेन्ट लगाए । जे–जे गरे पनि हाम्रो मुख बन्दको बन्दै रह्यो । हामीबाट केही पनि नखुल्ने स्थितिदेखि आठ दिनपछि बिहानै हामी चारै जनालाई गाडीमा हालेर कता लग्यो कता । त्यस्तै तीन चार घण्टाको ड्राइभिङपछि गाडी रोकियो र कुनै एउटा फलामे बारमा हामीलाई उभिन लगायो । हात पछाडि बाँधिएकै अवस्थामा थियो । आँखामा पट्टी यथावत थियो । आँखा नदेखे पनि कानले तल पानी बगेको खोलाको आवाज सुनिरहेको थियो । एक्कासि पटटट चार पाँच राउन्ड गोलीको आवाज आयो । एउटा गोली मेरो छातीको बायाँ पट्टी लागेछ । छातीबाट तातो रगत बगेजस्तो भयो र कता हो कता पानीमा खसेर छल्याङ गरेको आवाज आएकोसम्म याद छ, त्यसपछि यही यमलोक आइपुगेछु ।” ऊ एकोहोरो बोलिरह्यो ।

“यहाँ आएपछि त्यो पत्रकारको परिवारलाई भन्दा मेरो परिवारलाई झन् दुःख भएको छ । गाउँमा गरिखाने पाखो पनि छैन । मेरी जुनेली फेरि निमेक गर्न थालेकी छे । छोराछोरी स्कुल जान छोडेर छरछिमेकको काममा लागेका छन् । सरकारले सहिद घोषणा गर्यो । पैसा दिने रे भन्ने हल्लासम्म सुने तर मेरी जुनेलीले राहतको नामा फुटी कौडीसमेत हात पारेकी छैन । हाम्रा नेताहरु एक छिन घरमै आएर जुनेलीलाई फूलमाला पहिर्याएर गएछन् । सहिद पत्नी भनेर सम्मान गरेछन् । कसकसले त हाम्रो नाममा कविता लेखेर पनि सुनाउन भ्याएछन् । तर जुनेलीको थाप्लोमा बसेको नाम्लोको डाम र मुटुमा लागेको घाउ कसैले देखेनछन् । हामीले कुन चाहिँ ठूलो भाग खाएका छौँ र यसले यमलोकमा पनि हाम्रो विरुद्धमा बोल्न नछाड्ने ।” उसले आफ्ना भएभरका कुरा राख्यो मेरो सामुन्ने ।

म फेरि द्विविधामा परेँ । आँखिर दुवै गरिबै रहेछन् । आखिर दुवैका परिवारलाई यी दुवैको उत्तिकै खाँचो रहेछ । सादय विचार नमिलेकाले यस्तो भएको हुनसक्छ । यो पक्कै पनि यिनीहरुको वैचारिक द्वन्द्वको परिणाम हो । यसलाई वार्ताकै माध्यमले मिलाउनुपर्छ, नत्र त नेपाल देशकै नियति यमलोकले पनि व्यहोर्नुपर्ने हुन्छ ।
भीडमा रहेका सबै मान्छे मेरै मुख ताकिरहेका थिए । म यमलोकको राजा भएकाले मेरो मुख ताक्नु पनि स्वभाविक नै थियो । यो पहिलो राजनीतिक मुद्दा भएकाले म यो मामलामा प्याच्च बोलिहाल्न चाहन्नथेँ । मेरो बोली निस्किसकेपछि त्यो गोली जस्तै हुन्थ्यो यमलोकका लागि । म यिनीहरुलाई केही नयाँ कुरा दिएर भुलाउन चाहन्थेँ ।

“हेर मनुष्य हो ! यो यमलोक हो, यहाँ तिमीहरुको जस्तो गाईजात्रे युनियन, सङ्गठन र राजनीति चल्दैन । यहाँ कुनै सङ्गठन निर्माण गर्ने र यमलोकलाई राजनीतिकरण गर्न खोज्नेलाई कडाभन्दा कडा सजाय दिइन्छ । तिमीहरुको कल्याण यसैमा छ कि तिमीहरु सबै मेरा यमदूतहरुले लगाए अह्राएका काम खुरुखुरु विना विरोध गर । अन्यथा परिणाम भयानक पनि हुनसक्छ ।”– मैले थोरै चेतावनीको शैलीमा बोलेँ ।
म रिसाएको देखी एकैछिन सबै शान्त भए । एकअर्कासँग खासखुस गर्न थालेँ ।

मेरो आदेश पाएपछि यमदूतहरुले चारै जनालाई बाहिरतर्फ लगे र हलमा भएका सबैलाई बाहिर निस्कने आदेश दिए । सबै यमलोकको स्वर्ण बगैंचातर्फ लागे । बगैंचामा सबैतिर सुनै सुनका फूलहरु थिए । हरिया चौरका बीचबीचमा चाँदीका कुर्चीहरु बनाइएका थिए र बीचमा एउटा सुनको ठूलो गद्दावाल कुर्सी थियो । सबै चौरमा भेला भइसकेपछि फेरि छलफल हुन थाल्यो । म सिंहासनबाट उठेर माथि छतमा गई उनीहरुको रमिता हेर्न थालेँ । म यमलोकको राजा भएकाले यस्ता विवादमा आफू सीधै पर्नुहुन्न र आफूले कुनै पनि कुरा बोलिहाल्नु हुन्न भन्ने राम्रो ज्ञान थियो ।
चौरको एकातिर सहिद भनिएकाहरु बसेका थिए, अर्कातर्फ तिनै सहिद भनिएकाबाट पीडित गैह्रसहिदहरु थिए । सहिदहरुको तर्क थियो–“पृथ्वीको निर्णयबाटै सहिद घोषणा भएर सम्मान पाएपछि हामीले सहिदकै मान्यता यमलोकमा पनि पाउनुपर्छ र सोहीअनुसारको मर्यादाको काम दिनुपर्छ ।”

गैह्र सहिदहरुकोतर्क थियो— “यिनीहरु गाउँघरमा लुटपाट कुटपिट गर्दागर्दै कोही प्रहरीको गोलीले, कोही भीरबाट खसेर त कोही दुर्घटनामा परेर पनि मरेका छन् । पृथ्वीमा जथाभावी गर्यो भन्दैमा यमलोक जस्तो ठाउँमा पनि अन्याय हुनु भएन । यिनीहरुलाई त यिनीहरुले गरेको दुष्कर्मको समेत थप सजाय दिनु पर्यो ।”
विवाद फेरि चर्केर हात हालाहालको स्थितिमा पुग्ला जस्तो हुँदै गयो । यमदूतहरु समेत अन्यौलमा परे ।

“ए बलभद्रे तेरो पृथ्वीमा के हाल भएको थियो बिर्सिस् । फेरि यमलोकमा पनि त्यस्तै हाल होला होस् गर ।” सहिद समूहको भीडबाट एकजनाले धम्कीपूर्ण भाषामा ठूलो स्वरले चिच्यायो ।
“भो भो तेरो धम्कीले अब कोही डराउनेवाला छैन । हिजो तसँग तेरा लठैतहरु र हतियार थिए । म निहत्था थिएँ । त्यतिखेर त तसँग डराइन भने आज किन डराउँछु । बरु होस् गर ! यहाँ तँभन्दा कमजोर छैनौँ हामीहरु । तँ आफ्नो ज्यानको सुरक्षाको चिन्ता गर ।”– जवाफमा गैह्र सहिदहरुको समूहबाट बलभद्रले ठूलो स्वरमा बोल्यो ।
दुवैतर्फ भीडबाट तँ तँ म म सुरु भयो र ठूलो होहल्ला हुन थाल्यो । यमदूतहरु के गर्ने, के गर्ने भनेर अन्यौलमा परेँ । यमलोकको शान्ति खलबल्याउने डरले सबै यमदूतहरु बीचमा बसी दुवैतर्फकालाई चुपचाप बस्न आदेश गरे । नमान्नेलाई बीसबीस कोर्रा हान्ने उर्दी जारी गरे । एकैछिनमा फेरि भीड सुनसान भयो ।

बगैंचाको पूर्वपट्टिबाट एउटा यमदूतले धर्मभक्त, दशरथ, गङ्गालाल र शुक्रराजलाई लिएर आउँदै थिए । उनीहरुलाई देखी गैह्रसहिदतर्फको भीड सबैले झुकेर प्रणाम गरे । नजिकै आइपुगेपछि यमदूतहरुले उनीहरुलाई चाँदीको कुर्चीमा बस्न अनुरोध गरे । उनीहरु दुईदुई जना बसे दुईतिर ।
“धर्म ! के यी सबै नेपालबाट आएकाहरु सहिद हुन् ?”– एकजना यमदूतले सहिदहरु रहेको समूहतर्फ इङ्गित गर्दै प्रश्न सोध्यो ।
धर्मभक्त एकछिन टोलाए र शुक्रराज, गङ्गालाल, दशरथतर्फ हेरी मुसुक्क मुस्कुराउँदै चुपचाप बसे ।
धर्मभक्त नबोलेकाले यही प्रश्न पालैपालो गङ्गालाल, दशरथ र शुक्रराजलाई पनि गरे । तर तीनै जनाबाट कुनै प्रतिक्रिया आएन । प्रश्नको जवाफ नआएकाले यमदूतहरु द्विविधामा परे । उनीहरु आशातीत नजरले सहिदहरुको मुहारमा हेर्दै केहीवेर टोलाए ।

“हामी आफैं अन्यौलमा छौँ यमदूत । यतिखेरको विवादले हामी आफूलाई सहिद हुँ भनेर भन्न पनि लाज लागेको छ ।”– धर्मभक्त विस्तारै बोले ।
“ऊ त्यो कुलवीर हिजो बेलुकी हामी कहाँ रुन आयो । कलङ्की चौकको फुटपाथमा तरकारी बेच्दै रहेछ । कलङ्की चोकको पूर्वतर्फबाट ठूलो भीड नारा लगाउँदै आई चोकमा रहेका प्रहरीलाई ढु्गामुढा गरेछन् । भीडले जथाभावी आगो लगाउने र ढुङ्गा हान्ने गर्दा एकजना प्रहरी नराम्ररी घाइते भएछ । त्यसपछि प्रहरील फायर गर्दा तरकारी बेचिरहेको उसको टाउकामा गोली लागेछ र ऊ यमलोक आइपुगेछ । उसको मृत्युपछि उसको शवमा झण्डा ओढाउन तँछाड मछाड भएछ । उसलाई दुईवटा पार्टीले आफ्नो सक्रिय कार्यकर्ता भएको घोषणा गर्दै छुट्टाछुट्टै श्रद्धाञ्जलि सभा पनि गरेछन् । तर उसको मृत्युले बिचल्ली परेका उसकी श्रीमती र बालबच्चाको हेरविचार गर्न कसैले चासो देखाएनछन् । आफ्नो बालबच्चा र परिवार सम्झेर निकैबेर रोयो मसँग । उसलाई सहिद हुने लालसाले भन्दा पनि आफ्नो परिवारको विचल्लीले रुवाएको रहेछ । छोराछोरीले पढ्न पाउँदैनन् कि भन्ने चिन्ताले सताएको रहेछ । अब जो–जे जसरी मरे पनि सहिद हुनेभएपछि कसलाई सहिद भन्ने कसलाई नभन्ने ! हामी केही भन्नसक्ने अवस्थामा छैनौँ यमदूत !” शुक्रराजले बोल्यो ।

“बरु अब हामीलाई पनि सहिदको सूचीबाट हटाइदिए हुन्छ यमराज । हामी देशको स्वतन्त्रताका लागि निहत्था गोली खाएर आयौँ । उनीहरु आआफै लडेर एकआपसमा मारामार गरेर आए । हामीहरु स्वतन्त्रता प्राप्त गर्न लड्यौँ । उनीहरु सत्ता प्राप्त गर्न लडे । आखिर हामी दुवै केही प्राप्त गर्ने स्वार्थमा थियौँ, त्यसैले नेपालराज्यबाट आउने कसैलाई पनि यो सम्मान नदिए हुन्छ यमदूत !” गङ्गालालले पनि कुरा थप्यो ।
“हामीलाई त अब सहिद हो भन्न पनि लाज लागि सक्यो । अन्त देशबाट मुस्किलले बीसौँ वर्षमा एउटा सहिद आउँछ । हाम्रोबाट वर्षमै ५÷७ हजार आउन थालिसक्यो । त्यसैले हामी चारजनालाई पनि सहिदको सम्मान नदिई सामान्य मजदुरको हैसियतमा काम लगाइयोस् यमदूत !”–दशरथले पनि आफ्नो कुण्ठा फुकायो ।

यमदूतहरु झन्झन् अन्यौलमा परे । उनीहरुको कुराले मलाई पनि निकै चिन्तित तुल्यायो । म आफैं द्धिविधामा परें । यत्रावर्षसम्म यी चारजनाले यमलोकमा निकै अनुशासित भएर अरुलाई सहयोग गर्ने काम मात्र गरे । कहिल्यै कुनै पदको लोभ गरेनन् । अहिले पनि अरुको विवादका कारण आफ्नो सुविधा त्याग्न तत्पर छन् । कति महान् छन् यिनीहरु । म भित्र यी चारै जनाको लागि आदर उर्लेर आयो । मनमनै सलाम गरें ।
सहिदहरुको भीडतिर होहल्ला हुन थाल्यो । बीचबाट एउटा उठेर नारा लगायो ।
“हामी वीर सहिदहरु— जिन्दावाद ।”
“सहिदको सम्मान— लिन्छौँ लिन्छौँ ।”
“निरङ्कुश यमराज— मुर्दावाद !”

सबैले एक भएर एकोहोरो नारा लगाउन थाले । यस्तो घटना यमलोकमा पहिलोपटक भइरहेको थियो । एक्कासि उठेको नाराले यमदूतहरु अत्तालिन थाले ।
रिसले मेरो पारो तात्यो । यमलोकको परम्परा बिग्रने डरले मैले तुरुन्त थप यमदूतहरु खटाएर कोर्रा हान्न लगाएँ । ठूला ठूला ज्यान भएका यमदूतहरु मेरो आदेश पाउनासाथ भीडतर्फ गएर नारा लगाउनेहरुलाई समाउँदै कोर्रा वर्षाउन थाले । बगैँचामा भागदौड मच्चियो । यमदूतहरुको कुटाइले कति त्यही ढले । कोही भाग्दा भाग्दै लडे । कतिको टाउको फुटे । कोलाहल मच्चियो । स्थिति तनावग्रस्त बन्यो ।
स्थिति असामान्य बन्दै गएको देखी मलाई भित्रभित्रै डर लाग्यो । बगैंचाको स्थिति हेर्न नसकिने बन्दै थियो । मलाई रिँगटा लाग्ला जस्तै भयो र स्थिति नियन्त्रणभन्दा बाहिर जाने डरले मेरो मन भित्रभित्रै काँप्यो । मैले छतको स्वर्ण पिल्लरलाई भएभरको शक्ति लगाई च्याप्प समातेर आँखा चिम्लिए ।

श्रीमतीको चिच्याहटले अकस्मात मेरो निद्रा खुल्यो । श्रीमती सकि नसकी मेरो अँगालोबाट फुत्किने प्रयास गर्दै रहिछन् । मैले श्रीमतीलाई अँगालोमा बल लगाएर कसिरहेको थिएँ । मेरो अनुहार पसिना पसिना भएको थियो । श्रीमती अत्तालिएकी थिइन् । होसमा आउनासाथै मैले अचानक श्रीमतीलाई छाडिदिएँ । श्रीमती मलाई रिस र आश्चर्य मिश्रित दृष्टिले हेर्दै व्यङ्ग्यात्मक पाराले बोलिन्– “को सहिद ? कसलाई कोर्रा हान्ने ? खुस्कियो कि क्या हो !?”
म चुपचाप श्रीमतीको अनुहार हेरेर मुस्कुराइरहेँ ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल