कविता : कोही मान्छे

कविता : कोही मान्छे

-डीबी इलामे

जान्ने ठान्छ सदा ठूलो र गतिलो, मै हुँ भनी ठाँटले,
बोक्रे धाक लगाउँदै गफ गरी, त्यो हिँड्छ लौ आँटले
बोलाए कति त सभा विषयमा, हाकिन्छ कूतर्कले
आफ्नै वाक्य बढी सही सरसिलो, भन्दो छ बेअर्थले

बक्दै हुन्छ कथाकथी कनिकुथी, विद्वान बन्दै त्यहाँ,
काट्दै हुन्छ कुरा डटेर अति नै, यो ठिक्छ भन्दै उहाँ ।
के हो ठिक्क कुरा सही सदरको, गर्दैन मूल्याङ्कन,
नाता राजनीति मिल्यो यदि भने, त्यै मान्छ साँच्चोपन

भन्दै गर्छ सबै सबै वदलियो, यो नै जमाना कति,
मान्छे आज भयो पुरातन रूढी, उत्कृष्ट नयँं थिति
हल्लाले जति ल्याउँछ चलन् यी, ऊ मान्छ यो उन्नति
आधीँका भरमा उडिन्न तर लौ, यो खास सड्दो मति

नौलो नव्यपना दिने कथनमा, पौराणिकै विर्सियो
पाश्चात्यैपनको सबै चलनमा, ज्यू ज्यान नै अर्पियो
भन्दै सभ्य भएँ म त अब भनी, नाङ्गो बन्यो भेषमा
लग्यो सीप र दक्षताहरू उतै, खन्दै जरा देशमा ।

-इलाम , फुल्गाछी

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल