अन्धविश्वास

अन्धविश्वास

-दीपक घिमिरे

दलाललाई एक लाख बुझाएर खाडी छिरेको रनेदाई दुई महिना नबित्दै काठमाडौं फर्कियो । गाउँमा बसेका बाआमालाई रने फर्किएको खबर पुग्यो । साथीभाइ सबै यति छिट्टै रनेदाई फर्किएकोमा आश्चर्यमा परे ।

रनेदाई दुई दिन हाम्रै कोठामा बस्यो अनि तेस्रो दिन दाङसम्मको टिकट काटिदिएर मैले उसलाई बसपार्कसम्म छाडेर आए । लाखौको सपना देखेको रनेदाइसँग घर फर्किने भाडासम्म थिएन । बसपार्कमै दुई पोका पुष्टकारी अनि एक पोका चकलेट किन्देर बिदाई गर्दै भनेको थिए– ‘जे हुन्च, राम्रैको लागि हुन्च रनेदाई ! कत्ति पनि तनाव नलिनु । अर्को पटक ट्राई मारम्ला ।’

उसलाई छाडेर फर्किदै गर्दा उसको अनुहार झलझल्ती आँखामा आइरह्यो । निर्दोष अनुहार पनि अपराधीजस्तै मलिन थियो । रसाएका आँखामा अझै पनि हजारौ सपना थिए ।

रनेदाई हामीभन्दा अलिकति मात्र जेठो हो । तर हामी साथीजस्तै थियौ । पढाईमा निक्कै चलाख रनेदाइ पैसाको अभावले स्कुल जान पाएनन् । आठ कक्षा पढ्दा पढ्दै स्कूल छाडेका रनेदाइ त्यसपछिका कैयौ बर्ष गाउँघरमै ज्याला मजदुरीमा बिताए । हामी शहर पढ्न थालेपछि उनी खाडी छिर्ने सपना लिएर काठमाडौं धाउन थाले ।

पैसा कमाउने सपना साकार पार्न कतारको भिषा लाग्यो । उडेको दुई महिना नबित्दै उनी फेरि नेपाली एयरपोर्टबाटै मलाई फोन गरेर भने– ‘दीपक मलाई लिन आइज, एयरपोर्ट छु ।’

अचम्म परेको थिए त्यो दिन । बास्तविकता थाहा पाए अनि माया लाग्थ्यो रनेदाइको । सोच्दथे उसका बाआमाको अनुहार, सम्झन्थे रनेदाइको परिवारको ब्यथा । तर उसको दुखमा कठै भन्न सक्थे बाँकी भगवान भरोसा ।

‘चिन्ता नले ! कोही नहुनेको भगवान हुन्चन् ।’ यही भन्दै उसलाई दुई दिन पालेको थिए कोठामा । आज उसलाई पठाएर आउँदै गर्दा सम्झन्छु– ‘आखिर भगवान पनि त रैनछन् नि यार उसको । उसका भगवानले हेर्थे भने उसलाई आज रुदै फर्किन पर्थेन ।’

रनेदाइ अचम्मको मान्छे हुन् । कसैलाई दुख पर्दा सबैभन्दा पैला रनेदाइको नाम आउथ्यो गाउँमा । विवाह–पूजामा सहयोगी रनेदाइ, मर्दा–पर्दा सहयोगी रनेदाइ । तर आज रनेदाइलाई पर्दा कठै भन्नेसम्म हुँदैनन गाउँमा । बरु बल्ल खाइस् भन्ने चै धेरै हुनेछन् ।

अस्ति काठमाडौं आएका जिम्वाल बाजेले भन्थे– ‘रनेलाई बाहिर नजा भनेर हजार बिन्ती गरे, तर अहँ टेरेन । त्यो हुन्थ्यो र खेतीपातीमा अलि सजिलो भाथ्यो ।’

जिम्वाल बाजेको कमैयाजस्तै थियो रनेदाइ । ऊ ल्या रने, त्यो ल्या रने, यता गर रने, उता गर रने । रनेदाइ नहुँदा खुट्टा भाच्चेजस्तै हुने जिम्वाल बाजेहरु रनेको दुखमा बल्ल खाइस् भन्ने छन् । तर मलाई रनेदाइको निस्वार्थ सहयोगी पनले सताइरह्यो ।

कलेजमा लगातार एक हप्ता बिदा थियो । काठमाडौंको धुलो र कोलाहलबाट एक हप्ता भएनि मुक्ति मिल्ने र रनेदाइको दुखमा साथ दिन पनि पाइने रहरले दाङ जाने योजना बुने । घरमा बिना खबर केटो दाङ हिड्यो ।

गाडीँबाट ओर्लेपछि सडकमै भएको चौपारोमा रनेदाइ भेटिए । उनी एक्लै थिए । मलाई देखेर उनी अलिकति मात्र मुस्कुराए । एयरपोर्टमा भन्दा खुशी देखिए उनी तर पैलाजस्तो खुशी थिएनन् । ‘एक्लै क्यार्दै छौ दाजी ?’ मैले हात मिलाउँदै सोधे ।

‘गाउँमा बस्नै मन लाग्दैन, खुराफातीहरु कुरा मात्र काट्चन । यतै आएर समय कटाउँदै छु दीपक’, न्यास्रो अनुहार र थाकेको स्वरमा आफ्नो बेदना पोखे ।

सामान्य भलाकुसारी पछाडी हामी मेरै घर गयौ । रनेदाइ र मलाई सँगै देखेर आमा झस्किनु भो । बा आँगनमा आउँदै भन्नुभो– ‘लौ ! खबरै छैन तो जेठो ?’

म हाँसे मात्र । रनेदाइ भोलि आउने बाचा गरेर बिदा भए । म फ्रेस हुन बाथरुम छिरे ।

‘रनेसँग संगत नगर ! छातीमा कालो दाग छ रे, रोग सर्ला है ।’ आमाले एक्कासी सम्झाउनुभो ।

म हाँसे अनि भने– ‘फाल्तु कुरा नगर्नु ! छातीमा दाग देखिनु नौलो कुरा हैन र यो कुनै सरुवा रोग पनि हैन ।’

‘बडी जान्ने हुन्च ! संगत नगर भनेसी चुप लागेर बस । उसलाई ठूलै रोग लाग्या हो, नत्र किन फर्कन्थ्यो कतार पुग्या मान्छे हँ ?’ बाले खाउलाझै गरेर थर्काउनु भो ।

भर्खर शहरबाट घर आएको छोरालाई अन्धविश्वासको भरमा बाले समेत थर्काएको मलाई मन परेन । ‘के फाल्तु कुरा गर्नुहुन्छ बा ? रनेदाइलाई कुनै खतरनाक रोग लाग्या हैन, उसलाई लागेको रोग सामान्य हो तर मेडिकल नगरी बिदेश उडेको सजाय उसले पायो ।’ मैले बाआमा दुबैलाई सम्झाउन खोजे ।

‘हाम्लाई नसिका ! ऊ सँग हाँस्न–बोल्न छाडिदे । भेटेको बेला बोल्ने अलग कुरा हो तर संगत नगर ।’ आमाले खतरनाक रोग सम्झेर खतरनाक डाईलग पेल्नु भो ।

कस्लाई कसरी सम्झाऊ ? म आफै रनभुल्लमा परे । दलाल र म्यानपावरको गल्तीले गर्दा आज रनेदाइ कतारबाट फर्केको छ तर बाआमा अनि सारा गाउँ रनेदाइलाई अनेकौ नाम दिँदै तिरस्कृत गर्दैछन् । कसैले कुष्टरोगी भन्छन् त कसैले एड्स । कसैले छिट्टै मर्ने अड्कल काट्छन त कसैले उसको रोग अरुलाई पनि सर्ने । तर सारा समाजलाई कस्ले सम्झाओस् कि रनेदाइलाई सानामा निमोनिया भएकै कारण छातीमा कालो धब्बा देखिएको हो भनेर । खानपिन र बस–उठमा ध्यान दिने अनि सामान्य खालको औषधि नियमित सेवन गर्ने हो भने रनेदाइ एक महिनामै निको हुन्थे तर यो कुरा समाजलाई सम्झाउन गारो छ । समाजकै तिरस्कारकै कारण रनेदाइ झनपछि झन गल्दै छन् । चिन्ताले दुब्लाउँदै छन्, रनेदाई ।

मेरा बाआमालाई त मैले सम्झाउन सक्दैन, झन सारा समाजलाई कसरी सम्झाउने ? रने भयानक रोगको सिकार भएको छ भनेर टाढिएका गाउँलेलाई कसरी रनेदाइको सामिप्यमा ल्याउने ? निक्कै कठिन थियो ।

म सक्दिनँ थिए समाजलाई सम्झाउन, आफ्नै घरका बाआमालाई रनेदाइको पीडामा नून–चुक नछर्कन भन्थे बरु उसलाई माया गर्नुस् भन्थे । तर न बाआमा मान्थे न मैले अझ सम्झाउन सक्थे ।

अरुका कुरा छाडौं, स्वयम् रनेदाइका बाआमा पनि डराएका थिए रनेदाइसँग । ‘मर्ने नै हो भने छिट्टै मरे हुन्थ्यो, गाउँ भरिकालाई मारेर मर्ला भन्ने डर ।’ रनेकी आमाले गहभरी आँसु झार्दै भनेकी थिइन् ।

‘कस्ले भन्यो तपाईंलाई ? ऊ बेला न्यानोमा राखेर नहुर्काको कारण यस्तो भएको हो, डराउनु पर्दैन काकी ! ‘मैले बुढीलाई सम्झाउँथे तर उनी गाउँलेकै कुरामा जोड दिन्थिन् अनि रनेदाइसँग नजिकिन डराउँथिन् ।

उतिबेला हरेकका घरमा परेको दुखमा रनेदाइ चाहिन्थे, यतिबेला रनेदाइलाई छि–छि र दूर–दूर गर्नमै गाउँ मस्त थियो । सारा गाउँ, समाज रनेदाइलाई छि– छि गर्न थालेपछि मजस्ता दुई चार जनाले रनेदाइको बचाउ गरेर कामै थिएन । समाजले हामीलाई नै गलत देखाइदिन्थ्यो तर रनेदाइलाई स्वीकार्न सकेन ।

पाँच दिनको बसाई सकेर म फेरि काठमाडौं फर्कन थाले । म फर्कन थालेको थाहा पाएर रनेदाइ मलाई भेटन आए । ‘बरु एक छाक खान पुग्ने काम खोज्दे दीपक तर तसँगै शहर लैजा, म बस्न सक्दिन अन्धविश्वासमा अडेको समाजमा । ‘रसाएका आँखाबाट आँसु चुहाउँदै रनेदाइले बिन्ती गरे ।

बाआमाकै अगाडि रनेदाइलाई अगाडि लगाएर शहर जान पाउँदिनथे । आँखाको इशाराले रनेदाईलाई चौपारोमा कुर्न पठाए । म बाआमासँग बिदा भएर चौपारोमै आए । अनि आइयो काठमाडौं ।

गाउँसमाजले तिरस्कार गरेको रनेदाइलाई काठमाडौं ल्याएपछिको कथा अर्को भागमा…

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल