नीलाञ्जना रारा र केशरी धूप

नीलाञ्जना रारा र केशरी धूप

– खगेन्द्र गिरि ‘कोपिला’

सन् २०१७, अप्रेल फुलको अपरान्ह, गमगडी बसपार्कको डिलमा उभिएर दक्षिणतिर फर्किदा घुच्चीको लेकको माथिबाट मुस्कुराइरहेको घामसित हाम्रा आँखा जुधे । चहकिलो घाममा निर्वस्त्र नुहाइरहेको गमगडीको सुक्खा पाखो आज उज्यालो देखिएको छ । भरखरै ट्रयाक खोलिएको गमगडी—नाग्म सडकहुँदै हामी उकालो लाग्यौं । यस पहाडी सडकको धुलोले मधेशका धुले सडकको याद दिलायो । चैत्रको मास मधेशतिर खलीखली पसिना आउन थालिसक्यो तर गमगडीको पाखोमा सिरसिर चिसो बतास चलिरहेको छ । यहाँ धुलो र माटोका अगाडि चट्टान र ढुङ्गाहरु पनि विवश छन् शायद । भारतमा बनेको महेन्द्रा जीप चढेर राजा महेन्द्रले मन पराएको महेन्द्रतालतर्फ जादै छौं हामी ।
विश्वका सर्वाधिक खतरनाक दश ओटा बिमानस्थलमध्ये एक मानिने ताल्चा बिमानस्थल मुन्तिर पुग्दा एउटा साँगुरो भिरालोमा हवाई जहाजको सेतो आकृति झुण्डिएको देखियो । ठ्याक्कै बिस्तारै पहाड उक्लिन लागेजस्तो देखिने सो आकृति केही वर्ष अगाडि दुर्घटनाग्रस्त भएको हवाइजहाजको अवशेष रहेछ । बिमानस्थल बनाउँदा पहाडको थुम्कोलाई सम्याएर छेऊमा थुपारिएको माटो भिरालो पाखो भरी पोखिएको छ । माटोको थुप्रोमाथि राखिएको कटौराजस्तो ताल्चा बिमानस्थललाई दाहिने पारेर नाग्म—गमगडी सडक तेरपायाँतेरपायाँ पश्चिम लाग्यो । पिना गाउँनिर पुगेपछि हामी गमगडी नाग्म सडकलाई छोडेर दाहिने उकालो लाग्यौं ।
नाङ्गो पहाडमाथि फन्को मार्दै कच्चि सडक अघि बढिरहेको छ । दौडिरहेको जीपको हल्लाई भन्दा ज्यादा हाम्रो मन हल्लिदै छ । घामले उज्यालिएका चट्टाने भीरका दृश्य र पहाडका अनौठा आकृतिहरु हाम्रो हल्लिरहेको मनलाई झन् हल्लाईरहेका छन् । सल्लेरीमा पुगेपछि जीप घयाच्च रोकियो । हाम्रो अगाडि फराकिलो भिरालो सल्लेरी चौर छ । बाटोको छेऊमा एउटा सानो काठे घर भेट्यौं । पसल भने पनि हुने होटेल भने पनि हुने त्यस घरको अघिल्तिर गाडी र मोटर साइकलहरु लहरै पार्किङ् गरिएका छन् । हाम्रो जीप पनि पङ्क्तिबद्ध भयो ।
‘घोडा चाइन्याँ हो क्या घोडा?’ एक हुल केटाहरु हामी भए तिर कराउँदै दौडिए । यहाँभन्दा अगाडि पैदल हिड्नु पर्छ या त भाडाका घोडा चढ्नु पर्छ । ‘कति हो भाडा?’ हाम्रो प्रश्न भुइँमा झर्न नपाउँदै केटाहरुले भाखा मिलाए जसरी एकै स्वरमा भने ‘मिलीचौरसम्म आठ सय, हुटुसम्म तेरह सय’ । घोडाको भाडा सुनेपछि हामीले एकैचोटी जिब्रो टोक्यौंं । केटाहरुले भाडाको दर घटाउँदै बाटो अफ्ठ्यारो छ भन्दै केही बेर हामीलाई फकाउने अभ्यास गरे । जीउभरि टालेका, नधोएका, खुम्चिएका बाक्लाबाक्ला लुगा लगाएका केटाहरु बोल्नमा भने टाठा रहेछन् । उनीहरुको ननुहाएको जिउ परैसम्म गनाउँछ तैपनि आफ्ना नमाझेका दाँत देखाएर हाँस्दै पर्यटकलाई फकाउने कला उनीहरुले जानिसकेका छन् । हामीलाई रारा पुग्न हतार त छ तर यहाँका पाखापखेरासित साक्षात्कार गर्दै रमाउँदै, फुर्सदले सुस्तसुस्त हिड्दै बाटो काट्नुको आनन्द भोग्ने रहर पनि छ हामीभित्र । केटाहरुको हुलले गुडमा झुम्मिएको झिंगाको बथानलेझैं हामीलाई घेरेकै थियो तर हामी भने पिठ्युमा झोला भिरेर उकालो लाग्यौ ।

पाखाभरी उभिएका अग्लाअग्ला धुपि सल्लाका पात फर्फराइहेका छन् । पहाडी चिसो बतास सिरसिर गर्दै नजिकै आएर कतिखेर कानैनिर साउती मारेजस्तो गर्छ कतिखेर गालामा स्पर्श गरेजस्तो गर्छ । चहकिलो घाममा पनि कस्तो चिसो बतास चलेको हो? पश्चिमतिर ठिङ्ग उभिएको चुचुमारा हिमाल आँखै अगाडि ठोक्किन आउँला जस्तो गरेर जिस्काइरहेको छ । यहाँबाट उकालो लाग्दा चुचुमारा हिमालभन्दा हामी हिडीरहेको बाटो अग्लो छ कि जस्तो आभास भयो । अलिकति हात लम्कायो भने हिमालको शीरमाथि पोखिएको हिउँ टिपेर ल्याइएलाजस्तो । उफ्रिदै दौडिदै हिउँ टिपेर ल्याएजस्तो अभिनय गर्न पो थाले हाम्रो टोलीका युवा सदस्य पुष्पराज पाण्डे र प्रितमकुमार गुप्ता । । हिमालको यति नजिकै पुगे पनि लेक लाग्ने कुनै संकेत छैन । आधा घन्टा जति घुमाउरो उकालो काटेपछि एउटा ठूलो फाँट आयो । यतातिर फाँटलाई पाटन भनिन्छ । परपर घोडा र च्याङ्राहरु चरिरहेका देखिए । पाटनमा हरियो घाँस दुबो केही छैन के खाँदा हुन् यी चरिरहेका जन्तुले? सायद सुकेको तृण पनि पेट भर्न प्रयाप्त हुँदो रहेछ भोक लागेको बेला । आउने जाने मान्छेहरु फाट्टफुट्ट हिडेका देखिन्छन् । पाटनमा जता हिंडे पनि हुने, जता दौडे पनि हुने । प्रायः परिवेश मौन छ, शान्त छ । यहाँ आएर कुनै सल्लाको बोट मुनी खप्तडबाबा जस्तै ध्यानस्थ बनौं जस्तो लागिरह्यो । दश मिनेट जति फराकिलो फाँट हिडेपछि बाटो ओरालो लाग्यो । बाटो वरपर धुपि सल्लाका अग्लाअग्ला र बाँक्ला रुख टमक्क भरिएका छन् । धुपि सल्लाका रुख हुन् कि? भिरालो बाटोको छेऊमा उभिइरहेका सिपाही हुन्? प्रकृतिले पनि कति सुन्दर किसिमले रुखहरुलाई उभिने तालिम दिएको रहेछ यहाँ? मधुसुदनले जिज्ञासा पोखिहाले । घना धुपिसल्लाका रुखले भरिएको घुमाउरो अँध्यारो बाटो बीस मिनेट जति हिंडेपछि एकैचोटी छ्याङग उज्यालो भएजस्तो आभास भयो । यो मिलीचौरको फाँट रहेछ ।

मिलीचौरको छेवैमा राराको विशाल दह देखियो । पहिलो नजरमैं हामी राराको आकृतिले मोहित भयौं । दृश्यहरु बिलकुल नौला छन् नवीन छन् । वातावरण स्निग्ध र शान्त छ । एउटा फराकिलो उपत्यकाको बीचमा मिलीचौरलाई काखमा च्यापेर राराको नीलो दह यौवनीय मादकता पोखेर हासीरहेकी छन् । आफ्नै उन्मुक्त बैंसको भार थाम्न नसकी लमतन्न भुइँमैं सुतिरहेकी युवती जस्ती लाग्छिन् रारा । वरपरका पाखापखेराहरु राराको मादकताले लोभिएर लट्ठिएका छन् । हाम्रा आँखा पनि मन्त्रमुग्ध भएर रारालाई निहार्न थाले । कंचन पानीका छालहरु किनारलाई छुन्छन् र फेरि फर्केर पानीमैं हराउँछन् । माथि नीलो आकाश, तल नीलो दह वरिपरि हरिया पाखा, कदाचित विष्णु भगवानले आराम गर्ने नीर सागर यही हो कि? नीरबाट नर र नरबाट नारायण बनेको दृष्टान्त दिएर आध्यात्मिक शान्तिको ब्याख्या गर्नु हुन्छ स्वामी अवधेशानन्द । उहाँको प्रवचनका मधुर वाणी सजल बनेर मेरो कानमा गुञ्जिन थाले । निकैबेर मौन रहेर रारालाई हेरिरह्यौ ।
घाम पश्चिम दिशातिर चुचुमारा हिमालले छेकिने तरखरमा छन् । मुर्मा टपको पाखोलाई बादलले घेर्न लागेको छ । चिसो हावाको बेग र आवाज बिस्तारै सघन हुँदै छ । पानी प¥यो भने बाटैमा चुटिने डर । हाम्रा पाइला छिटोछिटो कुँदीरहेका छन् तर प्रितम र पुष्प पानी पर्ने र रुझिने डरबाट बेपरवाह छन् । बाटो छेउछाउका हरेक दृश्यलाई क्यामेरामा कैद गर्न आतुर छन् । लाग्छ उनीहरु रारालाई हेर्न भन्दा फोटोमा कैद गर्न यहाँ आएका हुन् । जयवीर शाही र मेरो काम भने उनीहरुलाई पानी प¥यो भने भिजिने डर देखाउँदै छिटोछिटो हिंडाउनु भएको छ । मानौं हामी गोठाला हौं उनीहरु बुरुकबुरुक उफ्रिरहने बाख्राका पाठा हुन् । हामी रारालाई दायाँ पारेर छेवैछेवै हिड्यौ । राराको पश्चिमी भागलाई परिक्रमा गरेर दुई घण्टा जति हिंडेपछि बल्लबल्ल हुटु पुग्यौं । हुटु भनेको रारा राष्ट्रिय निकुञ्जको कार्यालय रहेको ठाउँ हो । निकुञ्ज कार्यालयका केही भवनहरु, नेपाली सेनाको दुर्गाभञ्जन गुल्मका ब्यारेकहरु र लजका केही भवन हुटुको काखमा छरिएका छन् । लजको आँगनमा पर्यटकहरुलाई आफै टेन्ट गाडेर बस्ने व्यवस्था पनि छ ।

हामी हुटु पुग्दा एकैछिनमा कालो मन्दाकिनी बादलले ताल र माथिका पहाडलाई छोप्यो । सिमसिम पानी पर्दापर्दै असिना पर्न थाल्यो । ‘तपाइँहरु भाग्यमानी हुनु हुदोरहेछ । रारामा आएर पानी र असिना परेको हेर्न पाउनु भो’ होटेलकी साहुनीले भनिन् । ‘उसो भए हामीलाई कोठाभाडामा केही डिस्काउण्ट होला नी’ प्रितमले च्याँखे थापे । साहुनी अक्कमक्क भइन । होटेल व्यवसाय गरेपनि साहुनी पुजिबादी आनीबानीमा रुपान्तरण भैसकेकी रहिनछन् । प्रितमले मुगुमैं घर भएका इन्जिनियर कर्णजङ्ग मल्ल र राराकै पुराना बासिन्दा हाम्रा सहकर्र्मी नगेन्द्रबहादुर शाहसितको साइनो पहिल्याएर साहुनीको मन जित्न खोजे । नातागोता, चिनापर्ची र साथीसंगीले शहरी अर्थतन्त्रमा खासै अर्थ नराखेपनि पहाडी पाखाहरुमा त्यसको आत्मियतासित अझैं नाता टुटेको छैन । आखिर प्रितमले साहुनीको निश्छल मनमा चिनापर्चीको भावुकता मिसाएर पन्ध्र÷पन्ध्र सय पर्ने दुईटा कोठा एक÷एक हजारमा मिलाए । एकघण्टा जति असिना पानी बर्सेपछि आकाश छ्याङ्ग खुल्यो तर चिसोले लुगलुग कमाउन थाल्यो । नेपालगंजबाट हिड्दा गर्मी चर्केको कारणले रारामा कतिनै चिसो होला? भनेर खासै बाक्ला लुगा लगिएको थिएन । सर्टपाइन्ट, पातलो ज्याकेट, गलबन्दी र सनक्यापले राराको चिसोलाई थेग्न सकेन । यात्रुको भींड हुनाले खाना पनि खासै स्वादिलो थिएन । थालको गास मुखमा पु¥याउन नपाउँदै चिसो भैहाल्ने । जसोतसो पेट भरेर हामी कोठामा गएर ब्लाङ्केटमा गुटमुटियौं । शरिरका लुगा नखोलेरै तिनओटा ब्लाङ्केट खापेर गु्रपमा सुत्दा पनि रातभरि न्यानोको अनुभूति हुन पाएन ।

बिहान उठ्दा आकाश छ्याङ्ग खुलेको छ । रारा ताल परपरका पाखाहरु भरखर निद्राबाट ब्युझिएको बालकको अनुहारजस्तै निश्छल देखिए । हाम्रा इन्द्रिय पनि त्यसै गरी मुस्कुराए । हिजो परेको पानीको सम्झना गराउन ताल वरपर अलिअलि चिस्यान देखिन्छ नत्र त्यत्रो असिना पानीले चुटेको रारा आसपासको धर्ती घाममा चहकिरहेको देखिन्छ । पूर्वबाट झरेका सूर्यकिरणहरु राराको नीलो पानीमा ठोक्किएर बनेको पहेंलो केसरी रंगमा नुहाइरहेको छ प्रभाती वातावरण । रारालाई नीलाञ्जना भनुँ या नीलिमा भनुँ? मेरो मन निलाम्मे राराको नयाँ नामाकरण गर्न उत्सुक भयो । राराको यही नीलिमाले मोहित भएका राजा महेन्द्रले २०२०÷२२ साल तिर थुप्रै गीत लेखेका थिए । उनको त्यही गीतीभावलाई चिरस्थायी बनाउन राराको नामाकरण महेन्द्रताल पनि गरिएको हो तर रारा आजसम्म पनि रारा नै छिन् । मुगुकै कवि सूर्य रोकाया ‘सङ्कल्प निर्मोही’ ले पनि कदाचित् राराको यही डिलमा उभिएर आफ्ना गजल लेखे होलान् । म उनको गजलसङ्ग्रह ‘मेरो रारा तिम्रो तस्वीर’ सम्झिन थाले । ‘सूर्यजी ! माफ गर्नु होला आज तपाइँकी रारालाई मैले मेरी रारा ठानेको छु र राराकै छालभरी खोज्दैछु रारालाई नियालेर लेखिएका तपाइँका गजलको भाव’ ।
एक दर्जन सैनिकहरु तालको छेऊमा बोट कस्ने तरखरमा छन् । रारामा आएर यहाँको कुनै स्थानिक बस्तु खानु र लानु पर्छ है मैले हिजै भनेको थिएँ टोलीलाई । मधुसुदन हिजोदेखि नै केही न केही चिज खोज्दै थिए तर केही भटिएन । हुटुको एउटामात्र किराना पसल शहरबाट आएका चाउचाउ गुट्का बियर र बिस्कुटले भरिएको थियो । बिहानको नास्तामा घोणमुच्चे हालेको चिया पियौं र पोलेका आलु खायौं । भुङरोमा पोलेको आलु निकै स्वादिलो थियो । ‘यही आलु भयो राराको चिनो !’ मधुसुदनले मलाई जिस्क्याए ।

पश्चिमबाट आउने गोरेटो बाटो छेवैछेउ पूर्व गमगडीतिर लाग्छ । फाट्टफुट्ट मान्छे हिंडेका देखिन्छन् । रारा आसपासको वनजङ्गललाई संरक्षित गर्ने उद्द्श्यले २०३३ सालमा रारा राष्ट्रिय निकुञ्ज बनाएपछि यही हुटुको माथिपट्टि पाखोमा रहेका दुईआटा गाउँ रारा र छाप्रेको मानव बस्तीलाई बाँके जिल्लाको गाबरमा सारिएको थियो । पुराना कुराको सम्झना दिलाउन अहिले त्यँहा छापु्रनाथ महादेवको झुपडीजस्तो एउटा मन्दिर र हुलाक घरको अवशेषमात्र बचेका रहेछन् । सुनसान छ यहाँको परिवेश होटेलबाट पनि राराका लहरले दिने आवाज मजाले सुन्न सकिन्छ । कहिलेकाही आउने पर्यटकहरुको आवाज राराको पानीको चन्चलता र सिरसिर बतासको सुईर्सुँइ आवाजभित्र हराउँछ । प्रदुषण र कोलाहलले मुक्त छिन् रारा । हामी राराको उत्तरपट्टिको किनारमा निस्फिक्री रमायौं । अग्लो काठे मचानमा उक्लेर फोटो खिच्यौं । चौरको दुबो र बेन्चमा बसेर रारालाई हेरिरह्यौं । सफा सानी भित्र नाचिरहने माछाका भुराहरुसित जिस्कियौं । चिसो पानीमा हात खुट्टा धोयौं । मिनरल वाटरको बोतलमा राराको पानी भ¥यौं । धरानबाट मोटरसाइकिलमा आइपुगेका चार जना युवा त्यही भेटिए । खप्तडबाट पैदल हिड्दै रारा पुगेका सोलुखुम्बुका प्रकाश राई एकैछिनको कुराकानीमैं प्रितमका भाइ बनेर हाम्रै टोलीमा मिसिए ।

रारा तालमा बोटद्वारा जलबिहार गर्ने व्यवस्था पनि छ । मध्यान्ह बार बजेपछि हावा चल्ने हुनाले बोट चल्दैन । बारह बजेभित्र रारा आउने र जाने यात्रुलाई बोटबाट मिलीचौर र हुटुसम्म ओहोरदोहोर गराउँछन् सैनिक जवानहरुले । हामी पनि बिहानको चहकिलो घाममा बोटमा उक्लियौं। रारातालको बीचमा पुगेपछि परपरसम्म दृष्टिप्रक्षेपण गर्दा विशाल समुद्रको माझमा पुगेको आभास भयो । क्षणक्षणमैं रङ्ग बदलिरहने राराको नीलो पानी जति सफा छ त्यत्तिकै कञ्चन पनि छ । पैतालिस मिनेटको जलबिहार पछि मिलीचौरपट्टिको बगरमा बोट रोकियो । सैनिकहरुले आफ्ना घरेलु पाहुनालाई जस्तै गरी हात मिलाएर बिदा गरे । एकैछिनको चिनापर्चीमैं भावुक भैहाल्नु नेपाली संकृतिको हार्दिक पाटो हो । राराको पानीले त्यस भावुकतामा झन् आद्र्रता थप्यो । मिलीचौबाट सल्लेरीतर्फ फर्किदा हामी सबै मौन छौं । पाइला अघि बढिरहेका भए पनि हाम्रा आँखा र मन फर्किफर्कि रारालाई हेर्दै छन् । कदाचित माइतीघरबाट बिदा हुने बेलामा बेहुलीको मनस्थिति यस्तै भावुकताले भिजेको हुँदो हो । मिलीचौरपारिको धुपिसल्लाको घना जंगलभित्र पसेपछि आखिर रारा पनि आँखाबाट ओझेल भइन् । मनभरी रारालाई झल्झली सजाएर हामी उकालो लाग्यौ । जयवीर शाही मुगाली लबजमा देउडाको भाखा मिलाएर गाउन थाले :
चिल्ताडा भानाकोट ओद्यो आलीको खेत भयो
कालबैरी लैजान्याँ छियो बाँच्या र भेट भयो

girikhagendrakopila@gmail.com

 

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल