कविता : के यही हो गणतन्त्र ?

कविता : के यही हो गणतन्त्र ?

-महेन्द्र केसी
मुख थुनिएको छैन
काम गर्ने हातहरु बाँधिएका छैनन्
हिँडडुल गर्न पनि रोकछेक छैन
के म यसैलाई गणतन्त्र मानू ।

परिभाषा फेरिएको छ
तर शासन फेरिएको छैन
राणा शासनभन्दा यहाँ गणतन्त्रमा
लोक पीडित भनिरहेका छन् ।
सुर्तीको खोल टक्टक्याएर
गोजीको भुसाय टक्टक्याएर
एक सर्को तान्न पनि धौधौ छ
के यही हो गणतन्त्र ?

गरिबको नाङ्गो शरीरले गणतन्त्र मागेको छ
गरिबको भोको पेटले गणतन्त्र मागेको छ
गरिबको घाम र पानी नओत्ने झुपडीले गणतन्त्र खोजेको छ
तर
प्रजातन्त्र कुन ठाउँमा आइपुगेको छ
नागरिकलाई पत्तो छैन ।
बलिदान, त्याग र समर्पणको मूल्य छैन
के यही हो गणतन्त्र ?

सिंहदरबारबाट गुन्जिने आवाजहरु
संसदबाट बर्सिने कुर्सीको बारुद गोलीहरु
परिर्वतनको नाउमा
हजारौँ नागरिकको बलिदिएर
ल्याइएको परिर्वतनरुपी
के यही हो गणतन्त्र ?

नागरिकलाई विदेशमा बचेर
रेमिटान्समा बाँचेको मेरो देश
परिर्वतनको नाउमा पटकपटक
युद्ध र आन्दोलनमा होमिएको मेरो देश
बुद्धको तपोभूमिबाट सिंचित छ या छैन
मलाई विश्वास छैन ।
किनकि
हरप्रहर
एक चेली बलात्कृत हुन्छे
रगतको खोला बग्छ
एक दलित, असाहय, गरिब
यही समाजका गणतन्त्रवादी राणाहरुबाट शोषित हुन्छन्
मलमूत्र समेत खुवाइन्छ
नाङ्गो पारी समाजमा डुलाइन्छ
के यही हो गणतन्त्र ?

गणतन्त्रले बोलेको छ एक
भएको छ अनेक
राणाशासनमा एकैचोटि फाँसी दिइन्थो
तर
यहाँ जीवनका हरेक पलपलमा
फाँसी दिइएको छ
स्त्रीको अस्तित्व स्वीकारिएको छैन
वृद्ध, बालकको कुनै महत्व मानिँदैन ।
कति चाँडो तन्नेरी नभई श्मसानघाट पुगेछ ।
यदि तन्नेरी भएको भए,
मैले खेलेको हाँसेको
साथमा जोस जाँगर भएको देख्ने थिएँ होला
यसको कुनै बालपन, यौवनको त्यो आँधीबेहोरी
कसैले महसुस गरेकै छैन
त्यसैले अर्थ र महत्व मैले देख्न सकेको छैन ।

केवल नारामा मात्रै सीमित बनेको मेरो गणतन्त्र
भाषण र भाषामा मात्रै सीमित मेरो गणतन्त्र
खै कुन आधार र अधिकारले म सलामी दिऊँ
राणाशासनभन्दा पनि बलवान र शक्तिशाली बनिरहेको
दलको खुट्टाको मोजा बनिरहेको छ
मेरा गणतन्त्र ।

पालैपालो घिसारी रहेका छन् नेताहरु
कुना कुनाबाट च्यातिएको छ
छेउमा बस्नै नसक्ने गरी गन्हाएको छ
नागरिकका लागि हात्तीको बाहिरी दाँतभन्दा रतिभर फरक छैन
दलको दलदलको जालोमा फसेको
सिंहदरबार र संसदबाट कुर्लिएको
कुकुरको पुच्छर जस्तै टाङमुनि रुमलिएको
के यही हो गणतन्त्र ?

-पर्वत

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल