बाटुलीको बैँस

बाटुलीको बैँस

–इन्द्र थेगिम

पन्ध्र पुगेर सोह्र वर्ष लागि भोलिबाट ‘बाटुली’ । एस.एल.सी. दिएपछि पहिलो चोटि मन्दिरमा भाकल गर्ने मन गरी । जन्मदिन परेको साइतमा आफूले हाकेको ताकेको सबै पूरा होस् भनी भगवानलाई बार्गेनिङ गर्न पेरुङ्गोमा भाले च्यापेर घरबाट बिदा हुनै लाग्दा घुरेन वारिबाट उचाली नसक्नुको काँक्रा ल्याएर धरान बस्दाको आफन्तलाई कोशेली दिनु है डल्ली भन्दै आमाले भारी लगाइ दिइन् ।
बाटुलीले आमालाई ढोग गरिन् अनि धरान पुगेर लगत्तै फोन गर्छु भनेर बाचा गरिन् ।
बुबा बितेपछि घरमा मान्छे भन्नू नै दुई आमा छोरी मात्र थिए ।
आमा हतार हतार भित्र भन्सामा छिरेर स्टिलको कचौरामा भरी मोही लिएर निस्किन् ।

आमा : यो स्वाट्टै पार डल्ली, भोलि तेरो जन्म दिनको शुभ साइत हुन्छ ।
बाटुली : हतारमा कचौरा समाउँछे र एकै सासमा पिएर लु आमा म बाटो लागेँ है भन्छे ।

तल डिल मुन्तिर पुगेसी एकफेर आमालाई हेर्दा सारीको सप्कोले आँसु पुछेको देखिन् ।
धनकुटा सदरमुकामसम्म पुर्याउनलाई सँगै पढ्ने बाटो मास्तिरको साथी बलबहादुरलाई गुहार मागेकी थिई ।

बाटुली : ‘ओए बले ! भात नखाई आएको होस् भने चाहि भो पर्दैन है भारी बोक्न सघाउनलाई’ भन्दै खिनौटे ज्यानको बलबहादुरलाई व्यङ्ग्य हानी ।

बले : (बोल्दैन) हिजोआज बलेलाई बाटुलीले जे–जे बोले पनि मीठो लाग्न थालेको छ । प्रतिउत्तरमा ऊ केही बोल्दैन । मुसुमुसु हाँस्दै बाटुलीलाई अघाउन्जेल हेर्छ ।

गाउँबाट बस स्टेन्डसम्म उक्लिँदा तीन, चार घण्टाको घुमाउरो बाटोमा बलेले आफ्नो दाजुजस्तै लाहुर लाग्ने बिचार सुनायो । एस.एल.सी.को रिजल्ट आउन्जेल भरपुर कसरत गरेर आफ्नो ज्यान बनाउने कुरा गर्यो । बाटुली असिन पसिन हुँदै बलेको कुरा सुनिरही । उनलाई थाहा थियो, यो सब बलेले किन बेलिबिस्तार लगाउँदैछ भनेर ।

कुइनेटोमा उक्लिनै लाग्दा बलबहादुरको दाहिने खुट्टाको बुढी औँला ढुङ्गामा ठोक्किएर रगत आउन लाग्यो ।
बाटुलीले मिल्लिक्कैमा कलिलो बनमारा निचोरेर बलेको आलो चोटमाथि छर्किदिई । आफूले बेरेको मजेत्रोको सानो फेरो च्यातेर बूढी औँलालाई पट्टी गरी ।

बाटुली यतिबेला बिछट्टै राम्री देखिएकी थिई । हिँड्दा हिँड्दा पसिनाले लप्पक्कै भिजेको अनुहार त्यो पाखैभरी फुलेको गुराँसभन्दा कम थिएन । उनको बान्की परेको अनुहारलाई त्यो चञ्चल जोर आँखाहरु कति सुहाएको । बले सास रोकेर बाटुलीको सौन्दर्य रस पान गरिरहन्छ, बाटुलीको नाकको फोहरा र ओठमाथि बुरुरु पसिना आएको देखेर ।

बले : को भाग्यमानी होला नि बाटुलीलाई यति धेरै माया गर्ने !
बाटुली : थुक्का धेरै नजिस्क्या है बले, मार्छु ऐले भन्छिन् बाटुली ।

हो, यतिबेला ख्याल ख्यालमै सही ‘म तिमीलाई माया गर्छु’ भन्न खुब कोसिस गर्यो । तर हरेक चोटि भन्नुअघि बाटुलीको मनोभावनामा ठेस लाग्ला, मसँग ठुस्केर बोलचालै बन्द होला भनेर ओकल्न लागेको शब्द मुखभित्रै चपाएर राख्यो ।

छङ्छङ बग्ने खोलाको छेवैनेर ओभानो परेको ठाउँमा थचक्कै बसेर बाटुलीले घरबाट बोकी ल्याएको मकै भट्मासको पोका खोली, भोर्लाको पातमा पोको पारी ल्याएको गुन्द्रुकको अचार खोल्दै बलेतिर हात बढाई ।

बाटुली : ओए बले ! लु खान सुरु गरौँ ! मलाई अबेर हुन्छ, धरान पुग्नुलाई फेरि ।
बाटोमा तैँले जे–जे भनिस् नि म सबै सुनिरहेकी छु । तर मेरो बैँस मात्र कल्पेर स्वार्थी हुन सक्दिन हेर । मेरो सपनाभित्र आमा, पढाई, जागिर, माया लुकेको छ । म मेरी आमालाई मरुन्जेलसम्म भस्मे फाँडेको हेर्न सक्दिन । म मेरो बैंस खेर फालेर तलाई लाहुरमा पठाउन पनि सक्दिनँ ।

बले : केही नभनी केवल मायालु नजर जुधाउँदै मकै, भट्मासको फ्वाँक लगाउँछ ।
बाटुली : बरु तँ भन तेरो दाजुलाई धरानमा बसेर उच्च शिक्षाको लागि खर्च पानीको बन्दोबस्त गरिदिनु भनेर ।

बले : सोचमग्न हुन्छ, अझै केही बोल्दैन ।
बाटुली : तेरो जस्तो भाग्य मेरो कहाँ ?
भोलि बूढासुब्बा मन्दिरमा भाकलसम्म गर्न सक्छु कि म गाउँमा सबैभन्दा अब्बल नम्बर लिएर पास हुनपाउँ । उच्च शिक्षाका लागि गाउँ विकास समितिले मेरो नाम सिफारिस गरिदेओस् भनेर ।

बाटुली बोलिरहँदा एक शान्त तलाउमा साना साना ढुङ्गा फ्याँकेर तरङ्ग उत्पन्न भएको महसुस गर्यो बलेले । एक ठूलो परिवर्तनको मुस्लो मडारिँदै आफूतिर आएको देख्यो । निश्चिन्त भएर अब उप्रान्त लाहुर जाने सपना त्यतिबेलै तुहाइदियो ।

अबभने चुपचाप चुपचाप दुवै बसस्ट्यान्डतिर लागे । बाटुली गहिरो सोचमा थिई । बले अब बाटुलीसँगै सपना देख्ने मनमनै प्रण गर्दैथियो। पेरुङ्गोमा चेपिएको भाले कयक ! कयक ! कराउँदै थियो ।

लौ आउनुहोस् ! धरान धरान !
खै म टिकट काटिदिन्छु, बलेले मायालु एक नजर फ्याँक्यो बाटुलितिर ।
बसभित्र छिर्नेबेलामा बलेले एक सोली सुकेको बदाम अनि दुई, चार दाना सुन्तला हातमा थम्याइदियो । भाले मर्छ है होस गर भन्यो ।

बाटुली भित्र छिरेर झ्यालनेर गएर टाउको बाहिर निकाली ।
टीँ टीँ… पँ पँ… गर्दै बस धरानतर्फ गुड्यो ।

बाटुलीले हात हल्लाउँदा बलेले आफ्नो मुटु छाम्यो । ढुकढुकी ज्यादै बढेको थियो । छातीमा नजानिदो तातो अनुभूति भयो । धुलोले बाटो नढाकुन्जेल बलेले घाँटी उतैतिर तेस्र्याइरह्यो ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल