गोपालप्रसाद रिमालको सम्मानमा

गोपालप्रसाद रिमालको सम्मानमा

-मोहनप्रसाद दाहाल

नेपाली साहित्यका क्षेत्रमा अमूल्य योगदान दिने कवि तथा नाटककार गोपालप्रसाद रिमाल जन्मेको यही जेठ १८ गते ठ्याक्कै १०० वर्ष पूरा भएको छ । ३६ वर्षको अल्पायुमा निधन भएका उनले नेपाली साहित्यको कविता र नाटक विधाक्षेत्रमा अविष्मरणीय छाप छोडेर गएका छन् । उनको सबैभन्दा उत्कृष्ट क्रन्तिकारी कविता ‘आमाको सपना’ सदाबहार र अमर कविता हो । यो कविताले आम पाठकमा परिवर्तनका लागि जोस् जगाउने प्रेरणा दिन्छ ।
माता आदित्यकुमारी र उमाकान्त रिमालका सुपुत्र क्रान्तिकारी कवि गोपालप्रसाद रिमालको जन्म १९९४ जेठ १८ गते लगनटोल, काठमाडौँमा भएको थियो । आईएसम्मको अध्ययन गरेका उनी पेसाका रुपमा अध्यापन र अमिनीमा लप्टनसम्म भएका थिए । २०३० कात्तिक ८ गते काठमाडौँमा देहान्त भएका उनको नाममा ‘गोपालप्रसाद रिमाल सम्मान’ पुरस्कारसमेत स्थापना भएको छ ।
गोपालप्रसाद रिमाल नेपाली साहित्यको कविता विधामा आधुनिकताको प्रवर्तन गर्ने कवि हुन् । कविता सिद्धान्त र नेपाली कविताको इतिहासमा डा. खगेन्द्रप्रसाद लुइटेलले भनेका छन्– १९९२ सालको शारदामा प्रकाशित ‘प्रति’ शीर्षक कविताका माध्यमबाट आफ्नो कवितायात्रा प्रारम्भ गर्ने गोपालप्रसाद रिमाल नेपाली गद्यकविता लेखनका प्रारम्भकर्ता तथा नेपाली कवितामा आधुनिक कालको थालनीकर्तामध्येका एक हुन् । तर प्रथम प्रकाशित रचनाका बारेमा भने अनलाइन विकिपिडियाले ‘कविको गायन’ कवितालाई पहिलो कविता मानेको छ । रिमालका पुस्ताकाकार कृतिहरुमा ‘यो प्रेम’ नाटक, २०१५, ‘आमाको सपना’ कविता सङ्ग्रह २०२० प्रकाशनमा आएका छन् । उनले शारदा मासिक, दर्पण मासिक पत्रिकाको पनि सम्पादक भएर काम गरेका थिए । उनले २०१९ सालमा मदन पुरस्कारका साथै २०३० मा त्रिभुवन पुरस्कारसमेत प्रप्त गरेका थिए ।
रिमालका कविताको प्रवृत्तिलाई लुइटेलले तीन चरणमा विभाजन गरेका छन् । यिनका प्रारम्भका कविता (२००० पूर्व) मा स्वच्छन्दतावादी, बीचका (२००७ पूर्व) क्रान्तिकारी–प्रगतिवादी भाव धारा र अन्त्यतिर (२००७ पछि) व्याङ्ग्यात्मक भावधारका प्रवृत्तिका छन् ।

रिमालका प्रतिनिधि कविताहरुः

आमाको सपना

आमा, त्यो आउँछ र ?
हो बा, त्यो आउँछ ।
त्यो बिहानको सूर्य झैँ उज्यालो छर्दै आउँछ ।
त्यसको कम्मरमा झुण्डिएको, शीतजस्तै टल्कने
तिमी एक हतियार देख्तैछौ,
त्यसैले ऊ अधर्मसित लड्नेछ ।
त्यो आउँदा तिमी पहिले त सपना हो कि भनेर
छामछुम गर्ने छौ तर त्यो हिउँ र आगोभन्दा पनि
बढ्ता छोइने भएर आउँछ ।
हो र आमा ?
हो, तिमी जन्मँदा, तिम्रो कलिलो अनुहारमा
त्यसैको छायाँ देख्ने गरेकी थिएँ,
तिम्रो हिस्सी परेको हँसाइमा त्यसको सुन्दर छवि,
तिम्रो तोते बोलीमा त्यसैको मधुर ध्वनि,
तर त्यो मीठो गीतले तिमीलाई
आफ्नो बाँसुरी बनाएनछ ।
त्यो तिमी नै हौला भन्ने
मेरो यौवनभरिको सपना थिायो
जे होस्, त्यो आउँछ,
म आमा हुँ, सारा सृजनशक्तिको मुख भएर
म भन्न सक्तछु,
त्यो आउँछ,
मैले यो कुनै अल्छी सपना देखेको होइन ।
त्यो आएपछि तिमी यसरी
मेरो काखमा आएर घोप्टिने छैनौ,
सत्य कुरालाई तिमी यसरी
चुम्बकिएर कथा सुनेझैँ सुन्ने छैनौ,
तिमी त्यल्लाई आफै नै देख्न सक्ने, सहन सक्ने र
ग्रहण गर्न सक्ने हुनेछौ,
मैले यसरी धैर्य दिनुको सट्टा तिमी सङ्ग्राममा जाँदा
लाख सम्झाएर पनि नमान्ने आमाको मनलाई
सान्त्वना दिँदै बिदा हुनेछौ
मैले यसरी रोगीलाईझैँ तिम्रो कपाल
मुसारीरहनुपर्ने छैन ।
हेरौला त्यो हुरी भएर आउनेछ
तिमी पात भएर पछ्याउनेछौ !
उहिले त्यो जीवन–लोकबाट झरेर जूनजस्तै पोखिँदा
सारा जडता सगबगबाएको थियो बा,
त्यो आउनेछ, तिमी उठ्ने छौ ।
त्यो आउँछ कि आमा
मधुर उषाले चराहरुको कण्ठलाई जस्तै
त्यो आउने आाले मेरो हृदयलाई कुत्कुत्याइसक्यो आमा !
हो, त्यो आउँछ,
त्यो बिहानको सूर्यझैँ उज्यालो छर्दै आउँछ ।
अब म उठेँ गएँ ।
०००००
तर त्यो तिमी नै हौला भन्ने
मेरो यौवनभरिको सपना थियो ।
विसं २०००
जङ्गी निसान हाम्रो

रातो र चन्द्र सुर्जे, जङ्गी निसान हाम्रो ।
जिउँदो रगतसरि यो, बल्दो यो सान हाम्रो ।।
हिमालझैँ अटल यो, झुकेन यो कहिल्यै ।
लत्रेन यो कहिल्यै, जङ्गी निसान हाम्रो ।।
यो जन्मँदै जगतमा कैयौं प्रहार आए ।
साम्राज्य दुई हारे, हारेन सान हाम्रो ।।
जबसम्म चन्द्रसुर्जे आकाशमा रहन्छन् ।
तबसम्म हुन्छ आफ्नै रातो रगत यो हाम्रो ।।
गाईसरि छन् साधु जोजो यहाँ जगतमा ।
सबको सरन बलियो, जङ्गी निसान हाम्रो ।।

रिमालका कवितामा स्वस्थ समाजको सिर्जनाका निम्ति क्रान्तिको आह्वान पाइन्छ । उनका कविताको वाचन गर्दा या श्रवण गर्दा मनमा एककिसिमको वीरत्वको भाव जाग्छ । यी कवितामा पनि आफ्नो देश र पुर्खाको बहादुरीको गौरव गाथा गाइएको छ ।

गोपालप्रसाद रिमालका कविता मात्र होइन, नाटकमा पनि उनी सशक्त रुपमा देखा परेका छन् । उनले मसान, यो प्रेम नाटक र माया एकाङ्कीको रचना गरेका छन् । यी तीनै कृतिले नेपाली समाजका यथार्थ विषयलाई लिएर रचना गरेका छन् । यी रचनामा खास गरी कोमल नारी हृदयको कमजोरीको फाइदा उठाउँदै पुरुषले मच्चाएको अराजकताको चित्रण पाइन्छन् ।
यिनै आधारहरुलाई मनन् गर्दा उनी नेपाली नाट्यपरम्परामा यथार्थवादी समस्यामुलक नाटकको रचना गर्ने एक सशक्त नाटककार हुन् । सामाजिक धरातलका यथार्थ विषय र पात्रको प्रयोग गरी नाटकको रचना गर्नु उनको प्रमुख विशेषता हो । यसैले उनलाई नेपाली नाट्य क्षेत्रमा यथार्थवादको प्रारम्भ गर्ने नाटककार मानिन्छ । उनी हेनरिक इब्सेनका भूतहरु, पुतलीको घर, गल्स हाउस जस्ता यथार्थवादी नाटकबाट प्रभावित भएको भन्ने गरेको पाइन्छ । तर त्यस समयमा ती कृतिहरु नेपालमा के कति उपलब्ध थिए र उनले अध्ययन गर्न पाए भन्ने खोजको विषय हुनसक्छ । तर पनि नेपाली समाजका समस्यालाई लिएर नेपाली पात्रहरु र तिनको प्रवृत्तिलाई समेत नाटकमा समावेश गरेका हुनले उनलाइ नेपाली नाट्य जगतका यथार्थवाद प्रवर्तन गर्ने प्रथम तथा केन्द्रीय नाटककार भन्दा फरक नपर्ने देखिन्छ । सुरुमा उनलाई बालकृष्ण समका नाटकबाट प्रभावित भई आदर्शवादी लेखनको थालनी गरेको भनिन्छ तर यसलाई मसान नाटकबाट अन्त्य गर्दै यथार्थवादी नाटक लेखनको सुरुवात गरेका हुन् ।
रिमालका बारेमा जेजति कुराहरु आए पनि उनी नेपाली साहित्यमा आधुनिकता भित्र्याउने कवि तथा नाटककार हुन् । उनले नेपाली साहित्यका क्षेत्रमा थोरै तर गहन र अविष्मरणीय कृति दिएर गएका छन् । ती कृतिहरुले कालन्तरसम्म अमर बनाइरहनेछन् । उनी मरेर गए पनि उनले नेपाली साहित्यमा छोडेर गएको क्रान्तिचेत सदा सर्वदा फुलिरहोस् ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल