कविता : रोइरहेछ मेरो शहर

कविता : रोइरहेछ मेरो शहर

-बाबुराम पन्थी ‘गुल्मेली’

बिहानीको मधुर किरणभन्दा पहिले
मेरो सुन्दर शहरको मुटुहरूमा
आफूलाई शहरीया
बताउनेहरूको चर्तिकला
फोहोरका पोकाहरू
राति रित्याएका खÞाली बोतलहरू
आफ्नै घर अँगाडिको चोकमा
जम्मा पारिदिन्छन्
कसैले नदेख्ने गरी
थुक्क !
मानवता गुमाएका मनहरू
लाज गुमाएका अनुहारहरू
चेतना गुमाएका बौद्धिकहरू
फोहोर थुपार्ने डम्पिङ बन्नुपर्दा
रोइरहेछ मेरो शहर

शहरको स्वरूप बदल्न राजनीति गर्नेहरू
दोपहरको समयमा अवरोध गर्दै
मेरो शहरको मुटुमुटुमा
टायर जलाएर
बाटोको डिभाइडर भत्काएर
चुनाव प्रचारमा झुण्ड्याएका
दलका झण्डा र चुनाव चिन्हले कुरूप बनाई
वितण्ड मच्चाउँदै राजनीति गर्नेहरू देखी
बिछिप्त भएर
रोइरहेछ मेरो शहर

अन्तिम भरोषा भविष्यको
त्यो विद्यार्थी
आज शहरका भित्ताहरूमा
सुन्दर शहरको चित्र कोर्नुको बदला
कुरूप बनाउँछन् तथानाम
राजनीतिक दाउपेचका नारा लेखेर
कलेजका लाइब्रेरीहरूमा आगो दन्काउँदै
उत्सव मनाउने त्यो विद्यार्थीबाट
आशा भरोसा कसरी राखौँ ?
सरकार कर बढाइरहेछ जनतासँग
शहरको मुहार फेर्न भन्दै
त्यो दिनको पर्खाइमा थिचो मिचो सहँदै
झिनो आशामै
अवाक्, उदासीन, मलिन भएर
अबोध शिशु जस्तै उद्धार माग्दै
रोइरहेछ
मेरो शहर ।


-तम्घास, गुल्मी

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल