लुटिएको सर्वस्व

लुटिएको सर्वस्व

-कृष्णा रायमाझी

बिहानको झिसमिसे अँध्यारो, त्यसमाथि काठमाडौँको धुलो र धुवाँले वैशाखको सुरुवाती दिनहरुमा पनि जाडो महिनाको झैँ तुवाँलोको आभास गराउँछ । सानीलाई भने घामको झुल्काले राजधानीलाई स्वागत गर्न नभ्याउँदै मध्यदिनमा जसरी पसिनाले निथ्रुक्कै भिजाएको छ । खुइया सुस्केरा काढ्दै कलङ्की चोकको बाटो छेवैमा कपडाको भारी बिसाएपछि उसलाई केही राहत महसुस हुन्छ । घाँटीमा बेरेको सलको एक छेउले निधारको पसिना पुछ्दै अरु कोही आफूभन्दा पहिल्यै आइपुगेर आफ्नो ठाउँ ओगटिनसकेकोमा सानी मनमनै खुशी हुन्छे । खाना बोकेको भाँडो भारीबाट झिकेर एक छेउमा राखेपछि त्रिपाल बिछ्याएर कपडाको खातलाई पट्याउँदै राख्छे ऊ । सानीको दैनिकी कलङ्की चोकबाटै सुरु हुन्छ । यो क्रम सुरु हुन लागेको पनि चार पाँच वर्ष भइसक्यो ।

कपडाहरु मिलाएर नभ्याउँदै चिच्याउन सुरु गर्छे ऊ– “दुई सयमा एउटा, दुई सयमा एउटा” । ग्राहकहरुसँग मोलमोलाई गर्नै नपर्ने गरी मूल्य तोकिएका ट्याग टाँसेर मोबाइल चलाउँदै कुर्सीमा बसेर ब्यापार गर्ने रहर उसलाई पनि नलाग्ने कहाँ हो र ? तर हरेक पटक यी सपनाहरुलाई कपडाको भारीमा पोको पार्दै यही पेटीमा असरल्ल फिँजाएर चिच्याउँछे ऊ । उसलाई थाहा छ, आफू र आफ्नी छोरीको भोको पेटलाई बिहान बेलुका भर्नकै लागि पनि ऊ चिच्याउनै पर्छ । यसबाहेक छोरीलाई राम्रो शिक्ष दिएर समाजमा स्थापित गराउने उसको सपनाले पनि थप सहयोग गर्छ उसलाई यसरी चिच्याउनमा ।

तर आज भने सधैँको जस्तो ऊर्जा छैन सानीको बोलीमा । अनिदा आँखा र उदास मन लिएर उसले आफ्नो दैनिकीलाई जबजस्ती घचेट्ने प्रयास मात्र गर्दैछे । सधैँ ग्राहकसँगको मोलमोलाइमा कडा रुपमा प्रस्तुत हुने सानीको मन नै नियन्त्रित छैन आज । ओछ्यानमा कोल्टे फेर्दाफेर्दै रात बिताएपछि जाँगर नलागी नलागी उठ्छे सानी । अनिदो अनुहारलाई पानीले छ्यापेर खाना पकाएपछि उसले अलिकति खाना आफ्ना लागि बट्टामा राखी र बाँकी छोरीका लागि छोपेर छोडिदिई । सधैँ छोरीलाई स्कुल समयमा पुगोस् भनेर अह्राई सिकाई मात्र घरबाट निस्कने सानी आज छोरीलाई निद्रामै छोडेर घरबाट बाहिरिई । अथाह पीडाले मन गह्रुङ्गो भएकाले होला आज उसलाई सधैँ बोक्ने कपडाको भारी पनि हिजो अस्ती भन्दा गह्रुँगो लाग्दैछ । हिजो मात्र त हो नि उसलाई कपडा कम भइसकेको र अरु खरिदेर ल्याउनु पर्ने महसुस भएको । यसपालि धेरै बिक्री गर्न सकेकामा आमा छोरी हिसाब किताब गरेर खुशी हुँदै सुतेका पनि थिए ।

फुटपाथ पसलमै बसेर कलङ्कीको जाम नियाल्दै फेरि सानीले हिजोको घटना सम्झी । सधैँजस्तो पाँच बजेपछि आएर उनीहरुलाई त्यहाँबाट लखेट्ने नगरप्रहरी हिजो दिउँसै आइपुगेको थियो । कहिले कपडाको भारी नै उठाइदिएर फिर्ता दिन मोटो रकम असुल्ने प्रहरीलाई देखेर सुरुमा त सानी झस्की । तर प्रहरीले सबैलाई मन्त्रीज्यूको सवारी आउँदै गरेकाले कपडाहरु तुरुन्त उठाउन निर्देशन दिएर गएपछि सानी पनि हतार हतार कपडा उठाउन थाली । यही क्रममा एउटा चिल्लो गाडी अगाडि पछाडि पुलिसको गाडीसहित झन्डै झन्डै उसकै गोडानेरबाटै बतासियो । यो दृश्य पनि उसको लागि नौलो थिएन । तर मन्त्रीको पछाडी बस्ने एउटा अनुहारले सानीको खुट्टा त्यो पिच सडकमै भासिए जस्तै भयो । उसको सर्वस्व लुट्ने उक्त अनुहार सानीले चाहेर पनि बिर्सन कहाँ सक्थी र ? बेलुका आठ नौ बजेसम्म यही चोकमा एकोहोरो चिच्याएरै जीविकोपार्जन गर्ने सानीको आवाज नै बन्द भएजस्तो भयो ।

त्यसपछि कपडाको भारीसहित ऊ कतिबेला नैकापको कोच्याक्रो कोठामा पुगी उसलाई पत्तै भएन । सधैँ आमाको प्रतिक्षामा बाटो हेर्दाहेर्दै किताब माथि नै निदाउने छोरी पनि खुशी भई स्कुलबाट फर्किदा आमालाई कोठामा नै देखेर । तर आमाको मनको ज्वारभाटा अनुहारमा कहाँ पढ्न सक्थी र त्यो बालिका ? त्यो रात सानीको मनमा धेरै कुराहरु आए । भूत र वर्तमानसम्म सोचेर ल्याउँदा उसलाई एउटा अनुहारले अन्तिमसम्म पछ्याई रह्यो । उक्त अनुहार त्यही सुधीरको थियो । जसलाई उसले आज मन्त्रीको गाडीमा देखेकी थिई ।

विगतमा पौडँदै गर्दा उसले आफू जन्मेको त्यो गाउँ सम्झी । बाबुआमाको त्यो माया सम्झी । तीनजना दाजुपछि जन्मेकी सानी उनीहरुका लागि खेलौना झैँ थिई । सबैभन्दा कान्छी भएकीले नामै सानी भयो उसको । सबैको माया पाएर होला सानी निडर थिई । अन्याय भनेपछि पटक्कै सहन नसक्ने । जति ठूली हुँदै गई, त्यति रुपले पनि निखारिँदै गई । उसका रुप देखेर नलोभिने सायदै गाउँमा कोही थिए । उसका लागि ज्यानै दिन्छु भन्नेहरुको भीडमा सुधीर पनि एउटा थियो । तर सानीलाई यी कुरामा चासो थिएन । पढाइमा समेत अब्बल सानीलाई पढेर आफ्नो खुट्टामा उभिने मात्र ध्याउन्न थियो । यता सुधीर गाउँको जमिनदारको एक्लो छोरो उसमा घमण्ड सवार थियो ।

उसको एकोहोरो माया जति गर्दा पनि सानीले नस्वीकारेपछि उसले जबजस्र्ती सिन्दूर हालेर सानीलाई आफ्नो बनाउने प्रयास गर्यो । गाउँघरको यो पुरानो कुसंस्कार सानीले सुधीरसँग लडेरै तोडी । जबजस्ती फुत्केर आफ्नै घर गई सानी । यत्रो हिम्मत गाउँमा अहिलेसम्म कसैले देखाउन सकेको थिएन तर सानीको यो कदमको सराहना गर्ने भन्दा पनि निन्दा गर्ने नै बढी भए समाजमा । यता सुधीरमा भने भित्रभित्रै बदलाको भावना विकसित हुँदै थियो । परिणाम स्वरूप एस.एल.सी.को तयारीको अन्तिम अवस्थामा सानिमाथि सामूहिक बलात्कार भयो । सानीले मुख्य योजनाकार सुधीरलाई मात्र चिन्न सकी ।

त्यसपछि सानी मानसिक र शारीरिक रुपमा विक्षिप्त भई । समाज त उसको पक्षमा भएन नै उसका आफ्नै भाउजूहरू समेत उतै लागे । पीडित सानी चरित्रहीन ठहरिई । उसको सहारा बाबुआमा मात्र भए । छोरीलाई न्याय दिलआउन बाबुले कोसिस गर्दागर्दै राजनीतिक रुपमा समेत संरक्षित सुधीर सहरतिरै गुमनाम भइदियो । पढेलेखेका दाजुहरु न्यायालय धाउनु सट्टा बाबुको यो कदमको विरोध गर्न लागे । बाबुआमालाई समेत गाउँमा बस्न गाह्रो हुन लागेपछि सानी एक दिन कसैलाई थाहा नदिएर काठमाडौँ हानिई । उसका दाजुहरूलाई बहिनीलाई बाबुआमाले सम्पत्ति दिएर घरमा राख्ने भए भन्ने ठूलो डर थियो । यता सानी उनीहरुको बाटोबाट सर्लक्क पन्छेर खालि हात एक अन्जान सहरमा पाइला टेकी । उसको सम्पत्ति भने पनि कलङ्क भने पनि उसको पेटमा भएको भ्रुण थियो । जसलाई उसले कलङ्क ठानिन । बरु त्यसलाई सपना बनाएर आफ्नो जिन्दगीमा ल्याउने दृढ सङ्कल्प गरी ।

छोरीलाई जन्म दिँदा सानी थापाथलीको एक राणाकालीन दरबारमा भुइँ पुछ्दै थिई । बिरानो ठाउँमा आएर घरैपिच्छे भाँडा माझ्ने र लुगा धुने काम गरेपछि एक महिनापछि नै एकजना सहृदयी व्यक्तिले उसलाई यहाँ बसेर काम गर्ने व्यवस्था मिलाइदिएका थिए । उसलाई एकजना झन्डै सत्तरी पचहत्तर वर्षकी वृद्धाको रेखदेख र घरको सरसफाइमा खटाइएको थियो त्यहाँ ती वृद्धाका छोरा बुहारी प्रायः विदेशमै बस्थे । उसकै आमाकी उमेरकी एक जना अधवैंसे महिला त्यहीँ भान्साको काम गर्थिन् । जसले सानीलाई सुत्केरी अवस्थामा निकै स्याहारसुसार गरिन् । सानीले उक्त गुन अहिलेसम्म भुल्न सकेकी छैन । यता छोरी हुर्केर स्कुल जाने भइसकेकी थिई । एक दिन छोरीलाई स्कुलबाट लिएर आउँदै थिई सानी, अहिलेको माइतीघर मण्डलामा ठूलो जुलुस नाराबाजी गर्दै अगाडि बढ्दै थियो । त्यसपछि धेरै दिनसम्म यो क्रम जारी रह्यो । उपत्यकामा कर्फ्यु लाग्यो । झन्डै पन्ध्र दिनपछि राजाले देशबासीको नाममा सम्बोधन गरेपछि फेरि विजय जुलुस निस्कियो । सानीले सुनी, अब ऊजस्ता गरिबका दिन आयो रे । देशमा अब जनताको शाशन आयो रे । तर सानीको जिन्दगीमा ठीक उल्टो भयो । यसको ठीक एक महिनापछि ती वृद्धालाई पनि छोरा बुहारीले विदेशमै राख्ने भनेर लिन आए । त्यसपछि सानी र सानीको छोरीको टाउकोको ओत् र मुखको गाँस खोसियो ।

दरबार छोड्दा पाएको केही रकम थियो सानीसँग । बल्लतल्ल एउटा छिँडीको कोठा पाई उसले । त्यसपछि हरेक दिन कामको खोजीमा निस्कन्थी सानी । अझै पनि सानी उत्तिकै जवान र राम्री थिई । कामको खोजीमा भौतारिँदा उसको रुप र बैंसको मूल्य तोक्नेहरु धेरै भेट्टिए । डान्सबार, मसाज सेन्टर अनि कर्लगर्ल आदिको अफर गर्ने थुप्रै भेटी सानीले । तर अरु कामको अवसर पाउन सकिन ऊसले । देशमा गणतन्त्र कसका लागि आएको थियो कुन्नि उसले बुझ्न सकिन । त्यसपछि उसले कित्लीमा चिया पकाएर बाटोमा बसेर बेची, कहिले पत्रिका बेची अनि कहिले ठेलामा मम पकाएर बेची । तर चिया, ताजा खबर र ममको स्वाद लिन आउने ग्राहक भन्दा बढी उसको शरीर र जवानीकै स्वाद लिन आउनेहरू धेरै देखी उसले । आफू र आफ्नी छोरीलाई हरेक ठाउँमा असुरक्षित देखेपछि ऊ फुटपाथ पसलमा कपडा बेच्न थाली ।

तर जहाँ गएर जे काम गरे पनि सानीले हरेक ठाउँमा सुधीरहरु नै भेट्टाई । यिनै सुधीरहरुसँग पाँैठेजोरी खेल्दै जिन्दगीको रथ सकिनसकी गुडाउन जति सकस परिरहेको थियो सानीलाई त्योभन्दा कैयौँ गुणा बढी सकस आज उसको सर्वस्व लुट्ने सुधीरसँग साक्षात्कार हुनुपर्दा भएको छ । कलङ्की चोकमा उक्त झण्डावाला गाडी र त्योभित्रको सुधीरलाई दोहोर्याई तेहेर्याई देख्न थालेपछि बल्ल थाहा पाई सानीले सुधीर त मन्त्रीको स्वकीय सचिव भइसकेको रहेछ । सुधिरलाई त्यति ठूलो कुकर्मको सानो सजाय समेत दिन नसकेको यही समाज र कानुनले राज्यको यति माथिल्लो तहको जिम्मेवारी सुम्पेको थाहा पाएर सानी अवाक् भई । उसको रक्षा कवच बनेर उभिएको मन्त्रीसँग प्रश्न सोध्न चाहन्थी सानी– “एउटा पियनको जागिर खान पनि शैक्षिक प्रमाण पत्रको साथमा स्वच्छ आचारणको समेत प्रमाण पत्र पेश गर्नुपर्ने यो देशमा के मन्त्रीको सचिव बन्न चाहिँ त्यसको कुनै जरुरत भएन ? देश सञ्चालन गर्ने मन्त्रीलाई राय सल्लाह दिने मान्छे एउटा अपराधी भएपछि कहिले फेर्ने देशले काँचुली ?” सानीले सोची चाहे लोकतन्त्र अओस् चाहे गणतन्त्र ऊ जस्ता सानीहरुको जिन्दगीमा कुनै खुशीका किरणहरु आउनेवाला छैनन् ।

राज्य संयन्त्रको माथिल्लो निकायमा यस्ता कुनियतले भरिएका मानिस भएपछि कानुनको सहारामा लडेर न्याय पाउने सपना देखेका सानीहरु आफ्नो सपनाको मलामी आफै जानुबाहेक के अर्को विकल्प होला र ? अरुले दिएको सजायबाट पीडित एक एकल आमा जो यो समाजमा जिउने कोसिस गर्दै छे । उसलाई आत्महत्या गर्न प्रेरित गर्ने यो समाजका बासिन्दा सम्झी सानीले जो आज निर्धक्क एक अपराधीको अगाडि शिर झुकाएर हात जोड्छन् । बाबुआमा र छोरीको जिन्दगी बर्बाद गरेर हिँडेका उनै सुधीरहरुलाई अकर्Þा बाबुआमा ले फेरि खुशीसाथ आफ्नी छोरी सुम्पिन्छन् यहाँ । अनि आफ्ना छोरीहरुले बैंस र जवानीमा अन्धो भएर पेटमा पालेका शिशुहरुलाई नर्सिङ होमको महँगो शुल्कले मिल्काएर इज्जत जोगिएको ठान्ने धनाड्य राजधानीवासी नै सानीजस्ता एकल आमालाई कोठा दिन बाबुको नागरिकता खोज्छन् ।

औंशीको रात अझ कालो हुँदैछ बाहिर । सानीले अब आफ्नो र आफ्नी छोरीको भविष्य यो रातभन्दा अझै कालो देख्दैछे । उसको आँखामा पहिले जस्तो साहस र सपना छैनन् । छेवैमा मस्त निद्रामा पल्टिरहेकी छोरीको निर्दोष अनुहारमा हेर्दै सानी मनमनै बर्बराउन थाल्छे– “छोरी यो पुरुषप्रधान समाजमा तिमीलाई ल्याई एक्लै पाल्ने आँट गरेर थाहा छैन मैले पाप गरेँ या धर्म ? मलाई मापÞm गर्नू छोरी “बाहिर ठूलो आवाजमा परेको पानीले होला बिजुली पनि जान्छ । छोरीको अनुहारमा हेरेर एकोहोरो टोलाइरहेका सानीका आँखा अगाडि त्यही औँशीको रात झैं अँध्यारो मात्र छाउँछ ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल