कथा : परदेशिएको छोरो

कथा : परदेशिएको छोरो

-दीपक घिमिरे

खरबारी बेचेर आएको पैसा रने साहुलाई बुझाएपछि अन्ततः दिलबहादुरको मलेसियाको भिसा लाग्यो ।

रने साहु विदेश पठाउने नामुद दलाल हो भन्ने हल्ला गाउँभरि थियो तर पैला हातमा पैसाको बिटो नराख्दासम्म काम गरेन । आफ्नो जग्गाको नाममा बचेको खरबारी बेचेर आएको साठी हजार दाम रनेका हातमा राखेको एक महिनामै भिसा आयो ।

आगनमा बसेको रामबहादुरलाई टीकाको थाली दिँदै चमेलीले भनिन्– “नाम्रो आसिक दिनुस् यल्लाई ! धेरै दुख पाइयो, अब सुख पाइन्च । मस्तै दाम कमाएर आओस् ।”

दिलबहादुर सुर्के झोला पिठ्युँमा बोकेर रनेसाहुसँगै उभिएको थियो । रामबहादुरले हातमा भएको बिँडी पिँढीको ढुङ्गामा थेचारेर निभायो अनि एक पटक बेस्सरी खोकेर आगनको डिलमा गएर थुक्यो अनि आएर अक्षता लगाइदिँदै भन्यो– “अभागी रैचस बाबू ! पढेर डाक्टर बन्लास् भन्या थेँ, डाइबरसम्म हुन सकेनस् । नाम्ररी काम गर्नू, घरव्यवहारले च्याप्या छ । कमाएको खुरुखुरु पठाउनू ।”

अझै धेरै आसिक दिने मन थियो रामबहादुरको तर सकेन । लुकाउन खोज्दै गरेका आँसु टीका थालिमै खसे । उसका हात काँप्न थाले । भक्कानिएर रुन मन थियो रामबहादुरलाई । बायाँ कुमले आँसु पुछ्दै ऊ फेरि पिँढीमै बस्न गयो ।

ऊ पिँढीमा बसेर हुक्क हुक्क गर्दै रोयो । चमेली  सप्कोले मुख छोपेर गोठतिर गई, दिलबहादुरले पनि आँखा निचोर्यो ।

रनेसाहुले घडी हेर्दै भने– “किन रुन्चौ ? के मर्न जान ला हो र ? कमाउन जान लाको हो, तिमुरका सपना पूरा गर्न जान लाको हो । हाँसेर बिदा गर यल्लाई ।”

रनेसाहुले रामबहादुरको पिठ्युँमा सुमसुम्याउँदै भन्यो ।

टाउकोमा बसेको भादगाउँले टोपी निकालेर आँसु पुछ्दै रामबहादुरले रनेसाहु र दिलबहादुरलाई बिदा ग‍र्यो ।

बिदा माग्दै हिँडेको छोरालाई बिदाइको हात हल्लाउन चमेली आइन् । उसले सायद गोठकै झ्यालबाट हेरी, आफ्नो मुटुभन्दा प्यारो छोरोले तीन वर्षका लागि बिदा मागेर हिँडेको हेर्न सकिन ।

रनेसाहु अघिअघि, दिलबहादुर पछिपछि लागेर चेपे सोता काटेपछि गोठबाट चमेली आई, आँखा राता बनाउँदै । यता रामबहादुरको पनि हालत उस्तै थियो । नाको टुप्पो रातो भएको, आँखा अझै रसाइरहेका थिए दुवै जोईपोइका ।

सन्तानको नाममा एउटा भएको छोरो पनि परदेश हिँडेपछि दिउँसै घर अँध्यारो भयो । हिजोसम्म रमाइलो लाग्ने घर आज बिरानो लाग्न थाल्यो ।

एक्लोपना र छोराको माया मेटाउन रामबहादुरले एक बोतल लोकल रक्सी घरमै लिएर आयो ।

चमेलीले मनभरि दिलबहादुरलाई सजाउँदै तरकारी र रोटी तयार पारी । एक बोतल लोकल रक्सी पिएपछि रामबहादुरका सबै पीडा कता हराए कता ।

ऊ हँसिलो देखिँदै गयो । आफूलाई निक्कै खुशी देखाउन थाल्यो । रोटीको टुक्रा मुखमा हालेर कुम हल्लाउँदै चमेलीलाई भन्यो– “अब हाम्रा सुखका दिन आए बड्डी । प्रति मैना चालीस हजार रुप्पेँ आउन थालेसी जाबा दुःख त ऊ पर च्यानडाडाँमा मिल्काइदिने हो बुझिस् ।”

चमेलीले आफ्नै सुरमा रोटी पोलिरही । ऊ नसामा बकबक गरिरह्यो– “रनेसाउले चालीस हजार रुप्पँेभन्दा माथि कमाउँच भन्या छ । हिसाब गर्तो, प्रतिमैना चालीस हजारले तीन वर्षमा कति कमौच हाम्रो केटाले ?”

चमेलीलाई रिस उठ्यो सायद ! “चुप्प लागेर घिच, कति बक बक गर्चौ ! रक्सी खा तालमा हिसाब गर्दै बस ।”

रामबहादुर चुप्प लागेर थप दुईवटा रोटी खायो । एक गिलास दूध पनि खायो, अनि जिम्दारी पारामा डकार्दै बिस्तरा भएको कोठामा सुत्न गयो ।

उता आँखामा हजारौँ सपना सजाएर सहर पुगेको दुई दिन पछाडि दिलबहादुर मलेसिया उड्यो रे ।

मलेसिया उडेको खबर रनेसाहुले रामबहादुरलाई पु‍र्याए ।

बिदाइ गर्दा रोएका रामबहादुरका दम्पती अब औँला भाँच्दै दिन गन्न सुरु गरे, अनि पहिलो महिनाको तलब कहाँ खर्च गर्ने भनेर हिसाब गर्दै बस्न थाले ।

छोरो मलेसिया उडाउन बेचेको खरबारीतिर हेर्दै रामबहादुरले धेरै पटक सोच्थ्यो– “यस्ता जाबा खरबारी के काम ! अब सुकिदह बजारमा घडेरी किन्ने हो ।”

चमेलीले पनि ठ्याक्कै त्यस्तै सोच्दी रैछे । “बूढा ! सुकिदह बजारमा एउटा नाम्रो घडेरी किनेर उतै बेपार गरेर बस्न पर्च । अब हाम्रा सुखका दिन आए हैन त ? ”

दुवै जोईपोइ पेपलनेटाबाट झरेर सुकिदह बजार झर्ने सपना देख्न थालिसकेका थिए ।

उता दिलबहादुरले मलेसियामा पसिना बेच्दै थियो । पिपलनेटाकै हर्के माइलाले खबर ल्यायो– “मस्तै नाम्रो काम छ दिलेको ! मज्जाले बसी बसी काम गर्ने हो । चाइनिज साहू हो, भसक्कै माया गर्च, हेर्नुस् रामे काका ।”

हर्केका कुरा सुनेर रामबहादुर मख्ख पर्छ, मयल कलेटी परेको टोपी मिलाउदै भन्छ– “हाम्ले गर्या धर्मको फल हो बाबू । जिन्नकीभर अर्कालाई पीर पार्न जानिएन, आज भग्मानले हेरे ।”

रामबहादुरले यति भन्दै गर्दा उता चमेली मुसुक्क हाँसी, हाँसोसँगै दुई कप चिया ल्यायर चमेली आइपुगी ! “कैल फर्कन्चौ हर्के ? जानेबेला खबर गरे है, अलिकति घिउ छ लग्देउला ।”

छोरो गएको एक महिना नपुग्दै घिउ पठाइदिने सोच चमेलीमा देखाप‍र्यो । हर्केले खबर गर्छु भन्यो, दुई जोईपोइ दिलबहादुरको मज्जाको काम बारे सुनेर मख्ख परे ।

दिलबहादुर पुगेको पैलो महिनामा अलि थोरै पैसा आइपुग्यो सुकिदह बजारको सहकारी बैङ्कमा ।

अनि खबर आयो– “लेबरको कर, रासन, फोनलगायतका खर्चले गर्दा यो मैना थोरै पैसा पठाको छ । अर्को महिनादेखि चालीसभन्दा माथि पैसा आउँच ।”

ठाँटिएर रामबहादुर सुकिदह झ‍र्यो । चमेलीले हिसाब गर्दै घर बसी ।

जिन्दगीभर अर्काको घरमा हली बसेको रामबहादुरले आफ्नो कमाइ भनेर हजारको नोट अहिलेसम्म समातेको थिएन । सात वर्ष अगाडि सरकारले कमैया मुक्तिको घोषणा गरेपछि सामान्य लेबर गरेर दैनिक तीन सय रुपैयाँ बुझ्थ्यो ।

एक दिन काममा नगए साँझ बिहान हात मुख जोर्नै समस्या । काममा नगएको दिन चेपे सोताबाट माछा मारेर चमेलीले सुकिदह बजारमा बेच्थिन अनि त्यसैले घर खर्च चलाउथिन् । अचम्मको सुखी थियो रामबहादुरको परिवार । साँझ बिहान के खाउँ, के लाऊँ भए पनि कहिले अँध्यारो छाएन उनीहरुको झुपडीमा । सधैँ हासेरै बस्थे तीनै जना ।

अब त झन् दिलबहादुर मलेसिया पुग्यो । हजार हजारका नोट घर भित्रिने दिन आएपछि खुशी नहुने कुरै भएन । बल्ल बल्ल अर्काको घरमा काम अनि ज्याला मजदुरी गरेर हुर्काको छोरोले अब सुख दिने सपना बुन्दै रामबहादुर र चमेली महिना पर्खिन थाले ।

हरेक महिना चालीस हजार आउन थालेपछि सुकिदह बजारमा रामबहादुरले एउटा घडेरीमा बैना लगाए । चार महिनाभित्रमा पास गर्ने सर्तमा घडेरी बैना लगाएपछि उनीहरु एक वर्षभित्रमा सुकिदह बजार बसाइँ सराइ गरेर उतै किराना पसल गर्ने सपना देख्न थाले ।

मुक्त कमैयालाई सरकारले दिएको खरबारी दिलबहादुरलाई मलेसिया पठाउँदा बेचेपछि ऐलानी जग्गामा बनेको झुप्रो भत्काएर सुकिदह बजार जाने रहरले चमेलीलाई झनै सताएको थियो । छिट्टै आफ्नो नाममा जग्गा आयो भने अहिलेको टहरो भत्कायर उतै सर्ने योजना बुन्दै बसे ।

एक्कासि दिलबहादुरले नियमित पैसा पठाउन छाड्यो । प्रत्येक महिनाको पाँच तारिखमा पैसा पठाउने दिलबहादुरले कहिले पठाउँदै नपठाउने त कहिले आधा मात्र पठाउन थाल्यो ।

आखिर किन यस्तो भयो भनेर चमेली र रामबहादुरले सोध्दा दिलबहादुरले भन्थ्यो “कमाई छैन । दुःख मात्र छ ।”

अर्काको देशमा दुःख गरेर बसेको छोरालाई पूर्ण विश्वास गरेर बाआमा बसेका थिए । तर उता दिलबहादुर हरेक महिना पैसा पठाउन बन्द गर्दै थियो । चाडपर्वको बेला मौकामा घर खर्चबाहेक अरु एक सुको नपठाउने ।

मलेसियाबाट गाउँ आउने हरेक व्यक्तिले भन्थे– “दिलेको काम पैलाको जस्तै हो । बरु आम्दानी अझ बढ्या छ ।”

यता बाआमालाई दिलबहादुरले भन्थ्यो– “काम पनि दुःखको छ । आम्दानीको त कुरै नगर्नु, अब क्यान्सिल आउने सोच्या छु ।”

तर न दिलबहादुर नेपाल फर्कन्थ्यो, न त पैला जस्तो पैसा पठाउथ्यो । बरु धेरै दुःख देखाउँथ्यो ।

सुकिदह बजारमा बैना लगाको जग्गाको भाका नाघेपछि जग्गावालाले जग्गा अरु कसैलाई बेचे ।

दिलबहादुरलाई यसले कुनै असर पारेन । बरु चमेली र रामबहादुर फेरि आँसुमा डुब्न थाले । छोराको दुःख एकातिर सम्झेर रुन्छन् भने अर्कोतिर बैना लगाको जग्गा गुमेको पीडामा रुन्छन् ।

एक वर्षको बिदामा फेरि हर्के गाउँ फर्कियो ।

हर्के आएको खबर चमेलीले पँधेरामा चाल पाई । पहिले पहिले गाउँका कुनै मान्छे छुट्टी आउँदा खाने कुरा र चिठ्ठी पठाउने दिलबहादुरले यो पटक हर्केको हातमा केही पठाएन । सामान नभएपछि हर्के चमेली र रामबहादुरलाई भेट्न नि आएन ।

एक दिन चमेली आफै हर्केको घर गई । हर्के भित्रबाट आएर पिँढीमा बस्दै भन्यो– “सामान केही थिएन, त्यसैले काकीलाई भेट्न पनि आइन ।”

उसलाई सामानको माया थिएन । छोराको हालखबर बुझ्न आत्तिदै सोधी– “दिलेलाई कस्तो छ भनेर बुझ्न आकि हुँ बाबु ?”

ऊ हल्का अनकनायो । आँसुले परेली भिजेका चमेलीका राता आँखामा आँखा जुधाउनै सकेन ।

“उसलाई सन्चै त छ नि ? काम ठिक छैन अनि कमाइ पनि छैन भन्दै थियो ।” चमेलीले चोर औँलाले भुइँ कोपर्दै हर्केलाई सोधी ।

हर्केले हिम्मत लिएर ठूलो सास फे‍र्यो, जुरुक्क उठ्यो अनि भन्यो– “कमाइ अझ बढी छ, काम अझ सुखको भएको छ ।”

चमेलीका आँखामा खुशीका आँसु देखिए । उसको अनुहार अझ चम्कियो । टाठिँदै सोधी– “अनि किन त्यस्तो भन्च तो हाम्लाई हँ ?” चमेलीले जान्न चाही ।

“उसले उतै बिहे गरेर बसेको छ !” हर्केको मुखबाट एकै पटक फुत्कियो ।

चमेली काली भई । उसका ओठ एकै पटक सुकेर फुस्रा भए । उसलाई रिँगाटा लागेजस्तो भयो । ऊ केही बोल्नै सकिन ।

“काकी ! उसले एउटी फिलिपिनी केटीलाई बिहे गरेर राखेको छ । कमाएको उतै सकिन्छ, अनि विभिन्न बहाना बनाउँछ ।” हर्केले सबै वास्तविकता बतायो ।

“गएको छ मैनादेखि उनीहरुको लभ थियो । सुरु सुरुमा घरको माया बढी गथ्र्यो, आजभोलि उसकै माया बढी गर्छ । तसैले तपाईंहरुलाई भुल्दै गएको छ ।” हर्केले निरास हुँदै बतायो ।

चमेली जुरुक्क उठी, हर्केसँग केही नबोली घरतिर लागी ।

घरमा छोराको बारेमा बुझ्न आतुर रामबहादुरसँग पनि नबोली कोठामा छिरी । दराजबाट दिलबहादुरको फोटो निकालेर थुक्दै भनी “तँ जस्ता कुलङ्गार सन्तान जन्माउनुभन्दा बरु मेरो कोख बाँझै भएको भए हुन्थ्यो । तेरा लागि बुहारी हामी खोज्थ्यौँ, हामीलाई रुवाएर परदेशमा मस्ती गर्न सकेछस् । मेरो आसुले सराप्नेछ ।”

रुँदै बरबराई रहेकी चमेलीका कुरा सबै रामबहदुरले बुझिहाल्यो । भक्कानिँदै बाहिर आयो अनि पिँढीमा बसेर फेरि रुन थाल्यो ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल