कविता : बोल्न छोरा बोल

कविता : बोल्न छोरा बोल

-धर्मिन्द्रा शाह
हो र छोरा ?
जिउँदै जलाए रे
तिम्रा साथी
हल्ला सुनेको
पल्ला घरमा
छोरा,
डिउटीमा खटिँदा
बन्दुक दिँदैनन् र बा ?
साथीको शिरमा
भाला रोपिँदा
साच्चै, टुलुटुलु हेरेर
किन बसिस् त बा ?
तिम्रा हाकिमले
बन्दुक दिएर
गोली दिएन कि
सबै दिएर
चलाउने अनुमती दिएन कि
हैन भने
जिउँदै, आगोले जल्दै गर्दा
आत्म रक्षाका लागि
आकासतर्फ बन्दुक किन
पड्काइनस त बा ?
छोरा,
अवस्था हेरेर
अश्रु ग्याँस हान्न
मिल्छ भन्थे त
त्यो दिन बोकेनौ र ?
अनि, आपतमा
हावाइ फायर गर्न मिल्छ
भन्ने पनि सुनेको
त्यो तिम्रो हातको बन्दुक
देखाउनलाई मात्र हो र ?
होइन भने
फायर किन
खोले नौ त बा ?
सुन्दै छु,
हिजो जिउँदै जलाउने
आज उन्मुक्ति पाउँदै छन् रे ?
ए छोरा, भनन
ती सबै निर्दोष हुन त बा ?
२४ वटा
गोली खेर जाँदा हुन
हावाइफायर गर्दा
के जान्थ्यो र बा ?
मन नपरे, २४ घण्टामा
हेडक्वाटर तान्थेँ होला
बढुवामा, ब्ल्याक हान्थँे होला
तर छोरा, साथीको
ज्यान त जोगिन्थ्यो कि बा ?
सान्चै, ए छोरा भन्न,
दूधे नातिको
दोष के थियो ?
छोरा, त्यो दिन सँगै थिइस् नि
भएको के हो ? भनी सोध्दा,
किन बोल्दैन्स् त बा ?
कि कानुनले
सत्य नबोल भन्छ ।
होइन भने
किन मुख खोल्दैन्स् त बा ?
फोनमा, ए छोरा
मलाई भेट्न आइजाभन्दा
सुरक्षा दिन खटिएको छु भन्थिस् त ।
साथी जिउदै जलाउँदा
त के हेर्दै बसिस् त बा ?

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल