कथा : प्रेमकथा–२ (ऊ अनि मेरो)

कथा : प्रेमकथा–२ (ऊ अनि मेरो)

-दीपक घिमिरे

ऊ हिँड्ने दिन आइहाल्यो । वर्षौं पछाडि भेटिएका हामीहरु दस दिनमै यति नजिक भएका थियौँ कि ऊ जाने दिन मलाई मेरै मृत्युको दिन जस्तो लाग्न थाल्यो । उसलाई रोक्न चाहेर पनि सक्दिनथे । किनकि उसको र मेरो बाटो अलग–अलग भइसकेको थियो ।
दोबाटोमा भेटिएका हामीहरु चौबाटोमा छुट्टिएपछि फेरि भेटिएको दोबाटोमा मिलेका थियौ । दुई हप्ताको मिलन पछाडि फेरि चौबाटो सुरु भयो ।
‘नजाऊ प्लिज !’ मैले यत्ति भन्न सक्थेँ ।
‘जीवनभर नाम दिएर पाल्न सक्छौ ?’ उसले छोटै प्रश्न तेस्र्याउँथी ।
उसको प्रश्नले म तर्सिन्थेँ । अनि कुरा मोड्थे ।
‘अब भुल्छ्यौ है ?’ मैले निरास भएर सोध्थेँ ।
‘जीवनमा आफूलाई भुल्न सक्छु तर तिम्लाई भुल्न सक्दिन ।’ उसको मीठो उत्तरले म आफैभित्र हराउँथे ।

फेसबुकमा स्टाटस पोस्टिन मन लाग्थ्यो– ‘फिलिङ लभ विथ माया !’ भनेर ।
तर सक्दिनँ, किनभने हाम्रा बाटाहरु अलग–अलग छन् । ऊ पूर्वको यात्रामा हिँडेकी यात्रु हो भने म पश्चिममा हिँडेको यात्रु ।
‘अब कहिले भेट्ने ?’ मैले सधैँ सोधेँ । सायद हाम्रा हरेक भेटमा पनि यही सोधेँ, हरेक च्याटमा पनि यही सोधेँ अनि हरेक पटकको कलमा पनि यही सोधेँ ।
‘मलाई के था !’ उसले सजिलो अनि छोटो उत्तर दिन्थी, हरेक पटक ।
म रिसाउँथे, गाली गर्थें । उसले सजिलै भन्थी– ‘तिमी रिसाउँदा अझ धेरै माया पाएको महसुस गर्छु ।’

दस दिनको मिलन मेरा लागि सपनामा स्वर्ग पुगेभन्दा मीठो लाग्दथ्यो । आँखा चिम्लन्थे तर निदाउन सक्थेन । निदाउँथे, सपनामा उसैलाई पाउँथे । गजबको साइनो लगाई उसले यी दस दिनमा ।
‘मलाई मायाले मोहनी त लगाइन् ?’ आफैले आफैलाई प्रश्न गरे ।
सुनेको थिए, मोहनी मन्त्र फुकेर दिएको केही खायो भने मोहनी लाग्छ रे । मोहनी लाग्यो भने छुट्टिन निक्कै गारो हुन्छ रे । मलाई त्यस्तै भएको थियो । ऊ काठमाडौँ फर्कने दिन मेरा लागि मृत्युको दिन जस्तै लाग्दैछ ! मैले अघि नै भनिसकेँ ।
ऊ जाँदैछे, फिक्स थाहा छ, ऊ जाँदैछे । जानैपर्छ उसलाई तर पनि रोक्दैछु । ‘प्लिज नजाऊ !’
ऊ हाँस्दै फेरि भन्छे– ‘आई हाल्छु फेरि भेट्न, तर यो पटक जानैपर्छ प्लिज ।’
ऊसँगका पल फेरि सम्झन लायक बनाएँ । हिजो पन्ध्र वर्ष अगाडि म जति तड्पिन्थेँ उसका लागि, आज त्यति नै तड्पिन्छु उसका लागि । तर हिजोको तडपाईं र आजको तडपाइमा फरक छ । हिजो म एक्लै तड्पिन्थेँ । आज ऊ अनि म दुवै तड्पिन्छौँ ।

‘तिमी बिहे गर्छऊ अब ?’ ऊसँगको अन्तिम भेटमा मैले सोध्दिन भन्दाभन्दै सोधेको एउटा प्रश्न । किनकि उसले बिहे नगरोस् भन्ने मेरो चाहना हो । म ऊबाट टाढा हुन चाहँदिन, बिहे गरी भने अवश्य टाढिनुपर्छ । उसको भविश्यका लागि ।
‘हेरौँ ! कस्तो हुन्छ ।’ उसले सजिलै गर्दिनँ भन्न सकिन । तर मेरो मन दुख्ने गरी गर्छु पनि भन्न सकिनँ । मनमनै धन्यवाद दिए । किनकि उसले बिहे नगर्न पनि सक्छे ।
उसलाई पाएपछि मेरो दैनिकी बदलिएको छ । ‘खुबै खुशी देखिन्छस् नि, कारण के हो ?’ अस्ति मदनले सोध्यो ।

‘फल इन लभ यार दोस्त !’ यस्तै जवाफ दिएर किच्च हाँस्न मन थियो । तर सक्दैन । उमेरले नेटो काटिसकेपछि केही कुरा लुकाउनुपर्दो रहेछ । माया–पिरतीका मीठा कुरा पनि लुकाइदिएँ ।
उसलाई पनि मलाई जस्तै पर्दो रहेछ । ‘तिमीसँगका मीठा पल, मिठा डेट अनि भएका अझ मीठा गफ कोसँग सेयर गरुँ ? कसैलाई नभनी कसरी बसूँ ?’ मायाले अस्तिको डेटमा यही प्रश्न गरेर मलाई हसाई । ऊ मुस्कुराई मात्र ।
साँच्चै म पनि मनको कुरा एउटालाई नभनी रहनै सक्दिनँ । मदनलाई भन्न नसकेको मेरो खुशी सन्दीपलाई भनेको छु । तर ऊ अचम्म परेन । सायद बुढ्यौलीमा बैँस आएको उसलाई मन परेन ।
‘मेरो र मायाको घाग्रान लभ परेको छ दाजी, चाल पाइस् ?’ सजिलोसँग उसलाई माया–पिरती सेयर गरेको थिएँ तर उसले कुनै प्रतिक्रियाबिनै भन्यो– ‘लौ बधाई छ ।’

म हजारौँ गफ मायाका नाममा गर्ने मुडमा छु, ऊ भने लौ बधाई छ भनेर पन्छियो । अरु धेरै कुरा भने माया र मेरो लभस्टोरीको बारेमा तर उसले कुनै महत्व दिएन । मोबाइलमा तीनपत्ति खेल्दै पैसा कमाइरह्यो । म भट्याइरहे हाम्रो प्रेमकथा ।
फेरि उसको गाउँ मेरा लागि स्वर्गभन्दा सुन्दर लाग्न थालेको थियो, उसको परिवार मेरो आफ्नै परिवार लाग्न थालेको थियो । म फेरि उसको प्रेममा चुर्लुम्म डुब्न थालिसकेको थिएँ । एक्कासि ऊ जाने दिन आइहाल्यो ।
उसलाई अँगालोमा बेरेर रुन बाँकी थियो, उसलाई चुम्न बाँकी थियो । उबेला गरेको इग्नोर सम्झेर लुछ्न बाँकी थियो । सबैभन्दा धेरै उसलाई मेरो मायामा चुर्लुम्म डुबाउन मन थियो । धेरै सपनाहरु बाँकी हुँदै उसले अन्तिम भेटमा भनी ‘फेरि दाङ आउँदा भेट्छु ल !’

मन निराश थियो, आँखा रसाउन खोज्दै थिए तर नजाऊ भन्ने हिम्मत थिएन, किनभने जीवनभर साथ दिन सके पनि जीवनसाथी बन्न सक्दैनथे । उसलाई जीवनसाथी चाहिएको थियो ।
ऊ सँगका हरेक भेट मेरा लागि सपनाजस्तै लाग्थे । उसलाई भेटेपछि नछुट्टिँदासम्म म सपनामै हुन्थे अनि छुट्टिएपछि झल्यास्स ब्युतन्थे । अनि एक घण्टा जति निराश हुन्थे ।

हामीले अनेकौँ बाचा गर्यौँ, अनेकौँ कसम खायौँ । जीवनभर असलमित्र बन्ने भनेर । तर मलाई कता–कता डर लाग्थ्यो । जति वाचा गरे पनि, जति कसम खाए पनि ऊ फेरि बदलिन्छे भन्ने ठूलो डर थियो मलाई ।
अरुण थापाको– ‘जति माया लाए पनि, जति कसम खाए पनि !’ भन्ने गीतले मलाई झनै झस्क्याउँथ्यो । उसलाई सयौँपटक कसम ख्वाएको छु, हजारौँ पटक आई लभ यु भनेर आफ्नो भएको फिल गराएको छु तै पनि मलाई डर लाग्छ उसले भुल्छ भनेर ।

जीवन अनवरत चलिरहँदा ऊ भेटिनु, गाढा माया–पिरतीमा हामी दुई फस्नु अनि फेरि नचाहेरै उसलाई बिदा गर्नु मेरा लागि संयोग मात्र थिएनन् । मेरा सपना थिए, जो सुस्त–सुस्त साकार हुँदै थिए । ऊ पनि भन्थी– ‘प्रेम गर्ने उमेरमा तिम्रो माया बुझ्न सकिनँ, अहिले छुट्टिनै नसक्ने माया लाग्दैछ ।’

अधुरो प्रेमले फेरि नयाँ मोड लिँदै थियो, ऊसँग प्रेमको नयाँ अध्याय सुरु हुँदै थियो । हाम्रो प्रेमकथामा नयाँ भाग सुरु हुँदै थियो । छोटो बिदा सकेर उसले बिदाइको हात हल्लाउने दिन आइहाल्यो । मसँगको प्रेममा फस्दै गरेकी उसले मनैदेखि भनी– ‘म टाढा जाँदैछु तर मेरो मन तिमीसँगै छ । छिट्टै भेट्ने आशा लिएकी छु, हाँस्दै बिदा देऊ !’ यति भन्दै गर्दा ऊ हल्का निरास थिई ।
‘आई लभ यु अनि मिस यु फरेभर !’ यत्ति भनेर उसलाई बाई–बाईको हात हल्लाइदिएँ ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल