कविता : म बूढो भैसकेको छु

कविता : म बूढो भैसकेको छु

-अनिल सुवेदी
त्यही आँगनमा बसेर
कति हेर्ने पुरानै आकाश
के देख्नु रुझेको दिमागले भविष्य
के बुझ्नु दुखेको मनले प्रेमको भाषा
के हेर्नु बासी आँखाले नयाँ संसार

पुरानो तस्बिर सुम्सुम्याउँदै
म सक्दिन अब रात कटाउन
कति देखाउँछ्यौ चुँडिएका बैँसफूलहरु
कति सुघाउँछ्यौ सुकेको गुलाब
कति सम्झनु तिम्रा स्वार्थी सपना

अब दुख्दैन बूढो मुटु
अब रुँदैनन् कमजोर आँखा
र अब म केही गर्न सक्दिनँ
किनभने म बूढो भैसकेको छु

फर्क अब, अब नहेर मलाई
म अब तिम्लाई सुँघ्न सक्दिन

जाऊ अब नआऊ सम्झाउन मलाई
म तिम्रो उधारो प्रेमी बन्न सक्दिन

-कुस्मा न.पा.–१०, पर्वत

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल