कथा : प्रेमकथा–उ अनि मेरो !

कथा : प्रेमकथा–उ अनि मेरो !

दीपक घिमिरे
माया भन्ने चिजै गजबको । कुनै एउटीलाई मनमा सजाइयो भने उसको गाउँ, बाआमा, उसका आफन्त, उसको समाज सबै आफ्नै लाग्ने । उसका हरेक पक्ष मन पर्ने ।
ठ्याक्कै त्यस्तै भएको थियो त्यो बेला । म उसको प्रेममा यसरी फसेको थिएँ कि उसको घर जाने बाटोलाई स्वर्ग जाने बाटो सम्झन्थे । उसको गाउँलाई स्वर्गको एउटा टुक्रा अनि उसलाई स्वर्गकी परी ।
उसको गाउँ जाने गाडीलाई देख्दा होस् या उसको गाउँबाट आएका मान्छेलाई होस् । म नियालिरहन्थे । सबैमा उसैलाई पाउँथे । अचम्म पर्छु आज, किन यति फिदा थिए म उसको मायामा ?
उसको नामसँग मेल खाने हरेक बस्तुमा मेरो अधिकार छ झै लाग्दथ्यो । अचम्मको थियो अबस्था । माया शब्द मिसिएका हरेक गीत मेरै लागी बने जस्तो फिल हुन्थ्यो । जहाँ माया भन्ने शब्द भेटाउँथे, त्यहाँ म रुक्थे अनि मख्ख पर्थे कारण मेरै लागि लेखिएको सम्झन्थे । म मायाको मायामा फिदा थिए ।
यो जवानीको कथा हो । जवानीमा दुई खुट्टाले उभिएकी भए पुग्छ भन्ने उखानलाई माथ दिँदै मैले स्वर्गकी परीभन्दा अझ सुन्दरीलाई माया गर्थे तर अफसोच, कहिले लभ परेन । सयौ लेटर पठाए, हजारौ आइलभयुका पोका पठाए । उनी आउने बाटोमा पचासौ पटक कुरेर बसे । तर अहँ ! कहिले लभ परेन । लभ धेरै टाढाको कुरा, उसलाई मेरो नामसम्म थाहा भएन रे ।
जवानीमा आफू सुहाउँदो केटीलाई मन पराइन्थ्यो, प्रपोज गरिन्थ्यो । हाम्रो पालामा केटी पट्याउने भनिन्थ्यो । खुबै कोसिस गरियो मायालाई पट्याउन तर सकिन । लाखौ कोसिस खेर गए । हजारौ आइलभयुका पोका ब्यर्थ भए ।
समय परिवर्तनशील छ । मान्छेहरु समाज बदलियो भन्छन् । म चै समाज हैन समय बदलियो भन्छु । बदलिएको समाजसँगै हामी टाढियौ । हरायौ दुनियाँमा, को कहाँ को कहाँ जस्तै भएर ।
म भगवानप्रति आस्था राख्दिन तर पनि हरेक पटक मन्दिर देख्नासाथ मायालाई माग्थे । बुढासुब्बा मन्दिरको बाँसमा, बिन्दबासिनी मन्दिरको घण्टमा, सुपादेउराली मन्दिरको ढोकामा जहाँ पनि म मायाको नाम लेख्थे । मलाई भरोसा त थिएन ती भगवानप्रति तर आस्थालाई समाजले माने अनुसार मैले पनि केही आशा गरे भगवानबाट अनि आस्था राखेरै मागे भगवानसँग ।
परिवर्तित समयसँगै हराएका हामी हराइरह्यौं । बिकसित समाजमा फेसबुक आयो, दुनियाभरका मान्छेलाई भेटाए तर मायालाई भेटाएन । फेसबुक सर्चमा कहिले नेपाली अक्षर हालेर खोजे, कहिले मेचुवल फ्रेण्ड लिस्टमा खोजे तर भेटिन । कर्ममा माया लेखेको थिएन त्यसैले पनि भेटिन ।
सुनेको थिए उसको उतिबेलै बिहे भयो, जतिबेला मैले मन पराउँथे । तर पनि म पछि लाग्न छाडेन, पछ्याउन छाडेन । अन्ततः हार खाएर थन्किए आफ्नै समाजको एउटा कुनामा ।
समय आयो, उमेर पुग्यो अनि मैले पनि बिहे गरे । म मेरो संसारमा रमाउन थाले । तर खोज्न छाडेन । उसको गाउँको त्यति माया लाग्थ्यो जति त्यो बेला लाग्थ्यो । उसको घरको त्यति माया लाग्थ्यो जति त्यो बेला लाग्थ्यो । साँच्चै भन्दा उसको नामै काफी थियो मेरा लागि । माया भन्ने नामै मायालु ।
आफ्नै संसारमा हराइरहँदा पनि मैले दैनिक फेसबुकमा मायालाई खोजे । दिनमा एकपटक सर्च गरे । भेटाउने कुरै भएन । मैले खोज्न छाडेन ।
एक दिन सधै जसो बिहान भयो, सधै जसो पूर्बबाट सूर्य उदायो । सधै जसो म उठेर फेसबुक चलाए । अनि पहिलो सर्च मायाको नाममा गरे । भेटाउछु कि भनेर ।
लामो कपाल, आधा अनुहार कपालले ढाकेकी हल्का नक्कल पारेकी एउटी मायाकै नाममा भेटिई । मैले प्रोफाईल खोले, हेरे ।
यो त्यै माया थिई, जसका लागि म १५ बर्षदेखि तडपिँदै आएको थिए । हिजो प्रेमीको रुपमा तडपिएको थिए भने आजभोलि अतितको यादमा तडपिन्थे । कुनै जमानामा फिदा थिए मायाप्रति भन्ने यादले पनि मलाई हसाउँथ्यो । पाउन नसकेको मायाका बारेमा सयौं कथा लेखे । तर आज फेसबुकमा उसलाई पाउँदा ती सबै कथा डिलेट गर्देउ झै लाग्यो । उसलाई कतिबेला हेल्लो भनेर बोलाउ झै लाग्यो अनि फ्रेन रिक्वेस्ट सेण्ड गरेसँगै म्यासेज पनि गर्दिए, उसको ध्यान तान्न ।
हामी फेसबुकमा साथी भयौं, गफ शुरु भए । उतिबेलाको माया र अहिलेको मायामा आकास–जमिनको फरक थियो । उतिबेला लजालु माया यतिबेलासम्म आइपुग्दा निक्कै चलाख भैसकेको जस्तो लाग्यो । उसका हरेक फोटोले यही बतायो ।
गाली गरे, श्राप दिए । मेरो प्रेमको अबमूल्यन गरेका कारण रिसाए पनि । तर अब यी सबै ब्यर्थ थिए । किनभने हामी एक नदीका दुईटा किनार भैसकेका थियौ ।
म बिबाहित थिए । घरमा माया गर्ने बुढी अनि छोरो थियो । उनको आफ्नै समाज थियो । आफ्नै सपना । तर पनि च्याटबाटै भन्दिए ‘आइलभयु माया !’
उनले बिना संकोच रिप्लाई गरिन्– ‘लभ यु टू दीपक !’
अब मैले आफूलाई भाग्यमानी ठानौ कि अभागी ?
यही प्रश्नले तीन दिनसम्म मलाई खेलायो । भाग्यमानी ठानौ मायालाई पाउन सकेन । अभागी ठानौ एकपटक मायाको मुखबाट ‘लभ यु टू !’ सुन्न पाएँ ।
भाग्यमानी त पक्कै होइन म । किन भने दुई बर्षसम्म मायाका लागि रोए, मायाको गल्ली धाएँ । मायाकै आशामा जिएँ तर सबै ब्यर्थ भए । अभागी पनि त हैन नि । जीवन रहँदै मायाको माया पाए । मन दोधारे बनाउँदै भेटने प्रपोज गरे ।
आइलभयुका प्रपोज तीन दिनमै हजारौ पठाए । माया आतिन्थिन अनि भन्थिन्– ‘कति सस्तो भएको यो आइलभयु को शब्द ?’
मैले सजिलै भन्थे– ‘१५ बर्षदेखि भन्न नपाएका लाखौ आइलभयुलाई मनमा गुम्स्याएर राखेको छु । अब हरेक दिन हजारौंको संख्यामा भनेर कटाउँछु ।’
उनी हास्थिन । म पनि हाँस्थे । सायद पिरतीले कहिले हसाउँछ, कहिले रुवाउँछ भन्या यै होला ।
भुलिसकेको थिए मायाको अनुहार । मलाई याद यति मात्र थियो कि, उसको लामो कपाल छ । अगाडि दुईवटा दात निक्कै राम्रा थिए । बाहुनको जस्तो चुच्चे नाक थियो । अनि बोल्दै नबोल्ने बानी थियो । अहिले सबै उस्तै होलाकी, फेरिएको होला ?
मनमा कौतुहलता ज्यादै थियो । कस्ती होली माया ? १५ बर्ष पछाडि पनि उस्तै होली कि फेरिएकी होली ?
पक्कै दाँत उस्तै होलान्, कपाल काटेकी होली, नाक उस्तै होला, अलि बढी बोल्ने भएकी होली । मनमा यस्तै कुराले परेड खेल्न थाले अनि उसलाई भेट्न निस्किए ।
ठ्याक्कै उस्तै थिई, माया । बरु म फेरिएको थिए । बूढो भएको थिए तर उ अझै उस्तै । पाउन नसकेको मायालाई सम्झेर आँखा रसाए । उसले चाल नपाउने गरी आँसु पुछे । मनमा अनेकौ कुरा खेल्दै थिए तर बोल्ने आँट ममा थिएन । म नर्भस थिए । ऊ हसिलो अनुहारमा बोल्दै गै । म चाहन्थे ऊ बोलिरहोस् । म उसलाई हेरेर घण्टौ बस्न चाहन्थे । उसले बोलेको सुनेरै म निदाउन चाहन्थे ।
उसलाई अंगालोमा बेरेर रुन मन थियो, उसलाई चुम्न मन थियो । उसलाई पिट्न मन थियो, उसलाई कोपर्न मन थियो । तर सक्दिनथे किनकी हामी आकासको फल आँखा तरी मर भन्ने उखानसँग मिल्ने प्रेमिल जोडी बनिसकेका थियौ । अब चाहेर पनि एक अर्कामा बाधिन सक्दैनौ भन्ने राम्रोसँग थाहा थियो ।
उसलाई पनि पछुतो हुनुपर्छ सायद हाम्रो मिलन हुन नसक्नुमा । मलाई झन धेरै पछुतो थियो । तर अब पछुताएर के फाइदा । भगवानको मन्दिरलाई देखाउँदै भने ‘त्यो भगवानको कसम खाएर भन्न सक्छ्यौ आइलभयु भनेर ?’
उसले बिना हिच्किचाहट भनी–
‘आइलभ यु दीपक ।’

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल