कविता : आँखा र सपना

कविता : आँखा र सपना

-इ. राकेश कार्की

फेरि मैले आज सपना देखेँ
आँखाहरु न हुन् सजाएर राखेछन्

समुन्द्रमा ठूलो पानीजहाज
ओर्लिएपछि
छोडिजान्छ पर पर
आँखाबाट ओझेल नहुन्जेलसम्म

कहिलेकाहीँ आइदिन्छन्
त्यो पनि सपनीमा
आँखाहरु त हुन्
क्यामेराको पिक्सेल र मेमोरीजस्तो
सधैँभरिलाई क्याप्चर गरेर राख्छ

त्यस्तै हो रेल पनि
हवाइजहाज पनि
छोडिजान्छ परपर
आँखाबाट ओझेल नहुन्जेलसम्म

सँगैसँगैका रमाइला साथहरु पनि
कोही पढ्न भनेर
कोही लड्न भनेर
कोही कमाउन
कोही मन बुझाउन
जान्छन् परपर
आँखाबाट ओझेल भएर
अन्तै कतै
अर्कै ठाउँमा

तर आइदिन्छ बेलाबेलामा
सपनी बनेर
उनीहरुसँगको
रमाइला क्षणहरु

कोही फर्की आउँछन् फेरि
प्रत्यक्ष आँखाको सामुन्ने

तर कोही केवल
सजिरहन्छन् आँखामा
सपना बनेर
फेरि फेरि देखिनलाई

-लस एन्जेलस

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल