व्यङ्ग्य : बुद्धिविहीन पढैयाहरु

व्यङ्ग्य : बुद्धिविहीन पढैयाहरु

-डा. किशोर अधिकरी

“खाली पढ पढ भनेर कराउनु हुन्छ तपाईं । जिरौना चोकदेखि माथि सिमन्टी साहूको घरसम्म घुमेर हेर्नुस् त कति जना पढेकाले के–के गरेका छन् । अनि प्लुस् टु पनि क्लियर गर्न नसकेकाले के–के गरेका छन् ।” पल्ला घरको फुच्चेले एक सासमा उसकी आमालाई जवाफ लगाएर आफ्नो बाटो ततायो । तर फुच्चेका एकएक कुराले धनुसको वाण जस्तै मेरो मुटुमा घोच्न थाल्यो । गाउँभरिका पढेलेखेका र पढ्न नसकेर बीचमा छोडेर बसेकाको चित्र घुम्न थाले । हो त, साँच्चिकै पढेकाले त केही पनि लछारपाटो लगाएका छैनन् त । सुदीप सर, जङग सर, कुवेर, भक्तमान, सुरवीर काका, भरत वकिल, हेल्थपोस्ट प्रमुख दयानन्द, शङ्कर सर, कुमोद सर, सुवेदी सर– यिनै त हुन् हाम्रा गाउँका पढेलेखेका बुद्धिजीवी माहानुभावहरु । सबैको हालत दयालाग्दो पो छ त गाँठे । आधाभन्दा बेसी त अझै साइकल् पेलेरै ९–५ डिउटी गर्दैछन् त बा । बाँकी पढैयामध्ये पनि धेरैजसोको मोटरसाइकलले कालो धुवा फाल्न सुरु गरेको यै खोबिल्टोभित्र दबेका आँखाले धेरैपटक देखेकै हो ।

खुइलिएर लगभग बोक्रा निकालेको लिच्चीजस्तै भएको मेरो टाउकाभित्रका डेढ केजी गिदी गँडेउला जस्तै सल्बलाउन थाले । ओहो झन्डै बिर्सेको म पनि त गाउँको पढेलेखेकाहरुको ग्रुपमा पर्ने मान्छे हो त साँच्चै । राष्ट्रपतिको हातबाट विद्याभुषण अवार्ड थापेको सम्झनाले क्षणभर तरङ्गित भएको मेरो मनमा अनाएसै आफ्नो धरातल छताछुल्ल भएर पोखियो । दुई सालअघिको भूकम्पले चारैतिर चर्किएको घर, बच्चाहरुको स्कुल फी तिर्नलाई स्कुलबाट आएको ताकेता । बिहे व्रतवन्धमा बाध्यातावस लगाउनु परेको आफ्नै बिहेको इस्टकोट आफ्नो आर्थिक अवस्था भर्खरै सम्झेका साथीभाइको भन्दा कति पनि फरक नभएको पाउँदा चिनी नहालेको साँधेको निबुआ चपाएको जस्तरी मनै अमिलो भएर आयो ।

हैसियत नभएका पाजीलाई कसले गन्छ ? तीर्थ सरले सुनाउनुभाको आफ्नै जीवनमा घटेको घटना याद आयो । बाटोको छेउमा एउटा केटो आची गर्दै रै’छ । उता बाट कोही आउँदै गरेको देखेर उठेछ रे । केहीबेर कट्टुमाथि सार्दै उभिएको केटो ‘मान्छे आयो भनेर उठेको त मास्टर पो रैछ’ भनेर भुत्भुताउँदै फेरि कट्टु खोलेर सरकै अगाडि निर्लज्ज बसेछ रे । धिक्कार यो जिन्दगी ।
भरत वकिल पनि त आफ्नै प्राइभेट फाराम खोलेर बसेका १५ वर्ष जति भयो क्यरे । केही लछार्पाटो लाका छैनन् । न त सकारी जागिरे स्वस्थचौकी प्रमुख दयानन्दले नै समाजमा सम्पन्न परिवारको छवि देखाउन सक्याछन् । आफ्नै सानोतिनो बिजिनेस् सम्हालेर बसेका थुप्रै स्वनिर्भर स्वावलम्बी बेवकुफहरु दालभात तरकारीको जोहोमा व्यास्त भाको देख्दा चैँ मै मात्र मूर्ख र विवेकहीन प्राणी होइन रैछु भन्नेमा छर्लङ्ग भाको छु । रोटी पकाउन बसालेर तातेको तावा जस्तो मेरो टाउकामा बरफ राखेको जस्तो शीतलताको आभास भयो । हो त, म १०, ५ जागिरेभन्दा त कैयौँ गुणा ती प्रणीहरु बेवकुफ् जो २४ घन्टा मा २० घन्टा खट्टियाछन् र पनि केही पनि लछरपाटो लाउन सक्या छैनन् ।

गरी खाका चैँ को हो त यो गाउँमा ? मेरा गडेउँले गिदी फेरि सल्बलायो । मेरा अन्तरमनका आँखाहरु १२० प्रतिकिलो मिटरको गतिमा पुन जिरौना चोकदेखि सिमन्टीसाहुको घरसम्म कुदियो । हैट् ! अचम्ममा तब परेँ, जब पल्लोघरको फुच्चेको कुरामा १०० प्रतिशत सत्यता भेट्टाएँ । गाउँका सम्भ्रान्त, खातेपिते, हैसियतवान, समाजले भद्रभलादमी गनिएकाहरु त जीजीएम्एस्– ‘घसिट घसिट के म्यट्रिक पास’ पो रैछन त गाँठे । अझ बेसी अचम्ममा त तब परँे जब यी सम्भ्रान्त व्याक्तित्वहरु काम चैँ के गर्दारैछन् त भनेर निष्कर्ष निकाले । अचम्म ! अविस्वासनीय, यी गाउँभरिका हुनेखाने, भद्रहरुमध्ये ९० प्रतिशतको कुनै काम नै देखिन मैले । मैले नदेखेको हो, बा मैले नबुझेको हो ठम्याउ नै सकिनँ ।

पोष्टबहादुरजी, रमेश बाबु, होम प्रसादजीलगायत मैले सम्झिएका जति हुनेखानेहरु, समाजमा प्रतिष्ठा कमाएकाहरु किराना पसलमा कन्डोम उपलब्ध भएजस्तै दिन को १२ घन्टामा ९ घन्टा त चोकमा भएको डल्लीको चिया पसलमा उपलबध हुन्छन् । अनि काम चैँ के गर्छन् र कैले गर्न भ्याउँछन् भन्नेकुरा विश्वको आठौँ आश्चर्य बनेर मेरो गिदीमा तेर्सियो ।

झन्डै गिदीलाई पाँच बिसे तापक्रममा तताएपछि मैले कर्मकाण्ड सकेर घर आएका बाजेका पोका बजैले फुकाएजस्तै यी महानुभावहरुको एक–एक वास्तविकता फुकाउन सफल भए । यो वर्गका मान्छेहरु काम गर्दारैनछन् । किनकि यिनीलाई काम गर्नै पर्नेरैनछ । तर यिनीहरुमा एउटा अद्भूत कला हुँदोरहेछ । जो आम मानिसमा हुँदैन त्यो हो गफ कला । हिउँदमा पनि मुसलधारे पानी पार्न सक्ने तथा मरेकालाई पनि ब्युताउन सक्ने थुतुने कला भएपछि काम जाबो त वर्षको एकपल्ट छ्यास्स गर्दिएपछि हामी जस्ता ९, ५ घोटिने का ३ वर्षको कमाइ त घर खोज्दै दैलोमा नै आउने पो रहिछ त गाँठे । बल्ल पो मेरो ट्युबलाइट गिदीमा बत्ति बल्यो पोस्ट बहादुरको टक्सन गाडी २०६५ ताकाको जग्गा दलाली । माफ गर्नुहोला, आजकल त माटो व्यापरी भछन् क्यारे, माटो ब्यापारको नतिजा पो रहिछ ।

रमेश बाबुको आलिसान घरहरु र चोकैपिच्छेका घडेरीहरुको पछाडि उनको खोइ के हो गोप्य कम्पनीको नतिजा पो रैछ त, महिलाहरुको स्तरोन्नति गर्छन् रे उनी विदेश पठाएर । एक लटलाई स्तरोन्नति गरिदिएपछि ५ वर्षलाई गफ गरेकै भरमा तडक्भडकका साथ जिन्दगी बित्छ रे । अनि किन पढ्नुपर्यो, किन काम गर्नुपर्यो ? बरु यस्तो राम्रो काम गर्ने मान्छे किन हल्ला नगरिकन काम नभाको जस्तो देखिएर हल्लिएर बसेका हुन् त्यो चैँ अझै बुझ्न सक्यछैन । रमेश बाबु ! खोइ कुनि कुन पार्टीका मसहुर नेताका दाइने हात रे । अनि मजस्ता बुद्धुहरु चैँ रमेशबाबु जस्ता मान्छेलाई काम नभाको भनेर तथानाम सोचिराको । धत् म पनि, राजनीतिमा पहुँच भाकाले नि काम गर्छन् त । काम गर्नथाल्यो भने गफ चैँ कसले गर्दिने अनि गफ नगरी, आकास झार्ने कुरा नगरी कसरी राजनीति गर्ने अनि कसरी राजनेता हुने ?

यी सबै प्रकारका पढ्नु पनि नपर्ने काम गर्न पनि नपर्ने, राजनीति गर्ने, दलाली गर्ने, दुई नम्बरी काम गर्ने तर यही गफ चातुर्यता भएका जीजीएम्यस्हरुका बीचमा नङ र मासुको जस्तो सम्बन्ध हुँदोरहेछ, अझ भनौँ कलीयुगिन चोर र पुलिसको जस्तो । दिउँसो एउटा भागेको जस्तो गर्ने आर्को चैँ लखेटेको जस्तो गर्ने । अनि राति एउटै भट्टीमा बाँडीचुँडी मस्ति गर्ने । अझ भन्नुपर्दा यिनीहरुको सम्बन्ध चौथीमा काँक्रो चोर्ने ठिटाहरुको जस्तो सीधासाधालाई त आँखा झिमिक्क गर्दा थाङ्नामा सुताइभ्याउने । एउटा स्कुले ठिटाले आफ्नो बाबुको ल्याङल्याङले दिक्क लागेर अर्को साथीलाइ भनेछ रे– “मेरो बाउलाइ पिट्दे न यार, तेरो बाउलाई नि परेको बेलामा म ठोक्दिन्छु नि ।” हो यस्तै गज्जबको सम्बन्ध, अन्योन्याश्रित सम्बन्ध । दलाललाई चाहिएको बेलामा नेता तयार, नेतालाई चाहिएका बेलामा सय पचास लठैतसहित दले तयार, कालो बजारियालाई चाहिँदा नेता तयार । कस्तो राम्रो लोभैलाग्दो समागम ।

मेरो घैँटोमा बल्ल घाम लाग्यो । जब मैले थाहा पाएँ, किन यो समाज मेरो कुरा सुन्नै खोज्दैन । मसँग र मजस्ता पढेलेखेका बज्रस्वाँठसँग किन सल्लाह सुझाव लिन चरोमुसो आउँदैन । नाथे आफ्नो बूढीको एकसरो टालो त फेर्न हजार पल्ट सोच्नुपर्ने गतिछाडाले के अर्कालाई उपदेश दिनु, को उपदेश सुन्न आउनु । एसएलसी पास भएपछि जिन्दगीमा पहिलोपटक सिनेमा हेर्दा ‘हम् जहा खडा होते है लाइन ओही से सुरु होता है’ भन्ने डाइलग सुनेको थिएँ आज बल्ल बुझ्दै छु, यिनै माहानुभाबहरुको अघिपछिको भीड देखेर ।

पल्लाघरे फुच्चेलाई मुरीमुरी धन्यवाद टक्र्याउँदैछु, जसले मेरो औकातको महसुस गरायो । मैले अब बुझिसकेँ, म र मजस्ता बेबकुफहरु किन यो समाजमा पछाडि हुनपुगे । यो देशमा जसले केही गरेको छ, त्यो त्येसैमा व्यस्त छ, ऊ महिनाको १५ दिन पैसा कसरी जोगाउने र महिनाभरि पुरयाउने भन्ने चिन्तामा बिताउँछ, अनि बाँकी १५ दिन कोसँग माग्ने र गर्जो टार्ने भन्नेमै बिताउँछ ।

तर जसले केही गरेको छैन, त्येसैले नै धेरै गरेको छ । संसार जितेको छ, जिन्दगीलाई लोभैलाग्दोगरी जिएको छ । त्येसैले आजकल म पनि परम्परागत पेसालाई नाकै लछ्छारिने जत्रो ल्वोप्पा खुवाउँदै काम गर्न नपर्ने वाला काम खोज्दै छु ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल