आमालाई चिठी

आमालाई चिठी

-झलक पौडेल

प्यारी आमा !
आमा, आज दम अनि दन्तरोग सम्बन्ध बारे लेखेको स्वास्थ्यमूलक लेख मेरो फोटोसहित प्रकाशित भयो नि । मलाई त्यो देख्दा खुशी लागेर आयो । तर कताकता दुख्ख पनि लाग्यो । किनभने केही सफलता प्राप्त गर्दा फोन गरेर सबभन्दा पहिला सुनाउने अनि त्यो मेरो खुशी देखेर मुस्कुराउँदै चम्किला आँखासहित मलाई स्याबासी दिँदै मभन्दा खुशी हुने तपाईं मसँग हुनुहुने थिएन ।
दमबाट ग्रसित तपाईंले मलाई सधैँ भन्नुहुन्थ्यो– “छोरो मेरो दाँत अनि गिजा पनि दुखिराको छ । अनि छेउपट्टिको दाँत पनि हल्लिएको छ । दम भएको आमालाई त्यति बेला किन दाँत र गिजा दुख्यो मलाई के थाहा ? म टुलुटुलु हेर्दै बस्थेँ । न त मैले दुखाइ कम गर्न केही गर्न सकेँ, न दमको कारणले दात दुख्यो भन्ने भेउ नै पाएँ । आज तपाईंको छोरो तपाईंको आशीर्वादले त्यो स्थानमा पुगेको छ । जसले दमको कारणले छाती मात्र होइन, दाँतको रोग पनि लागेर दाँत दुख्न सक्छ भन्ने थाहा पाएको छ । आज सायद तपाईं भएको भएको मैले गर्वका साथ भन्न सक्थेँ हुँला ‘आमा तपाईंको छोरोलाई थाहा भयो नि, तपाईंको दाँत दुख्नुको कारण । “त्यति बेला तपाईं हुनुहुन्थ्यो तर मलाई थाहा थिएन, आज मलाई थाहा छ तर तपाईं हुनुहुन्न । कस्तो विडम्बना आमा । आज तपाईं भएको भए तपाईंको अघि म जान्ने पल्टेर तपाईंले दाँतको बढी ख्याल गर्नुपर्छ क्या भन्दै दाँत माझ्दिन्थे हुँला । अनि तपाईंको हात समाउँदै आमा दाँत बझ्दा ब्रस ४५ डिग्रीमा राखेर घुमाउनुपर्छ ल भनेर बच्चालाई सिकाएसरी सिकाउँथे हँुला । तपाईं सानोमा मलाई ताते गर्दै हिँड्न सिकाको याद गर्दै मैले भनेको ज्ञानी बालकजस्तै मानुहुन्थ्यो होला हगि आमा ।
कुटो कोदालो गर्दै, अर्काको घरमा पर्म लाउँदै अनि कसैले केही खान दिए आफूलाई भोक लागे पनि भोक छैन भनेर पटुकामा राखेर ल्याइदिने हजुरलाई दममा दाँतको विशेष ख्याल गर्नुपर्छ पनि भन्न सकिन है ँ।
मलाई दमबारे लेख लेख्दै गर्दा हजुर एकदम याद आयो । दमले च्यापेर खोक्दै भए नि कान्छालाई भोक लागे होला भनेर भान्छा कोठामा छिरेको, दाउरा नबलेर बल्लबल्ल आगो बालेको अनि भान्छा कोठामा धुवाँ रुमल्लिएर तपाईंले तारन्तर खोकेको, एकदम याद आएको छ आमा मलाई । आज तपाईं भएको भए आमा हजुर धुवाँ हुने ठाउँमा जानहुन्न दम बढ्छ भन्ने सक्थे नि है ।
धुलोमैलोमा बिरामी परिन्छ छोरा भनेर आफूले ओडिराखेको मजेत्रोले मेरो मुख छोप्दिने हजुरलाई त्यही धुलोले दम बडाउँछ भन्ने हेक्का हुँदाहुँदै नि आफूलाई भन्दा मेरो ख्याल गर्नुभयो है । त्यति बेला मेरोभन्दा आफ्नो अल्ली बढी ख्याल गर्दिएको भए आज म तपाईंको काखमा नै हुन्थेँ । अनि तपाईंलाई मेरो फोटो पत्रिकामा देखाउन पाउथे नि आमा ।
घरको मूल ढोकाबाट सधैँ ‘मामु’ भन्दै छिर्दा ‘हजुर’ भनेर उत्तर आउन छाडेको धेरै भइसकेको मलाई हेक्का नै भएनछ । अस्ति फेरि तपाईंलाई ढोकाबाट छिर्दा फेरि ‘मामु’ भनी पुकारेँछु । सधैँ ‘हजुर’ सुनिने त्यो ठाउँमा अस्ति मेरो आवाज ठोक्किएर फर्केको त्यही शब्द ‘मामु’ नै सुनेछु । सायद ‘हजुर’ भन्ने उत्तर खोजिरहेका मेरा कानले त्यो झेल्न सकेनन् । त्यसैले मुटु नराम्रोसँग निचोरिएर तपाईंको मायालाई आँखाबाट बगाइदियो ।
बाबु ! सबैका आमालाई आफ्नो आमाजस्तै सोचेर उपचार गर्नु ल भनेको मैले कहिलै भुलेको छैन । मैले हरेक आमामा मातृत्व भेट्छु । त्यसैले सबैलाई ‘आमा’ भनेर पुकार्ने गरेको छु । मैले कैयौँ आमाको रोग मात्र होइन, पीडा पनि सुन्ने गरेको छु । मेरो छोरोले हेला गरेर पशुपति विद्याआश्रम छोडेर गयो भनेको सुन्दा नराम्रो महसुस हुन्छ । मातृत्व नबुजेकोमा ती छोराहरुलाई धिक्कार्न मन लाग्छ । आमाले उनीहरुलाई पनि छोडेर गएपछि बल्ल माया थाहा हुने होला नि है आमा ।
पल्लाघरे जेठाले बिहे गरेर आमालाई एक्लै छाडेर तपाईंले भन्ने गरेको नेपाल ‘काठमाण्डु’ छिरेछ । उसकी आमा अहिले हिँडडुल गर्न सक्दिनन् रे । जेठाकी आमाले त हो नि मामु कान नसुन्ने भए नि छोरोलाई कस्तो छ भनेर शनिबार शनिबार सदरमुकाम फोन गर्न जाने । जेठाले फोनमा सञ्चै हुनुहुन्छ भनेर सोध्दा कान नसुनेर मैले भात खाए छोरा तिम्ले खायौ भनेर सोध्थिन् रे । कान नसुन्ने भए नि छोरोको हालखबर बुझ्न लौरो टेक्दै ५ घण्टा हिँडेर सदरमुकाम आउने त्यो प्रेमलाई कसरी भुलेको होला है आमा जेठोले ।
यहाँ अहिले साँहिला साहिलीको प्रेम बहुत गुन्जिएको छ । साहिँलाले ४० कटेपछि भेटुलाँ भन्दै विदेशमा घन हान्दै छन्, गाउँघरमा कुलमान घिसिङ आएदेखि अँध्यारो हटेकोछ । गगनकुमार थापा स्वास्थ्य मन्त्री भएदेखि स्वास्थ्य क्षेत्रमा कायापलट नै भयो नि । उनको प्रयासमा स्वास्थ्य सर्वसुलभ भाको छ, मिर्गाैला प्रत्यारोपण जस्तै धेरै रोग निःशुल्क बनाएका छन् । अब घुमाउनेघरका रामेदाइ जसरी पैसाको अभावमा मिर्गौलाको उपचार नपाएर मर्न नपर्ने भयो । अमेरिकाका खैरेका ठूला मान्छेले मुस्लिम देशका मान्छेलाई छिर्न दिन बन्दै छन । अनि थाहा छ, आमा अब हाम्रो देशमा स्थानीय तहको चुनाव हुँदै छ नि । अरु त गाउँघरमा त्यस्तो केही छैन, आमा ।
मामु, एउटी बूढी आमा लौरो टेक्दै, अघिदेखि खोक्दै छिन्, सास फेर्दा घ्यारघ्यार पनि सुनिएको छ । सायद उनलाई पनि दम छ होला । म उनलाई हेर्न जानुपर्छ । त्यसैले आजको पत्र यतिमा नै टुङ्ग्याउँछु ल । हुन त तपाईंको नाममा धेरै पत्र कोरिसकेँ, तर अझसम्म पठाउने माध्यम पाएको छैन । कुनै दिन पठाउने तरिका भेटे भने पठाउने छु । नत्र म आउँदा सँगै लिएर आउनेछु ।
तपाईंको प्यारो छोरा

-जर्मनी

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल