पुस्तक समिक्षाः मेरो आँखामा सगरमाथाको गहिराइ !

पुस्तक समिक्षाः मेरो आँखामा सगरमाथाको गहिराइ !

कवि विक्रम पवन

समिक्षक

यस किताबमा कविको परिचयमा यस्तो लेखिएको छ (नवराज पराजुली “पर्फमेन्स पोयट्री“ बाट समकालीन कवितामा सर्वा्धिक चर्चामा आएका कवि हुन् । यस्तो लेखिरहँदा प्रश्न उब्जन सक्छ ।
जस्तो कि ( १. के कवि नवराज पराजुली पर्फमेन्स पोयट्री मात्रै हुन् ? २. के कवि नवराज पराजुलीको कवितामा भाव छैन् ? माथिको यहि वाक्यले यस्ता अनेकौं प्रश्न आउन सक्छ । जब कविता पढ्दैँ गएँ पढ्दै गएँ सोचेँ अब आख्यान आख्यान भन्नेहरूको मुखमा बिर्काे लाग्यो । सम्झेँ कि कविताको पालो आएकै हो ? यावत प्रश्नहरू उब्जिए ।
कवि नवराज पराजुली लेख्छन् (यो संसारको कुनै महान् चित्रकारलाई विश्व नै पोत्न पुग्ने रङ चाहिए मेरो देशको गुराँससँग सापटी माग्नु म त गुराँसको देशको मान्छे ! तर यो कुरा पछि गरौँला कि ! मैले खाने चामलको रङ किन्न म आफूचाहिँ अरब आएको छु । (सगरमाथाको गहिराइ बाट) जब यो कविता साताको साहित्यमा प्रकाशित भयो तब उनको उचाइ लियो । नवराज पराजुली भन्छ यहि कविताले मलाई कविको रुपमा चिनायो ।
यो कविता पढिरहँदा यस्तो लाग्छ आफु भएर किन जन्मिएछु जस्तो ? आफु बेरोजगार भएर बिदेशीनुको पीडाको दस्तावेज हो यो कविता । नेपाली साहित्यमा कविता विधामा कलम चलाउँदै आएका पछिल्लो पुस्ताका चर्चित कवि नवराज पराजुली यस्ता व्यक्ति हुन् जस्को कविता सुने पछि लाखौँ ताली बज्छ र लाखौँ आँखाहरूले आँशु बगाउछन् ।
कवि नवराज पराजुली र मेरो भेट, चिनजान पनि यहि कविता लेखनबाट भएको हो हामी कवितामा बहस गर्छाैँ यस्तै सिलसिलामा कविले भनेका छन् कुनै कविता लेख्न मैले बर्साैँ लगाएको छु । कुनै कविताहरू लेख्दा लेख्दै रोएको छु । साँच्चिकै कविता पढिरहँदा उनको भनाइलाई नस्विकार्नेले नि स्विकार्नै पर्छ किनकी यो कवि नवराज द्वारा लिखित कविताको शक्ति हो । कवि नवराज पराजुली मिलनसार छन् नम्र स्वभावका ।
सबैलाई मित्रताको व्यवहार गर्छन् । बोल्दा उनको बोलीमा कवितात्मक भेटाउछु । उनको कविता शब्द सौन्दर्यमा जादु भेटाउछु । आफ्नो पहिचान आफैँ बनाउने कवि हुन नवराज पराजुली । प्रसङ्ग यहीँ बैशाख १८ गते बेलुका पाँच बजेको हो । सयौँ पाठक यानिकी उनको शुभचिन्तक उनकै कविताको पर्खाइमा थिए । जब कवि नवराज स्टेजमा देखिए तब तालिले गडगडाहड भयो । आकाश खुसी भएको आभास पनि ।
त्यतिबेला भावुक भएका थिए कवि नवराज पराजुली । कविताको विमोचनमा मुस्किलले ५० जना पाठकहरू उपस्थित हुन्थे तर त्यो दिन यानिकी सगरमाथाको गहिराइ विमोचनमा सयौँ मान्छेको उपस्थित थियो । यो अहिले सम्मकै बाक्लो उपस्थिति हो ।
जब कविले हेब्बी बर्थ डे कविता वाचन गर्न थाले तब प्रज्ञाप्रतिष्ठानको डबली तालिमय भयो । आँखाले आँसु बर्साउन थाल्यो । कविता सुन्दै गर्दा हृदयलाई यसरी छोयो कि जसरी आमाले सम्झने गर्छिन् आफ्नो सन्तानलाई पलपल । यो कविता स्वयम् कवि आमा भएर लेखिएको कविता हो ।
कवि लेख्छन् “म छु जस्तो लागेको दिन म तिमीलाई सम्झन्छु मर्छु जस्तो लागेको दिन म तिमीलाई सम्झन्छु ।“ आमाले आफ्नो सन्तानलाई आफ्नो अन्तिम घडी सम्ममा सम्झिरहेको हुन्छ भन्ने यो कविताको भाव हो । मलाई लाग्छ यस्तो बलियो कविता अब कहिल्यै लेखिँदैन् तर कविहरूले प्रयत्न चाहिँ गर्नै पर्छ जसरी कवि नवराजले कवितालाई आमा सम्झेर लेख्छन् ।
बाँसुरीको धुनसँगै कविता बाचन गर्दा कविताको भावले नरुवाएको आँ

खा थिएनन् । खुब रोएको थियो मेरो आँखा पनि । लाग्थ्यो मेरो आँखा मात्रै रोएको हो कि ! दायाँबायाँ हेरे मेरो दायाँ कवि रामगोपाल आशुतोष हुनुहुन्थ्यो । बायाँ कवि असिम सागर हुनुहुन्थ्यो वहाँ दुवैको आँखाबाट आँसु खसिरहेका थिए जसरी चुहिने गर्छ कर्कलाको पातबाट पानीको थोपा । म कविता सुन्दै गएँ । रुँदै गएँ । सम्हाल्न खोजेँ सम्हालिनँ सकिन कविता नसकुन्जेल टिल्पिलाई रह्यो आँखा र डुबि रह्यो आँखाको नानी आँसुको पोखरीमा ।
आँसु भरिएपछि परेला भिजाउँदै झर्याे आँसुफूल (जसरी खस्ने गर्छ शीत सल्लाको केसको टुप्पोबाट आँसु र बजारिन्छ आफ्नै छातीमा । म अघिल्लो लाइनमा थिएँ पछाडि फर्केर हेरेँ । कसैेले रुमालले आँसु पुछिरहेका थिए भने कसैले हत्केलाले । म जिन्दगीमा छ सात पटक रोएको छु ।
१. म तिन बर्ष हुँदा आमा बित्नु भो आमा मसँग हुनुहुन्थेन अनि रोएँ । २. जब नौ दश वर्षको भएँ आमाको मृत्यु भएको रहेछ भनेर रोएँ । ३. जब कविता भनेर बुझ्न थाले मुनामदन र गौरी पढेर रोएँ । ४.मेरो बिहेमा आमा सम्झेर रोएँ । ५. आमा सम्बधित आफैले कविता लेख्दा पनि रोएँ । ६. कवि नवराज पराजुलीको कविता हेब्बी बर्थ डे पढेर रोएँ । मलाई कवि र कविता दुबैमा संवेदना हुनु पर्छ जस्तो लाग्छ । यी दुवै गुण नवराज पराजुलीमा छ ।
अचेल यस्ता कविता र कवि भेटिन्छन् जस्ले आफ्नो कवितालाई वाह ! भन्छन् तर नवराज पराजुली आफ्नो कवितालाई कविता भन्न डराउछन् । सबैले कवि भनेर बोलाउछन् तर आफुलाई कवि भन्दा नसुहाएको जस्तो भान गर्छन् । नवराज पराजुली सबैले रुचाइएका कवि हुन् ।
नरम बिम्ब प्रयोग गरेर शालीन विद्रोहको कविता लेख्ने कवि नवराज पराजुली हल्ला गरेर कवि बनेका हैनन् । यहाँ त्यस्ता कविहरू छन् जो कि हल्ला गरेपछि मात्रै कवि भएका छन् ।यौटा यस्तो गिरोह छ दुइचार जनाको समुह बनाउछन् अनि तालि किन्छन् र वाह ! कविता भन्छन् तर कवि नवराज पराजुली यस्ता कार्यमा टाढा रहन्छन् । मलाई लाग्छ “कविता कविको आत्मा हो” म मेरा समकालीन कविहरूलाई यस्तै भन्छु । हुन पनि हो कविता हाम्रो कर्म हो । शरीर नरहे पनि कविताले बचाइ राख्छ कविलाई जसरी बाँचिरहेका छन् भुपी, देवकोटा, रिमाल, हरिभक्त आदि । सबैको मन छुने कविता लेख्नेहरू बाँचिरहने छन् सदियौँ सम्म । बाँचिरहने सुचिमा पर्छन् कवि नवराज पराजुली र “सगरमाथाको गहिराई “ कविता । नवराज पराजुली जहाँ जान्छन् त्यहाँ वाही वाही पाउछन् यि सब उनको कविताको ताकत हो । केहि समालोचक छन् जस्ले कवितामा कथात्मक हुनु हुँदैन त्यो भ्रम हो ।
कवितामा यस्तो शक्ति हुनुपर्छ जस्ले पाठकको हृदयलाई छुन सकोस् । कविताको नाउमा नारा लेख्ने धेरै कविहरू छन् । तिनै झुन्डाहरूको यौटा शक्तिशाली ग्रुप छ । त्यस्ता कवितालाई वाह ! कविता भनी दिन्छन् र चर्चाको शिखरमा पुर्याइदिन्छन् । तर कवि नवराज पराजुली यस्ताको पछि कैल्यै लाग्दैनन् । आफुले कवितालाई मेहनत गर्छन् जसरी कुमालेले भाँडो बनाउन मेहनत गर्छ ।
त्यहि मेहनतले गर्दा आज कवि नवराज पराजुलीका कविताहरूले शिखर चढिरहेको छ । सबै कविहरूले विद्रोह कविता लेख्छन् । कसैले नारालाई कविता भन्छन् त कसैले सगरमाथाको गहिराइ जस्तो शालिन विद्रोह गरेर कविता लेख्छन् । उनको कवितामा प्राय महिलाको कथा भेटिन्छ । समाजलाई राम्री नियालेको हुन्छ । पढ्दापढ्दै आफु भावविह्वल भएको पत्तै हुँदैन । आँखाले आँसु बगाएर चित्त बुझाउँछ । “ब्रह्माजीको रजस्वला“ कविता समाजमा महिला माथि गरिएको हिंसात्मक क्रियाकलापको कथा हो ।
किसोरीहरू महिनावारी नभै कसरी सृष्टि हुन्छ ? भन्ने प्रश्न ब्रह्माजीलाई गरिएको कवितामा छाउगोठमा रात बिताउँदाको पिडा छ । यो पिडा आफ्नै आमा र दिदी बहिनीको हो भनी सम्झेर पढ्नेहरूको आँखाले आँसु झारेर छाड्छ यो कवि नवराज पराजुली द्वारा लेखिएको कविताको शक्ति हो । कवि नवराज पराजुली लेख्छन् ( म तिम्रो भाग्य हुँ आमा ! तिमी आफ्नै भाग्यलाई कसरी पठाउन सक्छ्यौ त्यो गोठमा जहाँ भाग्य लेखिएको निधार ठोकिन्छ कि भन्ने डरले हावा पनि टाउको निहुराएर छिर्छ ! यसरी नरम बिम्बले सजिसजावट छ यो कविता पनि ।
सायद यसरी सरल बिम्बलाई प्रयोग गरेर कविता लेख्ने कवि उनै होलान् । कवि लेख्छन् ( बुढी ! म हरेक बिहान तेरो यहि तस्वीर हेर्छु, र मेरा हातहरू सुर्यको सट्टा यसैमा पानी चढाउँछन् हरेक रात तेरो तस्बिरमा चढाएको माला हेर्छु र मेरा आँखाहरू मेरो छातीमा पानी चढाउँन् । (रूख कविताबाट) यो कविताले श्रीमानले श्रीमती गुमाएपछि श्रीमानले भोगेको पिडालाई समेटिएको छ ।
जुन कविता पढेपछि नरुने सायदै होला । कवि नवराज पराजुली यस्ता कवि हुन् जस्ले कविता लेखेर कुनै कार्यक्रममा सुनाएपछि दर्शकको आँखामा आँसुको पोखरी बन्छ । यस “सगरमाथको गहिराइ“ संग्रहमा भएका प्रत्येक कविताले पाठकको हृदयलाई स्पर्श गरेकै हुन्छ ।
यो कवि नवराज पराजुलीको कविताको सामर्थ्य पनि हो । जस्तो कि च्याउ, दिदी, बिहे, सतीदेवीको गाण्डिव, लोक सेवा, आदि कविताहरूले मनलाई अजीव तरिकाले छोइदिन्छ । आख्यानले बजार पिटिरहेको छ र पिटिरहने छ भन्नेहरूलाई कवि नवराज पराजुलीले जवाफ दिएका छन् यही कविता सङ्ग्रह “सगरमाथाको गहिराइ“ प्रकाशन गरेर ।
अब सम्झनू कि पालो कविताको रहेछ । कविता लेख्नेहरूले यसरी अन्य कवि र पाठकको मन जित्नुहोस् । वाही वाही र ताली पाउन कविता लेखनलाई परिस्कृत गर्नु होस् जसरी कवि नवराज पराजुलीले कविता लेखनमा मेहनत गरेकाछन् । र अन्तमा फाइनप्रिन्टलाई बिशेष धन्यवाद जस्ले यति शक्तिशाली कविताहरूलाई प्रकाशित गरिदियो । यसरी नै शक्तिशाली कविताहरू लेख्दै इतिहास रच्दै जानुहोस् कवि नवराज पराजुलीलाई शुभकाना !!!

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल