कविता : मेरा प्रेमी आँखा

कविता : मेरा प्रेमी आँखा

-प्रकाश भुसाल

वर्षौंदेखि नदेखेको
त्यही धुलोमा खुट्टाको बूढी औँला चोबेर
आफै उभिने धरातलको चित्र बनाइदिएको छु
सँघारमा निधार ठोक्किएपछि फर्किनेहरुलाई
ढोका उघारेर सधँै पर्खिन त कहाँ सकिन्छ र ?
मलाई थाहा छ
हरेक जिन्दगीलाई एउटा अनिर्देशित बहाबले बगाएको हुन्छ
त्यसैले तिमीलाई पनि बगाएको हुनुपर्छ
आज एउटा कुरा नढाँटी भन्छु
यदि सँघार अग्लो भैदिएको भए
तिमी फर्किंदैनथ्यौ होला
तर म त्यही झुकेर छिर्नुपर्ने झुपडीमा
जिन्दगी भेटेको छु
तिम्रो निधार ठोक्किएको बहानामा
जिन्दगी उम्किएको चाहना गर्न सकिन
र यो पनि सत्य हो
मेरो प्रेमले तिमीलाई एक्लै स्वास फेर्न दिएन
ओठमा लपेटिएको मुस्कान
ओसिला परेलीहरुको पनि
कारण सोध्यो ? प्रश्न गर्यो ?
हात एक्लै हल्लाउँदै हिँड्न दिएन
समातेर सँगै हिँड्न खोज्दै थियो
सायद मेरो प्रेमले आँखामा उड्न खोज्ने
तिम्रा पखेटा समातेको थियो त्यतिबेला

हात छातीमा राखेर भन्छु
परिधिको विघटन मात्र स्वतन्त्रता हुन सक्दैन
तर
तिमी स्वतन्त्र बन्न नसकेर
धुलो उडाउँदै गएको दिन
त्यही धुलोमा हातका औँलाहरुले
स्वतन्त्रता लेखिदिएको छु
तिमीले उडाएको धुलोले वातावरण धुलाम्य हुँदा
लाग्थ्यो तिमीले मबाट धेरै कुराहरु खोसेर लगेकी छौँ
जस्तो कि निद्रा सपना रहर चाहाना आदि इत्यादि
तर हैन रहेछ
आज आफैले बनाएको धरातलको एउटा कुनामा उभिँदा
तिमीले छाडेर गएको स्वतन्त्रता भेट्टाएको छु
अनिर्देशति बहाबले कुनै दिन
तिमीलाई मैले बनाएको धरातल नजिक हुँदै
बगाएछ र तिमीले सुन्न चाह्यौँ भने
साउद मेरो मन आँखाबाट प्रश्न गर्ने छ
जुन कुराको खोजीमा तिमी गएकी थियौ
त्यही कुरा मेरा लागि कहाँबाट ल्याइदियौ ?

 

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल