डिभोर्सी आमा -२

डिभोर्सी आमा -२

-दीपक घिमिरे
..अनि ऊ जान हतारिई, मैले बुझिहाले । उसँग धेरै गफ भए तर सबै चित्त नबुझ्ने खालका । एउटी आमाले आनै सन्तानलाई छोरी भन्न नसकेको इतिहास सुनाई । मैले हजारौँ पटक किन यस्तो भनेर प्रश्न गर्दा उसको एउटै उत्तर हुन्थ्यो– ‘सरी यार ! म उसको आमा बन्न सक्दिन दीपक ।’

दरबारमार्गबाट ऊ घण्टाघरतिर लागि, म जमलतिर हानिए । यसबीचमा हामीले फोन नम्बर साटासाट गर्यौँ, अनि फुर्सद मिल्दा फोन गरेर भेट्ने वाचा पनि गर्यौँ ।

एउटी अबोध बालकले आफ्नै आमालाई अन्टी भन्ने परिवेश सम्झेर पाइला चालिरहेँ । मनमा सयौँ कुरा खेले । गर्भमै हुँदा छाडेर हिँड्ने बाबुलाई सम्झिएँ, जन्मिसकेपछि छोरीको नाता नदिने उर्मिलालाई सम्झिएँ ।

कोठामा आइपुगेँ । आज हिँडेरै कोठामा आएँ । मनमा कुरा खेलाउँदै आउँदा बाटो कटेको पत्तै भएन । अरु दिन जस्तै कोचाकोच भएको माइक्रो चढ्नु परेन । बीस रुपियाँ जोगियो ।



हाम्रो गाउँभन्दा तल ओखरे भन्ने गाउँ छ । ओखरेमा बस्ने एउटी अन्टी छिन्, दिलमाया अन्टी । उर्मिला र दिलमाया बीचको फरक निकाल्न मन लाग्यो । स्कुल पढ्दा पनि म फरक छुट्ट्याऊ भन्ने प्रश्नको ज्ञान नै थिए । सबै मिलाउँथे ।

उर्मिला थिई, जो आफैले नौ महिना गर्भमा राखेर जन्माएकी छोरीलाई भतिजी भनेर समाजलाई चिनाउँछे । दिलमाया अन्टी छिन्, जो आफूले नजन्माएको सीतालाई आफ्नै छोरी भनेर समाजलाई चिनाएकी छिन् । दिलमाया र उर्मिलाबीचमा फरक तपाईंहरुलाई भनिरहन पर्दैन किनकि मातृत्व भन्ने शब्दको परिभाषा दिइरहनुपर्दैन ।

दिलमाया अन्टीलाई उनका जीवनसाथी सुरेन्द्रले दुई वर्षमै छाडेर अर्कीसँग घरजम गरेर बसेपछि सुरु हुन्छ उनको कथा । दिलमाया अन्टीको सुरुका व्यथाहरु ठ्याक्कै उर्मिलाका जस्तै छन् । दुवैको लभ म्यारिज हो रे । आफ्नो जीवनसाथी आफै रोजेका । दुवै डिभोर्सी हुन्, पतिदेवबाट अलग भएका ।

उर्मिलाको कुराले दिलमाया अन्टीलाई सम्झिन बाध्य बनायो । गाउँको सानो घरमा बस्ने दिलमाया र सीताबीच रगतको नाता हैन रे । हाम्री आमाको मुखबाट सबैभन्दा पैला सुनेको हँु । पछि सबैले त्यस्तै भन्थे पनि । सुरेन्द्र काकाले अर्की टिपेर नेटो काटेपछि अस्पतालमा बेवारिसे छाडिएकी सीतालाई दिलमाया अन्टीले आफ्नै सन्तान ठानेर पाल्न थालिन् । सीतालाई बुढेसकालको सहारा सम्झिने दिलमाया अन्टी उसकै लागि दुःख गर्थिन् ।

यता उर्मिला पनि छोरीकै लागि दुःख गर्छु भन्दै थिई । उता, दिलमाया अन्टीको दुःख हामी सबैले देखेकै थियौँ । अब फरक के छ ? दुवै आफ्ना सन्तानकै लागि पसिना बेच्थे, दिनरात नभनी ।
सन्तानको प्यास मेटाउन अरुका बच्चा पाल्ने आमालाई सम्मान नगरी कसरी बस्न सक्थे । त्यसैले दिलमाया अन्टीप्रति मेरो सद्भाव थियो । उता आफैले रोजेको पतिले धोका दिँदा आफ्नै सन्तानको आमा भन्ने अधिकार उर्मिलाले खोसेकी थिई, रिस उठेर आउँथ्यो ।

समाजमा आफूलाई अब्बल दर्जाको नारी सम्झिनेहरु नै तुच्छ दिमागका हुन्छन् भन्ने मानसिकता मैले पनि अलिकति पालेको छु । उर्मिला जस्ती आधुनिक नारीले आफ्नै सन्तानलाई छोरी भन्न हिच्किचाउँदै गर्दा बेबारिसे भएर बसेको बच्चालाई एउटी गाउँले गवाँर आइमाई दिलमाया अन्टीले मुटुभरिको माया दिएर हुर्काइरहेकी थिइन् । समाजले कसलाई स्यालुट गर्छ ?

यहाँ उर्मिलाले कथाको सुरुवात गराई, अब दिलमाया अन्टीले मन जित्दै कथाको अन्त्य गराउनेछिन् । डिभोर्स भएर बसेका यी दुईका केही त्यस्ता बाध्यता थिए जो हामीलाई सोच्न बाध्य बनाउँथे । एउटी आमाले छोरी हुर्काउन कत्रो समस्यासँग पाँैठेजोरी खेल्छिन्, त्यो दुवैले देखाएका छन् । तर मातृत्व देखाउन डराउने उर्मिला र सन्तानकै लागि जीवन समर्पण गर्न खोज्ने दिलमाया अन्टी दुवै आमा हुन् । डिभोर्सी आमा ।

मनमा अनेक कुरा खेलिरहँदा उर्मिलालाई कमजोर आमा सावित गरे । दिलमाया अन्टीको उदाहरण दिएरै भए पनि उर्मिलालाई आमा बन्ने प्रेरणा दिने योजना मनमा पलायो अनि फोन गरेँ ।

‘आमा बन्ने सौभाग्य सबै नारीले पाउँदैनन्, यस्तो सुनौलो मौका नगुमाऊ उर्मिला ।’ मैले सामान्य भलाकुसारी सकेर उसलाई निःशुल्क सल्लाहा दिए ।

सायद उसले नाक खुम्च्याई, मेरो कुरामा चित्त बुझाइन होली, कुरा मोडदै भनी– ‘सोध्नै बिर्सेछु ! तिम्रो बिहे भयो कि नाई ?’
उसले कुरा मोडेको मैले नबुझ्ने कुरै थिएन । तैपनि प्रश्नको उत्तर दिनै पर्यो । ‘अब गर्ने हो, मलाई बाउ बन्ने रहर छ । त पनि आमा बन्न सिक, अन्टी त हजारौँ हुन्छन् ।’

मैले डाइलग पेलेरै बोलेँ ।

‘भोलि बागबजार जाने काम छ, भेट्छौँ मलाई ?’ उसले कुरा मोडिरही ।

‘म फ्री छु, बागबजार पुगेर कल गरेस्, आइपुग्छु ।’ मैले भेट्ने प्रतिबद्धता व्यक्त गरेँ । अनि बाँकी कुरा भेटमै भन्छु भनेर भोलिसम्म कुर्दै बसेँ ।

उसको कलसँगै हतारिँदै बागबजार पुगेँ । पद्मकन्या कलेजको गेटमा उभिएकी उर्मिला कुनै नेपाली हिरोइनभन्दा कम्ती सुन्दरी थिइन । मनै लोभ्याउने उसको फिगर देखेर म मात्र होइन, त्यो बाटो हरेकले एक पटक फर्केर हेर्न बाध्य हुन्थ्यो ।

उसलाई हाई गर्दै उसको सामीप्यतामा गए । उसले कतै खाजा खाँदै गफिने मनसाय देखाई ।

घडी हेरेँ, एक बज्दै थियो । मलाई भोक थिएन, एघार बजे खाएको पचेकै थिएन । ‘कफी खाँदै गफ गरौँ न है ?’ मैले आग्रह गरेँ ।

उसले मुन्टो मात्र हल्लाई, अनि हामी पुतली सडकमा कफी हाउस खोज्न थाल्यौ ।

कफी हाउसभित्र बसेर उसले अँध्यारो अनुहार बनाउँदै भनी– ‘प्लिज यार दीपक ! इमोसनल ब्ल्याकमेल नगर न है !’

मैले उसको कुरा बुझिनँ ।

उसले हात समाउँदै भनी– ‘छोरीको अन्टी हैन आमा बन भनेर बारम्बार मलाई नरुवाऊ । म उसको आमा हुँ तर बन्न सक्दिनँ ।’

उसको कुराले फेरि रिस उठ्यो, दिलमाया अन्टीको कथा सुनाउने मन थियो ।
सोधेँ– ‘अचम्म पर्छु । आखिर किन बन्न सक्दिनस् ?’

‘म दोस्रो बिहे गर्न चाहन्छु !’ उसले मलाई झट्का लगाउने योजना सुनाई । दङ्ग परेँ म ।

‘फाल्तु कुरा । छोरीलाई बेवारिसे अवस्थामा छाडेर दोस्रो बिहे ?’ मैले उसको कुरामा असहमति जनाएँ ।

‘म विवाहित देखिन्छु ?’ उसले आफ्नो फिगर मलाई देखाई ।

म हाँसे, उसलाई बस्न भने ।

ऊ बसी अनि भनी– ‘प्लिज ! अब म छिट्टै बिहे गर्दैछु । त्यतिञ्जेल आमा, आमा भनेर मलाई इमोसनल नबनाऊ । ‘ऊ निरास देखिई ।

मैले कुरा बुझिहालँे । ऊ डिभोर्स भएको पति भुल्न आमा बन्न नसकेकी हैन, कुमारी देखिएर बिहे गर्नकै लागि आमा बन्न सक्दैने भन्ने सजिलै बुझे ।

बाध्यता उसका पनि थिए । कलकलाउँदो जवानी सिङ्गै थियो, कसरी बसोस् एक्लै । उसका पनि अनेक चाहना होलान्, उसलाई पनि रहर होला । छोरी बिहे गरेर पराई घर गएसी पाल्ने जीवनसाथी उसलाई पनि चाहिएको होला ।

अनेक अर्थ लगाउँदै गर्दा कुमारी केटी बन्ने रहर नै उर्मिलाको बाध्यता हो भन्ने बुझे । बाँकी आमा बन्न सिक भनेर सम्झाइरहने वातावरण देखिन । यतिञ्जेलसम्म कफीका गिलास रित्तिएका थिए, उसलाई सुख–दुःखमा सम्झिन आग्रह गर्दै छुट्टियौँ ।

 

डिभोर्सी आमा

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल