कविता : बा भन्न लायक छैन

कविता : बा भन्न लायक छैन

-बाबुराम पन्थी ‘गुल्मेली’

तिम्रो गर्भमा रहँदा
मेरा आँखाहरूले
तिम्रो पहिलो घर नियाल्न पाएनन्
तिमीलाई तिम्रो आमाले मुसार्दै गर्दा
मेरा हातहरूले मुसार्न पाएनन्
तिम्री आमाले सम्झिएर रूँदा
मेरा हातहरू आँशु पुछ्न पाएनन्
तिम्री आमा प्रस्रव पीडामा छट्पटाउँदा
साथमा हुन नसकेको म
तिम्रो आगमनमा स्वागत गर्न
उपस्थित हुन नसकेको म
तिम्रो छैटी र न्वारनमा पनि
भाग लिन नसकेको मलाई
बा भन्दा शब्दको अपमान हुन सक्छ
बा भन्न लायक छैन !

तिम्रो वर्ण कस्तो थियो ?
तिमीले बामे सर्दा कसरी सर्यौ ?
पहिलो पाइला कसरी सार्यौ ?
तिमीले बोलेको पहिलो शब्द ?
कसरी रोयौ ?
कसरी हाँस्यौ ?
कस्तो खायौ ?
कस्तो लायौ ?
कसरी खेल्यौ ?
तिमीले लेखेको पहिलो अक्षर ?
तिम्रो बारेमा अनभिज्ञ
तिम्रो बा !
कसरी हुन सक्छ ?
बा भन्न लायक छैन !

मुटुलाई पत्थर बनाएर
गहभरी आँशु र मनमा गाँठो पारी
भविष्यको ख्वाब बोक्दै
पैसाका लागि
तिमीलाई गर्भमा छाडेर
वर्तमान बिर्सिएर
दूर हिँडेको मान्छेलाई
बा ! भन्दा शब्दको अपमान हुन सक्छ
म बा भन्न लायक छैन !

आफ्नो मत्त जवानीमा
यौनक्रीडा र सम्भोगको तृप्तिमा
गर्भमा रोकिएको एक थोपा वीर्य सेचनबाट
तिम्रो प्राकृतिक आगमन हुँदा
किन बाको सम्मान पाउनुपर्ने ?
सायद म तिमीले
बा भन्न लायक छैन !

-तम्घास, गुल्मी

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल