दिनेश अधिकारीको ‘भरियाको भूगोल’ सार्वजनिक

दिनेश अधिकारीको ‘भरियाको भूगोल’ सार्वजनिक

काठमाडौं, बैशाख १७ – कवि तथा गीतकार दिनेश अधिकारीको नयाँ काब्य ‘भरियाको भूगोल’ सांगीतिक तथा कवितामय जमघटका बीच शुक्रबार विमोचन भएको छ ।

अधिकारीले आफुभन्दा पछिल्लो पुस्ताका कवि श्रवण मुकारुङलाई पुस्तकको पहिलो प्रति हस्तान्तरण गर्दै विमोचन गरेका थिए ।

‘हाम्रो पुस्ताले कविता लेख्न प्रारम्भ गर्दा तत्कालीन ठूलो स्कुलमध्येको एउटा दिनेश दाई पनि हुनुहुन्थ्यो,’ प्राज्ञ मुकारुङले अधिकारीको पुस्तक यसरी ग्रहण गर्दाको सुखद् अप्ठेरोपना ब्यक्त गर्दै थपे, ‘उहाँहरु मध्येमा पनि गद्य कविताको मामलामा दिनेश अधिकारीको नाम सबैभन्दा अगाडि आउँछ ।’

२०५६ सालमा ‘अतिरिक्त अभिलेख’का निम्ति मदन पुरस्कार र २०५१ सालमा ‘इन्द्रजात्रा’ का निम्ति साझा पुरस्कार लगायत थुप्रै सम्मान र पुरस्कारले समेत सम्मानित अधिकारीको पुस्तक यात्रा २०३७ सालमा ‘अन्तरका छिटाहरु’ कवितासंग्रहबाट सुरुभएको थियो । त्यसयता उनका दर्जनभन्दा बढी कविता संग्रह र त्यति नै संख्यामा गीति संग्रह निस्किसकेको छ । प्रस्तुत कृति भने २०५१ सालमा उनलाई साझा पुरस्कार दिलाउने ‘इन्द्रजात्रा’ पछिको दोश्रो काव्य हो ।

योसँगै तीन वर्षदेखि स्थगीत रहेको नेपालयको पलेँटी श्रृंखला फेरि सुरुवात भएको छ ।

अधिकारी लिखित गीतहरु प्रस्तुत गर्ने कार्यक्रमको पहिलो भागको अन्त्य भने ‘पहाडमा जाडो बढे, तराइले सेक्नु पर्छ’ बाट गरिएको थियो ।

दोश्रो भागमा अधिकारीको काब्य विमोचन गरिसकेपछि अधिकारीले केहि कविताहरु वाचन गरेका थिए ।

‘मेरा कविताहरु मेरा मनका पखेटाहरु हुन्,’ त्यस क्रममा अधिकारीले भने, ‘व्यक्तिगत कामले ब्यस्त हुँदाहुँदै पनि मैले थाम्न नसकेका मेरा अभिब्यक्तिहरु अहिले यो भरियाको भूगोल सम्म आइपुगेको छ ।’

कार्यक्रमको तेश्रो भागमा भने पलेँटीका प्रस्तोता एवं गायक तथा संगीतकार आभाष मञ्चमा आएका थिए । पछिल्लो समय कविताहरुलाई गीतमा रुपान्तर गर्दै आएका आभाषले अधिकारीको भर्खर विमोचित ‘भरियाको भूगोल’ कै केहि अंशलाई संगीतबद्ध गरेर सुनाएका थिए ।

‘यो कार्यक्रमसँगै पलेँटीको पनि फेरि सुरुवातको घोषणा गर्न पाउँदा खुशी लागेको छ,’ आभाषले भने, ‘तीन वर्षअघि केहि समयलाई स्थगीत भएको यो श्रृंखला लगत्तैको भुइँचालोले गर्दा पनि प्रभावित हुनपुग्यो ।’

कार्यक्रममा आभाषले आगामी महिना पलेँटीमा युवा गायक विधान श्रेष्ठ प्रस्तुत हुने जानकारी समेत गराएका थिए ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल